Saturday, May 04, 2024

-->

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

दुइटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम शुरू गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए।

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
फाइल तस्वीर

चितवन– नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुलनजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ।

अहिले दुइटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम शुरू गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए। पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताएको राससले उल्लेख गरेको छ।

नारायणगढ-मुग्लिन सकडखण्ड वर्षायाम शुरू भएयता पटकपटक अवरुद्ध भइसकेको छ। इलाका प्रहरी कार्यालय मुग्लिन, चितवनका अनुसार नारायणगढ मुग्लिन–सडकखण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन्।

तर, उक्त सडकखण्डका दर्जनौँ स्थानमा जाने पहिरोका कारण अवरुद्ध यो सडक खण्डमा यात्रा गर्ने यात्रुले हरेक वर्ष दुःख पाउने गरेका छन्।

भौगर्भिक अध्ययन तथा जोखिम विश्लेषण नगरी कमजोर पहाडलाई जथाभाबी काटेर सडक खन्ने र सम्भावित प्रकोपको समयमै पूर्वतयारी नगर्ने प्रवृत्तिले महत्त्वपूर्ण राजमार्गहरू मनसुनभर ठप्पप्रायः हुने गरेका छन्।

यो पनि: वर्षात‍्को थालनीसँगै किन अवरुद्ध भइरहन्छन् नेपालका राजमार्गहरू?


सम्बन्धित सामग्री