Wednesday, May 15, 2024

-->

धान रोपाइँ पोहोरको भन्दा २० प्रतिशत कम

सातै प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ।

धान रोपाइँ पोहोरको भन्दा २० प्रतिशत कम

काठमाडौँ– मुलुकभर हालसम्म ९ लाख २७ हजार २ सय ३३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। यो धान रोपाइँ हुने कुल क्षेत्रफलको ६८ प्रतिशत मात्र हो।

कृषि मन्त्रालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा करिब २० प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको हो। समयमै मनसुन नहुनु, रासायनिक मलको अभाव र लम्पी स्किन रोगका कारण खेत जोत्ने गोरु अभाव हुँदा सययमै रोपाइँ हुन नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

कृषि विभागबाट प्रदेशसँगको समन्वयमा तयार पारिएको विवरणअनुसार सातै प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ। त्यहाँ  ३ लाख ५४ हजार ३ सय ८३ हेक्टर रोपाइँ हुने क्षेत्रफलमध्ये हालसम्म जम्मा १ लाख ६३ हजार १६ हेक्टरमा मात्र किसानले धान रोपेका छन्। यस्तै, बाग्मती प्रदेशमा रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत अर्थात् ७३ हजार ५ सय ४ हेक्टरमा मात्र रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ।

मधेश, बागमती र गण्डकी प्रदेशमा समयमै मनसुन नहुँदा रोपाइँ कम भएको मन्त्रालयका प्रवक्ता सञ्जेलले बताए। कर्णाली प्रदेशमा विशेषगरी लम्पी स्किन रोगको प्रभावले गोरुको अभाव भई रोपाइँ प्रभावित भएको छ। मध्य तराईमा ढिलो नै रोपाइँ हुने भएकाले साउन मसान्तसम्म ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको अपेक्षा छ।

 


सम्बन्धित सामग्री