Thursday, May 02, 2024

-->

शीर्ष डिभिजनमा पुग्न १५ वर्ष लगानी, पहिलो वर्ष नै रेलिगेसनको यात्रा

२०६४ सालमा 'सी' डिभिजन छनोट पार गरेको खुमलटार १५ वर्षपछि शीर्ष डिभिजनमा उक्लियो। तर, 'ए' डिभिजनमा टिक्न नसकेपछि क्लब पदाधिकारीले एन्फालाई दोष लगाउँदा पूर्वप्रशिक्षकहरू व्यवस्थापककै कमजोरी बताउँछन्।

शीर्ष डिभिजनमा पुग्न १५ वर्ष लगानी पहिलो वर्ष नै रेलिगेसनको यात्रा

काठमाडौँ- १५ वर्षे फुटबल यात्रामा पहिलो वर्ष नै 'सी' डिभिजनमा छनोट। 'सी' डिभिजनबाट उक्लन सात वर्ष संघर्ष। ‘बी’ डिभिजनमा ६ वर्ष खेलेपछि बल्ल शीर्ष डिभिजनमा बढुवा।

"एफसी खुमलटारको फुटबल यात्रा कति लामो हो?" भनेर कसैले सोधिहाल्यो भने यति नै विवरण दिन सकिन्छ। तर, उसले गर्व गर्नलायक केही इतिहास बनाएको छ।
यो यात्रामा उसले एक/एक पटक ‘सी’ डिभिजन छनोट तथा ‘सी’ डिभिजनको उपाधि चुमेको छ। लगातार दुई सिजन ‘बी’ डिभिजनको उपविजेता बनेको छ।

शहीद स्मारक 'ए' डिभिजन लिग उक्लिएपछि खुमलटारको रापताप छुट्टै थियो। सीईओ विदुर श्रेष्ठले खुमलटारका भावी योजना सुनाइहाल्थे, “हामी खेल्न मात्रै आएका होइनौँ। एकेडेमी खोलेर खेलाडी उत्पादन गर्न, युरोपमा जस्तै खेलाडी बेचेर नेपाली फुटबलमा क्रान्ति गर्न र पैसा कमाउन आएका हौँ। यो रापताप अहिलेको लागि मात्रै देखाएका होइनौँ, सधैँको लागि हो।”

तर, यतिखेर खुमलटारको त्यो रापताप सेलाएको छ। 'ए' डिभिजन पुगेको वर्ष नै रेलिगेसनमा परेको छ। अब के गर्ने भन्ने ठ्याक्कै योजना खुमलटारसँग छैन। टिम म्यानेजर अञ्जन राना क्षेत्री भन्छन्, “के गर्ने भन्ने योजना बनाइसकेका छैनौँ। तर, यति भन्छु- अब हामी ‘ए’ डिभिजनमा कहिल्यै फर्केर आउँदैनौँ। ‘बी’ डिभिजन मात्रै खेल्छौँ। त्यतै रहन्छौँ।”

एकपछि अर्को प्रशिक्षक, सबै असफल
ठूलो लक्ष्य बोकेर आएको खुमलटार पहिलो सहभागितामै झस्किएको छ। “फुटबलमा नयाँ ट्रेन्ड पनि ल्याउनुपर्छ भनेर लागेका थियौँ। यसका लागि प्रयास पनि नगरेका हैनौँ, तर शुरूआतदेखि नै प्रशिक्षकदेखि सबै विषयमा अप्ठ्यारो हुँदै गयो। जे भए पनि ‘ए’ डिभिजन कस्तो हुँदो रहेछ भनेर अनुभव बटुलेर फर्कियौँ,” टिम म्यानेजर क्षेत्री भन्छन्।

शीर्ष डिभिजनमा उक्लिएपछि टिकिराख्न सहज हुँदैन। गत सिजन शीर्ष डिभिजनबाट रेलिगेसनमा परेको च्यासल यूथ क्लबले पनि राम्रै खर्च गरेको थियो। तर, कहिले खेलाडी मैदान नउत्रिने, कहिले प्रशिक्षक नै ‘टचलाइन’मा नउभिने घटनाले बढुवा भएको दुई वर्षमै घटुवा भयो। यसपटक खुमलटारको नियति पनि ठ्याक्कै त्यस्तै रह्यो।

राष्ट्रिय टोलीबाट खेल्ने कोही पनि खेलाडी नभित्र्याइ लिगको तयारी गरेको खुमलटारले राम्रै शुरूआत गरेको थियो। २०३२ सालबाट शीर्ष डिभिजन खेल्न थालेको फ्रेन्ड्स क्लबलाई १-० गोलअन्तरले पराजित गरेको थियो। त्यसपछिका खेलमा उही लय समाउन सकेन। दोस्रो खेलमा ‘बी’ डिभिजनबाट सँगै शीर्षमा बढुवा भएको चर्च ब्वाइज युनाइटेडसँग ३-१ गोलअन्तरले पराजित भयो।

उमेर समूहको राष्ट्रिय टोलीलाई समेत प्रशिक्षण दिएका यमप्रसाद गुरुङले शुरूको खेलदेखि नै खुमलटारको ‘टचलाइन’ सम्हालेका थिए। तर, एएफसी यू-२० महिला एशियन कप छनोटका लागि राष्ट्रिय टोलीसँग रहने पक्का भएपछि उनले खुमलटार छाडे। 

त्यसपछि सहायक प्रशिक्षक मदन सुब्बा कार्यवाहक भएर खुमलटारको ‘टचलाइन’मा उभिए। थ्री स्टार र सातदोबाटोसँग पराजित भएपछि खुमलटारले उनलाई जिम्मेवारीबाट हटायो। 

खुमलटारको प्राविधिक प्रशिक्षक विष्णु गुरुङले प्रशिक्षकको जिम्मेवारी पायो। उनी गत सिजन संकटाको प्रशिक्षक थिए। उनी संकटा, मच्छिन्द्र र आर्मीविरुद्धको खेलमा खुमलटारको ‘टचलाइन’मा उभिए। तर, लगातारको हारसँगै खुमलटारले १३औँ स्थानबाट माथि उक्लिने छाँटकाँट देखाएन। उनले आफ्नो जिम्मेवारी छाडे। 

खुमलटारका खेलाडीमा तालमेल नदेखिँदा समस्या भएको शुरूआती दुई खेलका प्रशिक्षक यमप्रसाद गुरुङ बताउँछन्। खेलाडी अनुशासनमा पनि नबसेको उनको भनाइ छ। “केही खेलपश्चात् खेलाडीहरू प्रशिक्षणमा आउनै छाडे। नआउने खेलाडीलाई क्लबले रिलिज गर्न पनि सकेन। यो सबै म्यानेजमेन्टको कमजोरी हो,” प्रशिक्षक यम भन्छन्।

प्रशिक्षक विष्णु गुरुङले आठौँ चरणपछि खुमलटार छाडेका थिए। लगत्तै उनी मनाङ मर्स्याङदी क्लबमा आबद्द भए। त्यस समय ११औँ स्थानमा पुगेर रेलिगेसनको दबाब झेलेको मनाङलाई विष्णुले नै माथि उठाएका थिए। लिग सकिँदा मनाङ आठौँ स्थानमा रह्यो।

यता, तीन जना प्रशिक्षकले छाडेको खुमलटारलाई नयाँ प्रशिक्षक भित्र्याउन एन्फाले बारम्बार पत्र पठाएको थियो। तर, ‘बी’ डिभिजनमा झर्ने निश्चितजस्तै देखिएको खुमलटारले अन्य प्रशिक्षकमाथि खर्च गर्न चाहेन। उसले टिम म्यानेजर अञ्जन राना क्षेत्रीलाई नै ‘टचलाइन’मा उभ्याइरह्यो। 

अञ्जन कुनै अनुभव बटुलेका प्रशिक्षक थिएनन्। यसअघि, ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी)सँग समान अंक भएर पनि ‘हेड टू हेड’को आधारमा शीर्ष डिभिजनमा उक्लिएको उदाहरण दिँदै, उनी यसपटक अन्य टोलीको नतिजामा भर परेर भए पनि रेलिगेसन टर्नेमा निश्चिन्त थिए। तर, अंक तालिकामा एक दुई स्थान माथि रहेको संकटाले लिगको २४औँ खेलमा खुमलटारमाथि नै ३-० गोलअन्तरको जित निकाल्दै रेलिगेसनबाट जोगियो। अर्को टोली एनआरटीले पनि मनाङलाई १-० गोलअन्तरले पराजित गर्दै रेलिगेसनको जोखिमबाट निस्कियो।

अन्तिम राउन्डमा खुमलटारसहित विभागीय टोली एपीएफ, तीनपटकको लिग विजेता थ्रीस्टार र फ्रेन्ड्समध्ये दुई टोली रेलिगेसनबाट जोगिने अवस्था थियो। एपीएफ र खुमलटार रेलिगेसनमा पर्दा अरू दुई टोली जोगिए।

भद्रगोल व्यवस्थापन
३ करोड बजेट लिएर शीर्ष डिभिजन खेल्न होमिएको खुमलटार शुरूमा खेलाडी अनुबन्धमा आक्रामक देखिएको थियो। खुमलटारले एन्फा एकेडेमीका उत्पादन तथा फरवार्ड रेजिन सुब्बालाई अनुबन्ध गर्दै कप्तानको जिम्मेवारी सुम्पियो। सिनियर टोलीबाट नेपालको जर्सी नपहिरिए पनि उनले यू-१४, १८ र २३ बाट प्रतिनिधित्व जनाएका छन्। यसबाहेक उनीसँग सिनियर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शिविरको अनुभव छ।

खुमलटारले नेपाल सुपर लिग (एनएसएल)बाट काठमाडौँ रेजर्स र अघिल्लो सिजन न्यूरोड टिम (एनआरटी)बाट खेलिसकेका मेसुके ओलोमाउ र स्टेफेन समीरलाई थप्दै अग्रपंती बलियो बनायो। मेसुके र समीरले लिगमा २८ गोल गरे भने अन्य खेलाडीले ६ गोल। खुमलटारबाट यी दुई चम्किरहँदा अन्य युवा खेलाडीले बलियो साथ दिन नसकेको कप्तान सुब्बा बताउँछन्।

“अलिकति अनुभवको कमी भएको जस्तो लाग्यो। हाम्रो डिफेन्सले विपक्षी स्ट्राइकरलाई रोक्नुपर्ने हो, तर सकेनन्,” उनी भन्छन्, “एकातर्फबाट हामीले धेरै गोल गर्‍यौँ, अर्कोतर्फबाट २/३ गोल खाइरह्यौँ। खेलमा गोलरक्षकबाट सिल्ली मिस्टेक पनि धेरै भयो।”

‘म्याच फिक्सिङ’ आरोपका कारण पनि खुमलटार समस्यामा परेको थियो। एनआरटीविरुद्धको खेलमा फिक्सिङ गरेको एन्फा इन्टिग्रीटी कमिटीमा उजुरी छ। त्यसबारे छानबिन गरिरहेको एन्फा स्रोत बताउँछ। “रेलिगेसनमा पर्ने टोलीमाथि यस्तो आरोप त लागिहाल्छ। हामीबाटै सिल्ली मिसटेकहरू धेरै भएर होला यस्तो आरोप लागेको,” सुब्बा भन्छन्।

खुमलटारको व्यवस्थापन भद्रगोल हुँदा र लगातार हारपछि केही लगानीकर्ताले बीचैमा छाडे। त्यही कारण टोलीमा १२ जना खेलाडीमात्रै फिट हुँदा अन्य खेलाडीलाई खुमलटारले भत्र्याउन पनि सकेन। यसले पनि असर गरेको खुमलटारका तत्कालीन कार्यवाहक प्रशिक्षक मदन सुब्बा बताउँछन्।

“हामी शुरूआतदेखि नै मेसुके र समीरमा मात्रै भर पर्‍यौँ। त्यसमाथि लगातारका खेलले खेलाडी घाइते हुँदै गए। यो देखिरहेको व्यवस्थापनले खेलाडी भित्र्याउनै सकेन। खेलाडी नै नभएको अवस्थामा घाइते खेलाडीलाई पनि खेलाउँदा नतिजामा असर गर्‍यो,” सुब्बा भन्छन्। 

राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित ४० जनाभन्दा बढी खेलाडी अस्ट्रेलिया, न्यूजिल्यान्ड र युएई पलायन भएपछि क्लबहरूलाई यसपटक टिम बनाउनै समस्या भएको थियो। उमेर समूहमा खेल्दै आएका खेलाडी लिएर क्लबहरूले कोटा पूरा गरेका थिए। यस्तो अवस्थामा तत्कालीन कार्यवाहक प्रशिक्षक सुब्बाले खुमलटारको व्यवस्थापनसँग अन्य खेलाडी भित्र्याउने प्रस्ताव राखे। 

तर, क्लब व्यवस्थापक परिवर्तन भइरहँदा उक्त प्रस्तावले गति लिएन। “हामीबीच तालेमेल भएन। लिग चलिरहँदा केही सिनिअर दाइहरू बाहिरिनुभयो। क्लबलाई त लगानी चाहिन्छ, केहीलाई हामीले लगानीकर्ता बनाएर भित्र्यायौँ। रेलिगेसन जोनमा रहेका बेला मिलेर जानुपर्ने स्थितिमा हामीबीच नै फुट भयो,” खुमलटारका एक व्यवस्थापक भन्छन्।

टिम म्यानेजर क्षेत्री भने खुमलटारलाई एन्फासमेत लागेर ‘बी’ डिभिजनमा घटुवा गरेको आरोप लगाउँछन्। अन्तिम राउन्डमा रेलिगेसनबाट जोगिन एपीएफ, थ्रीस्टार, फ्रेन्ड्स र खुमलटार संघर्ष गरिरहेका थिए। यीमध्ये रेलिगेसन जोनमा रहेका एपीएफ र फ्रेन्ड्स तथा चर्च ब्वाइज र खुमलटारको खेल एकै दिनमा भयो। रेलिगेसनको दाबबमा रहेको थ्री स्टारले भोलिपल्ट मात्रै जावलाखेलसँग खेल्यो। यो ‘फिफा फेयर प्ले’विपरीत रहेको क्षेत्रीको भनाइ छ। यसबारे खुमलटारले एन्फामा पनि पत्रचार गरेको थियो। 

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार रेलिगेसनबाट जोगिन संघर्षरत टोलीहरूको अन्तिम खेल ‘फिफा फेयर प्ले’ अनुसार एकै दिन र एकै समयमा खेलाउन माग गर्दै खुमलटारले अन्तिम खेलअघि नै पत्राचार गरेको थियो। तर, एन्फा र  क्लबहरूको बैठकमा थ्री स्टारका प्रतिनिधि सञ्जीव शिल्पकारले अन्तिम खेल एकै समयमा नखेल्ने ढिप्पी कसे। 

त्यसपछि एन्फाले पनि थ्री स्टारलाई कुनै दबाब नदिएको र अन्तिम खेलमा सुनियोजित नतिजा निकालिएको म्यानेजर क्षेत्रीको भनाइ छ। अन्तिम खेलमा कप्तान विक्रम लामाको निर्णायक गोलमा थ्रीस्टार रेलिगेसनबाट जोगियो।  

म्यानेजर क्षेत्री फुटबललाई लिएर एन्फा र क्लबहरूले राजनीति गरेको आरोप लगाउँछन्। “तपाईँ इन्भेस्टमेन्ट गर्नुस् त्यसको केही प्रतिफल नै छैन। एन्फा, क्लब र खेलाडीदेखि लिएर सबैले एकदमै घिनलाग्दो पोल्टिक्स गर्छन्। यो पोल्टिक्सको भुक्तभोगी हामी बनेका छौँ। त्यही कारण हामी ‘बी’बाट अब ‘ए’ डिभिजनमा चढ्दैनौँ। सकेसम्म ‘बी’ मै रहन्छौँ,” क्षेत्री भन्छन्।


सम्बन्धित सामग्री