Monday, May 13, 2024

-->

प्रीतम सिंहबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसदको आपत्ति, सदनबाट स्पष्ट पार्न माग

राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री दाहालले सोमबार कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह ‘धेरैचोटि दिल्ली गएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइन्।

प्रीतम सिंहबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसदको आपत्ति सदनबाट स्पष्ट पार्न माग

काठमाडौँ– राष्ट्रियसभा सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देशभर पछिल्लो समय बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबारको राष्ट्रियसभा बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले रासायनिक मलको अभाव, नारायणघाट–मुग्लिन सडकखण्ड पहिरोको कारण यात्रीले भोग्नुपरेको सास्तीलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री दाहालले सोमबार कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह ‘धेरैचोटि दिल्ली गएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइन्। राष्ट्रियसभा सदस्य गौतमले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति स्वतन्त्र र सार्वभौम सम्पन्न नेपालीका लागि आपत्तिजनक रहेको बताएकी हुन्।

“यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ [प्रीतम सिंह] राजनीतिमा पनि रुचि राख्नुहुन्छ,” सोमबार काठमाडौँमा आयोजित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले भनेका थिए, “उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौँका थोरै पार्टी र नेताहरूसँग पनि उहाँले लगातार छलफल गर्नुभयो।”

प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले संसद्समक्ष आएर स्पष्ट पार्न माग गरिन्। “प्रधानमन्त्रीको कुर्सीमा बसेर यस किसिमका राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने अभिव्यक्ति दिन उहाँलाई कदापि छुट दिन सकिँदैन,” उनले भनिन्, “म यस विषयमा प्रधानमन्त्रीले सदनसमक्ष आएर स्पष्ट पार्न र आफ्ना भनाई फिर्ता लिन अनुरोध गर्दछु।”

राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले पूर्वी नवलपरासीका पाँच वटा गाउँपालिकामा बाढीपहिरोका कारण विगत केही दिनदेखि सडक अवरुद्ध भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले देशभर बाढीपहिरोले जनजीवन प्रभावित भएको उल्लेख गर्दै भने, “पूर्वी नवलपरासीका ४/५ वटा गाउँपालिकामा चार, पाँच दिनदेखि सडक अवरुद्ध छ। यातायात छैन। जनताले निकै सास्ती पाएका छन्। त्यसको निम्ति सरकारको पहल देखिँदैन। तल्लो तटीय क्षेत्रमा डुबान र नदी कटानको अवस्था नाजुक छ। रुपन्देहीको तिनाउ नदी खतराको चिह्नबाट माथि गएको छ। त्यस क्षेत्रका जनतालाई अहिले त्रास मात्र छ । त्यसतर्फ सरकारको ध्यान जाओस्।”

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न माग गरे। त्यस्तै, सन् २०१९ देखि त्रिभुवन विश्वविद्यालयले सिएको समकक्षताको प्रमाणपत्र नदिँदा ‘सीए’हरू अलपत्र परेका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै, राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले कैलालीस्थित शक्ति भन्सार कार्यालयमा तत्काल क्वारेनटाइनको स्थापना गर्न माग गरे। “कैलालीको खक्रौलास्थित शक्ति भन्सार कार्यालयमा क्वारेनटाइन नहुँदा कैलालीको पूर्वी क्षेत्रमा आउने खाद्यजन्य तथा पशुजन्य वस्तुहरू अन्यत्रबाट आउने भएकाले भन्सारको राजस्वमा भारी गिरावट आएको छ,” उनले भने, “तत्काल शक्ति भन्सारमा क्वारेनटाइनको स्थापना गर्न सरकारसँग माग गर्दछु।”

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले तनहुँको बुद्धसिंह मार्गमा कालोपत्रे गर्न र पक्की पुल निर्माण गर्न सरकारसँग माग गरिन्। राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले धान रोपाइँ चलिरहेको यो बेलामा किसानले युरिया र डीएपी मल नपाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले बाढी, पहिरोबाट हुने जोखिमको रोकथामका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन्।

राष्ट्रियसभा सदस्य विमला घिमिरेले नारायणघाट–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध हुने गरेको र यात्रा कष्टकर हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। ‘बुटवल–नारायणघाट सडकखण्ड निर्माण कार्यको कारणले जटिल त थियो नै नारायणघाट–मुग्लिन सडकखण्ड पहिरोको कारणले अत्यन्त कष्टपूर्ण बन्यो,” उनले भनिन्, “यसलाई तत्कालीन र दीर्घकालीन हिसाबले वैकल्पिक मार्गको खोजी नगरे पूर्व पश्चिम राजमार्गमा सधैँ यस्तै हुने नियति दोहोरिनेछ।”

राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले सप्तरीको बेलीही भन्सारमा क्वारेनटाइन चेकपोस्ट राख्न माग गरे। “सप्तरीको बेलीही भन्सारमा क्वारेनटाइन चेकपोस्ट नहुँदा सप्तरीका किसान र उपभोक्ताहरू धेरै मारमा परिरहेका छन्,” उनले भने, “सप्तरीमा खाद्यान्न वीरगन्ज अथवा विराटनगरबाट ल्याउनुपर्छ। यसलाई यथाशीघ्र व्यवस्थापन होस्।”

राष्ट्रियसभा सदस्य सुमित्रा बिसीले जुम्लामा अन्तरजातीय विवाह गरेबापत मुकुन्द नेपालीको घरमा आगजनी भएको भन्दै दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरिन्।

“गत साता जुम्ला तातोपानी ४ बिगीखोलाका २१ वर्षीय मुकुन्द नेपालीको घरमा अन्तरजातीय विवाह गरेबापत आगजनी गरिएको छ। अहिलेको युगमा पनि यस्ता संकुचित सोचले भरिपूर्ण समाजलाई प्रशिक्षित गर्दै यस्ता अपराधीहरूलाई छानबिन गरी कडाभन्दा कडा कारबाही गरियोस्,” उनले भनिन्।

उनले पोखरामा महिला प्रहरीमाथि नाजायज मेसेज पठाएर हिंसा गर्ने प्रहरीलाई पनि कारबाही गर्न माग गरिन्। “पोखराका प्रहरीले महिला प्रहरीमाथि नाजायज मेसेज पठाउने र हिंसा गर्ने यस्ता खाले गतिविधिलाई अन्त्य गर्नका लागि गृह मन्त्रालयको ध्यान जाओस् र कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु” उनले भनिन्।


सम्बन्धित सामग्री