Thursday, April 25, 2024

-->

भड्खालोमा जाकिएको अर्थतन्त्रलाई स्थायित्व र स्थिरताले न्याय गर्दैन : स्वर्णिम वाग्ले

सांसद वाग्लेले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय दिएर हैरानी र झन्झटको दुष्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउन आवश्यक रहेको बताए।

भड्खालोमा जाकिएको अर्थतन्त्रलाई स्थायित्व र स्थिरताले न्याय गर्दैन  स्वर्णिम वाग्ले

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र समस्याग्रस्त भएर लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै डा. वाग्लेले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्न नसक्ने बताएका हुन्।

उनले अर्थमन्त्री प्रकाशशरण महतका दाजु रामशरण महतले २०७१ सालमा ल्याएको नीति तथा कार्यक्रममा पनि स्थायित्व र स्थिरताका कुरा गरिएको स्मरण गर्दै अर्थतन्त्र त्यतिबेला लयमा भएकाले स्थिरता कुरा गर्न सुहाए पनि वर्तमान अवस्थामा असान्दर्भिक भएको टिप्पणी गरे।

"लयमा भएको अर्थतन्त्र हुँदा स्थिरता कुरा गर्न सुहाउँछ। संकटमा परेको अर्थतन्त्र भड्खालोमा जाकिएको अर्थतन्त्र कुरा गर्दा स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैन," उनले भने।

उनले सरकारले आइतबार रातिसम्म ७३३ अर्बको राजश्व संकलन र खर्च १ हजार १६ अर्ब गरेको भन्दै राजश्व संकलन र खर्चको बीचको त्यति ठूलो खाडल पूरा गर्न सजिलो नभएको बताए।

उनले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ परेको उल्लेख गरे। कर्जा नियमित रूपमा २२ प्रतिशत वृद्धि भइरहेको भन्दै अर्थतन्त्रको गतिसँग सम्मान नदेखिरहेको उनले बताए।

"पुँजी, वस्तु सेवाबीचको आयात र निर्यातको खाडल जगजाहेर नै छ। उत्पादन र उपभोगको खाडल पनि जगजाहेर नै छ। यस्ता विषयमा सरकारले अलिक फरक ढंगले सेन्सर अरजेन्सी र प्राथमिकतामा पुनः मूल्यांकन गर्न मेरो आग्रह छ," उनले भने।

डा. वाग्लेले सरकारले अब परिमाणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको बताए। उनले सिद्धान्त र प्राथमिकतामा शिक्षा, स्वास्थ्य खानेपानीका कुराहरू आए पनि विगत ३२ वर्षमा ठूलो परिवर्तन आएको उल्लेख गरे। उनले अब सडक, विद्यालयभन्दा पनि विद्यालयमा सिकाई र अस्तपालामा गुणस्तरीय सेवामा जोड दिनुपर्ने बताए।

सांसद वाग्लेले नेपालका कुपोषणको महामारी रहेको भन्दै कुपोषणले सिंगो पुस्ताको एक तिहाइलाई प्रताडित गरिरहेको उल्लेख गरे। उनले पहिलो पुस्ताको विकासको चुनौतीबाट दोस्रो पुस्ताको विकास गर्नुपर्ने चुनौतीमा रहेका बताए।

सांसद वाग्लेले अर्थमन्त्री महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणहरूबाट अगाडि जानुपर्ने कुरा गर्नु गलत भएको बताए। उनका अनुसार सरकारको नीति तथा कार्यक्रमका लागि ठाउँ खोज्न सक्ने धेरै स्थान रहेका छन्।

उनले सरकारले जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नु पर्नुपर्ने बताए। उनले निजी क्षेत्रको मनोबलका कुरा गर्नु स्वागतयोग्य रहेको उल्लेख गरे। उनले आफूले कांग्रेसको घोषणापत्र लेख्न सहयोग गरेको भन्दै त्यसलाई पढेर कार्यान्वयनमा उतार्न अर्थमन्त्रीसँग आग्रह गरे।

"नेपाली कांग्रेसको घोषणा पत्र पढ्नुभएको होला? अर्थमन्त्रीज्यूले। मैले पनि पढेको छु। मैले पनि धेरै बहुत मैले पनि लेखिदिएकै हो। त्यहाँ ओम्नीबस आर्थिक सुधारका कुराहरू गरिएका छन्। २४ देखि ४८ वटा ऐनहरूको खारेजी संशोधन इत्यादिबारे कुरा गरिएका छन्। आफ्नै घोषणा पत्र पढेर कार्यान्वयनलाई उतार्नुहोला," उनले भने।

सांसद वाग्लेले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय दिएर हैरानी र झन्झटको दुष्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउन आवश्यक रहेको बताए।


सम्बन्धित सामग्री