बहुदिवसीय प्रतिस्पर्धाः जय ट्रफीले बदल्ला नेपालको क्रिकेट?

घरेलु क्रिकेटको एक मात्र बहुदिवसीय प्रतियोगिता जय ट्रफी खेल्ने खलाडी लामो समय क्रिजमा अडिन बिस्तारै अभ्यस्त हुँदैछन्। यो सिकाइले टेस्ट मान्यताको लक्ष्यमा हिँडेको नेपाललाई गन्तव्यमा पुर्‍याउन सक्ला?

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले दुई वर्षअघि एक कार्यक्रममा नेपाललाई अबको १० वर्षमा टेस्ट मान्यता दिलाउने लक्ष्य राखेको बताए। २०८० माघ ६ गते गैरआवासीय नेपाली संघले सन् २०२४ को टी२० विश्वकपमा नेपाल छनोट भएपछि क्यानका पदाधिकारीलाई गरेको सम्मान कार्यक्रममा खड्काले उक्त अभिव्यक्ति दिँदा टेस्टका लागि आधार मानिने बहुदिवसीय घरेलु क्रिकेट शुरू भएकै थिएन।

खड्का सचिव भएपछि बनाइएको क्यानको वार्षिक क्यालेन्डरमा गत वर्षदेखि बहुदिवसीय जय ट्रफी समावेश गरिएको छ। पीएम कपमा भाग लिने सात प्रदेश र तीन विभागीय टोलीमध्ये सेमिफाइनल पुग्ने चार टोलीले जय ट्रफीमा भाग लिन पाउँछन्। यसको लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय हुन्छ।

यो वर्षको जय ट्रफीको फाइनल बिहीबार सकिएको छ। फाइनलमा प्रतिस्पर्धा गरेका त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबका ब्याटरले यसपटक दुवै इनिङ्समा ५० भन्दा बढी ओभर क्रिजमा बिताए, २०० भन्दा बढी रन बनाए। यस क्रममा चार अर्धशतक पनि बने।

गत वर्ष पनि यी दुई विभागीय टोलीले नै फाइनल खेलेका थिए। यसपटक पनि नेपाल पुलिस क्लबले नै उपाधि जित्यो। यद्यपि, गत वर्षको तुलनामा ब्याटरको प्रदर्शन अब्बल रह्यो। गत वर्ष फाइनलका कुनै पनि इनिङमा दुवै टोलीले २०० रन कटाउन सकेका थिएनन्।

nullत्यस बेला पहिला ब्याटिङ गरेको पुलिसले १३३/९ मा इनिङ समाप्तिको घोषणा गरेको थियो। त्यसपछि ब्याटिङ गरेको आर्मीले १७० रन बनाउँदा सबै विकेट गुमाएको थियो। पुलिसले दोस्रो इनिङमा १३९ रन बनाएको थियो। आर्मी भने ७४ रनमै अलआउट हुँदा पुलिस २८ रनले विजयी भएको थियो।

उक्त फाइनलका चार इनिङ्समा दुईवटा अर्धशतक बनेका थिए। भीम सार्कीले पहिलो इनिङ्‍मा ५५ बलमा बनाएको ५८ रन व्यक्तिगततर्फ सबैभन्दा उच्च थियो। पहिलो इनिङमा नै कुशल भुर्तेलले ५६ बलमा ५१ रन बनाएका थिए। उनले दुवै इनिङमा गरी बनाएको ९६ रन फाइनलको उच्च व्यक्तिगत योगदान थियो।

तर यसपटक खेलाडीहरूले रन बनाउन हतार गरेनन्। फाइनल खेलको पहिलो इनिङ्मा ५० रन प्रहार गरेका आर्मीका इमरान खानले १३७ बल खेले। उनले सात चौका प्रहार गरे। त्यसपछिको इनिङमा पुलिसका करण केसीले ७२ रन बनाए। उनले १०९ बल खेल्दा सात चौका र दुई छक्का प्रहार गरे। दुवै टोलीले पहिलो इनिङमा समान २२१ रन बनाए।

दोस्रो इनिङमा त्रिभुवन आर्मीका कोही पनि खेलाडीले अर्धशतक बनाउन सकेनन्। तर ७४.२ ओभरसम्म क्रिजमा टिकेर २२६ रन बनाए। २२७ रनको लक्ष्य पछ्याएको पुलिसका लागि राशिद खान र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। भुर्तेलले ६४ बलमा ५१ रन बनाउँदा पाँच चौका प्रहार गरे।

उता, शुरूमा आक्रामक खेलेका खानले १२८ बलमा ८१ रन बनाए। उनले आठ चौका र तीन छक्का प्रहार गरे। उनले बलिङतर्फ पनि पहिलो इनिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। दोस्रो इनिङमा मात्र चार ओभर बलिङ गर्दा विकेट लिन सकेनन्।

प्रतिस्पर्धात्मक लिग चरण
पछिल्लो पीएम कपको सेमीफाइनलमा पुगेर पुलिस, आर्मी, सशस्त्र प्रहरी क्लब र बागमती प्रदेश जय ट्रफीका लागि छनोट भएका थिए। जय ट्रफीको लिग चरणमा पहिलो इनिङ अधिकतम् ७० ओभरको राखिएको थियो। दोस्रो इनिङमा ओभरको सीमा थिएन।

बागमती प्रदेशले लिग चरणका तीनमध्ये एक खेल बराबरीमा सकाउँदा दुई वटामा पराजित भयो। बागमतीका ब्याटर इशान पाण्डेले तीनै खेलका एक–एक इनिङमा अर्धशतक प्रहार गरे। 

पाण्डे लिग चरणमा सर्वाधिक रन बनाउने खेलाडी पनि भए। उनले तीन अर्धशतकसहित ६ इनिङमा ३३१ रन बनाए। फाइनलमा नपुग्दा समग्रमा भने उनी सर्वाधिक रन बनाउनेको दोस्रो स्थानमा रहे। बागमतीकै आशुतोष घिरैयाले पनि दुई अर्धशतकसहित २२५ रन बनाए।

फाइनल पुग्न नसकेको सशस्त्र प्रहरीले तीन खेलमध्ये समान विजयी, बराबरी र हारको नतिजा पायो। सशस्त्रका कप्तान रोहित पौडेलले दुई अर्धशतकसहित ६ इनिङमा २७९ रन बनाए। उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको तेस्रो स्थानमा रहे।

प्रतियोगिताको लिग चरणमै चार शतक बने। जबकि, अघिल्लो वर्ष जम्मा एक शतक बनेको थियो। त्यस बेला मधेश प्रदेशबाट खेलेका मयन यादवले मात्र शतक बनाउन सकेका थिए। यस वर्ष मधेश जय ट्रफीका लागि छनोट नै हुन सकेन।

यो वर्ष भीम सार्की, तृतराज दास, शंकर राना र बसिर अहमदले शतक बनाए। भीम, तृतराज र बसिर आर्मीका ब्याटर हुन्। शंकर राना पुलिसका खेलाडी हुन्। भीमले पुलिस, तृतराज, बसिर र शंकरले एपीएफविरुद्ध शतक बनाए।

क्यानका पूर्व केन्द्रीय सदस्यसमेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री गत वर्षभन्दा यो वर्षको जय ट्रफीमा खेलाडीले केही परिपक्व प्रदर्शन गरेको बताउँछन्। खेलाडीले ‘फिटनेस’ र ‘स्किल’मा ध्यान दिएको र कतिपयले मेहनत गरेको देखिएको उनको भनाइ छ। “उच्च तहमा खेल्नका लागि खेलाडीहरूमा पनि एकआपसमा प्रतिस्पर्धा बढ्दै गएको हुनाले मेहनत गर्नैपर्ने दबाब छ। त्यहीकारण गत वर्षभन्दा यसपटक अपेक्षकृत राम्रो प्रदर्शन देखियो, बानी पनि पर्दै गए,” उनी भन्छन्।

लयमा ललित र कुशल
राष्ट्रिय टोलीका नियमित सदस्य ललितनारायण राजवंशी गत नेपाल प्रिमियर लिग (एनपीएल) र टी२० विश्वकपमा लयमा थिएनन्। तर जय ट्रफीमा उनले लय समातेका छन्। पुलिसबाट खेलेका ललितले आठ इनिङ्समा २६ विकेट लिए। उनी जय ट्रफीको यो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी भएका छन्।

nullललितले लिग चरणमा बागमती र एपीएफविरुद्ध दोस्रो इनिङमा ५–५ विकेट लिएका थिए। चार खेलका आठमध्ये कुनै पनि इनिङमा उनी विकेटविहीन भएनन्। फाइलनमा उनले दुवै इनिङमा गरी ६ विकेट लिए।

पुलिसकै सागर ढकालले आठ इनिङमा १६ विकेट लिँदै धेरै विकेट लिनेको दोस्रो स्थानमा रहे। तेस्रो स्थानमा रहेका पुलिसकै करण केसीले चार इनिङ मात्र बलिङ गरेर ११ विकेट लिए। त्यसैगरी, ६ इनिङ बलिङ गरेका नरेन साउदले पनि ११ विकेट नै लिए।

गत वर्ष सर्वाधिक विकेट लिने सहाब आलम भने यसपटक उस्तो चलेनन्। उनले गत वर्ष आठ इनिङमा ३३ विकेट लिएका थिए। तर यो सबै इनिङमा बलिङ गरेका उनले ११ विकेट लिए।

nullगत वर्षको जय ट्रफीमा आठ इनिङमा २०४ रन बनाउँदै सर्वाधिक रन बनाउने ब्याटरको तेस्रो नम्बरमा रहेका कुशल भुर्तेलले यसपटक राम्रो प्रदर्शन गरेका छन्। उनले चार खेलमा सात इनिङ ब्याटिङ गर्दा सर्वाधिक ३३६ रन बनाए। फाइनलमा सहित गरेर उनले प्रतियोगितामा तीन अर्धशतक प्रहार गरे। उनी बागमतीविरुद्ध शतक हान्न ४ रनले चुकेका थिए।

अबको बाटोः लामो स्वरूपको क्रिकेट
कुनै बेला क्रिकेट भनेकै टेस्ट मात्र थियो। १९७१ जनवरी ५ मा इङ्ल्यान्ड र अस्ट्रेलियाबीच मेलबोर्नमा पहिलो एक दिवसीय खेल भयो। तर यो खेल तेस्रो टेस्ट रद्द भएपछि त्यसको साटो खेलाइएको थियो। हरेक टोलीले ४८ ओभरको खेल खेलेका थिए। त्यसैलाई ओडीआईको जग मानिन्छ।

तर त्यसपछि पनि लामो समय टेस्ट क्रिकेटलाई नै वास्तविक क्रिकेट मानिन्थ्यो। त्यही समय आसपास नेपालको घरेलु क्रिकेटमा प्रशस्तै बहुदिवसीय प्रतियोगिता हुन्थे। क्यानको स्थापनाको केही समयपछि विष्णु ट्रफी शुरू भएको थियो। त्यसपछि मदन मेमोरियल ट्रफी, जुगलकिशोर ट्रफीजस्ता प्रतियोगिता भए। यी सबै दुई दिवसीय प्रतियोगिता थिए।

अन्तिमपटक २०६३ सालमा दुई दिवसीय क्रिकेट भएपछि त्यही स्वरूपको प्रतियोगिता देख्न १८ वर्ष पर्खनुपर्‍यो। २०६३ सालमा क्यानले त्यस बेलाका क्षेत्रीय टोलीबीच दुई दिवसीय प्रतियोगिता गरेको थियो। भैरहवा र वीरगन्जमा प्रतियोगिता गराइएको थियो। तर केही खेल भइसकेपछि मधेश आन्दोलनका कारण प्रतियोगिता बीचैमा रोकियो।

त्यसपछि घरेलु क्रिकेटमा टी२० स्वरूप हाबी भयो। खेलाडी टी२० शैलीमै अभ्यस्त हुँदै गए। त्यसैले पनि खेलाडीलाई लामो स्वरूपमा फर्काउन र ओडीआईमा अभ्यस्त गराउन जय ट्रफीजस्ता प्रतियोगिता आवश्यक हुने राष्ट्रिय टोलीका पूर्वकप्तान क्षेत्री बताउँछन्। यद्यपि, जय ट्रफीमा भाग लिन पाउने टालीको संख्या साँघुरो छ।

nullएक दिवसीय स्वरूपमा खेलाइने पीएम कपबाट छनोट भएर आएका चार टोलीले मात्र जय ट्रफी खेल्न पाउँछन्। अब यसलाई फराकिलो बनाउनुपर्ने क्षेत्रीको भनाइ छ। दुई दिवसीय खेललाई पनि तीन दिवसीयमा लैजानुपर्ने उनी बताउँछन्। “पीएम कप करिब २८ दिन चल्छ, यसमा सबैले सबैसँग खेल्न पाउनु राम्रो हो। तर लामो स्वरूपको प्रतियोगितालाई फराकिलो बनाउन अब जिल्ला तहसम्म पुर्‍याउनुपर्छ,” उनी भन्छन्।

जिल्ला तहलाई वर्गीकरण गरेर ‘डिभिजन वान’ र ‘डिभिजन टु’ बनाउनुपर्ने र त्यहाँ छोटोदेखि लामो स्वरूपका क्रिकेट खेलाउनुपर्ने क्षेत्री बताउँछन्। “त्यहाँ बढुवा र घटुवाको नियम बनाउनुपर्छ। यसले धेरै खेल खेल्ने अवस्था सिर्जना हुन्छ। नयाँ प्रतिभा पाउन सकिन्छ,” उनी भन्छन्, “पिच पनि अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्छ। तलदेखिका सबै मैदानका पिच समान हुनुपर्छ। कहीँ म्याट, कतै माटो हुनुहुँदैन। कतै ठूलो र कतै सानो मैदान हुँदा खेलाडी अभ्यस्त हुँदैनन्। सानो मैदानबाट ठूलोमा आउँदा क्याच भइहाल्छ।”

टेस्ट मान्यता कति टाढा?
लामो स्वरूपको क्रिकेटलाई टेस्ट मान्यताको आधार मानिन्छ। त्यसका लागि नेपालले भौतिक पूर्वाधारमा सुधार र विकाससँगै चार दिवसीय प्रतियोगितासम्म पुग्नुपर्छ। तर त्यसअघि अहिले प्रतिस्पर्धा गरिरहेको क्रिकेट विश्वकप लिग–२ मा अडिएर एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनुपर्छ।

तर आठ देश सम्मिलित लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ। २० खेल खेलेको नेपालले मात्र पाँच खेलमा जित हासिल गर्दै १२ अंक बटुलेको छ। अंक तालिकाको पुछारमा रहेको यूएईले उति नै खेल खेल्दै १० अंक जोडेको छ।

नेपालभन्दा ठीकमाथि रहेको नामिबियाले २४ खेल खेलेर १९ अंक जोडेको छ। त्यति नै खेल खेलेको क्यानडाको २१ अंक र २० खेल खेलेको ओमनको २४ अंक छ। नेपालले सिधै ओडीआई मान्यता जोगाउन बाँकी १६ खेल खेल्दा यी देशलाई अंक तालिकामा उछिन्नुपर्छ। ओडीआई मान्यता नै नरहेको देशले टेस्ट मान्यता पाउन सक्दैन।

चतुरबहादुर चन्द २०७६ असोज ११ गते पहिलोपटक क्यान अध्यक्ष निर्वाचित हुँदा उनले आफ्नै कार्यकालमा नेपाललाई टेस्ट मान्यता दिलाउने लक्ष्य राखेको बताएका थिए। उनले भनेका थिए, “एक दिवसीय मान्यतालाई कायम राख्दै नेपाललाई इमर्जिङ कन्ट्रीबाट टेस्ट नेसन्स बनाउने गरी तयारी शुरू भइसकेको छ। यसलाई व्यवस्थित योजना बनाएर मेरै कार्यकालभित्र यो उपलब्धि हासिल गर्ने लक्ष्य छ।”

तर उनको पहिलो कार्यकालमा बहुदिवसीय घरेलु क्रिकेट नै शुरू भएन। उनी २०८० असोज ६ गते दोस्रोपटक अध्यक्ष निर्वाचित हुँदा पारस खड्का सचिव भए। सचिव भएपछि खड्काले पनि १० वर्षभित्र नेपाललाई टेस्ट मान्यता दिलाउने आफ्नो लक्ष्य रहेको बताए। यद्यपि, उनले राखेको समयावधिको दुई वर्ष बितिसकेको छ।

बाँकी आठ वर्षमा नेपाल टेस्ट राष्ट्र बन्न असम्भव नभएको, तर गर्नुपर्ने काम धेरै भएको पूर्वकप्तान क्षेत्री बताउँछन्। त्यसका लागि भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने र खेलाडीलाई अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ। रणजी ट्रफी खेल्ने भारतका राज्यस्तरीय टोलीसँग नेपाली खेलाडीले खेल्ने वातावरण बनाउनुपर्ने उनी बताउँछन्।

“खेलाडीको प्रशिक्षणलाई स्तरीय बनाउनुपर्छ। खेलाडी छनोट गर्दा मेरो क्षेत्र वा नजिकको भनेर कसैले खेल्नै नपाउने अवस्था हुनुहुँदैन। बहुदिवसीय क्रिकेटलाई ध्यानमा राखेर भारतका स्टेट लेभलका टिमसँग प्रतिस्पर्धा गर्नुपर्छ,” क्षेत्री भन्छन्, “गर्नुपर्ने काम धेरै छन्, तर टेस्ट मन्यताको लक्ष्य असम्भव भने होइन।”