Thursday, May 09, 2024

-->

बचत फिर्ताको माग गर्दै सहकारी पीडितको काठमाडौँमा विरोध प्रदर्शन

सरकारले सहकारीमा राखेको बचत फिर्ता गरिदिनुपर्ने माग राख्दै बचतकर्ताहरूले शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्।

बचत फिर्ताको माग गर्दै सहकारी पीडितको काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ– सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। सहकारीबाट ठगिएका पीडितहरू एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिवार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

सहकारी बचतकर्ता पीडितले सहकारीले खाएर भागेको बचत फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दासमेत बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताएका छन्। संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताका लागि राज्यका सबै निकायहरू धाउँदा कतै पनि सुनुवाइ नभएपछि संयुक्त रूपमा पीडितहरू सडक आन्दोलनमा आएको बताइन्।

उनले सरकारसँग सहकारी पीडितका मागअनुसार सहकारीलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीले बनाउने निजी ऐन बन्द गर्नुपर्ने रहेको बताइन्। सहकारीमा बचत गरेको लाखौँ रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको उनको भनाइ छ।

उनले काठमाडौँ महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा कतैबाट सुनुवाइ नभएको उल्लेख गरिन्। उनले अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरू एक ठाउँमा रहेको बताइन्।

‘पीडितले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर’, ‘बचतकर्ता रकम अविलम्ब फिर्ता गर’, ‘आमनागरिकको बचत फिर्ता गर’, ‘सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोका गर’, ‘सहकारीलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर’, ‘सम्पूर्ण ठग सहकारीलाई कारबाही गर’, ‘सरकार हामीलाई न्याय दे’, ‘फरार सहकारी सञ्चालनको तत्काल खोजी गर’, ‘हिजोको दिनमा यहाँ छौँ, त्यहाँ छौँ भन्ने नेताहरू आज कहाँ छन्?’ ‘सहकारीको पारले दुःख पाए बचतकर्ताले’ भन्ने प्लेकार्डसहित नारा लगाइ प्रदर्शनमा गरेका थिए।


सम्बन्धित सामग्री