Friday, May 03, 2024

-->

सीमावर्ती क्षेत्रमा किन सस्तो भयो भारतीय रुपैयाँ?

सीमाका भारतीय बजारमा ६ महिनाअघि १०० भारु साट्न १६६ रुपैयाँसम्म तिर्नुपर्थ्यो। अहिले त्यति नै भारु १५४ रुपैयाँमा पनि पाइन्छ। रक्सोलका व्यापारीले नेपालका बैंकको क्यूआर कोड राखेरै नेपाली रुपैयाँ लिन्छन्।

सीमावर्ती क्षेत्रमा किन सस्तो भयो भारतीय रुपैयाँ

काठमाडौँ– वीरगन्जबाट भारत प्रवेश गर्दा सीमावर्ती शहर रक्सोलस्थित सीमा शुल्क भवन (कस्टम) पार गर्नेबित्तिकै रेल्वेको वारिपारि लहरै भेटिन्छन् मुद्रा सटही गर्ने करिब दुई दर्जन पसल। गएको पुससम्म यी पसलले १०० भारतीय रुपैयाँ (भारु) लिन १६६ रुपैयाँसम्म असुल्थे। तर, अहिले १५४ रुपैयाँमा नै १०० भारु दिन थालेका छन्।

रक्सोलका व्यापारी महेश अग्रवाल रेल्वे वारिपारिका ती पसल ठूला कारोबारीका एजेन्ट भएको बताउँछन्। उनी भन्छन्, “ठूला कारोबारी बेग्लै छन्, जसले दैनिक करोडौँको कारोबार गर्छन्। पहिला भारतीय रुपैयाँ सयकडा ५ देखि ६ रुपैयाँ बट्टा (अवैध नाफा) लिएर बेच्थे। अहिले नेपाली रुपैयाँमा त्यति नै बट्टा कमाइरहेका छन्।”

आधिकारिक रूपमा १०० भारुको विनिमय दर १६० रुपैयाँ छ। नेपाल राष्ट्र बैंकले भारुसँग स्थिर विनिमय दर तोकेको हुनाले अन्य देशको जस्तो परिवर्तन हुँदैन। तर, अनौपचारिक विनिमयमा सीमावर्ती शहरमा औपचारिक विनिमय दरभन्दा ५–६ रुपैयाँ कममा सटही भइरहेको छ। राष्ट्र बैंकले जनाएअनुसार भारतीय रुपैयाँसँग नेपालको विनिमय दर २०५० सालदेखि स्थीर छ।

२०१६ सालमा राष्ट्र बैंकले विनिमय दर १ भारु बराबर १.६ रुपैयाँ कायम गरेको थियो। २०२४ सालमा भारतीय मुद्राको मूल्य ह्रास आएको बेला भारु १ बराबर १.०२ रुपैयाँ (१०० भारुको १०२ रुपैयाँ) विनिमय दर कायम भयो। सबैभन्दा बढी नेपाली रुपैयाँको अवमूल्यन २०४२ सालमा भएको थियो। त्यतिबेला भारु १ बराबर १.६८ रुपैयाँ (१०० भारुको १६८ रुपैयाँ) भएको थियो। 

नेपाली मुद्रालाई स्थीर बनाउन २०५० सालमा १०० भारु बराबर १६० रुपैयाँ बनाइयो। ३० वर्षअघि कायम गरिएको स्थीर विनिमय दर अहिलेसम्म कायम रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। 

अर्थशास्त्र र भू–राजनीतिका शोधकर्ता सौरेन्द्रबहादुर शाहले एक लेखमा उल्लेख गरेअनुसार बलियो मुद्रासँग स्थीर विनिमय दर कायम राख्दा मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न मद्दत हुन्छ। त्यसो हुँदा, सरकारलाई वित्तीय योजना बनाउन सहज हुने र निर्यातमा प्रतिस्पर्धात्मक लाभको अवसर हुन्छ। 

तर, स्थीर विनिमयका केही बेफाइदा पनि छन्। स्थीर विनिमय दर गरिएको देशबाट मुलुकको परराष्ट्र मामिलामा प्रत्यक्ष वा परोक्ष हस्तक्षेप हुन सक्ने शाह उल्लेख गर्छन्। नेपालले भारतसँगको स्थीर मुद्रा विनिमय दरबाट फाइदा लिन त्यहाँको मौद्रिक नीतिको अध्ययन निरन्तर गरिराख्नु पर्ने शाहको विश्लेषण छ।

यसरी उल्टियो अनौपचारिक विनिमय
६ महिना अघिसम्म भारतीय सीमावर्ती बजारमा १०० भारु लिन १६३ देखी १६६ रुपैयाँसम्म तिर्नु पर्थ्यो। औपचारिक विनिमय दरभन्दा फरक रकमलाई त्यहाँ ‘बाटा’ भनिन्छ। बाटा लिएर मुद्रा सटही कारोबारसमेत गर्ने रक्सोलका एक व्यापारीले दुई देशका सरकारहरूले समाधान गर्न नसकेको समस्यालाई आफूहरूले सीमामा बसेर सहजीकरण गरिदिएको र त्यहीबापत निश्चित रकम लिने गरेको बताउँछन्।

“यसअघि मैले ३ देखि ४ रुपैयाँ बाटा दिएर वीरगन्जका कारोबारीबाट भारु किन्ने र त्यसमा १–२ रुपैयाँ थपेर यता (भारततर्फ) बेच्ने गरेको थिएँ,” नाम उल्लेख गर्न नचाहने ती व्यापारी भन्छन्, “गएको दशहरा र दिपावलीतिर कारोबारमा बाटा घटिसकेको थियो। बजारमा नेपाली रुपैयाँको माग बढेपछि चलनचल्तीको दरभन्दा बढाएर कारोबार शुरू भयो।”

भारतीय बजार रक्सोल। तस्वीर: रितेश/उकालो

अहिले १ लाख भारुसम्मका लागि नेपाली १ लाख ५५ हजार रुपैयाँ लिने उनी बताउँछन्। तर, ५/१० लाख भारु भने १ लाखको १ लाख ५४ हजारमै दिने उनको भनाइ छ। 

राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेलका अनुसार भारतसँग अमेरिकी डलर तिरेर खरिद गर्दा १ भारु बराबर १.६० रुपैयाँ नै हिसाब हुन्छ। सटहीको इजाजत पाएकाहरूले १५ पैसासम्म सेवाशुल्क लिएर साट्न सक्ने उनी बताउँछन्। तर, अनौपचारिक विनिमय दरबारे भने बताउन नसक्ने उनको भनाइ छ। “तपाईंले सोधेको (अनौपचारिक सटहीको) विषयमा विभिन्न स्रोतबाट जानकारीहरू प्राप्त भएपछि त्यसबारे राष्ट्र बैंकले पनि अध्ययन गरेको छ, तर प्रतिवेदन आएको छैन,” पोखरेलले भने।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार यसअघि वस्तुको आयातमा न्यून बिजकीकरण हुँदा भारुको अवैध कारोबार हुन्थ्यो। भन्सारमा कम मूल्यको सामान देखाउने र व्यापारीलाई तिर्नुपर्ने वास्तविक रकम हुन्डीमार्फत पठाउने गर्दा अनौपचारिक बजारमा भारुको माग बढ्थ्यो। तर, अहिले सरकारले न्यून बिजकीकरणविरुद्ध कडाइ गरेपछि अनौपचारिक बजारमा भारुको माग घटेको ती अधिकारीको भनाइ छ।

त्यस्तै, यसअघि सीमावर्ती क्षेत्रमा हुने अवैध पैठारीका लागि बैंकिङ माध्यमबाट नभई अनौपचारिक बजारबाट नै भारुको प्रयोग हुन्थ्यो। पढाइ, उपचार र तीर्थाटनका लागि भारत जानका लागि पनि भारुको माग हुन्थ्यो।

तर, यो परिस्थिति उल्टिएर अहिले भारतीय बजारमा नेपाली रुपैयाँको माग बढेको सीमावर्ती शहरका व्यापारी बताउँछन्। सीमावर्ती नेपाली क्षेत्रमा भारतीय मुद्राको प्रवाह अत्यधिक भएपछि अनौपचारिक बजारमा सटही दर घटेको उद्योग वाणिज्य महासंघका पूर्वसदस्य गणेशप्रसाद लाठ बताउँछन्। 

“सानोतिनो उतारचढावले नेपाली रुपैयाँ बलियो भएको होइन,” लाठ भन्छन्, “कसरी नेपालमा भारतीय मुद्राको बाढी आएको हो भन्ने अनुसन्धान हुनुपर्छ। यस्तो उलटफेर अवैध कारोबारको माध्यमले सम्भव छ, अन्यथा नेपालले रातारात कुनै फड्को मारेर भारतीय मुद्रा भित्र्याउन सकेको होइन।”

राष्ट्र बैंकका ती अधिकारीका अनुसार अन्य सीमावर्ती बजारको तुलनामा वीरगन्ज र रक्सोलमा औपचारिक दरभन्दा कममा भारुको कारोबार भइरहेको छ। विराटनगर, भैरहवा, नेपालगन्जका सीमावर्ती क्षेत्रमा त्यहाँको तुलनामा भारु केही महँगो भएको पाइएको ती अधिकारी बताउँछन्। तर, ती बजारमा पनि आधिकारिक रूपमा तोकिएको भन्दा कम वा त्यही दरमा कारोबार भइरहेको उनको भनाइ छ।

आयातमा आएको कमीले भारु प्रयोग घट्यो
कोरोनापछि आर्थिक अवस्था कमजोर हुँदा नेपाली उपभोक्ताको किनमेल घटेको कारण नेपालमा भारुको औपचारिक तथा अनौपचारिक दुवै कारोबार कम भएको उद्योग वाणिज्य महासंघका मधेश प्रदेश अध्यक्ष अशोक टेमानी बताउँछन्। कारोबार कम हुँदा मौजात भारु खर्च नभएको कारण सस्तिएको हुनसक्ने उनको भनाइ छ।

राष्ट्र बैंकका ती अधिकारीका अनुसार नेपालले आयातबाट पाउने राजस्वमा आएको कमीले पनि भारुको आवश्यकता कम भएको देखाउँछ। आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा आयात व्यापारबाट प्राप्त हुने राजस्व आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १९.८८ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा आयात व्यापारबाट ९८ हजार ४३३.२ करोड रुपैयाँ अर्थात्, मासिक औसत ८ हजार २०२.७७ करोड राजस्व आम्दानी भएको थियो। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयात व्यापारबाट ५२ हजार ६४७.३ करोड अर्थात्, मासिक औसत ६ हजार ५८०.९ करोड राजस्व आम्दानी भएको छ। यो भनेको व्यापारमा करिब २० प्रतिशतले कमी आउनु हो। वैशाख मसान्तसम्मको भन्सार विभागको तथ्यांकले तीन महिनामा केही सुधार भए पनि आयात राजस्वमा झण्डै १७ प्रतिशतले कमी आएको देखाएको छ।

राष्ट्र बैंकको अनुसन्धान विभागले २०७३ सालमा गरेको ‘आयातको भुक्तानी प्रवृत्ति’ शीर्षक अध्ययनले नेपालको भारतसँग ३५.५ प्रतिशत व्यापार अनौपचारिक माध्यमबाट हुने गरेको देखाएको थियो। गत आर्थिक वर्ष २०७८/७९ मा भारतबाट १२ खर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको आयात भएको थियो। त्यही अनुपातमा भएको भए चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालले भारतबाट १० खर्बभन्दा बढीको आयात गरेको हुनुपथ्र्यो।

तर, वैशाख मसान्तसम्म नेपालले भारतबाट ८ खर्ब ४४ अर्ब ५३ करोड ४९ लाख रुपैयाँ बराबरको मात्र आयात गरेको छ। राष्ट्र बैंकको २०७३ सालको उक्त अध्ययनलाई आधार मान्दा, यो वर्ष अनौपचारिक आयात पनि कम्तिमा ५० अर्बले कम भएको हुनुपर्छ। आयातमा कमी हुँदा त्यसबापत तिर्नुपर्ने भारु सटही नै गर्नु पर्दैन। 

सीमावर्ती भारतीय बजारहरूमा नेपालबाट किनमेल गर्न जानेका लागि नेपाली बैंकको क्युआर कोड राख्ने चलन बढको अध्ययनको क्रममा सूचना मिलेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। त्यस्तो क्युआर कोड भारतीय व्यावसायीका नेपालतर्फका आफन्त वा विश्वासपात्रको नाममा खोलिएको खाताको हुनसक्ने ती अधिकारले उकालोलाई बताए।

त्यस खाताबाट पनि नेपाली रुपैयाँ झिकेर भारतीय बजारमा पु¥याउने क्रम बढेको कारण भारु सस्तो भएको हुनसक्ने उनको भनाइ छ। त्यस्तै, नेपालका बैंकले मुद्दती खातामा भारतका बैंकले भन्दा बढी ब्याजदर दिने हुनाले भारतीयहरूले नेपालतिरका नातागोताका नाममा खाता खोलेर पैसा राख्ने चलन बढेको छ। त्यस्तो पैसा जम्मा गर्न नेपाली मुद्रा चाहिने हुँदा माग बढेको हुनसक्ने पनि ती अधिकारको अनुमान छ। 

सुन र गाँजाको तस्करीमा 'नेपाल ट्रान्जिट'
भारतमा नेपालबाट सुन, गाँजा र चरेशको अवैध निर्यात बढेर ठूलो परिमाणमा भित्रिएको भारतीय रुपैयाँका कारण सीमावर्ती बजारमा नेपाली रुपैयाँ बलियो भएको हुनसक्ने सीमा जागरण मञ्च विहार प्रदेश अध्यक्ष रहिसकेका रक्सोलका व्यापारी महेश अग्रवालको अनुमान छ। उनका अनुसार चीन र अन्य देशबाट भित्रिएर नेपाल हुँदै भारततर्फ निकासी हुने सुन, गाँजा तथा चरेशको तस्करीले नेपाल आउने भारतीय मुद्रा अनौपचारिक बजारमा पर्याप्त भएको हुनसक्छ। त्यस्तो भारु भारत फर्काउन नेपाली मुद्राको माग बढेको हुनसक्ने उनको भनाइ छ।

भारतीय मुद्राको औपचारिक स्रोत उताबाट आउने पर्यटक पनि हुन्। तर, भारुको कालोबजारीलाई विस्थापित गरेर उल्टै नेपाली रुपैयाँ मँहगो पर्नेगरी पर्यटनले योगदान गर्न नसक्ने होटेल तथा पर्यटन व्यवसायी संघका सचिव बुद्धिप्रसाद पन्त बताउँछन्।

“पर्यटकहरूको आगमन बढेर होटेलहरूको अकुपेन्सीमा सुधार भएको छ,” पन्त भन्छन्, “भारतीय पाहुनाले भारतीय पैसा खर्च गर्छन्, तर बजारमा साबिक रूपमा रहिआएको भारतीय मुद्राको मागको तुलनामा त्यसको अनुपात केही पनि होइन।”


सम्बन्धित सामग्री