Saturday, April 27, 2024

-->

यू१९ विश्वकप: नेपाली टोलीमा परिवर्तनको तयारी, लक्ष्य ‘सुपर सिक्स’

जगत टमाटाकै प्रशिक्षणमा सन् २०१६ को यू१९ विश्वकपमा नेपाल 'सुपर एट'मा पुगेको थियो। यसपटकको लक्ष्य सुपर सिक्स भएको र टोलीलाई सन्तुलित बनाउन एशिया कप खेलेका केही खेलाडी परिवर्तन गरिने टमाटा बताउँछन्।

यू१९ विश्वकप नेपाली टोलीमा परिवर्तनको तयारी लक्ष्य ‘सुपर सिक्स’

काठमाडौँ– गत महिना दुबईमा भएको यू१९ एशिया कपमा नेपालको लक्ष्य सेमिफाइनल थियो। त्यसका लागि नेपालले आफ्नो समूहमा रहेका तीन वटा टेस्ट मान्यता प्राप्त देशहरूमध्ये दुई वटालाई पराजित गर्नुपर्ने थियो। तर नेपाल भारत, पाकिस्तान र अफगानिस्तान तीन वटै देशसँग पराजित भयो।

नेपाल आगामी जनवरी १९ (माघ ८) देखि दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न जाँदैछ। विश्वकपको समूह चरणमा नेपालका प्रतिद्वन्द्वी भारतबाहेक एशिया कपमा खेलेका अफगानिस्तान र पाकिस्तान नै छन्। एशियाबाहिरबाट न्यूजिल्यान्ड मात्र नेपालको प्रतिद्वन्द्वी हुनेछ। 

एशिया कपको समूह चरणमा एक जित मात्रले पनि विश्वकपमा नेपालको मनोबल उच्च हुने थियो। उक्त प्रतियोगितामा नेपाली टोलीले ब्याटिङ र फिल्डिङमा गतिलो प्रदर्शन गर्न सकेन। एशिया कपमा गरेको कमजोरी विश्वकपमा सुधार गर्ने 'सिनियर' राष्ट्रिय टोलीबाट समेत खेलिसकेका अलराउन्डर गुलशन झा बताउँछन्।

“एशिया कपमा बलिङमा धेरै राम्रो भयो। अन्य कुरामा धेरै कमीकमजोरी देखियो। म आफैँले ब्याक फुटमा एकदमै स्ट्रगल गरेँ,” गुलशन भन्छन्, “अब त्यो कमजोरीलाई विश्वकपमा सुधार गर्नेछौँ।”

नेपालले हरेकजसो यू१९ एशिया कप खेलिरहे पनि विश्वकपको ढोका खोल्न करिब आठ वर्ष पर्खिनु पर्‍यो। अन्तिमपटक सन् २०१६ मा बंगलादेशमा भएको ११औँ संस्करणको यू१९ विश्वकप खेलेको थियो। त्यसअघि खेलेका चार विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। सन् २००२ मा श्रीलंकामा भएको विश्वकपमा भने नेपाल पहिलो पटक सुपर लिग (अन्तिम आठ)मा पुगेको थियो। त्यसको १४ वर्षपछि सन् २०१६ मा नेपालले इतिहास दोहोर्‍याउन सफल भएको थियो।

सन् २०१६ को यू१९ विश्वकपमा अहिलेका जल्दाबल्दा अलराउन्डर रचिन रविन्द्र र ग्लेन फिलिप्सजस्ता खेलाडी रहेको न्यूजिल्यान्डलाई समूह चरणको पहिलो खेलमै ३२ रनले पराजित गरेर नेपालले गतिलो शुरूआत गरेको थियो। दोस्रो खेलमा आयरल्यान्डलाई ८ विकेटले पराजित गर्‍यो। समूह चरणको अन्तिम खेलमा भारतसँग ७ विकेटले पराजित भए पनि नेपाल समूहको उपविजेता बन्दै अन्तिम आठ मा पुग्न सफल भयो। तर बंगलादेशसँग ६ विकेटले पराजित हुँदै अन्तिम आठबाट बाहिरिएको थियो। 

यसपटक पनि नेपालले पहिलो खेल नै न्यूजिल्यान्डसँग खेल्दैछ। एशिया कपपछि पाकिस्तान र अफगानिस्तानसँग फेरि विश्वकपमा खेल्न लागेको कारण नेपालले कमजोरी सच्याउने अवसर पाएको गुलशन बताउँछन्। “जतिकै ठूलो खेलाडी होस् उसको लय तलमाथि भइरहेको हुन्छ। आफूले मिहिनेत गर्न कहिल्यै छाड्नु हुँदैन। त्यसैले कहाँ कमजोरी भयो, त्यसमा वर्कआउट गरिरहेका छौँ,” उनी भन्छन्। 

नेपालले विश्वकप खेल्नुअघि स्टल्यान्ड (जनावरी १३) र वेस्ट इन्डिज (जनवरी १६) सँग 'वार्मअप' खेल्नेछ। त्यसैले नेपाली टोली शनिबार दक्षिण अफ्रिका जाने तयारीमा छ। समूह ‘डी’मा रहेको नेपालले पहिलो खेल जनावरी २१ मा न्यूजिल्यान्ड, २४ मा पाकिस्तान र अन्तिम खेल जनावरी २६ मा अफगानिस्तानसँग खेल्ने छ। हरेक समूहका शीर्ष तीन टोली 'सुपर सिक्स'मा पुग्नेछन्। 

विश्वकपका लागि तयार छौँ : कप्तान देव खनाल
अघिल्लो महिना दुबईमा भएको एशिया कपमा नेपाली ब्याटरले 'सर्ट बल' खेल्न संघर्ष गर्नुपरेको थियो। अन्तिम समयमा एशिया कप आयोजना गरिने ठाउँ परिवर्तन गर्दा पिचअनुसार प्रतियोगिताको तयारी गर्न नपाएको कप्तान देव खनाल बताउँछन्। 

उक्त प्रतियोगिता श्रीलंकामा आयोजना हुने तय थियो। तर त्यहाँको सरकारले क्रिकेट बोर्डमाथि हस्तक्षेप गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले श्रीलंकालाई निलम्बन गरेपछि अन्तिम समयमा प्रतियोगिता आयोजना स्थल सरेको थियो।

दुबईको घाँसे पिचमा नेपालका अर्जनु कुमालबाहेक अन्य खेलाडी चल्न सकेनन्। कुमालले प्रतियोगितामा एक अर्धशतकसहित ११९ रन बनाए। सिनियर टोलीबाट खेलिसकेका गुलशन र देवको प्रदर्शन भने निराशाजनक रह्यो। देवले प्रतियोगिताका तीन खेलमा २६ रन बनाउँदा गुलशन २२ रनमै खुम्चिए। 

एशिया कपबाट आउनेबित्तिकै यसबारे समीक्षा गरेको कप्तान देव सुनाउँछन्। “बाउन्सको कन्डिसनबारे हामीलाई अनुभव थिएन। एशिया कपले राम्रो शिक्षा दियो। अहिले त्यसैको अभ्यास गरिरहेका छौँ। चुनौतीको सामना गर्न तयार छौँ,” उनी भन्छन्। 

दक्षिण अफ्रिकाका क्रिकेट पिच छिटो र उछालपूर्ण मानिन्छन्। यस्तो पिचमा तीव्र गतिका बलरलाई धेरै मद्दत पुग्छ। यसबारे आफ्नो टोली जानकार रहेको र सबै ब्याट्सम्यानले तयारी गरिरहेको उनी बताउँछन्। यसका साथै अफगानिस्तान र पाकिस्तानका टोलीबारे आफूहरूलाई भलिभाती थाहा भएको कारण पनि विश्वकपमा सुपर सिक्समा पुग्ने लक्ष्य पूरा हुनेमा उनी आशावादी देखिन्छन्।

“उमेर समूहमा सबै उस्तै हुन्छ। न्यूजिल्यान्ड पनि हामीजस्तै टोली हो। तर न्यूजिल्यान्डविरुद्ध हामीले खेलेका छैनौँ। अफगानिस्तान र पाकिस्तानको रणनीतिबारे अध्ययन गर्नुपर्छ जस्तो लाग्दैन। न्यूजिल्यान्डको चाहिँ भिडियोहरू हेरिरहेका छौँ,” उनी भन्छन्। 

टोलीमा परिवर्तन हुन्छ: प्रशिक्षक टमाटा
जगत टमाटा उनै प्रशिक्षक हुन् जसको प्रशिक्षणमा नेपाली टोलीले आठ वर्षअघि विश्वकपमा 'सुपर एट'को यात्रा तय गरेको थियो। त्यसको एक वर्षपछि सन् २०१७ मा यू१९ टोलीको प्रशिक्षकको जिम्मा विनोद दासले पाए। 

दासकै प्रशिक्षणमा नेपालले सिंगापुरमा 'डबल राउन्ड रोबिन'मा भएको विश्वकप छनोट खेलेको थियो। ६ खेल खेलेको नेपाल दुई खेलमा अफगानिस्तानसँग (१४१ र ९६ रन) पराजित हुँदा उपविजेतामा सीमित भएपछि छनोट हुन सकेन। छनोट खेलेको एक टोलीले मात्रै विश्वकप खेल्न पाउने प्रावधान थियो।

प्रशिक्षक जगत टमाटा।

अर्को वर्ष मलेसियाको क्वालाम्वपुरमा भएको छनोटको लिगमा राम्रो प्रदर्शन गर्दै नेपालले पाँचमध्ये चार खेल जित्यो। तर दोस्रो खेलमा यूएईसँग 'डीएल मेथर्ड'मा १ रनले पराजित हुँदा पुन: उपविजेता बन्दै विश्वकपमा पुग्न असफल भएको थियो। यसपटक भने नेपाली टोलीले यूएईलाई ७ रनले पराजित गर्दै शीर्ष स्थानमा रहेर दक्षिण अफ्रिकाको टिकट काटेको हो।

आफ्नो र टोलीका लागि यो प्रतियोगितालाई चुनौतीको रूपमा लिएको प्रशिक्षक टमाटा बताउँछन्। “विश्वकप धेरै पटक खेलिसकेका छौँ। सुपर सिक्स र एटमा पनि पुगिसकेका छौँ। तर नेपाललाई जिताउन सकेका छैनौँ। राम्रो प्रदर्शन गरे खेलाडीका लागि सिनियर टोलीको ढोका खुल्न सक्छ। त्यसैले यसपटक चुनौतीको रूपमा लिएको हुँ,” उनी भन्छन्। 

विश्वकपमा नेपालका प्रतिस्पर्धी सबै टेस्ट मान्यता प्राप्त देश भएको र टोलीलाई बलियो बनाउन एशिया कप खेलेका केही खेलाडी परिवर्तन गर्ने तयारी रहेको टमाटा बताउँछन्। एशिया कपमा कप्तान देव र गुलशनसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, दीपेश कँडेल र विशालविक्रम केसी थिए। त्यस्तै, सुवास भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द पनि टोलीमा थिए।

एशिया कपअघि नेपालले मलेसियामा भएको यू१९ प्रिमियर कप खेलेको थियो। त्यस बेला टोलीमा रहेका प्रज्वलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, दुर्गेश गुप्ता, मिलन बोहोराले भने एशिया कप खेल्न पाएनन्। प्रिमियर कप खेल्ने टोलीमा गुलशन झा थिएनन्। विश्वकपका लागि दुई बलर दुर्गेश गुप्ता, मिलन बोहोरालगायत खेलाडी टोलीमा फर्कन सक्छन्। 'ब्याटिङ लाइन' बलियो बनाउन केही नयाँ ब्याटरले पनि मौका पाउने सम्भावना छ।

विश्वकपअगाडि 'वार्म अप' खेल हुने हुँदा ‘म्याच एक्सपोजर’को कमी नहुने प्रशिक्षक टमाटाको तर्क छ। दक्षिण अफ्रिकाको पिच सर्ट बलकै लागि उपयुक्त भएको कारण वार्म अप खेलले टोलीमा देखिएको कमजोरी सुधार हुने उनले बताए। यसका साथै सिनियर टोलीमा खेलिसकेका देव खनाल र गुलशन झाले पनि एशिया कपमा देखिएको कमजोरी सुधार गरिसकेको उनी बताउँछन्।


सम्बन्धित सामग्री