Thursday, May 02, 2024

-->

युद्धले तहसनहस यमनको फुटबल: जसलाई बन्द प्रशिक्षण गर्न विदेशीले मैदान दिनुपर्छ

गृहयुद्धको भुमरीमा फसेको यमनका रंगशाला ध्वस्त छन्। युद्धकै कारण फुटबल लिग ६ वर्ष रोकियो। राष्ट्रिय टोलीले विदेशी भूमिलाई घरेलु मैदान मान्नुपर्ने बाध्यताबीच फुटबल खेलाडीहरूको आत्मविश्वास भने बलियो छ।

युद्धले तहसनहस यमनको फुटबल जसलाई बन्द प्रशिक्षण गर्न विदेशीले मैदान दिनुपर्छ

काठमाडौँ- सन् २०२१ डिसेम्बर यमनी फुटबल समर्थकहरूलाई खास महिना थियो। उनीहरूको यू-१५ फुटबल टोलीले 'वेस्ट एशियन जुनियर च्याम्पियनसिप'मा फाइनलसम्मको यात्रा तय गरेको थियो। फाइनल हेर्न समर्थकका आँखा टेलिभिजन स्क्रिनमा थिए।

यमनले समूह चरणमा जोर्डन र बहराइन तथा सेमिफाइनलमा सिरियालाई पराजित गरेको थियो। फाइनलमा उसको प्रतिद्वन्दी थियो साउदी अरब। उक्त खेल हेर्न यमनी फुटबल समर्थकहरू सडकमा राखिएका ठूला स्क्रिनअघि जम्मा भएका थिए।

खेलको ४६औँ मिनेट मोहम्मद अल बरवानीको गोलमार्फत यमनले अग्रता लियो। तर दोस्रो हाफको इन्जुरी समयमा मोहम्मद अल–इसाले गोल गरेसँगै उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट हुने निश्चित भयो। पेनाल्टी सुटआउटमा यमन ४–३ गोलअन्तरले विजय भयो र उपाधि जित्यो।

जितपछि यमनका सडकमा उत्सव मनाउने ठाउँ थिएन। आतिशबाजीले आकाश ढाकिएको थियो। यो जितबाट सिनियर राष्ट्रिय टोली पनि उत्साही भएको थियो। यमनी राष्ट्रिय टोलीका कप्तान मुदिर अब्दुराबु उकालोसँग भन्छन्, “हाम्रो (यू-१५ टोलीको) लय समूह चरणदेखि नै उत्कृष्ट थियो। त्यसैले उपाधि सजिलै जित्छौँ भन्ने लागेको थियो। साउदीसँग अन्तिम समयमा गोल खाँदा अलिकति अत्तालियौँ। तर बाजी हामीले मार्‍यौँ। त्यसपछि भक्कानियौँ। हामीलाई लाग्यो यमनले विश्वकपजस्तै ठूलो प्रतियोगिता जित्यो।”

सन् २०११ मा सरकार विरोधी प्रदर्शनकारीहरू सडकमा उत्रँदा उपाधि विजेता यमनको जुनियर टोलीका सदस्य ४ देखि ६ वर्ष उमेरका थिए। यो टोलीका सदस्यले यमनको प्रतिकूलताबीच फुटबलर बन्ने सपना देख्ने पुस्ताको प्रतिनिधित्व गरेका थिए। अहिले त्यही टोलीको प्रतिनिधित्व आफूले गरिरहेको कप्तान अब्दुराबु बताउँछन्। 

उनी नेतृत्वको टोलीले फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट खेलिरहेको छ। प्रारम्भिक चरणमा श्रीलंकामाथि समग्रमा ४–१ गोलअन्तरको जित हासिल गर्दै यमन दोस्रो चरणमा पुगेको हो। यमनले घरेलु मैदानमा खेल्नुपर्ने पहिलो लेग वेल्सको रेसकोर्स स्टेडियममा खेलेको थियो।

यमनका लागि आगामी यात्रा भने सहज छैन। यो बहराइनविरुद्धको खेलले प्रमाणित गरिसकेको छ। समूह ‘एच’मा रहेको यमन दोस्रो चरणको पहिलो खेलमा बहराइनसँग २–० गोलअन्तरले पराजित भयो। यो खेल पनि साउदी अरबको प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियमलाई घरेलु मैदान बनाएर खेलेको थियो।

अबका पाँच खेलमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो चरण पुग्ने लक्ष्य राखेको यमनले मंगलबार नेपालविरुद्ध खेल्दैछ। उक्त खेल आफ्नो लागि चुनौतीपूर्ण नरहेको कप्तान अब्दुराबु बताउँछन्। “हाम्रो टोलीमा अनुभवको कमी छैन। ८० प्रतिशतभन्दा बढी पुराना र अनुभवी खेलाडी छन्। नेपालविरुद्ध खासै समस्या हुने छैन। तर आगामी सबै खेल हाम्रो लागि चुनौतीपूर्ण हुनेछन्। किनभने हाम्रो घरेलु संरचना बलियो छैन,” उनी भन्छन्।

युद्धले तहसनहस घरेलु फुटबल
सन् २०१४ मा हुथी सशस्त्र समूहले यमनको राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिए। अर्को वर्ष साउदीको नेतृत्वमा रहेको गठबन्धनले हस्तक्षेप गरेर पुरानै सरकार पुनर्स्थापना गर्ने प्रयास गर्‍यो। देश गृहयुद्धको भुमरीबाट उठ्न सकेन। यमनमा गृहयुद्ध भएयता तीन लाख ७७ हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ। जसमध्ये ६० प्रतिशतको मृत्यु भोकमरी र रोगजस्ता कारणबाट भएको छ। 

गृहयुद्ध शुरू हुनुअघि नै यमन एशियाली क्षेत्रको सबैभन्दा गरिब राष्ट्र थियो। युद्धले देशलाई झनै नाजुक अवस्थामा पुर्‍याएको छ। यसको असर यमनको फुटबलमा पनि परेको छ। 

युद्धका कारण यमनको फुटबल लिग स्थगित भयो, पूर्वाधार सबै ध्वस्त भए। रंगशाला भग्नावशेषमा परिणत भए। जसका कारण करिब ६ वर्ष शीर्ष डिभिजनको फुटबल प्रतियोगिता यमन लिग आयोजना नै भएन। कतिपय खेलाडी पलायन भए। कोही कतार, कुवेत, बहराइन, इराक र ओमान पुगेर फुटबल खेल्न थाले। कोही भने देशमै बसेर युद्ध रोकिने आशा गरिरहे। 

मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोप र सहायक प्रशिक्षक मोहम्मद सलेम अल–जुरिकी।

युद्धकै कारण फुटबलको स्तर खस्किएको राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा सहायक प्रशिक्षक मोहम्मद सलेम अल–जुरिकी बताउँछन्। “तीन वर्षअघि मात्रै लिग फेरि शुरू भएको छ। लिग त भएको छ, तर राष्ट्रिय टोलीले नियमित खेल्न पाएको छैन। कुनै बेला फिफा वरीयतामा ९३औँ स्थानमा रहेको यमनको स्तर खस्किएको छ,” उनी भन्छन्।

अहिले यमन फिफा वरीयतामा १५६औँ स्थानमा छ। उसको वरीयता नेपालभन्दा १७ स्थानमाथि छ।

सहायक प्रशिक्षक अल-जुरिकीका अनुसार यमन लिगमा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। एउटा सानामा आधारित छ र अर्को पूर्वी शहर सेयुनमा। अप्रिल २०२२ मा युद्धविराम भएपछि घरेलु लिग चल्न सकेको हो।

यद्यपि, विद्रोही समूहले देशका विभिन्न भागहरू नियन्त्रणमा लिएका छन्। जसका कारण लिग कहिलेसम्म चल्ने हो टुंगो नरहेको अल-जुरिकी बताउँछन्। यसअघि सानास्थित राष्ट्रिय टोलीको घरेलु मैदान अल थावरा स्पोर्ट्स सिटी स्टेडियममा हतियार भण्डारण गरिएको आशंकापछि पटक–पटक क्षेप्यास्त्र प्रहार भएको थियो। यसबाट रंगशाला पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यसलाई प्रयोग गर्न सकिने अवस्थामा छैन। अन्य रंगशलाहरूको हालत पनि यस्तै रहेको उनले उकालोसँग बताए।

यमनले सन् २०१० मा २०औँ अरेबियन गल्फ कप आयोजना गरेको थियो। त्यसयता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकेको छैन। युद्धकै कारण केही वर्षयता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसमेत प्रभावित भएका छन्। अहिले बन्द प्रशिक्षण राख्न कतार र साउदी अरबको मुख ताक्नुपर्ने अवस्था रहेको सहायक प्रशिक्षक अल-जुरिकीको भनाइ छ। यद्यपि, न्यूटल भेन्यूमा हुने प्रतियोगितामा यमनीहरू आएर समर्थन गर्ने उनी बताउँछन्।

“यमनको राष्ट्रिय टोलीले चाँडै नै घरेलु मैदानमा खेल्न पाउँछ जस्तो मलाई लाग्दैन। किनभने राजनीतिक समस्या अझै विद्यमान छ र निकट भविष्यमा समाधान हुने देखिँदैन। त्यसैले घरेलु मैदानमा खेल्न सम्भव छ कि छैन भन्ने विषयमा अझै बहस भएको छैन। तर हामीलाई आशा छ खेल्नका लागि एक दिन यमन सुरक्षित क्षेत्र हुनेछ,” उनी भन्छन्।

भविष्यको खोजी
घरेलु फुटबल धेरै नभए पनि राष्ट्रिय टोलीलाई निरन्तरता दिन यमन फुटबल महासंघ प्रतिबद्ध छ। उसले दोस्रोपटक चेक रेपब्लिकका नागरिक मिरोस्लाभ सुकोपलाई मुख्य प्रशिक्षकको रुपमा भित्र्याएको छ। उनी पहिलोपटक सन् २०१४ मा यमनी टोली सम्हाल्न पुगेका थिए।

उनको आगमन त्यस्तो बेला भएको थियो, जतिखेर यमनको फिफा वरीयता नेपालको भन्दा तल झरेको थियो। नेपाल १७२औँ स्थानमा रहँदा यमन १७९औँ स्थानमा थियो। भ्लादिमिर पेट्रोभिकको नेतृत्वमा रहेको टोलीले उक्त वर्ष खेलेका तीन खेलमा जित हासिल गर्न नसकेपछि उनले राजीनामा गरे। त्यससँगै यमनले २२औँ अरेबियन गल्फ कपका लागि सुकोपलाई भित्र्याएको थियो। 

उक्त प्रतियोगितामा यमन साउदी, कतार र बहराइन रहेको समूहमा थियो। तर एक खेल नजिती प्रतियोगिताबाट बाहिरियो। दुई वर्षको प्रशिक्षणकाल सकेर सुकोभ बिदा भए। यसबीचमा नौ प्रशिक्षक फरेरिए। १०औँ पटक क्षेत्रीय प्रतियोगिता अरेबियन गल्फ कपमा यमनले सहभागिता जनायो। उक्त प्रतियोगितामा सातौँ स्थानबाट माथि उक्लिन सकेन। यमन सन् २०१९ मा भने ऐतिहासिक रूपमा एशियन कपमा छनोट भयो। 

सन् २०१८ को फिफा विश्वकप छनोट गृहयुद्धसँगै शुरू भएको थियो, जसले गर्दा राष्ट्रिय टोलीका अधिकांश खेलाडी भागेर अर्को देश जिबुटी पुगेका थिए। त्यस्तो भयावह स्थितिमा राष्ट्रिय टोली निर्माण गरेको यमनले पाकिस्तान र फिलिपिन्सलाई हराउन सफल भयो। सन् २०१९ को एएफसी एशियन कप छनोटमा यमनले पहिलो चरणमा ताजिकिस्तानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। नेपाल र फिलिपिन्ससँग भने बराबरीमा रोकिएको थियो। 

मनिलामा भएको दोस्रो चरणको खेलमा फिलिपिन्सले ताजिकिस्तानलाई २–१ गोलअन्तरले पराजित गर्‍यो। यता, यमनले कतारमा भएको खेलमा नेपाललाई २–१ गोलअन्तरले पराजित गर्दै इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थान बनायो।

त्यसयता यमन यति ठूलो मञ्चमा पुग्न सकेको छैन। तर पुन: सोही मञ्चमा फर्किने मौका भने रहेको मुख्य प्रशिक्षक सुकोप बताउँछन्। यद्यपि, यसका लागि ठूलो चुनौती र समस्या रहेको उनी बताउँछन्। “हामीसँग अनुभव बटुलेका खेलाडी छन्। प्रत्येक पोजिसनका लागि तीन जना खेलाडी भेट्टाउन गाह्रो छैन,” उनी भन्छन्, “हामीले सिनियर टोलीलाई पुनर्जीवित गरेका छौँ। जसमा ७० प्रतिशत खेलाडी २३ वर्षमुनिका छन्। तर समस्या र चुनौती धेरै छन्।”

विश्वकप र एशिया कप छनोटको अर्को चरणमा पुग्न सके खेलाडीहरूका लागि मूल्यवान अनुभव मात्र होइन, यमन फुटबल महासंघका लागि लाखौँ डलर प्राप्त हुनेछ। यमन फुटबल महासंघले तयारीस्वरुप प्राप्त हुने रकमबाट आफ्नो स्तर सुधार र पुनर्निर्माण गर्न कोषको निमार्ण गर्न सक्छ। कोष निर्माण भए लिग सिजन पूरा गर्न सकिन्छ। यमनमा नियमित रुपमा लिग हुन थाले राष्ट्रिय टोलीमा प्रतिस्पर्धा बढ्ने छ। यसले गर्दा गुणस्तरिय खेलाडीको खाँचो यमनलाई हुनेछैन। तर मुख्य समयस्या भनेको आर्थिक अवस्था नै भएको सुकोप बताउँछन्।

आर्थिक अभावकै कारण महासंघले सिनियर टोलीलाई भन्दा यू-२३ टोलीलाई बढी प्राथमिकता दिएको छ। जनवरीदेखि सिनियर टोलीको क्याम्प राखिएको छैन। किनभने महासंघसँग दुई सेट कोचिङ स्टाफ राख्न सक्ने क्षमता नरहेको र दुवै टोली आफूले हेरिरहेको सुकोप बताउँछन्।

“दुवै टोलीको तयारीको जिम्मेवारी मैले लिएको छु। पश्चिम एशियाली खेलकुद र भियतनाममा हुने एशियन यू–२३ च्याम्पियनसिप छनोटका लागि मैले नै प्रशिक्षण दिएको थिएँ,” उनी सुनाउँछन्।

सिंगापुर र गुआमलाई पराजित गरे पनि आयोजक भियतनामसँग १–० ले पराजित हुँदा यमन एशियन यू–२३ च्याम्पियनसिप छनोटमा स्थान बनाउनबाट यमन वञ्चित भएको थियो। यद्यपि, उनी त्यो नतिजा सम्झन चाहाँदैनन्। अहिले आफ्नो ध्यान विश्वकप छनोटमा नै भएको र तेस्रो चरणमा पुगेर यमनी समर्थकलाई रंगशालासम्म ल्याउने लक्ष्य रहेको उनी बताउँछन्। किनभने कोही पनि प्रतिस्पर्धी युद्धग्रस्त राष्ट्रको भ्रमण गर्न जाँदैनन्।


सम्बन्धित सामग्री