Friday, May 03, 2024

-->

टेपकाण्ड: आफैँले रचेको भुमरीमा आरजु

शरणार्थी प्रकरणमा नाम जोडेर सामाजिक सञ्जालमा भाइरल बनेको टेपबारे छानबिन गर्न साइबर ब्युरोमा उजुरी दिएकी आरजुले प्रहरीलाई सत्यतथ्यबारे लिखित जानकारी दिन दबाब दिएकी थिइन्, जवाफबाट आफैँ खुशी छैनन्।

टेपकाण्ड आफैँले रचेको भुमरीमा आरजु

काठमाडौँ– भुटानी शरणार्थी प्रकरणको अनुसन्धानले देशभित्र/बाहिर रहेका नेपालीको ध्यान खिचिरहेको समय। वैशाखको अन्तिम सातातिर सामाजिक सञ्जालका प्लेटफर्महरूमा एउटा अडियो टेप भाइरल भयो। दुई जनाबीचको संवाद टेप गरिएको अडियोमा एक जनाले अर्कासँग साढे २ करोड आरजु देउवाले, ६ करोड बालकृष्ण खाँड र मञ्जुदेवी (खाँडकी श्रीमती) ले बुझेको बताउँछन्। त्यसबेला सत्तामा रजगज श्रीमती देउवाकै थियो। 

अहिले पनि उनी सत्ताकै रजगज नजिक छिन्। तर यो टेप सुन्नेले यहाँ गरिएको कुराकानीलाई ‘भाइरल’ बनाइदिए। उक्त टेपकाण्डले भुटानी शरणार्थी प्रकरणमा नयाँ आशंका र ‘कनेक्सन’को सम्भावना देखियो।

संवाद क–कसकाबीच थियो भन्ने पनि पत्तो लागिहाल्यो। उक्त वार्ता अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका (अहिले पुर्पक्षका लागि जेलमा) सन्देश शर्मा र शरणार्थी काण्डका उजुरीकर्ता गजेन्द्र बुढाथोकीबीच भएको थियो। प्रहरीले शर्मासँग बयान लिइरहेको समय थियो, टेपबारे पनि सोधिहाल्यो। बयानमा उनले आवाज आफ्नै भएको त स्विकारे, तर आरजु देउवालाई पैसा दिएको इन्कारी बयान मात्र दिएनन, आरजु देउवासँग कहिल्यै भेट नभएको बताए।

शरणार्थी बनेर अमेरिका उड्न पैसा बुझाएकाहरूले घरै घेर्न आएकाले छुटकारा पाउन त्यस्तो टेप गर्न परेको शर्माले बयान दिएका थिए। उनको यस्तै व्यहोराको बयान मुद्दाको मिसिलमै छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार शर्माले इन्कारी बयान गरेपछि दुईबीचको कुराकानीलाई पुष्टि गर्ने अन्य स्वतन्त्र प्रमाण फेला परेन। “अरूका बारे गरिएका यस्ता कुराकानी अन्य प्रमाणले शंकारहित हुने गरी पुष्टि नगरे काम लाग्दैनन्,” काठमाडौँ प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दानबहादुर कार्की भन्छन्।   

यो सब थाहा पाएरै हुनुपर्छ सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएरै श्रीमती देउवाले अडियो ‘फेक’ भएको दाबी गरिन्। त्यसपछि, वैशाख २७ गते अडियो टेपको वास्तविकता पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोमा उजुरी नै दिइन्। 

यसअघि शर्माको इन्कारी बयानले नक्कली भुटानी शरणर्थी प्रकरणमा श्रीमती देउवाको संलग्नताको सवाललाई बल दिनबाट रोकेको थियो। अनुसन्धानमा संलग्न प्रहरी निकायहरूका अनुसार श्रीमती देउवाको मात्र होइन श्रीमती खाँडको पनि शरणार्थी प्रकरणमा संलग्नता जोड्ने कडी फेला परेन। 

टेपकाण्ड पनि नेपालीको विस्मृतिमा पुग्नपुग्नै थालिसकेको थियो। उनले अडियो टेपको वास्तविकता पत्ता लगाउन वैशाख २७ गते दिएको उजुरीअनुसार प्रहरीले छानबिनको नतिजा सार्वजनिक गरेपछि अवस्था फेरियो। प्रहरी प्रधान कार्यालयले श्रीमती देउवालाई टेप परीक्षण गरी दिएको चिठी असार २४ गते सार्वजनिक भएपछि एकाएक सो टेपकाण्ड ताजा भएर आयो नै, श्रीमती देउवातिरै शंकाको सवाल तेर्सियो। सामाजिक सञ्जाल टेपकाण्ड र नक्कली भुटानी शरणर्थी प्रकरणमा उनको संलग्नताको प्रसंगले रंगियो।

प्रहरी प्रधान कार्यालयले आवाज कहाँ र कसबाट शुरूमा हालिएको भन्ने विषयमा ‘टिकटक सिंगापुर’लाई पत्राचार गरेको र थप विवरण प्राप्त हुन नसकेको चिठीमा उल्लेख गरेको छ। उक्त आवाज ठगी तथा संगठित अपराध कसुर मुद्दा जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर–१६ दाङ घर भएका शर्माको ‘कन्ट्रोल स्याम्पल’सित मेल खाएको पनि चिठीमा लेखिएको छ।

श्रीमती देउवाले अडियोको सत्यतथ्यबारे लिखित जानकारी दिन दबाव दिएपछि प्रहरीले सो चिठी दिएको थियो। प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी परिसर, सीआईबी, साइबर ब्युरो र सबै निकायमाथि ‘क्लिन चिट’ जस्तो देखिने लिखित जानकारी दिन दबाब परेको थियो। तर, मुद्दाको मिसिलमा समावेश भई अदालतमा पुगिसकेको विषयमा प्रहरीले यस्तो लेखेर दिन मिल्दैन भन्दै सबै कार्यालय टक्टकिएका थिए।

शर्माले बयानमा भनेका कुरासहित पत्र लेख्न श्रीमती देउवाले दबाव दिइरहेकी थिइन्, प्रहरी अधिकारीहरू मिसिलमा संलग्न कागजातमा उल्लेख भएका विषय प्रहरीले लेख्नै नमिल्ने जिकिर गरिरहेका थिए। ‘बरु म्याडम् स्वयमले मिसिलबाट सो कागजको नक्कल लिन लगाई आफैँ सत्यतथ्य सार्वजनिक गर्दिनु उपयुक्त हुन्छ,’ प्रहरी अधिकारीहरूको सुझाव थियो।          

श्रीमती देउवाको दबाबमा आखिरमा प्रहरी प्रधान कार्यालयले चिठी दियो, प्रहरी प्रवक्ता कुबेर कडायतले अडियोको सत्यतथ्य लेखेर पठाइदिए। तर चिठी सर्वजनिक भएपछि श्रीमती देउवालाई मिडिया र सामाजिक सञ्जालले फेरि शरणार्थी प्रकरणमा तानिहाले। यसपछि असार २४ गते उनले प्रतिनिधिसभा बैठकमा बोल्दै महिला भएको कारण चुनौती खडा गर्न लागिएको गुनासो गरिन्। आफ्नो नाम जोडिएर प्रश्नहरू उठाइएकोमा आपत्ति जनाउँदै आफूले ‘केही बिराएको छैन र डराउँदिन’ भन्ने दाबी गरिरहेकी थिइन्। 

प्रहरीप्रति रुष्ट
प्रहरीप्रति पनि श्रीमती देउवाको गुनासो छ। ‘देउवा परिवारका प्रेस सल्लाहकार’ गोविन्द परियार प्रहरीको चिठी म्याडमको हातमा पुग्नुअघि नै प्रेसमा पुगेकाले पनि प्रहरीको नियतमाथि शंका उठेको बताउँछन्। “चिठी पहिला सामाजिक सञ्जालमा पुलिससम्बद्ध पत्रकारहरूका ग्रुपमा पुगेको पाइयो,” उनी भन्छन्।

यस्तै, शर्माको इन्कारी बयानको व्यहोरा पनि चिठीमा राखिने अपेक्षा भएको परियार बताउँछन्। तर यस्तो व्यहोरा चिठीमा नपर्दा श्रीमती देउवा रुष्ट भएकी थिइन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले चाहिँ चिठी प्रहरीले सार्वजनिक नगरेको जिकिर गरे। साथै मुद्दाको मिसिलमा संलग्न कागजमा लेखिएको व्यहोराबारे लेख्न नमिल्ने भएकैले उल्लेख नगरेको उनले बताए। “अडियो परीक्षण प्रतिवेदन मात्रै उल्लेख गर्न मिल्थ्यो,” उनले भने, “त्यति मात्र उल्लेख गर्दा भ्रम पर्न गएको पनि हुनसक्छ।”


सम्बन्धित सामग्री