Monday, April 29, 2024

-->

तीन प्रतिशतसम्म घट्यो सार्वजनिक यातायातको भाडादर

नयाँ भाडादर लागू भए/नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन्।

तीन प्रतिशतसम्म घट्यो सार्वजनिक यातायातको भाडादर

काठमाडौँ– पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगत्तै सार्वजनिक यातायातको भाडा झन्डै तीन प्रतिशत घटेको छ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो। स्वचालित प्रणालीअनुसार डिजेलमा चार रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।

त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए।

घटाएको भाडादर सोमबारदेखि लागू हुने विभागले जनाएको छ। नयाँ भाडादर लागू भए/नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भाडा समायोजनसम्बन्धी कार्यविधिमा भएको व्यवस्थाका आधारमा समायोजन गरिएको जानकारी दिए।

पेट्रोलियम पदार्थमा पाँच प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादरसम्बन्धी कार्यविधिमा व्यवस्था छ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्न मन्त्री ज्वालाले आइतबार विभागलाई निर्देशन दिएका थिए।


सम्बन्धित सामग्री