Saturday, May 18, 2024

-->

यात्रुहरू चढाउने/ओराल्ने स्थान तोक्न काठमाडौँ महानगरले बनायो कार्यदल

महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्न, यात्रु चढाउने र ओराल्ने स्थानबारे अध्ययन गर्न कार्यदल बनेको बताएका छन्।

यात्रुहरू चढाउनेओराल्ने स्थान तोक्न काठमाडौँ महानगरले बनायो कार्यदल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रका रिङ रोडमा रहेका टिकट काउन्टरहरूका बोर्ड हटाइने भएको छ भने यात्रुलाई चढाउने र उतार्ने उपयुक्त स्थानको अध्ययन गर्न कार्यदल गठन गरिएको छ। 

योसँगै असार १ गतेदेखि काठमाडौँमा सञ्चालित सार्वजनिक सवारीसाधनहरू गोंगगबुस्थित नयाँ बसपार्कबाट छुट्ने भएका छन्। बिहीबार काठमाडौँ महानगरपालिकामा बसेको सम्बन्धित सरोकारवालाहरूको बैठकले काठमाडौँको रिङ रोडभित्र रहेका सम्पूर्ण टिकट काउन्टरहरूका बोर्ड हटाउने, यात्रुलाई चढाउने/ओराल्न उपयुक्त स्थान निर्धारणका लागि अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको हो।

महानगरपालिकाले शुक्रबारबाट महानगरपालिकाभित्र रहेका टिकट काउन्टरहरूका बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले बताए। उनले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाका लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय भएको पनि बताए। यात्रुहरू बीचमा चढाउने तथा ओराल्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने उनको भनाइ छ।

महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ। जसमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्रालिका प्रतिनिधि सदस्य रहेका छन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको उपस्थितिमा वैशाख २९ गते बसेको बैठकले असार १ गतेबाट नयाँ बसपार्कबाट यात्रु चढाउने र ओराल्ने निर्णय गरेको थियो।


सम्बन्धित सामग्री