Friday, April 19, 2024

-->

रोहितका 'स्ट्राइक' बलर आकाश

मुम्बईले लखनऊलाई हराएको खेलमा तीव्र गतीका युवा बलर आकाश मधवालको विषेश भूमिका रह्यो। उनले ३.३ ओभरमा ५ रन दिएर महत्वपूर्ण ५ विकेट लिए।

रोहितका स्ट्राइक बलर आकाश
तस्वीर: पीटीआई

काठमाडाैँ– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को एलिमिनेटरअघि मुम्बई इन्डियन्स्‌ले लखनऊ सुपर जायन्ट्ससँग तीन हार बेहोरेको थियो।

तर, बुधबार भएको नकआउट भिडन्तमा रोहित शर्माको पल्टनले कुनै गल्ती गरेन र क्रुनाल पाण्ड्या नेतृत्वमा रहेको लखनऊलाई ८१ पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई जीवितै राख्न सफल भयो। मुम्बईको जितमा सबैभन्दा महत्त्वपूर्ण योगदान तीव्र गतीका युवा बलर आकाश मधवालको रह्यो।

उनले ३.३ ओभरमा ५ रन दिएर महत्वपूर्ण ५ विकेट लिए। यस सिजन आईपीएलमा डेब्यू गरेका आकाशले एलिमिनेटर जस्तो महत्वपूर्ण खेलमा प्रेरक मंकड, आयुष बडोनी, निकोलस पूरन, रवि बिश्नोई र मोहसिन खानको विकेट लिए। उक्त खेलमा मात्रै होइन, आकाशले यो सिजन आफ्नो पेस र घातक योर्करले धेरैलाई प्रभावित पारेका छन्। उनले यो सिजन ७ खेलमा ७.७७ को इकोनोमी र ९.९२ को स्ट्राइक रेटमा १३ विकेट लिएका छन्।

आकाश १४० प्लसको स्थिर गतिमा योर्कर फाल्न माहिर छन्। बुधबारको एलिमिनेटरमा उनले लखनऊका ब्याट्सम्यानलाई चल्न दिएनन्। लखनऊविरुद्धको खेलपछि मुम्बईका कप्तान रोहितले पनि आकाशको तारिफ गरे। भने, "आकाश गत वर्ष सहायक बलरका रूपमा टिममा थिए। यो सिजन जसप्रित बुमराह र जोफ्रा आर्चर टोलीबाट बाहिर रहे। मलाई थाहा थियो, आकाशसँग टोलीमा योगदान गर्ने क्षमता छ।"

रोहितले भनेझैँ आकाशलाई गत वर्ष मुम्बईले आफ्नो टोलीमा समावेश गरेको थियो। सूर्यकुमार यादव घाइते भएपछि उनी टोलीमा थपिएका हुन्। तर, उनले कुनै पनि खेल खेल्ने मौका पाएनन्। यस सिजन बुमराह र त्यसपछि आर्चर चोटका कारण बाहिरिएपछि आकाशले खेल्ने मौका पाएका हुन्। २९ वर्षीय युवा फास्ट बलरले त्यो मौकालाई सदूपयोग गर्दै बुमराह र आर्चरको अनुपस्थितिलाई खड्किन दिएनन्।

आकाश उत्तराखण्डका हुन्। उनी उत्तराखण्ड टोलीबाट घरेलु क्रिकेट खेल्दै आएका छन्। धेरै कमलाई थाहा होला, कि रुर्कीको धांडेरा निवासी आकाशको भारतका स्टार विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तसँग विशेष सम्बन्ध छ। आकाश ऋषभको छिमेकी हुन्। ऋषभजस्तै आकाशलाई पनि अवतार सिंहले प्रशिक्षण दिएका हुन्। अवतारका अनुसार आकाशको घर ऋषभको घर अगाडि रहेको छ।

"स्वर्गीय तारक सिन्हा सरसँग तालिम लिन दिल्ली जानुअघि ऋषभ मसँग खेल्थे। अब आकाशले ऋषभजस्तै उत्तराखण्डको नाम राख्ने छन्," उनले भने।  आकाश आईपीएल खेल्ने उत्तराखण्ड टोलीका पहिलो खेलाडी हुन्।  ऋषभ उत्तराखण्डका भए पनि उनी दिल्लीबाट घरेलु क्रिकेट खेल्छन्।

२४ वर्ष टेनिस बलले खेलेका आकाश
आकाशको जन्म २५ नोभेम्बर १९९३ मा भएको थियो। उनले सन् २०१३ मा भारतीय सेनामा रहेका आफ्ना बुबालाई गुमाए। आकाशलाई बाल्यकालदेखि नै क्रिकेटमा विषेश शोख थियो। उनी क्रिकेटका लागि इन्जिनियरिङसमेत छाड्ने निर्णयमा पुगेका थिए। तर, परिवारिक कारण पढाइलाई निरन्तरता दिए।

इन्जिनियरिङ सकेपछि आकाशले क्रिकेटमा करिअर बनाउने निर्णय गरे। २४ वर्षकाे उमेरसम्म आकाशले टेनिस बलले मात्र खेलेका थिए। छालाको बल छोएको चार वर्ष मात्र भयो। सन् २०१९ मा उनी उत्तराखण्डमा ट्रायलका लागि गएका थिए। त्यहाँ उनले उत्तराखण्डका तत्कालीन प्रशिक्षक तथा पूर्वभारतीय ओपनर वसीम जाफरको ध्यान खिचे। त्यसपछि हालका प्रशिक्षक मनिष झा पनि उनीबाट निकै प्रभावित भए। मनिषले उनलाई टोलीमा समावेश गरे र आफ्नो निरीक्षणमा प्रशिक्षण दिन थाले।

"जब आकाश २०१९ मा ट्रायलका लागि आए, हामी सबै धेरै खुशी थियौँ। उनको ‘बलिङ एक्शन’ एकदमै सरल थियो र उनी छिटो बलिङ गर्न सक्थे।

हामीले उनमा ‘एक्स-फ्याक्टर’ देख्यौँ। वसीम भाइ (वसीम जाफर) ले उनलाई सीधै टोलीमा समावेश गरे र कर्नाटकविरुद्धको खेलमा सैयद मुश्ताक अली ट्रफीमा मौका दिए," मनिष भन्छन्, "कोरोनाको समयमा प्रतियोगिता रद्द भयो र मैले मुख्य प्रशिक्षकको जिम्मेवारी लिएँ। मैले उनलाई उत्तराखण्डका लागि तीनवटै ढाँचा खेलाएँ।"

आकाशले उत्तराखण्डका लागि १० प्रथम श्रेणी खेलमा १२ विकेट र १७ लिस्ट ‘ए’ खेलमा १८ विकेट लिएका छन्। घरेलु टी–२० र आईपीएलसहित आकाशले आफ्नो टी–२० करिअरको २९ खेलमा ३७ विकेट लिएका छन्। उत्तराखण्डबाट खेल्नुअघि आकाशसँग गति थियो, तर सटिकताको कमी थियो।

बिस्तारै आकाशले यो कुरा बुझ्दै गए र आफूलाई सुधार गर्दै गए। आकाशलाई २०२२/२३ सिजनमा उत्तराखण्डको कप्तान पनि नियुक्त गरिएको थियो। सूर्यकुमार घाइते भएपछि उनलाई गत वर्ष मुम्बईको टोलीमा समावेश गरियो र उनी अहिले रोहितका ‘स्ट्राइक’ बलर हुन्।

अब क्वालिफायर-२ मा आकाशलाई गुजरात टाइटन्सविरुद्ध उस्तै लय कायम राख्ने चुनाैती छ। गत हप्ता मात्र उनले गुजरातविरुद्धको लिग राउण्ड खेलमा ऋद्धिमान साहा, शुभमन गिल र डेभिड मिलरको विकेट लिए। आकाशलाई ‘डेथ ओभर स्पेशलिस्ट’ पनि भनिन्छ।

सनराइजर्स हैदरावादविरुद्धको डेथ ओभरमा उनले उत्कृष्ट बलिङ गरेका थिए। आकाशले विभ्रान्त शर्मा र मयंक अग्रवाललाई आउट गर्नुका साथै हेनरिक क्लासेन र ह्यारी ब्रुकको विकेट पनि लिएका थिए।


सम्बन्धित सामग्री