Friday, April 26, 2024

-->

आईपीएल: राजस्थानसँग पन्जाब ४ विकेटले पराजित

जितका लागि पन्जाबले दिएको १८८ रनको लक्ष्य राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो। 

आईपीएल राजस्थानसँग पन्जाब ४ विकेटले पराजित 

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स विजयी भएको छ।

गएराति हिमाचल प्रदेशको धरमशालामा भएको खेलमा पन्जाब किंग्सलाई ४ विकेटले पराजित गर्दै राजस्थान पाँचौँ स्थानमा उक्लिएको छ।  

पन्जाबले दिएको १८८ रनको विजयी लक्ष्य राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। राजस्थानका लागि देवदत्त पडिक्कल र यशस्वी जैसवालले अर्धशतकीय इनिङ्स खेले। 

पडिक्कलले ३० बलमा ५१ र जैसवालले ३० बलमा ५० रन बनाएका थिए। यस्तै, शिमरोन हेटमारले ४६ रन बनाए।

पन्जाबका कागिसो रवाडाले २ विकेट लिए। साम करन, अर्शदिप सिंह, नाथन एलिस र राहुल चहारका नाममा समान १/१ विकेट रह्यो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो।

पन्जाबका साम करन ४९ र शाहरुख खान ४१ रनमा नटआउट रहे। जितेश शर्माले ४४ रनको योगदान दिए पनि टिमलाई जिताउन सकेनन्। 

राजस्थानका नवदीप सैनीले तीन विकेट लिए। ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १/१ विकेट लिए।

जितसँगै राजस्थानले ७ जित र ७ हारसहित १४ अंक जोडेको छ। १२ अंक रहेको पन्जाब आठौँ स्थानमा छ।


सम्बन्धित सामग्री