राजनीतिक अन्योलबीच आशा जगाउने एनपीएल

'फेस्टिबल अफ हिमालय' को नारा दिएर शुरू भएको नेपाल प्रिमियर लिग नेपाली क्रिकेट इतिहासमा एक महत्त्वपूर्ण कोसेढुंगा साबित हुने क्रममै छ।

मङ्सिर १ गते सुरु भई झन्डै चार हप्तासम्म चलेको एनपीएल भर्खर सकियो। नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाईट्सको उज्यालोमा एनपीएल सम्पन्न भयो। करिब ५० भन्दा बढी विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्तरका क्रिकेट कमेन्टेटर, स्टेडियममा दैनिक हजारौँ दर्शक, ओटीटी र अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन च्यानलबाट प्रसारणजस्ता कैयौँ चीजले एनपीएलको रौनक बढायो। परिवर्तित राजनीतिक घटनाक्रमको पृष्ठभूमिबीच देशभित्र छाएको शून्यतामा 'क्रिकेट युनाईट्स नेपाल' को नारा दिएर नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय एकता सञ्चार गर्ने अग्रसरता लियो। तीन महिना अगाडिको जेनजी आन्दोलनका बाबजुद एनपीएल सानदार सम्पन्न भयो। क्रिकेट संघले जसरी पनि तोकिएकै समयमा एनपीएल आयोजना हुने भन्दै फ्रेन्चाईज टोलीलाई विश्वास दिलाएपछि एनपीएल सम्भव भएको हो। राजनीतिक परिवर्तनपश्चात् व्यापारिक क्षेत्रमा घटेको आत्मविश्वासबीच यति ठूलो इभेन्ट संचालन हुन सक्नु अहिलेको परिस्थितिमा क्रिकेट संघको महत्त्वपूर्ण उपलब्धि हो भन्न सकिन्छ।

फ्लडलाइट्सको रौनक
विदेशीका ठूलाठूला लिगदेखि वर्ल्डकप, विदेशी ठूला टिमहरूको खेल फ्लडलाईट्समा हेरेका नेपाली दर्शकले यस पटक आफ्नै देशभित्रको क्रिकेट प्रतियोगिता बिजुलीको उज्यालोमा हेर्न पाए। पहिलो सिजनको एनपीएल सकिएपछि नै क्रिकेट ग्राउन्ड स्तरोन्नतिको कार्य सुरुवात भई दोस्रो सिजन सुरु हुनु अगावै सो सकियो। सरकारले पहिलो फेजमा सम्पन्न स्टेडियम औपचारिक रूपमा क्रिकेट संघलाई हस्तान्तरण पनि गर्‍यो।

एनपीएलको गभर्निङ काउन्सिलले फ्लडलाइट्स जडान कार्य एनपीएल सुरु हुनुअघि सम्पन्न हुने- नहुने लेखाजोखा गरी निकै ढिला टुर्नामेन्ट तालिका निकाल्यो। परीक्षण मात्रै गर्न कैयौँ दिन लाग्यो। निकै शंका‍-उपशंकाबीच कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाट्स मुनि सम्पन्न भए। फ्लडलाइट्सको अत्याधुनिक प्रविधिले हरेक खेललाई जीवन्त बनायो। एक खेलमा बाहेक फ्लडलाइट्समा समस्या देखिएन। जाडोको समयमा दिउसो/रातीको खेलमा दर्शकहरूको उल्लेख्य सहभागिता रह्यो।

अघिल्लो वर्ष भएको एनपीएल १ होस् या नेपाल टी २० लिग अथवा टीयु क्रिकेट ग्राउन्डमा केही वर्ष अगाडि भएका एभरेस्ट प्रिमियर लिगका विभिन्न संस्करणसमेत दिउँसो नै संचालन भएका थिए। यस पटकको एनपीएल सिजन चार हप्तासम्म संचालन हुँदै गर्दा जम्मा ९ दिन मात्रै दिउँसोको समय खेलहरू भए। व्यस्त जीवनशैलीले गर्दा दिउसो प्राय: मान्छेहरूको फुर्सद कम हुन्छ। अघिल्ला यस खाले प्रतियोगिताहरूमा विशेष गरी सुरुको दिन, फाइनल र शनिवार तथा बिदाको दिनमा मात्रै दर्शकहरूको उपस्थिति हुने गर्थ्यो। एनपीएल सिजन २ मा दिनभरको व्यस्त समयपश्चात् दर्शकहरू परिवारसहित फ्लडलाइट्स मुनि एनपीएल हेर्न पुगे।

बदलिएको क्रिकेट संस्कृति
एसोसियट राष्ट्रहरूको राम्रो जानकारी राख्ने प्रख्यात कमेन्टेटर एवं आयरल्यान्डका पूर्व क्रिकेटर एन्ड्रु लियोनर्डले कमेन्ट्रीको क्रममा यो सिजनको एनपीएलमा महिला दर्शकहरूको उपस्थिति उल्लेख्य वृद्धि भएको बताएका थिए। सन् २०१८ मा आफू पहिलो पटक नेपाल आउँदा टियु क्रिकेट ग्राउन्डमा क्रिकेट हेर्न आउने दर्शकहरूमध्ये ९० प्रतिशतभन्दा बढी पुरुष दर्शक मात्रै देखिएको बताएका थिए। अहिले क्रिकेट हेर्न दैनिकजसो महिला, बालबालिका र वयोवृद्ध उमेरका दर्शकहरूको पनि उपस्थित रह्यो। साँझपख खेलहरू हुँदा दर्शकहरू परिवारसहित मेला-उत्सवमा झैँ सहभागी भए। सुरुवाती दिनहरूमा यातायात असहज हुँदा खेलकुद मन्त्रालयदेखि विभिन्न सामाजिक सञ्जालका पेजहरू मार्फत पनि यातायात सहजीकरणका प्रयास भए।

नेपाल क्रिकेट संघको एक आयोजना नै सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्ने प्रतियोगिताझैँ बन्यो। क्रिकेट हेर्नकै लागि कतिपय विदेशी कन्टेन्ट क्रिएटर नेपाल आइपुगे। नेपाल घुम्न आएका विदेशीसमेत एनपीएल हेर्न मैदान पुगे। देशभरका विभिन्न ठाउँबाट एनपीएल हेर्न गाडी रिजर्भ गरेरै काठमाडौँ आएको देखियो। सहरबजारदेखि गाउँघरका चोकचोकमा साँझपख समूह बनाएर प्रोजेक्टरमा एनपीएल हेर्ने, सामाजिक सञ्जालदेखि छापा मिडिया, अनलाइन पोर्टलदेखि टेलिभिजनका टक सोहरूमा एनपीएल छायो। एनपीएलका फ्रेन्चाईज टिमहरूले एक अर्काविरुद्ध बनाएका व्यंग्यात्मक कन्टेन्टहरूले राम्रै भ्यूज र शेयरहरू प्राप्त गरे। अन्तर्राष्ट्रिय स्तरको लिग बनाउन अंग्रेजी भाषामा कमेन्ट्री प्रयोग हुँदै आएकोमा यस पटक नेपाली च्यानलबाट नेपाली भाषाको कमेन्टरी प्रसारण भयो।

नेपालमा क्रिकेटले पाएको माया देखेर विदेशी खेलाडीहरू समेत आकर्षित भएको देखियो। छिमेकी भारतको प्रभाव नेपालमा पनि देखिन थालेको पाइन्छ। तर भारतीय क्रिकेट संस्कृति भन्दा नेपालको क्रिकेट संस्कृति भने परिष्कृत हुनुपर्ने आवश्यकता देखिन्छ। एनपीएलले युवाहरूलाई क्रिकेट खेलेर लाखौँ कमाउनेदेखि सवारी साधन जित्ने अवसर सिर्जना गरेको छ। बर्सेनि सयौँ क्रिकेटरहरूले एनपीएलमा विदेशी अनुभवी प्लेयरहरूसहित खेल्न मात्रै पाएका छैनन्, लाखभन्दा माथिको कमाई गर्ने मौका पाएका छन्। क्रिकेट बिस्तारै रोजगारीको बाटो बन्ने संस्कृतिको विकास हुन थालेको छ।

क्रिकेट र पर्यटन, एक अर्काको परिपूरक
नेपालमा क्रिकेटले पछिल्लो एक दशकयता निरन्तर घच्घच्याउँदै आएको छ। प्रविधिको विकास हुँदा नेपालमै उपलब्ध टिभी च्यानलहरूले क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान दिएका छन्। विशेष गरी डिजिटल प्लेटफर्मको विकास भएसँगै टेलिभिजन च्यानलहरूले नेपालमा संचालन हुने प्रिमियर लिगहरूलाई महत्त्वपूर्ण स्थान दिएका थिए। विगतमा निजी संस्थाको आयोजनामा सञ्चालित प्रिमियर लिगहरूले क्रिकेट र पर्यटन जोड्नुपर्छ भन्ने सूचना दिएका थिए भने एनपीएलका दुई सिजनले यसलाई बलियो गरी उठान गरेको छ। क्रिकेट र पर्यटन सँगसँगै संचालन गरी प्रतियोगिता गर्न आवश्यक पूर्वाधार अबको महत्त्वपूर्ण विषय हो।

छिमेकी देश भारत क्रिकेटको महाशक्ति राष्ट्र हो। त्यहाँ संचालन हुने आइपिएलदेखि विभिन्न कप तथा मैत्रीपूर्ण प्रतियोगिता सकिएपछि नजिकैको हिमाली देश नेपालका विभिन्न ठाउँहरू भ्रमण गर्न आकर्षित गर्नुपर्ने सम्भावनाको ढोका खोलेको छ। आर्थिक दृष्टिकोणमा विकासशील देशहरूले तुलनात्मक लाभ भएका क्षेत्रहरूमा लगानी गर्नुपर्छ। नेपालमा क्रिकेटमा गरिने लगानी तुलनात्मक लाभको क्षेत्रमा भएको लगानी हो। नेपालमा एनपीएलले क्रिकेटमा लगानी गरेजस्तै सरकारी स्तरबाट क्रिकेट संरचनामा थप लगानी वृद्धि गरी क्रिकेट पर्यटनलाई बढवा दिने नीति लिनुपर्छ।

बाध्यता कि लापरबाही
प्रविधिको विकाससँगै क्रिकेटलगायत खेलहरू खेलमैदान भित्र र बाहिर दुवैतिर हुने गरेको छ। खेलमैदान भित्र हुने खेलमा अनुशासन हुन्छ र त्यसलाई संचालन गर्ने आधिकारिक संस्थाहरू पनि हुन्छन्। खेलमैदान बाहिर खेलका गतिविधि र तिनका नतिजामाथि अनुमान गरी विभिन्न किसिमका बाजी लगाउने गरिन्छ। नेपालमा प्रचलित कानून बमोजिम विज्ञापन (नियमन) गर्ने ऐन, २०७६ को ५ (ख) अनुसार जुवा खेल्न खेलाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न पाइने छैन भनेको छ भने दफा २५ मा कसुर र सजाय अन्तर्गत सो कसुर गरे बापत एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना गर्नुपर्नेछ भनेर भनिएको छ।

अहिले विश्वव्यापी रूपमा मैदान बाहिर गरिने बाजि (बेटिङ) निकै नै फस्टाएको छ। कुनै देशहरूले बेटिङलाई कानून बमोजिम ल्याएर नियमन गर्दै संचालन गर्न अनुमति दिएका छन् भने कतिपय देशमा यसलाई अझै पनि कानूनी मान्यता दिइएको छैन। क्रिकेटदेखि फुटबललगायत विभिन्न खेलमा बेटिङलाई महत्त्वपूर्ण विज्ञापनदाताको रूपमा प्रयोग गर्ने प्रचलन रहेको छ। बेटिङ कम्पनीहरूले क्रिकेट वा फुटबलका इभेन्ट आयोजकलाई सरोगेट विज्ञापनको नाममा विज्ञापन सहयोग गर्दै आएका छन्। नेपालमा मात्र नभई विश्वका विभिन्न ठाउँमा आइसीसी र एसीसीबाट आयोजना गरिने प्रतियोगिताहरूमा बेटिङ कम्पनीका सरोगेट कम्पनीको विज्ञापन गरिएको हुन्छ। यही कानूनी कमजोरी रहेको पृष्ठभूमिमा गत वर्षजस्तै नेपाल प्रिमियर लिगसँग जोडिएर यस वर्ष डाफा न्यूजले विज्ञापन गरेको छ भने फ्रेन्चाईज टीमहरूमध्ये सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सीको पछाडिपट्टि बाजी स्पोर्ट्सको प्रचार गरेको छ।

गत वर्ष क्यानसँग वुल्फ त्रिपल सेभेन नामक कम्पनी जोडिएको थियो भने सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, लुम्बिनी लायन्सले बेटिङ कम्पनीको सरोगेट कम्पनीको प्रचार गरेका थिए। रोचक कुरो त के छ भने गत वर्ष लुम्बिनी लायन्स टिमसँग जोडिएको बेटिङ कम्पनीको सरोगेट कम्पनी बाबु ८८ स्पोर्ट्स बारेको समाचार प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआइ) नामक चर्चित भारतीय समाचार प्रकाशन संस्थाले आफ्नो अनलाइनमा प्रकाशन गरेको थियो। आइसीसीका एसोसियट राष्ट्रमध्ये क्रिकेटको फ्यान फलोईङ बढी भएको नेपालमा आयोजित दूरगामी लक्ष्य बोकेको नेपाल प्रिमियर लिगसम्बन्धी समाचारलाई कतै पनि स्थान नदिई बाबु ८८ स्पोर्ट्सलाई मुख्य स्थान दिइनु कति स्वाभाविक मान्न सकिन्छ?

त्यसैगरी, भारतमा सञ्चालित इन्डियन प्रिमियर लिग (आइपिएल) बाहेक विश्वका विभिन्न ठाउँमा संचालन हुने प्रिमियर लिगहरू–साउथ अफ्रिका टी २०, युएईमा संचालन हुने टी १० र आइएल टी २० देखि विभिन्न फ्रेन्चाईज प्रतियोगितामा बेटिङ कम्पनीको सरोगेट विज्ञापनकै दबदबा रहँदै आएको छ। नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दका शब्दमा अहिले विश्वका एसोसियट क्रिकेटलाई सरोगेट कम्पनीको विज्ञापनले धानेको छ। यता अघिल्लो सिजनमा विभिन्न फ्रेन्चाईज टिमहरूलाई विज्ञापन गर्न आएका बेटिङ कम्पनीको उपस्थिति भने यस वर्ष कम देखिएको छ। क्रिकेट संघ आफैँ क्लियर भएको देखिँदैन। यसबीच उसले बेटिङ कम्पनीको सरोगेट विज्ञापन ल्याउनु सरासर लापरबाही हो, कानूनी कमजोरी माझ बदमासी हो।

क्यान आफैँले आयोजना गरेको यस एनपीएलमा प्रत्यक्ष रूपमै ६० भन्दा बढी कर्पोरेट हाउसहरू जोडिएका छन्। देशका महत्त्वपूर्ण कर्पोरेट हाउसहरू जोडिँदै गर्दा डाफा न्युजलाई एनपीएलमा ल्याउनै पर्ने बाध्यता किन आइपर्‍यो? बाजी-स्पोर्ट्सको प्रचार सुदूरपश्चिम रोयल्स मात्रैले नै किन गर्नुपर्‍यो? विराटनगर किङ्स र लुम्बिनी लायन्सले यस पटक बेटिङ कम्पनीको सरोगेट विज्ञापन हटाएर राम्रो गरेका छन्। विश्वमा जति पनि बेटिङ प्रचार गर्ने लिगहरू छन्, त्यी देशमा क्रिकेट समर्थकको उपस्थिति निकै नै न्यून रहेको छ। दुबई र अवुधाबीमा संचालन हुने लिग हेर्न स्टेडियममा दर्शकहरूको उपस्थिति शून्यजस्तै देखिन्छ। जसरी यी लिगहरूमा दर्शकको उपस्थिति कम र बेटिङ बढी प्रचार गरिन्छ, त्यसरी नै त्यी देशमा संचालन हुने लिगहरूको भविष्य संकटपूर्ण देखिन्छ। एनपीएललाई आईपीएलकै बाटो अगाडि बढाउने हो भने बेटिङ कम्पनीको सरोगेट विज्ञापन रोकेर ठूला विज्ञापनहरू ल्याउन क्यान आफैँ अघि सर्नुपर्छ।

स्टेडियममा सरकार व्यवस्थित, क्यान अव्यवस्थित
ढिला नै सही, शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गत वर्ष पुसमा त्रिवि क्रिकेट मैदानमा पाराफिट निर्माण र फ्लडलाईट्स जडान कार्यको लागि बोलपत्र आह्वान गरी फागुन १ गते बोलपत्र स्वीकृत गर्दै एनपीएल आयोजना हुनु अघिल्लो दिन नेपाल क्रिकेट संघलाई औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गर्‍यो। त्रिवि क्रिकेट ग्राउन्डमा डोजर लगाउन सुरु भएको दिनयता सामाजिक सञ्जालमा दैनिक अपडेटहरू आए, तर क्यान आफैले आयोजना गरेको एनपीएल सिजन १ को खर्च देखाउन झन्डै छ सात महिना लगायो। 

यता, एनपीएलको हिसाबकिताब देखाउनै समस्या परेपछि क्रिकेट संघले त्यो भन्दा माथि उठेर राष्ट्रिय प्रतियोगिता र घरेलु क्रिकेट संरचनामा ध्यान दिन सकेन। त्यसको गम्भीर असर उमेर समूहमा देखिन थालेको छ। पछिल्लो समय उमेर समूह क्रिकेटमा नेपालको कमजोर प्रदर्शन देखिएको छ भने वर्षभर व्यस्त हुनुपर्ने खेलाडी फुर्सदिला बनेका छन्। सीमित खेलाडी राष्ट्रिय टिममा निरन्तर रहँदै गर्दा झन्डै एक सय जनाको खेलाडीको पुल कमजोर देखिएको छ। नेपाल ए टिमले एउटा मात्रै प्रतियोगिता खेल्नु बाहेक अन्त व्यस्त हुन सकेन।

एनपीएलको पहिलो सिजनको अनुभवलाई यो वर्ष नदोहोर्याउने हो भने क्रिकेट संघमा विभिन्न सुधार ल्याउनुपर्छ। पारस खड्काले क्रिकेट संघको सचिव चलाउने कि एनपीएल मात्रै हेर्ने हो, स्पष्ट हुनु जरुरी देखिन्छ। एउटा सिजनको हिसाब किताब देखाउन झन्डै एक वर्ष लगाउने हो भने पारस खड्कालाई एनपीएलकै मात्र जिम्मा दिनु जरुरी देखिन्छ। नेपाल क्रिकेट संघमा काम गर्ने कर्मचारी भन्दा विवाद गर्न रुचाउने पदाधिकारी बढी देखिन्छन्। क्रिकेट संघको सचिव रहेका पारस खड्काको व्यवस्थापकीय क्षमताले एनपीएलको आयोजना केही व्यवस्थित देखिन्छ। व्यवस्थापकीय क्षमता कम तर राजनीतिक उपस्थिति बढी भएको अघिल्लो क्रिकेट संघको टिमले नेपाल टी २० लिग जस्तो असफल प्रतियोगिता संचालन गरेको उदाहरण नेपाली क्रिकेट इतिहासकै खराब क्षण हो।

यस वर्ष स्टेडियम बनाउन सरकारको उपस्थिति महत्त्वपूर्ण रह्यो। तोकिएको समयावधि भन्दा केही ढिला भए पनि मुख्य इभेन्टलाई असर नपुर्‍याउने गरी पाराफिट निर्माण र फ्लडलाईट्स जडानको काम सकियो। यता क्यानले एनपीएललाई ग्लामरस टी २० प्रतियोगिता बनाउन चुक्यो। टी २० क्रिकेटको कल्पना गरिएकै क्रिकेटमा रोमाञ्चकता सिर्जना गर्न हो, तर यस वर्षको टियु ग्राउन्डको पिचमा काम कम भएको देखियो। सबै पिचहरू उस्तै भएपछि फाइनल खेल नै एकतर्फी र प्रतिष्पर्धीविहिन बन्न पुग्यो।

एनपीएलको आयोजनाको सुरुको दिन हेलिकप्टरबाट पुष्पवृष्टि गरिए पनि समापनको दिन मुख्य व्यक्तित्वहरूको उपस्थिति रहन सकेन। सुरुमा आइसीसी अध्यक्ष जय शाह आउने हल्ला गरिए पनि त्यस्तो हुन सकेन। यसैबीच एनपीएल आयोजक र टिकट काट्ने जिम्मा पाएको खल्तीले एकाएक साधारण तर्फको सिटमा कुनै सुविधा थप नै नगरी प्रिमियम सिट बनाएपछि प्लेअफकै खेलमा दर्शकहरूको न्यून उपस्थिति देखियो। खल्तीबाट टिकट काट्न सुरु हुने समयबारे कुनै जानकारी पनि नहुने र सर्भर डाउन भएर टिकट काट्नै समस्या हुने देखियो। काटिएका कतिपय टिकटमै समस्या देखिनु, सोल्ड आउट भएका कतिपय खेलमा दर्शकहरूको संख्या न्यून देखिनुले टिकट बिक्री प्रदायक खल्ती र एनपीएल आयोजक (क्यान) माथि प्रश्न तेर्सिएका छन्।

एनपीएल सिजन २ मा देखिएको प्रमुख समस्या अम्पायरिङ रह्यो। सुरुवाती दिनमा अम्पायरहरूको कमजोर र ढिलो निर्णयप्रति खेलाडी र टिम नै असन्तुष्ट देखिएपछि श्रीलंकाबाट थप अम्पायरहरू झिकाइयो। यद्यपि, अम्पायरको निर्णय फाइनलसम्म पनि कमजोर देखिए। यसले समग्रमा नेपाल क्रिकेट संघले अम्पायरमा गरेको लगानी स्पष्ट देखाउँछ। नयाँ अम्पायर जन्मिन नसक्नु र पुराना अम्पायरको निर्णयमा बारम्बार प्रश्न उठ्नु उपयुक्त देखिँदैन।

त्यसैगरी, क्यानले नेपालमै आयोजना भएको आफ्नो महत्त्वपूर्ण इभेन्टमा स्वदेशी कमेन्टेटर प्रयोग नगर्नु अर्को दुखद पक्ष छ। प्रतियोगिता सुरु हुनु केही दिन अगाडि मात्रै नेपालमा टेलिभिजन प्रसारण अधिकारको छिनोफानो हुनु, ओटीटीको जिम्मा दिनेसम्बन्धी विवाद बाहिर आउनुलगायत चीजहरूको व्यवस्थापनमा क्यान अव्यवस्थित देखिएको छ।

ओटीटीसम्बन्धी नयाँ मानक
एनपीएल सिजन २ ले अनलाइनमार्फत लाइभ स्ट्रिम गर्ने ओभर द टप (ओटीटी) सम्बन्धी नयाँ मानक स्थापना गरेको छ। अहिलेसम्म नेपालमा टेलिभिजनले प्रसारणको जिम्मा ल्याएको सो, कार्यक्रम वा लाइभ प्रतियोगिता युट्युबबाटै फ्रीमै उपलब्ध हुने गरेका थिए। पहिलो पटक नै सही, एनपीएल प्रसारणका लागि ओटीटीसम्बन्धी अधिकार दिने क्यानले निकै नै बोल्ड डिसिजन गर्‍यो। हल्का बामे सर्दै गरेका ओटीटी प्लेटफर्महरूलाई एनपीएल सिजन २ नयाँ मानकको रूपमा स्थापित गर्‍यो।

हाम्रा ओटीटी प्लेटफर्म अझै पनि लाइभ स्ट्रिमको लागि तयार नभइसकेको यसै एनपीएल २ मा स्पष्ट देखिए पनि प्रतियोगिताको अन्त सम्ममा केही सुधार हुनु सुखद देखिएको छ। गत वर्ष ७५ लाख रुपैयाँमा नेपालभित्र प्रसारण अधिकार बेचेको क्यानले यस पटक भने कम्तीमा ५ करोड रुपैयाँ प्राप्त गर्नेछ। ओटीटीलाई अझै व्यवस्थित गर्नुपर्ने देखिन्छ। चोरिएका लाइभ प्रसारण फेसबुकमा सहजै उपलब्ध हुनु, वेवसाईटहरूमार्फत् लाइभ आउनु आदिले ओटीटीलाई धक्का पुग्न सक्छ। क्यानले घरेलु प्रतियोगिताहरूदेखि आइसीसी, एसीसीको प्रतियोगिताहरू समेत ओटीटीमार्फत् लाइभ दिने व्यवस्था गरी थोरै भए पनि पुँजी व्यवस्थापन गर्न सक्छ। क्रिकेट हुर्किदैं गरेको नेपालमा ओटीटी प्लेटफर्म दर्शक र क्रिकेट जोड्ने सजिलो उपाय बन्न सक्छ।

अन्तर्राष्ट्रिय कभरेजको कमी
क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन एनपीएलको पहिलो सिजनदेखि नै स्टार स्पोर्ट्सलाई जोडिएको छ। स्टार स्पोर्ट्सबाट एनपीएल हेरिएको तथ्यांक भने अहिलेसम्म क्यानले बाहिर ल्याएको छैन। स्टार स्पोर्ट्समा गरेको लगानी ठूलो छ, तर सोही अनुपातमा एनपीएललाई विश्वव्यापी बनाउन आवश्यक अरू लगानी भएको छैन। नेपाल प्रिमियर लिगको प्रचार नेपालमा प्रशस्त भएको देखिन्छ भने नेपाल बाहिर प्रचार गर्न प्रतियोगितामा उपस्थित दर्शकहरूको क्रेज देखाउने फोटो, भिडियो बाहेक अरू आएको देखिँदैन। मुख्यतः सामाजिक सञ्जाल युट्युब, फेसबुक, इन्स्टाग्राम, ट्वीटर/एक्स आदिबाहेक नेपाल प्रिमियमसम्बन्धी अन्तर्राष्ट्रिय मिडियाको स्पोर्ट्समा एनपीएल अटाएको देखिँदैन। बरु खेल मैदान बाहिर देखिने अनलाइन बेटिङका समाचारहरू भेटिन्छन्। क्रिकेटसम्बन्धी प्रख्यात वेबसाइट ईएसपीएनक्रिकइन्फोमा एनपीएलबारे स्कोरबाहेक कुनै अपडेट वा समाचार, लाइभ कमेन्टरी आउँदैन। क्रिकेटलाई अन्तर्राष्ट्रियकरण गर्न अम्पायरदेखि अन्तर्राष्ट्रिय भाषामा कमेन्टरी गर्ने कमेन्टेटर, पत्रकारमा लगानी गर्नु आवश्यक देखिन्छ।

टी २० स्टेट्स र टेस्ट राष्ट्रका खेलाडीको उपस्थिति
लगातार दुई सिजनको एनपीएलले एसोसियट क्रिकेट राष्ट्रको इतिहासमा नयाँ छाप छाडेको छ। एनपीएल एसोसियट क्रिकेट राष्ट्रका खेलाडीहरूको लागि आइपीएल बन्दै गरेको देखिन्छ। विगतमा क्यानले गरेकै गल्तीका कारण लगातार दुई सिजन चलेको एनपीएलले टी २० स्टेट्स प्राप्त गर्न सकेको छैन। टी २० स्टेट्स पाउँदा कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीको करियरमा टी २० रन र विकेटको संख्या जोडिन्छ। अहिले नेपालमा आएर एनपीएल खेलेका चर्चित विदेशी प्लेयरहरूको बायोमा एनपीएलको रन र विकेट संख्या जोडिएको छैन। क्यानले आइसीसीबाट एनपीएललाई टी २० स्टेट्स प्राप्त गराउनु अपरिहार्य रहेको देखिन्छ। एसोसियट राष्ट्रहरू मध्ये दुबईमा संचालन हुने आईएल टी २० र अमेरिकाको मेजर लिग टी २० ले टी २० स्टेट्स पाएका छन्।

दुई सिजन संचालन भएको एनपीएलमा सहभागी हुन टेस्ट राष्ट्रका सक्रिय क्रिकेट प्लेयरलाई आइसीसीले सर्त लगाएको छ। केही वर्ष अगाडि स्पट फिक्सिङलगायत विवादास्पद रूपमा संचालन भएको नेपाल टी २० लिगले पारेको नकारात्मक छापका कारण आइसीसीले टेस्ट राष्ट्रका खेलाडीको निश्चित संख्या मात्र सहभागी हुन स्वीकृति दिएको छ। क्रिकेट संघले आइसीसीको यो सर्त हटाउन सक्नु एनपीएललाई अझै विश्वस्तरीय बनाउन गरिएको पहल हुनेछ।

क्रिकेट खेल्ने विभिन्न देशहरूको अन्तर्राष्ट्रिय खेल तालिका ख्याल गर्दै अन्तर्राष्ट्रिय क्रिकेट लिगहरू जस्तै अबुधावी टी १०, आईएल टी २० जस्ता प्रतियोगितासँग समय नजुध्ने गरी एनपीएल आयोजना गर्नु आवश्यक देखिन्छ। प्रतियोगिताको बीचमा खेलाडीहरू आउने-जाने प्रवृत्तिले लिगको विश्वसनीयता माथि प्रश्न उठाउँछ।

यसरी 'फेस्टिबल अफ हिमालय' को नारा दिएर सुरु भएको नेपाल प्रिमियर लिग नेपाली क्रिकेट इतिहासमा एक महत्त्वपूर्ण कोसेढुंगा साबित हुने क्रममै छ। दक्षिण एसियाली क्रिकेट संस्कृतिबीच नेपालमा क्रिकेटमाथि गरिएको लगानी खेर नगई नेपाललाई टेस्ट राष्ट्र मान्यता दिलाउनेदेखि क्रिकेट पर्यटन प्रवर्द्धन गर्न एनपीएलले ठूलो सम्भावनाको ढोका खोलेको छ। नेपाल सरकारले खेलकुदअन्तर्गत क्रिकेट खेललाई फरक ढंगले हेर्नु जरुरी देखिन्छ। क्रिकेटमा अन्तर्राष्ट्रिय लगानी गर्ने सम्बन्धी नीतिदेखि अन्तर्राष्ट्रिय खेलाडीको श्रम स्वीकृति, पुरस्कारमा करकट्टी जस्ता ससाना विषयमा समग्र खेलकुदलाई हेर्ने नजरभन्दा क्रिकेटलाई हेर्ने नजर बदलिनु जरुरी देखिन्छ। करोडौँको कारोबार हुने, पर्यटन प्रवर्द्धन गर्ने क्रिकेट खेललाई क्रिकेट उद्योगको रूपमा विकास गर्नु अबको आवश्यकता देखिन्छ। अर्बौँको लगानीमा वर्षौँसम्म सम्पन्न हुन नसक्ने निर्माण संरचनाबाट केही करोडको लगानी क्रिकेट पूर्वाधार निर्माणमा गर्नु आवश्यकता देखिन्छ।

(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)