Friday, April 26, 2024

-->

शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गरौँ, भ्रष्टाचार कम हुन्छ: गगन थापा

प्रतिनिधिसभा सदस्य थापाले सरकारको नीति तथा कार्यक्रमबारे संसद्‌मा हुने छलफलको औचित्यमाथि नै प्रश्न उठाएका छन्।

शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गरौँ भ्रष्टाचार कम हुन्छ गगन थापा

काठमाडाैँ– प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क गर्नसके भ्रष्टाचार न्यूनीकरण हुने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले शिक्षा र स्वास्थ्य निःशुल्क गर्नेतर्फ सोच्न आग्रह गरेका हुन्। भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने थापाको भनाइ थियो।

यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानून, संवैधानिक निकायको नियुक्तिलगायत विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्नेमा थापाको जाेड छ।

“अख्तियार बलियो बनाउँछु, दुई–तीनवटा काम गर्छु भनेर मात्र नहुने रहेछ,” थापाले भने, “गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य, यो दुईवटाको पहुँच सर्वसुलभ, संविधानको वाचा अनुसार निःशुल्क प्राप्त गर्ने हो भने यसले नेपालमा भ्रष्टाचारलाई कम गर्ने कुरामा कति ठूलो अर्थ राख्ला? म सरकारको ध्यानाकर्षण गराउँछु।”

सरकारको नीति तथा कार्यक्रमबारे संसद्‌मा हुने छलफलको औचित्यमाथि नै उनले प्रश्न उठाएका छन्। “यो वर्ष यसरी नै आयो, यसरी नै लियौँ। तर, अर्को वर्ष पनि नीति कार्यक्रम यसरी नै आउने हो, बजेटको सिद्धान्तमाथि छलफल यसरी हुने हो भने अन्य माननीयहरूलाई पनि आग्रह गर्छु,” थापाले भने, “त्यस्तो बजेटको सिद्धान्तको छलफलमा भाग नलिऊँ। सरकारको पनि समय बर्बादी हुन्छ। हाम्रो पनि समय बर्बादी हुन्छ। यसलाई बदल्नुपर्छ।”

कांग्रेस महामन्त्रीसमेत रहेका थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताए। 


सम्बन्धित सामग्री