Thursday, April 25, 2024

-->

पारसको सन्यासपछि ‘सेट’ हुन नसकेको ब्याटिङ अर्डरः कसले धान्ला तेस्रो नम्बर?

पारस खड्काले १० ओडीआई खेल्दा आठ वटामा तेस्रो स्थानमा ब्याटिङ गरेका थिए। मन्टी देसाईले प्रशिक्षण सम्हाले यता पाँच ब्याटरलाई तेस्रो स्थानमा प्रयोग गरेका छन्। तर कोही पनि सफल भएका छैनन्।

पारसको सन्यासपछि ‘सेट’ हुन नसकेको ब्याटिङ अर्डरः कसले धान्ला तेस्रो नम्बर

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका ओपनर अर्जुन साउद शुक्रबार एसीसी इमर्जिङ टिम्स एशिया कपअन्तर्गत पाकिस्तान 'ए'विरुद्धको खेलमा ब्याटिङका लागि तेस्रो नम्बरमा आए। नौ ओडीआई खेलिसकेका उनीले सबै खेलमा ओपनिङ गरेका थिए। ओडीआई मान्यता नभएको उक्त खेलमा भने पहिलोपटक तेस्रो नम्बरमा उत्रिएका हुन्।

पछिल्लो समय तेस्रो नम्बरमा भीम सार्की, कुशल मल्ल वा ज्ञानेन्द्र मल्लले ब्याटिङ गर्ने गरेका छन्। १० महिनादेखि राष्ट्रिय टोलीबाट बाहिर रहेका देव खनालले पनि तेस्रो नम्बरमा ब्याटिङ गर्थे। अहिले भइरहेको इमर्जिङ टिम्स एशिया कपमा ज्ञानेन्द्र मल्ल टोलीमा छैनन्। देव, भीम वा कुशल मल्लले खेलिरहेको स्थानमा प्रशिक्षक मन्टी देसाईले अर्जुनलाई पठाएका हुन्।

तर २० वर्षीय अर्जुनले तेस्रो स्थानको जिम्मेवारी बहन गर्न सकेनन्। २० बलमा २ चौका र १ छक्कासहित १७ रन बनाएर पेभेलियन फर्किए।

सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाए यता नेपालले खेलेका ठूला प्रतियोगिता लिग-२, एसीसी प्रिमियर कप र एक दिवसीय विश्वकप छनोट हुन्। यी प्रतियोगितामा पूर्वकप्तान पारस खड्का, शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल मल्ल, गुल्सन झा, देव खनाल र भीम सार्कीले तेस्रो स्थानमा ब्याटिङ गरेका छन्। पारसले क्रिकेटबाट सन्यास लिइसकेका छन्।

उनले सन्यास लिनुअघि जम्मा १० ओडीआई खेल्दा आठ वटामा तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए। यही स्थानमा ब्याटिङ गरेर उनले ओडीआई करियरकै एक मात्र शतक प्रहार गरे। ओडीआईमा उनले ३५ को औसतमा रन बनाएका छन्। जम्मा ३१५ रन बनाएका उनले २६१ रन तेस्रो स्थानमा ब्याटिङ गरेर बनाएका हुन्।

पारसले सन्यास लिएपछि तेस्रो स्थानमा धेरैजसो ज्ञानेन्द्र ब्याटिङ गर्थे। तर उनी लामो समयदेखि लयमा छैनन्। राष्ट्रिय टोलीमा राखिए पनि प्रशिक्षकले उनलाई अन्तिम-११ मा कमै मात्र मौका दिने गरेका छन्। जसले गर्दा तेस्रो स्थानमा अहिले भीम र कुशल लगातार प्रयोग भइरहेका छन्।

किन महत्त्वपूर्ण छ तेस्रो नम्बर?
नेपाल क्रिकेट संघ (क्यान) ले गठन गरेको राष्ट्रिय टोली छनोट समितिका संयोजक दीपेन्द्र चौधरी तेस्रो स्थानमा ब्याटिङ गर्ने खेलाडीले टिक्नुपर्ने र रन उकास्नुपर्ने दोहोरो जिम्मेवारी हुने बताउँछन्। यो स्थानमा दबाब हुने र त्यसलाई झेल्न सक्ने खेलाडी चाहिने उनको भनाइ छ। 

“ओपनिङ गर्न अलिक सहज हुन्छ। तर एक विकेट गयो भने टोली नै दबाबमा पर्छ। त्यो दबाब रिलिफ गर्ने काम नम्बर तीनले गर्ने हो। त्यसैले सबैभन्दा गाह्रो ब्याटिङ स्थान यसैलाई मानिन्छ,” चौधरी भन्छन्।

पारस राष्ट्रिय टोलीमा हुँदा ओपनिङ पनि गर्थे। उनी ‘वान डाउन’ झरेर वा चौँथो नम्बरमा पनि खेल्न सक्थे। २०६६ सालदेखि राष्ट्रिय टोलीको कप्तानी सम्हालेका उनीसँग आक्रामक ब्याटिङ गर्ने क्षमता थियो। ओपनिङमा उत्रिएर ‘पावर प्ले’मा राम्रो शुरूआत दिलाउन सक्थे।

पारस ओपनिङमा उत्रिँदा तेस्रो नम्बरमा शरद भेषवाकरले ब्याटिङ गर्थे। उनी टोलीमा नपरेको लामो समय भइसकेको छ। ओडीआईमा भने उनले धेरै मौका पाएनन्। उनले खेलेका जम्मा चार ओडीआईमध्ये एउटामा तीन नम्बरमा ब्याटिङ गरेका छन्।

२०७६ माघ २२ गते कीर्तिपुरमा भएको लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा तेस्रो स्थानमा ब्याटिङ गरेर उनले ५५ रन बनाएका थिए। अन्य तीन खेलमा ओपनिङमा उत्रिएका उनले जम्मा ११ रन मात्र बनाए।

राष्ट्रिय टोलीबाट अन्तिमपटक शरदले ओमानमा ओडीआई खेलेका थिए। तत्कालीन प्रशिक्षक डेभ वाट्मोरले दिएको मौकामा उनी ६ बलमा १ रन बनाएर अविजित रहेका थिए।

राष्ट्रिय टोलीमा रहेकामध्ये ज्ञानेन्द्र सबैभन्दा पुराना खेलाडी हुन्। उनले खेलेका ३७ मध्ये २४ ओडीआईमा तेस्रो स्थानमा ब्याटिङ गरेका थिए। उनले १ शतक र ७ अर्धशतकसहित ५९४ रन बनाएका छन्। 

इमर्जिङ कपका लागि भने उनलाई राष्ट्रिय टोलीमा राखिएको छैन। प्रमुख छनोटकर्ता चौधरीका अनुसार ‘बेन्च’ बलियो बनाउन ज्ञानेन्द्रलाई यस प्रतियोगितामा टोलीमा नराखिएको हो। “बेन्च बलियो भएन भनेर बेलाबेला चर्को आलोचना भइरहन्छ। यो प्रतियोगिता युवा खेलाडीको भएको कारण नयाँलाई मौका दिन र बेन्च बलियो बनाउन उहाँलाई बाहिर राखिएको हो,” उनी भन्छन्।

तेस्रो नम्बरमा लगातार प्रयोग
पछिल्लो समय नेपालको प्रशिक्षण सम्हालेका वाट्मोरसहित पबुदु दासानायके र मनोज प्रभाकरले तेस्रो नम्बरका ब्याटरमा नयाँ प्रयोग गरेका थिए। उनीहरूले ज्ञानेन्द्रबाहेक कहिले आशिफ शेखलाई त कहिले देव खनाललाई ‘वान डाउन’ झारेर प्रयोग गरे। आशिफ तेस्रो नम्बरमा जम्न सकेनन्। पछिल्लो समय लगातार ओपनिङ गरिरहेका छन्। 

लिग–२ अन्तर्गत गत वर्ष पपुवा न्यू गिनीविरुद्ध ओडीआई डेब्यू गरेका १८ वर्षीय देवले भने पारसको उत्तराधिकारी बन्ने खुबी देखाएको क्रिकेट प्रशिक्षक जगत टमटा बताउँछन्। उनले १० इनिङ्समा दुई अर्धशतकसहित २५३ रन बनाएका छन्। 

नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक टमाटा तेस्रो स्थानमा अनुभवी ब्याटर नै चाहिने बताउँछन्। तर पछिल्लो समय देवमा केही परिपक्वता देखिएको उनको भनाइ छ।

“देव एकदेखि चार नम्बरसम्म जुनसुकै स्थानमा ब्याटिङ गर्न सक्छ। उसमा टप अर्डर सम्हाल्न सक्ने खुबी छ। बलअनुसार सटको छनोट गर्न सक्छ। भीमले पनि यो स्थान सम्हालेका थिए। तर अनुभवी ब्याटर खेल्ने स्थान भएको कारण पर्याप्त एक्सपोजर नपाएकोले उसले माइन्ड सेट गर्न सकेन,” उनी भन्छन्।

करिअरले उचाइ लिँदै गर्दा देवले राष्ट्रिय टोली मात्र होइन बन्द प्रशिक्षणमा समेत स्थान पाएनन्। लेग स्पिनर सन्दीप लामिछानेको नाबालिग बलात्कार मुद्दामा बयान दिनुपर्ने भन्दै उनलाई क्यानले बन्द प्रशिक्षणमा समेत नबोलाएको हो।

क्यानका कार्यवाहक सचिव दुर्गा पाठकका अनुसार सन्दीपको मुद्दामा उनी साक्षी भएको कारण पछिल्लो १० महिना बन्द प्रशिक्षणमा नराखिएको हो। “यो (सन्दीपको) मुद्दामा उनी पनि एक गवाह भएको कारणले गर्दा अदालत धाउनुपर्ने हुन सक्थ्यो। त्यसैले उनलाई हामीले क्याम्पमा नै राखेका थिएनौँ,” उनले भने। 

तर मुद्दा खेपिरहेका सन्दीपलाई भने राष्ट्रिय टोलीमा राखिएको छ। अदालतले बोलाउने सम्भावना भएको भनिएका देव बयान दिन जानु परेको छैन। बरु उनलाई क्यानले यू-१९ विश्वकप छनोट खेल्ने टोलीको कप्तान बनाएर पठाएको थियो। नेपाल सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा छनोट भएको छ।

नयाँ प्रशिक्षक मन्टीले देव बाहिरिएपछि उक्त स्थानमा भीम, कुशल र गुलशन झालाई प्रयोग गरिरहेका छन्। तर उनीहरू कोही पनि यो स्थानमा जम्न सकेका छैनन्। लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको ओडीआईमा डेब्यू गरेका कुशलले ६ नम्बरमा ब्याटिङ गरेका थिए। उनले २७ ओडीआई खेल्दा २५ इनिङ्समा ब्याटिङ गरेर एक शतक र चार अर्धशतक बनाएका छन्। 

कुशलले ६ इनिङ्समा तीन नम्बरमा ब्याटिङ गरेका छन्। तर लामो सट खेल्न रुचाउने १९ वर्षीय कुशल त्यो भूमिकामा जम्न सकेनन्। यी ६ इनिङ्समा जम्मा १०० रन प्रहार गरेका छन्। उनलाई अहिले ५ या ६ नम्बरमा ब्याटिङ गर्न पठाइन्छ।

अर्का आशा गरिएका ब्याटर भीम पनि तेस्रो स्थानमा चल्न सकेनन्। तीन वर्षअघि पपुवा न्यू गनीविरुद्ध डेब्यु गरेयता उनले १५ इनिङ्समा ब्याटिङ गरेका छन्। उनलाई प्रशिक्षक मन्टीले चार इनिङ्समा तेस्रो स्थानमा प्रयोग गरेका थिए। हरारेमा भएको एक दिवसीय विश्वकप छनोटमा यूएईविरुद्ध अविजित रहँदै ७७ रन प्रहार गर्नुबाहेक अरू तीन खेलमा जम्न सकेनन्।

यस्तै, उत्कृष्ट फिनिसर मानिएका गुलशनलाई पनि प्रशिक्षक मन्टीले तेस्रो स्थानमा प्रयोग गरेका छन्। उनी कीर्तिपुरमै भएको यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनल खेलमा तेस्रो स्थानमा क्रिज उत्रिएका थिए। उक्त खेलमा अविजित रहँदै ६७ रन बनाएर नेपाललाई ७ विकेटको जित दिलाए। 

तेस्रो स्थानका ब्याटर खोजिरहेका मन्टीलाई अझै आत्मसन्तुष्टि मिलेको छैन। उनी अझै तेस्रो नम्बरमा ब्याटिङ गर्न सक्ने ब्याटरको खोजीमा छन्। त्यही सिलसिलामा उनले पाकिस्तान 'ए'विरुद्ध अर्जुनलाई परीक्षण गरेका हुन्।

कस्तो ब्याटर चाहिन्छ?
पूर्वप्रशिक्षक टमाटा तेस्रो स्थानमा उत्रिने ब्याटरले खेलको अवस्था बुझ्नुपर्ने बताउँछन्। आफू कस्तो बलरसँग खेल्न जाँदै छु भनेर क्रिजबाहिर ‘होमवर्क’ गर्नुपर्ने र क्रिजमा केही मिनेट परीक्षण गर्नुपर्ने उनी बताउँछन्।

“इनिङ्सको पहिलो विकेट झरेसँगै टोलीको लय स्वतः डाउन हुन जान्छ। त्यसैले केही मिनेटसम्म तेस्रो नम्बरमा आउने ब्याटरले परीक्षण गर्नुपर्छ,” टमटा भन्छन्, “तीव्र इन स्विङ्गर होस् या एज खोज्ने आउट स्विङ होस्, ब्याटरले डिफेन्स गर्न र बेलाबेला काउन्टर गर्न सक्नुपर्छ।”

बाउन्सर र योर्कर क्रिकेटको सामान्य हतियार बनेको टमटा बताउँछन्। बाउन्सविरुद्ध पुल सट र योर्करविरुद्ध डिफेन्स गर्न सक्ने खुबी वान डाउन ब्याटरमा हुनुपर्ने उनको भनाइ छ। 

नेपाली टोलीमा पारसपछि पछिल्लो समय जति प्रयोग भए, ती खेलाडीलाई यी सबै सट खेल्न सक्ने क्षमता छैन भनेर भन्न नमिल्ने टमटा बताउँछन्। तर लामो स्वरूपको क्रिकेटमा बानी पार्न नसकेको उनको भनाइ छ। 

“स्किलवाइज सबै केटाहरू राम्रा छन्। तर हामी हतासमा खेल्छौँ। फिफ्टी ओभरको खेल हो भनेपछि मैले ३०० बल खेल्नुपर्छ भनेर माइन्ड सेट गरेर मैदान जानुपर्छ। एक दुई ओभर मेडन गयो भनेर खिन्नता जनाउनु पर्दैन," टमटा भन्छन्, "मैले गलत सट खेल्न हुँदैन, टी–२० मा जस्तो बललाई उडाउनुहुँदैन भन्ने कुरा खेलाडीमा बोध हुनुपर्छ, जुन हाम्रो केटाहरूमा देखिँदैन।”

पछिल्लो समय तीन नम्बरको ब्याटर नचल्दा नेपाली क्रिकेटले लगातार लय गुमाउँदै गएको छ। लिग-२ का पछिल्ला १२ मध्ये ११ मा जित हासिल गरेको नेपालले त्यसपछि घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपमा अपराजित रहँदै उपाधि जितेको थियो। तर भर्खरै जिम्बावेमा सम्पन्न एक दिवसीय विश्वकप छनोटअघिका ‘वार्मअप’ म्याच र प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्न सकेन। उक्त प्रतियोगितामा नेपाल ६ मध्ये चार खेलमा पराजित भएको थियो।

जिम्बावे जानुअघि दक्षिण अफ्रिकामा भएका दुई वार्मअप म्याचमा पनि नेपालले पराजय भोगेको थियो। टमटा यी सबै खेलमा नेपालको कमजोर प्रदर्शन हुनुलाई तेस्रो नम्बरमा देखिएको संकट नै मान्छन्।


सम्बन्धित सामग्री