Tuesday, May 21, 2024

-->

फुटबलर आशिष: हार्डवेयर पसलको कामदारदेखि राष्ट्रिय टोलीसम्म

फुटबलर आशिषको जीवनको एउटा लक्ष्य हो, आफ्नै सानो घर बनाएर बस्ने बुबाको सपना पूरा गर्नू। त्यही सपनाले डोर्‍याएर उनका बुबा साउदी अरब पुगेका छन्। उनी भने साउदी सपना त्यागेर फुटबलमा लागे।

फुटबलर आशिष हार्डवेयर पसलको कामदारदेखि राष्ट्रिय टोलीसम्म
तस्वीर : एन्फा।

काठमाडौँ– भारतको बैंग्लुरूमा जारी साफ च्याम्पियनसिपमा शुरूका दुई खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको थियो। पहिलो खेलमा आमन्त्रित टोली कुवेतसँग पराजित भएको नेपालले दोस्रो खेलको नतिजा पनि भारतलाई सुम्पिएको थियो। अन्तिम खेलमा भने करिब १५ महिना फिफाको प्रतिबन्ध भोगेर आएको पाकिस्तानविरुद्ध सान्त्वना जित हासिल गर्‍यो। 

उक्त जितमा नायक रहे आशिष चौधरी। साफ खेल्न जानुभन्दा केही महिना अघिसम्म २३ वर्षीय आशिषलाई आफ्नो भविष्य कता जान्छ भन्ने थाहा थिएन। फुटबल खेल्ने कि बाबुकै बाटो पछ्याउँदै विदेश जाने भन्ने यकिन थिएन। बाबुले साउदी अरब आउन दबाब दिइरहेका थिए।

उनै आशिषले पाकिस्तानविरुद्धको खेलको ८०औँ मिनेटमा निर्णायक गोल गरे। लाकेन लिम्बूले दिएको पासमा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।

“हामीले लगातार लिग खेल्यौँ। कसैले राम्रोसँग आराम गर्न पाएनन्। यसबीचमा ट्राभल पनि गरिरह्यौँ। त्यसैले नतिजा राम्रो भएन। तर, नेपालको लागि गोल गर्ने मेरो एउटा सपना थियो, त्यो पूरा भयो। यसैमा खुशी छु,” उनी भन्छन्।

'बी' डिभिजनबाट सोझै बन्द प्रशिक्षणमा
नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा जो नियुक्त भएर आउँछन् उनीहरूलाई लागिरहने एउटा आरोप हो, ‘ए’ डिभिजनबाहेक ‘बी’ र ‘सी’का खेलाडीलाई मौका नै दिइँदैन। केही वर्ष अघिसम्म नेपाली राष्ट्रिय टोलीको निर्माण त्यसरी नै गरिन्थ्यो। तर, कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहित राष्ट्रिय टोलीका १० खेलाडीबीचको किचलोले यो 'ट्रेन्ड' बदलिदियो।

कुवेतमा हुने एशियन कप छनोटको तयारीका लागि ‘क्याम्प’मा रहेका कप्तान किरण र उपकप्तान रोहित चन्दसहित विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, विमल घर्तीमगर र दिनेश राजवंशीले अल्मुताइरीविरुद्ध विद्रोह गरे। उनीहरूले क्याक्प नै छाडेर हिँडे। 

यस विद्रोहले वर्षौंदेखि सिनियर खेलाडीको छायामा परेका नयाँ खेलाडीले मात्रै होइन, ‘बी’ डिभिजन खेलिरहेकाले पनि राष्ट्रिय टोलीमा स्थान बनाउने ढोका खुल्यो। 'बी' डिभिजन खेलिरहेका विकास तामाङ, शिव गुरुङ, निरकुमार राई र रोशन रानामगरले पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अवसर पाए। त्यसैमध्येमा एक नाम थपियो, आशिष चौधरी।

चर्च ब्वाइज युनाइटेडबाट एक वर्षअघि मात्रै ‘सी’ डिभिजन लिगमा डेब्यू गरेका उनलाई यति चाँडै राष्ट्रिय टोलीमा बोलाइन्छ भन्ने लागेको थिएन। तर, ‘बी’ डिभिजनसम्म पुग्दा ‘मोस्ट भ्यालुएबल’ खेलाडी बनेर उदाइसकेका थिए। खेलाडी विद्रोहका कारण उनी बन्द प्रशिक्षणमा सहभागी भए। 

उनको खेलबाट प्रशिक्षक अल्मुताइरी प्रभावित थिए। उनी भनिरहन्थे, "यसपटक आशिषले अनुभवी खेलाडीको अभाव खड्किन दिने छैनन्।" 

तर, कुवेत उड्ने २३ सदस्यीय टोलीमा भने उनी अटाउन सकेनन्। “मैले कहिल्यै पनि ‘ए’ डिभिजन लिग खेलेको थिइनँ। राष्ट्रिय टोलीमा पर्न ‘ए’ डिभिजन नै खेल्नुपर्थ्यो। मलाई बोलाउनुभयो र क्याम्पमा छनोट पनि भएँ। जीवनको सबैभन्दा खुसीको क्षण त्यही थियो। कुवेत भने उड्न पाइनँ,” उनी भन्छन्। 

साउदी जानुपर्ने डरले राहदानी बनाएनन्
मोरङको हरैँचामा जन्मिएका आशिषको लक्ष्य फुटबलर नै बन्ने थियो। तर, खाली पेट र आर्थिक समस्याले थलथलिएका उनलाई यहाँसम्म पुग्न त्यति सहज थिएन। उनी सयौँ ठक्कर र हन्डर खाँदै चर्च ब्वाइजसम्म पुगेका थिए। 

क्लबमा आवद्ध हुनुअघि उनले कहिल्यै राम्रो जर्सी र बुट लगाउन पाएका थिएनन्। परिवारको जिम्मेवारीसमेत काँधमा बोकेर हिँडेका उनले फुटबलमा पर्याप्त समय बिताउन पनि पाएका थिएनन्।

आर्थिक समस्याको कारण आशिष हार्डवेयर पसलमा काम गर्थे। त्यहाँ उनले डन्डी र सिमेन्ट बोके। गाडी चलाउन सिकिसकेका थिए। गाडीमा सामान ढुवानी गर्थे। यसरी परिवारलाई भरथेग गर्दै पनि केही पैसा जम्मा पारे। त्यो पैसा फुटबल खेल्नमै खर्च गर्थे।

 

कामबाट समय निकालेर साथीहरूसँग फुटबल खेल्न जान्थे। कसैले खेल्न बोलायो भने काम छाडेर पनि कुदिहाल्थ्ये। उनको ध्याउन्न जसरी भए पनि ‘ए’ डिभिजन क्लबबाट फुटबल खेल्ने थियो। 

“फुटबलको लागि धेरै दु:ख गरियो। जसरी भए पनि फुटबलर नै बन्छु भन्ने थियो। तर यतिचाहिँ थाहा थियो, त्यहाँसम्म पुग्न धेरै मिहिनेत गर्नुपर्छ,” उनी भन्छन्।

उनको बुबा कमल साउदी अरबमा रोजगारीमा छन्। आफ्नो घर नभएका उनी छिमेकीको सहारामा बसेको वर्षौं भइसक्यो। आफ्नै घर बनाउने सपना देखेका उनलाई बुबा कमलले धेरैपटक साउदी आउन दबाब दिएका थिए। तर, उनले वास्ता नै गरेनन्। फुटबलर बन्ने सपना पूरा गर्न उनले भएको काम पनि छाडे।

“परिवार छिमेकीको घरमा बस्ने भएकाले मेरो चाहना आफ्नै सानो घर होस् भन्ने छ। यो सपना पूरा गर्न बुवा विदेशमा हुनुहुन्छ। नेपालमै बसेर सपना पूरा गर्ने सम्भावना उहाँले देख्नु भएन। त्यसैले बारम्बार यतै आइज भन्नुहुन्थ्यो। तर, मैले कहिल्यै मानिनँ,” उनी भन्छन्।

उनलाई के पनि डर थियो भने, राहदानी बनाइहाले बुबाले साउदी झिकिहाल्छन्। त्यही भएर राहदानी पनि बनाएनन्। 

उनी चर्च ब्वाइज युनाइटेडबाट 'सी' डिभिजन खेल्थे। उनको क्लब 'सी' र ‘बी’ डिभिजनको विजेता हुँदै शीर्ष डिभिजनमा उक्लियो। उनको खेल सबैले हेर्न पाए। यता, उनी आफ्नो 'आइडल' अञ्जन विष्टसँग एउटै 'ड्रेसिङ रूम सेअर' गर्ने हौसियतमा पुगे। उनलाई यो सपनाभन्दा कम लागेको थिएन। 

चर्च ब्वाइजलाई डेब्यूमै 'ए' डिभिजन लिगको उपाधि जिताउन आशिषले ६ गोल गरे। क्लबका लागि खेल्दै गर्दा उनले राष्ट्रिय टोलीका प्रशिक्षकको ध्यान खिच्न सफल भए। 

विदेश पलायन नहुने अठोट
आशिष विङ्गर, लेफ्ट ब्याक र फरवार्डको भूमिकामा खेल्न सक्छन्। यस्तो क्षमताका कारण नै उनलाई नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक प्रदीप हुमागाईंले पनि निक्कै मन पराएका थिए। गत असोजमा भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत् उनले राष्ट्रिय टोलीमा डेब्यु गरे। तर, आधिकारिक प्रतियोगिता भने उनको साफ च्याम्पियनसिप नै रह्यो। 

आशिषलाई यही प्रतियोगिताका लागि इटालीयन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले राष्ट्रिय टोलीसम्म ल्याइपुर्‍याएका हुन्। श्री कान्तिरावा स्टेडियममा भएको प्रतियोगितामा पाएको सीमित अवसरलाई सदुपयोग गरेर आशिषले सबैलाई प्रभावित पारे।

७ वर्षको उमेरमा फुटबल खेल्न थालेका आशिषको प्रतिभाबाट एनिस पनि खुसी छन्। उनी भन्छन्, “उनको (आशिषको) अगाडिको भविष्य राम्रो छ। उनी भर्खर २३ वर्ष पुगेका छन् र हामी उनको प्रतिभाबाट खुशी छौँ। उनीसँग काम गरिरहन चाहन्छु।”

दैनन्दिनका कठिनाइलाई पार लगाउँदै फुटबलमा आइपुगेका आशिष अब खेलमै करिअर बनाउन चाहन्छन्। तर, अबको केही महिना नेपालमा फुटबल गतिविधि प्राय: शून्य हुनेछ। यो समय के गर्ने उनलाई ठ्याक्कै थाहा छैन। 

नेपाली फुटबलरहरूको आम्दानीको मुख्य स्रोत स्थानीय प्रतियोगिता नै हो। उनीहरूले प्रत्येक खेलको लागि सामान्यतया ५ हजार रुपैयाँ पाउँछन्, जुन उनको परिवारलाई पर्याप्त छैन। 

उनले यसबीचमा एउटा दृढ संकल्प चाहिँ बनाइसकेका छन्, कहिल्यै विदेश नजाने। “फुटबल खेल्नकै लागि यति धेरै दुःख गरिसकेको छु। अझ धेरै गर्न बाँकी नै छ। त्यसैले विदेश पलायन चाहिँ हुन्नँ,” उनी भन्छन्।


सम्बन्धित सामग्री