Monday, April 29, 2024

-->

प्राधिकरणलाई बाह्रबिसे सबस्टेसन निर्माण तत्काल सक्नुपर्ने दबाब

१०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेपछि त्यहाँ उत्पादित विद्युत् जोडिने सबस्टेसन निर्माण पूरा गर्न प्राधिकरणलाई दबाब परेको छ।

प्राधिकरणलाई बाह्रबिसे सबस्टेसन निर्माण तत्काल सक्नुपर्ने दबाब

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माण तत्काल सम्पन्न गर्नुपर्ने दबाबमा परेको छ।

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेपछि त्यहाँ उत्पादित विद्युत् जोडिने सबस्टेसन निर्माण पूरा गर्न प्राधिकरणलाई दबाब परेको हो। 

मध्यकोटीशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन्। त्यहाँबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सब स्टेसनमा जोडिनेछ। आयोजनाले आफ्नो विद्युत्‌गृहबाट बाह्रबिसे सब स्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ।

बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण ढिलाइ हुँदै आएको छ।

प्राधिकरणले कार्यसम्पादन सुधार्न पटक–पटक दिएको निर्देशन निर्माण व्यावयासीले पालना गरेका छैनन्। कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले शनिबार सबस्टेसन निर्माणस्थल अनुगमन गरेको थियो। सो क्रममा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायत विषयमा छलफल भएको थियो। 

फागुनयता निर्माण कार्यले केही गती लिएको कार्यकारी निर्देशक घिसिङले बताए। श्रमिकको संख्या थप गरी निर्माणमा तीव्रता दिन निर्देशक दिँदै घिसिङले आफू साप्ताहिक रूपमा नियमित अनुगमनमा आउने बताए। “पावर ट्रान्सफर्मरलगायत सबस्टेसन राखिने उपकरण निर्माणस्थलमा आइसकेका छन्। अब ढिलाइ गर्नुपर्ने कुनै कारण नै छैन,” उनले भने, “तीन महिनाभित्रमा जसरी पनि सम्पन्न गर्नुपर्छ नत्र मध्यभोटेकोशीको विद्युत् खेर फाल्नुपर्ने पीडादायी अवस्था आउँछ। त्यसैले यसलाई ध्यान दिएर काम गरौँ।”

सब स्टेसनमा २२०/१३२ केभी, १६० एमभीए, १३२/११ केभी र ५ एमभीएका पावर ट्रान्सफर्मर रहने छन्। बाह्रबिसेमा नै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ। प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ।

तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ। २२ मेगावाटको माथिल्लो चाकू ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी  शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ। शिवश्री हाइड्रोपावरले लामोसाँघू सब स्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको कामसमेत शुरू हुन सकेको छैन।

करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सब स्टेसनसम्म तीन किलोमिटर चार सर्किट (मल्टी सर्किट प्रसारण लाइन बनाउनु पर्नेछ। तर, कम्पनीले अहिलेसम्म उक्त काम थालेकै छैन। 


सम्बन्धित सामग्री