Tuesday, May 21, 2024

-->

साफले उब्जाएको प्रश्न– फुटबलमा कहिलेसम्म हारलाई नै ‘उपलब्धि’ मानिरहने?

अनुभवी खेलाडीहरू पलायन भएपछि बनाइएको युवा टोली, त्यो पनि तयारीबेगर साफ च्याम्पियनसिप खेल्न पुगेकाले यस्तो नतिजा अपेक्षित नै थियो। तर यसले प्रश्न उब्जाएको छ– कतिन्जेल हारलाई नै ‘उपलब्धि’ मानिरहने?

साफले उब्जाएको प्रश्न– फुटबलमा कहिलेसम्म हारलाई नै ‘उपलब्धि’ मानिरहने
तस्वीर: एन्फा

काठमाडौँ– सन् २०४८ को विश्वकपमा सहभागिता जनाउने लक्ष्य बुनेको भारत दक्षिण एशियाबाट माथि उक्लिन चाहन्छ। उसको लक्ष्य एएफसी कप जित्दै २५ वर्षपछि जर्मनी, ब्राजिल, अर्जेन्टिना, फ्रान्सलगायत विश्व महारथीहरूले सहभागिता जनाउने मञ्च, विश्वकपमा पुग्नु छ। तर, नेपालको लक्ष्य त्यसभन्दा धेरै फरक छ।

नेपाली फुटबलले विश्वकपमा पुग्ने त के, दक्षिण एशियाभन्दा माथि जाने लक्ष्यसम्म बुन्न भ्याएको छैन। नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ यो कुरालाई लुकाउँदैनन्। “हामी अहिले साफमै फोकस्ड छौँ। मेरो मात्र होइन, नेपाली फुटबलको लक्ष्य भनेकै साफ च्याम्पियनसिप जित्नु हो,” उनी भन्छन्।

भारत र नेपालले करिब ३४ वर्षको अन्तरमा फुटबलमा पाइला टेकेका हुन्।

भारतले साफको तीन दशकको इतिहासमा सर्वाधिक ९ पटक उपाधि जितेको छ। यसबाहेक एशियन गेम्समा दुई पटक उपाधि जितेको छ। एएफसी एशियन कपमा एक पटक उपविजेता बन्दा समर ओलम्पिकमा सेमिफाइन पुगेको उसको गर्विलो इतिहास छ। तर, नेपालको उपलब्धि भनेको एक-एक पटक दक्षिण एशियाली खेलकुद र सोलिडारेटी कप जित्नु र गत संस्करण साफ च्याम्पियनसिपको फाइनलमा पुग्नु नै हो।

सन् २०२१ मा माल्दिभ्समा आयोजना भएको १३औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल लक्ष्यनजिक पुगेको थियो। तर, भारतसँग ३-० गोलअन्तरले पराजित हुँदा नेपाल फेरि त्यो लक्ष्यमा चुक्यो।

यसपटक पनि नेपालको लक्ष्यमा भारत नै बाधक बन्यो। कठिन समूहमा परेको नेपाल पहिलो खेलमा आमन्त्रित टोली कुवेतसँग ३-१ ले पराजित भयो भने दोस्रो खेलमा भारतसँग २-० गोलअन्तरले पराजित हुँदै एक खेलअघि नै प्रतियोगिताबाट बाहिरियो। नेपालको उपलब्धि भनेको अन्तिम खेलमा पाकिस्तानलाई १-० गोलअन्तरले हराउनु मात्र रह्यो।

यसअघिका संस्करणहरूमा लक्ष्य पूरा नहुँदा पीडामा देखिने गरेका किरण यसपटक प्रफुल्लित मुद्रामा देखिए। “म खुशी नै छु। केटाहरूले राम्रो खेले। हामीसँग एकदमै युवा टोली छ। त्यसमा केहीले त पहिलो पटक डेब्यु गरेका छन्। उनीहरूले बलियो र धेरै एक्स्पोजर प्राप्त गरेको टोलीसँग राम्रो फाइट गरेका छन्,” किरण भन्छन्, “अलिकति दु:ख त लागिहाल्छ, किनभने यसपटक हामी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छौँ।”

नेपाल र भारत साफका सबै संस्करण खेल्ने राष्ट्र हुन्। तर, भारतले साफ उपाधिमा आधिपत्य जमाउँदा नेपालले भने दाबेदारीसम्म प्रस्तुत गर्न सकेको छैन। सन् १९९३, १९९५, १९९९, २०११, २०१३ र २०१८ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो। तर, अधिकांश संस्करणमा भारतीय टोली नै नेपालका लागि बाधक बन्दै आएको छ। अझ २८ वर्षे साफको इतिहासमा भारतलाई नेपालले एक पटकबाहेक पराजित नै गर्नसकेको छैन।

यसपटक पनि त्यो इतिहास तोडिएन। भारतसँग पराजित हुँदै सन् २०१५ पछि पहिलोपटक नेपाल समूह चरणबाटै बाहिरियो। मुख्य प्रशिक्षक भिन्सिन्जो अल्बर्टो एनिस भने यसपटक जे उपलब्धि हासिल भयो, त्यसमा गर्व गर्नुपर्ने बताउँछन्।

“हामीले भन्दा अन्य टिमले धेरै राम्रो तयारी गरेका थिए। तर, नेपालले त्यो अवसर प्राप्त गर्न सकेन। यद्यपि, समग्रमा हाम्रा खेलाडीले राम्रो खेले। उनीहरूमा क्षमता छ। उनीहरूलाई समय चाहिन्छ। जे होस्, मैले उहीहरूको खेलमा इन्जोए गरेँ। यो साफमा जे गर्‍यौँ त्यो धेरै हो,” उनले भने।

कमजोर तयारी, कमजोर धरातल
अघिल्लो संस्करणमा नेपालले पर्याप्त अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाएको थियो। अन्तर्राष्ट्रिय प्रतियोगिता र नियमितजसो मैत्रिपूर्ण खेलको कारण नेपालले माल्दिभ्समा भएको साफको फाइनल यात्रा गरेको थियो। यसपटक त्यो लक्ष्यभन्दा माथि उक्लिने काल्पनिक लक्ष्य बनाएको एन्फाले क्लबसँग सल्लाह नगरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षण थाल्यो। तर, शहीद स्मारक ‘ए’ डिभिजन लिगको बिचमा क्लबहरुले खेलाडी नदिने अडान कसे।

लिग जेठ २७ गते सकियो। त्यसपछि बल्ल क्लबहरूले खेलाडी ‘रिलिज’ गरे। बिना विश्रामको लिग खेलेर थकित भएका खेलाडीलाई एनिसले एक दिनको मात्रै बन्द प्रशिक्षण राख्न पाए। उक्त एक दिने बन्द प्रशिक्षणपछि नेपाली टोली जेठ ३० गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न मनिला उडेको थियो। त्यति तयारीले साफको उपाधि जित्ने लक्ष्य पूरा हुने उनले कल्पेका पनि थिएनन्। त्यसैले उनी बारम्बार दोहोर्‍याइरहन्थे, “हाम्रो लक्ष्य राम्रो फुटबल खेल्ने मात्रै हो।”

भयो पनि त्यस्तै। बलिया राष्ट्रको समूहमा परेको नेपालले १५ महिनासम्मको लामो प्रतिबन्ध भोगेको पाकिस्तानबाहेक अन्य टोलीलाई पराजित गर्न सकेन।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक बालगोपाल महर्जन उपाधि लक्ष्य लिए पनि नेपालले सोअनुरूपको तयारी गर्न नसक्दा यसअघिकै संस्करणकै नियति भोग्नुपरेको सुनाउँछन्। 

“हाम्रो लागि साफ सबैभन्दा ठूलो प्रतियोगिता हो, सधैँ त्यो उपाधिको सपना देख्दै आएका छौँ। तर, हामीले साफलक्षित योजना बनाउन कहिल्यै सकेनौँ। हामी सधैँ तयारीमा चुक्ने गरेका छौँ। यसपटक पनि भएको त्यही हो,” उनी भन्छन्, “लिगका लगातार खेलका कारण खेलाडीहरू थकित थिए। लिगकै कारण पर्याप्त तयारी पनि हुन पाएन। जसको नतिजा प्रदर्शनमा देखियो।”

विश्वकप खेलिसकेको कुवेत मात्रै होइन, भारतका अनुभवी खेलाडीसामु नेपालले गरेको प्रदर्शनलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको तर्क छ।

नेपाली फूटबलमा भविष्य नदेखेर राष्ट्रिय टोलीका अधिकांश अनुभवी तथा नियमित खेलाडीहरू विदेश पलायन भएका कारण यसपटक साफ खेल्ने टोलीमा १२ नयाँ अनुहारले स्थान बनाए। तीमध्ये विमल पाण्डे, देवेन्द्र तामाङ, सीमान्त थापा, एरिक विष्ट, आवास लामिछाने, नवीन लामा, लाकेन लिम्बु, आशिष चौधरीले मैदानमा उत्रिने मौका पाए। महर्जन यसपटक टोलीमा धेरै युवा खेलाडी भएको कारण अनुभवमा केही कमी देखिएको बताउँछन्।

“हामीसँग क्षमतावान् खेलाडी नभएका होइनन्, छन्। तर, फुटबल एक खेलाडीले मात्र खेल्ने त होइन नि! यो टिममा खेलिने खेल हो। यसपटक टोलीमा धेरै युवा खेलाडी भएका कारण उनीहरूमा अनुभवको कमी देखियो,” उनी भन्छन्, “रक्षापंक्ति र गोलरक्षकमा पनि तालमेलको अभाव देखियो। अग्रपंक्तिका खेलाडीले पनि स्वाभाविक लय भेट्टाउन सकेनन्।”

प्रतियोगितामा सहभागी हुन आएका अन्य टोलीले धेरै अभ्यास खेल खेलेर मनोबल बढाए पनि नेपालको हकमा भने त्यो लागू हुन नसकेको उनको भनाइ छ। नेपाली राष्ट्रिय टोलीका पूर्वडिफेन्डर रविन श्रेष्ठ जस्तो तयारी गरेको हो, त्यस्तै नजिता निस्किएको कारण निराश हुनुनपर्ने बताउँछन्। फुटबलमा क्लबाट खेल्दा र राष्ट्रिय टोलीबाट खेल्दा बेग्लै ‘मेन्टालिटी’ बनाउनुपर्ने उनको भनाइ छ।

तर, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकले कम समय प्राप्त गर्दा त्यसमाथि काम गर्न नसकेको उनको तर्क छ। त्यसैको असरले गर्दा सोचेअनरूप नतिजा हात नपरेको उनी बताउँछन्।

“छोटो समय पाएको कारण हामी फुटबलको वातावरणमा राम्रोसँग भिज्न सकेनौँ। छोटो समयमा धेरै कुराहरू प्राप्त गर्छौँ भनेर आशा राख्नु पनि उचित हुँदैन,” उनी भन्छन्।

प्रतियोगिताका लागि कमजोर तयारी, अपर्याप्त लगानी र एन्फाको बेवास्ताका कारण नेपालले साफ जित्न सकेको छैन। अझ नेपाली फुटबलको प्रदर्शन खस्कँदो छ। एक सानो लिगबाट छोटो समयमा खेलाडी छान्नुपर्ने र त्यसमाथि पनि अधिकांश खेलाडी नयाँ हुने भएको कारण लक्ष्यमा चुक्दै आएको उनको बुझाइ छ। त्यसैले फुटबलमा लगानी बढाउनुपर्ने श्रेष्ठ बताउँछन्।

“ग्रास्टरुटदेखिको खेलाडी आउनुपर्ने हो। तर, हाम्रोमा त्यस्ता खेलाडी खोइ? एक लिगबाट खेलाडी छनोट गरायो अनि खेलायो, यसो गर्दा त लक्ष्य कसरी भेटिन्छ? लगानी, योजना अनि भिजन हुनुपर्‍यो। यति भयो भने साफको उपाधि हामीभन्दा धेरै टाढा छैनजस्तो लाग्छ,” उनी भन्छन्।

एन्फा भने पछिल्लो समय फुटबलमा लगानी बढाए पनि सोचेअनरूप नतिजा हात पार्न नसकेको तर्क गर्छ। एन्फा महासचिव किरण राई फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीबाट प्राप्त हुने सम्पूर्ण बजेट यसैमा लगानी गरेको बताउँछन्। तर, राम्रो खेल्दाखेल्दै पनि नतिजा हासिल गर्न नसकेको उनी बताउँछन्।

“खेल त सधैँ राम्रो खेल्छौँ। तर, नतिजा त्यसअनुसार आइरहेको छैन। यो हाम्रो समस्या भइरहेको छ, उनी भन्छन्, “भारतको फुटबलमा राम्रो लगानी छ। हामी पनि लगानी विस्तार गर्ने योजना बनाएका छौँ। युथ लेभलको प्रोग्राम बनाएर अगाडी बढिरहेका छौँ।”


सम्बन्धित सामग्री