Thursday, May 02, 2024

-->

किमिचलाई भित्र्याउने होडमा बार्सिलोना

बार्सिलोनाले सर्जियो बुस्केट्सको स्थानमा जर्मन मिडफिल्डर जोसुवा किमिच भित्र्याउने इच्छा देखाएको छ। उनको बजार मूल्य करिब ८० मिलियन युरो छ।

किमिचलाई भित्र्याउने होडमा बार्सिलोना

काठमाडौँ– क्याटलान क्लब बार्सिलोनाले सर्जियो बुस्केट्सको स्थानमा जर्मन मिडफिल्डर जोसुवा किमिच भित्र्याउने इच्छा देखाएको छ। ३४ वर्षीय बार्सिलोनाका कप्तान बुस्केट्सले १८ वर्षपछि सिजनको अन्त्यमा बार्सिलोना छाड्ने घोषणा गरिसकेका छन्।

उनले बार्सिलोनाका लागि ७१८ खेल खेलेका छन्। उनले क्लबबाट आठ ला लिगा उपाधि, सात कोपा डेल रे, सात स्पेनिस सुपर कप र तीन च्याम्पियन्स लिग जितेका छन्। उनको स्थान खालि हुने भएसँगै बार्सिलोनाले २८ वर्षीय डिफेन्सिभ मिडफिल्डर किमिचलाई भित्र्याउने तयारी थालेको हो।

स्पेनिस पत्रिका मार्काका अनुसार उनलाई बार्सिलोनाले आगामी जुलाईको ट्रान्सफर विन्डोमा म्युनिखबाट भित्र्याउने चाहना राखेको छ। किमिच करिब आठ वर्षअघि आरबी लाइपजिगबाट म्युनिखमा आएका थिए।

उनले शुरूमा राइट ब्याकको भूमिका निर्वाह गरेका थिए। त्यसपछि सेन्ट्रल ब्याक हुँदै मिडफिल्डबाट खेल्दै आएका छन्। उनले म्युनिखका लागि करिब ३५० खेले खेलेका छन्।

उनले क्लबका लागि ४० गोल र ९४ असिस्ट गरेका छन्। किमिचले क्लब छाड्ने मनसायसँगै म्युनिकसँग सम्झौता नवीकरण गरेका छैनन्। यस्तो अवस्थामा बार्सिलोनाले उनलाई भित्र्याउन खोजेको हो।

किमिचलाई भित्र्याउन इंग्लिस क्लब आर्सनल र लिभरपुलले पनि चोसो देखाइहरेका छन्। उनको बजार मूल्य करिब ८० मिलियन युरो रहेको छ।


सम्बन्धित सामग्री