Wednesday, April 24, 2024

-->

चेन्नई १०औँ पटक आईपीएलको फाइनलमा

साविक विजेता गुजरातलाई १५ रनले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको छ। अब चेन्नईले उपाधिका लागि  दोस्रो क्वालिफायरको विजेतासँग खेल्ने छ।

चेन्नई १०औँ पटक आईपीएलको फाइनलमा

काठमाडौँ– चेन्नई सुपर किंग्स १०औँ पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा साविक विजेता गुजराज टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई उपाधि नजिक पुगेको हो। चेन्नईले दिएको १७३ रनको विजयी लक्ष्य पछ्याएको गुजराजले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो।

लगातार दोस्रो पटक फाइनल खेल्ने लक्ष्यसाथ गुजरात मैदानमा उत्रिएको थियो। तर, यसअघिका ३ मध्ये ३ वटै खेलमा चेन्नईलाई  पराजित गरेको गुजरातको ओपनिङ राम्रो हुन सकेन।

गुजरातले ऋद्धिमान साहालाई १२ रनमै गुमायो। दीपक चाहरको तेस्रो ओभरको अन्तिम बललाई उनले ब्याकवार्ड स्क्वयर लेगमा प्रहार गरेका थिए। तर, उनी मथिशा पथिरानाबाट क्याच आउट भए।

तेस्रो नम्बरमा क्रिजमा आएका कप्तान हार्दिक पाण्ड्या पनि ७ बलमा ८ रन बनाएर प्वाइन्टमा क्याच आउट भए। दासुन शनाका थर्ड म्यानमा १७ रनमा क्याच हुँदा गुजरात १०.३ ओभरमा ३–७२ को स्थितिमा थियो।

लगातार विकेट गुमाइरहेको गुजरातले त्यसपछि पनि सम्हालिने मौका पाएन। थप १६ रन जोड्दा आश गरिएका अर्का ब्याटर डेभिड मिलर ४ रनमा क्लिन बोल्ड भए। यता, सम्हालिएर खेलिरहेका ओपनर शुभमन गिल पनि फाइन लेगमा क्याच आउट भए।

गिलले ३८ बलमा ४ चौका र १ छक्कासहित ४२ रन प्रहार गरे। योसँगै उनले यस सिजन आईपीएलमा ७०० रन पूरा गरेका छन्। गिलपछि राहुल तेवातिया ३ रनमा क्लिन बोल्ड हुँदा विजय शंकर डीप मिडविकेटमा ऋतुराज गायकवाडबाट १४ रनमा क्याच आउट भए।

त्यसपछि गुजरातको इनिङ्स राशिद खानले सम्हाल्ने कोसिस गरेका थिए। तर, उनी पनि ३० रन बनाएर डीप प्वाइन्टमा क्याच आउट हुन पुगे। उनले शंकरसँग १८ बलमा सर्वाधिक ३८ रनको साझेदारी गरेका थिए।

दर्शन नलकन्दे खाता नखोलि रन आउट हुँदा मोहम्मद शामीले ५ रन बनाउ सफल भए। यता, नूर अहमद भने ७ रनमा अविजित रहे। 

चेन्नईका दीपक चाहर, महेश थेक्शना, माथिशा पाथिराना र रविन्द्र जडेजाले २/२ विकेट लिए। तुषार देशपाण्डे र मतीश पथरानाको नाममा १/१ विकेट रह्यो।

त्यसअघि एमए चेन्नास्वामी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। चेन्नईका लागि ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्कासहित ४२ रन बनाए।

उनी वाइड लङ अनमा डेभिड मिलरबाट क्याच आउट भए। उनले पहिलो विकेटका लागि डेभोन कन्वेसँग ८७ रनको साझेदारी गरे। तेस्रो नम्बरमा क्रिजमा उत्रिएका शिवम दुवे १ रनमा क्लिन बोल्ड हुँदा चेन्नाई समयस्यामा परेको थियो।

यता, अजिंके राहानेले १७ रन जोड्दै ब्याकवार्ड पोइन्टमा गिलबाट क्याच आउट हुँदा चेन्नईले १४.५ ओभरमा ३ विकेट गुमाएर १२१ रन मात्रै बनाएको थियो। त्यसपछि कन्वे पनि डीप मिडविकेटमा ७४ बलमा ४ चौकासहित ४० रन प्रहार गर्दै क्याच आउट भए।

अम्बती राइडू १७ रनमा डीप मिडविकेटमा, कप्तान महेन्द्रसिंह धोनी १ रनमा एक्स्ट्रा कभरमा र रविन्द्र जडेजा २२ रन बनाउँदै क्लिन बोल्ड भए।

मोइन अली ९ रनमा अविजित रहे। गुजरातका मोहम्मद शामी र मोहित शर्माले २/२ विकेट लिए। दर्शन नलकन्दे, राशिद खान र नूर अहमदका नाममा १/१ विकेट रह्यो।

चेन्नई पहिलो संस्करणमै फाइनलमा पुगेको थियो। तर, उपाधि भिडन्तमा राजस्थान रोयल्ससँग ३ विकेटले पराजित भयो।

त्यसपछि सन् २०१० मा मुम्बई इन्डियन्सलाई ६ रनले हराउँदै चेन्नईले पहिलो पटक उपाधि जितेको थियो। सन् २०११ मा पुन: विजेता भयो। उसले फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५८ रनले पराजित गरेको थियो।

सन् २०१२ मा भएको आईपीएलको चौथो संस्करमा चेन्नईलाई उपाधिमा ह्याट्रिक गर्ने मौका मिलेको थियो। तर, कोलकाता नाईट राइडर्ससँग ५ विकेटले पराजित हुन पुग्यो। पाँचौ संस्करणको फाइनलमा मुम्बईसँग २३ रनले पराजित हुँदै उपाधि उचाल्न चुक्यो।

त्यसपछि सन् २०१५, २०१८, २०१९ र २०२१ मासमेत चेन्नई फाइनलमा पुगेको थियो। २०१५ र २०१९ को फाइनलमा मुम्बईसँग ४१ र १ रनले पराजित भयो।

२०१८ र २१ मा भने सनराइजर्स हैदराबाद र कोलकातालाई ८ विकेट र २७ रनले पराजित गर्दै उपाधि जितेको थियो। अब चेन्नईले दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्ने छ।


सम्बन्धित सामग्री