टी२० विश्वकप : १२ वर्षपछि अर्धशतक फर्कियो, जित फर्किएन

नेपालले तेस्रो टी२० विश्वकप खेलिरहँदा १२ वर्षयता कुनै पनि खेल जितेको छैन। अहिलेसम्म विश्वकपमा १० खेल खेल्दा दुईमा जित, सातमा पराजित र एउटा खेल रद्द भएको छ।

काठमाडौँ– ४७ बलमा तीन चौका र तीन छक्कासहित ५८ रनको पाली। वेस्ट इन्डिजविरुद्ध संकटमा परेको नेपाललाई दीपेन्द्रसिंह ऐरीले राहत मात्र दिलाएनन्, १२ वर्षपछि टी२० विश्वकपमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बने।

सुवास खकुरेलले २०१४ मार्च २० मा भएको टी२० विश्वकपमा अफगानिस्तानविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए। उनले ५६ रन बनाएका थिए। नेपालले टी२० विश्वकपमा जितेको अन्तिम खेल पनि त्यही थियो।

त्यसयता, लगातार पराजित नेपालको एक खेल भने अनिर्णित भयो। जारी विश्वकपमा अहिलेसम्म खेलेका कुनै पनि खेलमा नेपाल विजयी हुन सकेको छैन। अब अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग पराजित भए नेपाल टी२० विश्वकपमा पहिलोपटक अंकविहीन हुनेछ।

वेस्ट इन्डिजसँगको पराजयसँगै नेपाल जारी विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ। अब स्कटल्यान्डसँगको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।

वेस्ट इन्जिडसँगको खेलअघि ‘हेड टु हेड’ नेपालको पक्षमा थियो। यी दुई देशबीच तीन खेल हुँदा नेपाल दुईमा विजयी भएको थियो। तर आइतबारको खेलमा नेपाल वेस्ट इन्डिजसँग पहिलो ओभरदेखि नै दबाबमा परेको थियो।

पहिलो ओभरमा नै अकिल हुसेनले कुशल भुर्तेललाई बाहिर पठाए। यो विकेटसँगै कुशलको खराब संयोगको कीर्तिमान बन्यो। नेपालले वेस्ट इन्डिजसँग चौँथो खेल खेलिरहँदा सबै खेलमा कुशलले अकिल हुसेनलाई विकेट दिएका छन्। नेपालले २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्दा सबैमा कुशलको विकेट हुसेनले लिएका थिए।

उक्त श्रृंखलामा नेपाल २–० ले विजयी भएको थियो। तर वेस्ट इन्डिजको टोलीमा नेपालसँग श्रृंखला खेलेका दुई खेलाडी उनै अकिल हुसेन र जेसन होल्डर मात्र अहिले खेलिरहेका छन्। त्यस्तै, रोस्टन चेज, म्याथ्यु फोर्ड र गुणाकेश मोती २०२४ अप्रिलमा नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ टोलीमा थिए।

सम्झनलायक पहिलो विश्वकप
त्यो दिन थियो २०१४ मार्च १६ तारिख। नेपाल पहिलोपटक टी२० विश्वकप खेल्दै थियो। नेपालको विपक्षी टोली थियो हङकङ। हङकङले टस जितेपछि नेपाल ब्याटिङका लागि मैदान पस्यो।

यस खेलमा नेपाली खेलाडीभन्दा हङकङका खेलाडीको आत्मविश्वास उच्च थियो। किनभने, ठीक तीन महिनाअघि न्यूजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोतामा हङकङले नेपाललाई ‘शर्मनाक’ पराजय चखाएको थियो। पहिला ब्याटिङ गरेर ५०औँ ओभरमा अलआउट हुनुअघि नेपालले १५० रन मात्र बनाउन सकेको थियो। हङकङले १५१ रनको लक्ष्य ३३.२ ओभरमा कुनै विकेट नगुमाई भेटाएको थियो।

तीन महिनापछि टि२० विश्वकपमा भेट हुँदा हङकङले फेरि टस जितेर बलिङ नै रोज्यो। तर यसपटक न्यूजिल्यान्डमा खेलेका ओपनर अनिल मण्डलको ठाउँमा सुवास खकुरेलले सागर पुनसँग जोडी बाँधेका थिए। यसपटक नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाउँदा ज्ञानेन्द्र मल्लले ४८ र पारस खड्काले ४१ रनको योगदान गरेका थिए।

जवाफी ब्याटिङमा उत्रिएको हङकङ ६९ रनमा अलआउट भयो। न्यूजिल्यान्डमा नेपाललाई हराउन धुवाँधार खेलेका ओपनर इरफान अहमद शून्य र वकास बर्कात १८ रनमा बाहिरिँदा नेपालले तीन महिनाअघिको पराजयको बदला लियो।

नेपालको तेस्रो खेल मार्च २० मा अफगानिस्तानसँग थियो। त्यस खेलमा पनि पहिला ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १४१ रन बनाउँदा खकुरेलले ५६ रनको योगदान गरे। उनी टी२० विश्वकपमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान राख्न सफल भए।

जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो। नेपाल मार्च १८ मा भएको तेस्रो खेलमा भने बांग्लादेशसँग ८ विकेटले पराजित भएको थियो। उक्त विश्वकप खेल्ने सोमपाल कामी मात्र अहिले टोलीमा छन्।

त्यस विश्वकपका कप्तान पारस नेपाल क्रिकेट संघका सचिव छन् भने, ज्ञानेन्द्र मल्ल राजनीतिमा छन्। उनी रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बनेका छन्। विनोद भण्डारी, पृथु बाँस्कोटा, जितेन्द्र मुखिया अझै सक्रिय खेल जीवनमा भए पनि टोलीमा छैनन्।

भण्डारीले नेपाल प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेपछि बन्द प्रशिक्षणमा स्थान बनाएका थिए। तर अन्तिम टोलीमा स्थान बनाउन सकेनन्। पहिलो विश्वकप खेल्ने अभिनाश कर्ण, सुवास खकुरेल, नरेश बुढा ऐर, अमृत भट्टराईलगायत खेलाडी विदेशिएको लामो समय भइसकेको छ। शक्ति गौचन प्रशिक्षणमा र हालै सन्यास लिएका शरद भेषवाकर क्रिकेट कमेन्ट्रीमा सक्रिय छन्।

यस टिमले २०१४ मा हङकङ र अफगानिस्तानलाई हराउनु नै अहिलेसम्म विश्वकपको ठूलो सफलता बनेको छ। सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँग र जारी विश्वकपमा इङ्ल्यान्डसँग नेपाल जित नजिक पुगेर पनि लक्ष्य भेटाउन सकेन।

११ स्थान तलको देशसँग हार
टी२० विश्वकप २०२६ का लागि इटली छनोट हुँदा यसलाई ‘अन्डर डग’ टोली मानिएको थियो। स्कटल्यान्डजस्तो बलियो टोलीलाई पन्छाएर विश्वकपमा पुगेको थियो। भलै बांग्लादेशले नाम फिर्ता लिएपछि माथिल्लो वरीयताका आधारमा स्कटल्यान्डले पनि मौका पाएको छ।

इटली आईसीसीको वरीयतामा २६औँ स्थानमा छ। विश्वकपमा यही इटाली नेपाल सम्मिलित समूह ‘सी’मा प¥यो। नेपाल वरीयतामा १८औँ स्थानमा छ। विश्वकपअघि नेपाली ब्याटर फर्ममा थिए। दक्षिण एशियाली भूमिमै भइरेहेको प्रतियोगितामा नेपालले इटलीलाई हराउने समर्थकको अपेक्षा थियो।

नेपालको पहिलो खेल वरीयताको तेस्रो स्थानमा रहेको इङ्ल्यान्डसँग थियो। समर्थकले इङ्ल्यान्डसँग प्रतिस्पर्धी खेलको अपेक्षा गरेका थिए। भइदियो त्यस्तै। नेपाल जितको मुखैमा पुगेर मात्र ४ रनले निराश भयो।

उच्च वरीयताको टेस्ट राष्ट्रसँगको तीव्र प्रतिस्पर्धात्मक खेलपछि नेपालले इटलीलाई हराउँदै १२ वर्षपछि विश्वकपमा पहिलो जित दर्ता गराउने समर्थकको अपेक्षा अन्यथा थिएन। तर दोस्रो खेलमा नेपाल इटलीसँग सहज पराजय बोहोर्न बाध्य भयो, त्यो पनि १० विकेटले।

नेपालको बलिङ र ब्याटिङ दुवै चलेन। टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १२३ रनमा अलआउट भयो। इटलीले कुनै विकेट नगुमाई १२.४ ओभरमा लक्ष्य भेटायो। यो खेलअघि टसका क्रममा कप्तान पौडेलले टस महत्त्वपूर्ण भएको बताएका थिए। ‘टस जितेको भए के गर्नुहुन्थ्यो’ भन्ने प्रश्नमा उनले भनेका थिए, “इमानदार भएर भन्नुपर्दा, टस जितेको भए हामी पहिला बलिङ गर्थ्यौँ।”

सन् २०२४ : तीन हार र एउटा अनिर्णित
नेपालले सन् २०१४ पछि लगातार तीन विश्वकप छनोट पार गर्न सकेन। सन् २०२४ मा दोस्रोपटक टी२० विश्वकपमा छनोट भयो। तर श्रीलंकासँग रद्द भएको खेलबाहेक अरू सबैमा पराजित भयो।

नेपाल उक्त विश्वकपमा समूह ‘डी’ मा दक्षिण अफ्रिका, बांग्लादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग थियो। नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग थियो, तर सुखद् शरूआत भएन। पहिला ब्याटिङ गरेको नेपाल सिर्फ १०६ रनमा अलआउट हुँदा ६ विकेटले पराजित भयो।

श्रीलंकासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि नेपालले तालिकामा १ अंक जोड्न सक्यो। यही अंकका कारण नेपाल दोस्रो विश्वकपमा अंकविहीन हुन परेन।

तेस्रो खेल टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग थियो। यो खेलमा नेपाल जितको नजिक पुगेर पनि १ रनको साँघुरो हार बेहोर्न बाध्य भयो। पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई नेपालले ११५ रनमा रोकेको थियो। लक्ष्य पछ्याउने क्रममा अन्तिम १२ बलमा १६ रन चाहिएको थियो र नेपालसँग ५ विकेट बाँकी थियो। तर नेपालले १४ रन मात्र बनाउन सक्यो।

अन्तिम खेल टेस्ट राष्ट्र बांग्लादेशसँग थियो। यो खेलमा पनि राम्रो बलिङ गरेको नेपाल ब्याटिङमै चुकेको थियो। पहिलो ब्याटिङ गरेको बांग्लादेशलाई नेपालले १०६ रनमा समेटेको थियो, तर नेपाली ब्याटर ८५ रनमा अलआउट भए। यसरी दोस्रोपटकको विश्वकप सहभागिता जितविहीन भएर टुंगिएको थियो।

तीनवटै विश्वकपका एक्ला सोमपाल
नेपालले खेलेका तीनवटै टी२० विश्वकप खेल्ने एक्ला खेलाडी सोमपाल कामी हुन्। तर यसपटकको विश्वकपमा सोमपालले शुरूका दुई खेलमा मौका नै पाएनन्। तेस्रो खेलमा मौका पाएका उनी वेस्ट इन्डिजविरुद्ध विकेटविहीन भए।

पहिलो विश्वकपमा नेपालले जितेका हङकङ र अफगानिस्तानविरुद्धका खेलमा सोमपालले २–२ विकेट लिएका थिए। सन् २०२४ को विश्वकपमा पनि उनले नेदरल्यान्ड्सविरुद्ध १ र बांग्लादेशविरुद्ध २ विकेट लिएका थिए। दक्षिण अफ्रिकाविरुद्ध भने उनी विकेटविहीन भए।

अहिले विश्वकप खेलिरहेको नेपाली टोलीमा दुई खेलाडी मात्र ३० वर्षमाथिका छन्। करण केसी ३४ वर्ष ६ महिनामा हिँडिरहेका छन्। सोमपाल कामीले भने ३० वर्ष पार गरेको महिना दिन पुगेको छैन। नेपालका अधिकांश खेलाडी २५ देखि ३० वर्षबीचका छन्।