Wednesday, May 08, 2024

-->

शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सागर राईले पैसा असुलेर बिल्लीबाठ पारेका मजदुरहरू

पथरी शनिश्चरे–१० का तत्कालीन वडाध्यक्ष सागर राईले मजदुरी गर्ने परिवारका युवाबाट ५ देखि १५ लाखका दरले पैसा उठाएका छन्। चर्को व्याजमा र बैंकबाट ऋण लिएर पैसा दिएकाहरू अहिले उठिबास लाग्ने अवस्थामा छन्।

शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सागर राईले पैसा असुलेर बिल्लीबाठ पारेका मजदुरहरू

विराटनगर– मोरङको पथरी शनिश्चरेका नवीन (नाम परिवर्तन) र सागर राई बाल्यकालकै साथी थिए। सागर २०७४ सालको स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरे नगरपालिका–१० का वडाध्यक्ष निर्वाचित भए। नवीनको परिवारको आर्थिक अवस्था भने राम्रो थिएन।

एउटै विद्यालय पढेका र मिल्ने साथी भएका कारण नवीन र सागरबीच भेटघाट भइरहन्थ्यो। वडाध्यक्ष भएको दुई वर्षपछि सागरले नवीनसँग नयाँ प्रस्ताव राखे, नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जाने। त्यसपछिका भेटमा उनीहरूबीच यही विषयमा कुराकानी हुन थाल्यो।

अमेरिका लैजाने सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै सागरले त्यसका लागि २० लाख रुपैयाँ लाग्ने बताउन थाले। “तेरो घरको आर्थिक स्थिति कमजोर छ। अमेरिका छिरिस् भने भविष्य बन्छ भनेर (सागरले) प्रलोभनमा पार्‍यो,” नवीन भन्छन्।

बाल्यकालदेखिकै साथीले भनेपछि नवीनले पत्याए। सागरलाई पहिलो किस्ता स्वरूप ८ लाख रुपैयाँ दिने सहमति भयो। तर, नवीनसँग पैसा थिएन। उनले साथीभाइ र आफन्तसँग ३६ देखि ६० प्रतिशतसम्म व्याजमा ८ लाख रुपैयाँ ऋण लिए र सागरलाई बुझाए।

त्यसपछि सागर ‘काम विशेषले’ भन्दै धेरैजसो काठमाडौँतिर बस्न थाले। नवीन र सागरको भेट पातलियो। फोनमा भने कुरा भइरहन्थ्यो। तर, सागरले नवीनलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन सकेका थिएनन्।

कोभिड महामारी आउनुअघि नवीन वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए। तर, म्यानपावर कम्पनीले भनेअनुसार काम र सुविधा नपाएपछि करिब सात महिना बसेर फर्किए। वैदेशिक रोजगारीमा ठगिइसकेको कारण अमेरिका जान ढिला भइरहँदा उनी चिन्तित हुन थालेका थिए। यता ऋण खोजेको आठ लाखको व्याजसमेत गरी तिर्नुपर्ने रकम २५ लाख पुगिसकेको थियो।

यहीबीच, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन लागेको भन्दै प्रहरीले २०७९ चैत १२ गते केशव दुलाल, टंकबहादुर गुरुङ र सानु भण्डारी पक्राउ परे। त्यसको चार दिनपछि चैत १६ गते सागर राई पनि ललितपुरको बालकुमारीबाट पक्राउ परे। त्यसपछि नवीन झस्किए।

सागर पक्राउ परेपछि आफ्नो बिल्लीबाठ भएको नवीन बताउँछन्। “अमेरिका जाने र भविष्य बनाउने सपनाले अहिले घर न घाटको बनायो,” उनी भन्छन्, “न म पीडित हुँ भनेर भन्न सक्ने अवस्था छ, न त लागेको ऋण तिर्न नै सक्छु।”

घटना बाहिरिएपछि आफूलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फेरिएको नवीनको गुनासो छ। सागर पक्राउ परेपछि पैसा डुबेको र साथीभाइ र आफन्तबाट लिएको ऋण तिर्न नसक्ने भएपछि तनाव भोग्नु परेको उनले बताए।

कमजोर आर्थिक अवस्था भएकालाई निशाना
पथरी शनिश्चरेका रोहित कार्की (नाम परिवर्तन) ले पनि नक्कली शरणार्थी बनेर अमेरिका जान सागरलाई १० लाख रुपैयाँ बुझाएका थिए। उनी ऐलानी जग्गामा झुप्रो हालेर बसेका छन्। दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्छन्।

कामै सिलसिलामा चार वर्षअघि सागरसँग रोहितको चिनजान भएको थियो। सागरले रोहितलाई पनि अमेरिका जान हौसाएका थिए। उनी वडाध्यक्ष पनि भएको हुँदा रोहितले सागरको कुरा पत्याए।

रोहित कोभिड–१९ महामारीअघि फर्निचर बनाउने काम गर्थे। अमेरिका जान पाइने प्रलोभनमा परेपछि ससुरालीको जग्गा एनआईसी एशिया बैंकमा धितो राखेर १० लाख रुपैयाँ निकालेका थिए। उनीसँग सागरले कुल २५ लाख रुपैयाँ लाग्ने बताएका थिए। 

रोहितले पहिलो किस्ताबापत १० लाख बुझाएपछि सागरले बाँकी पैसा ‘काम बनेपछि’ दिन भनेका थिए। तर, आज काम होला, भोलि काम होला भन्दाभन्दै समय लम्बियो। कोभिड महामारीका कारण उनले काम पनि गुमाए। घरै बस्नु परेपछि बैंकलाई किस्ता तिर्न सकेनन्। अहिले उनलाई बैंकले कालोसूचीमा राखेको छ।

“अहिले कुन बेला बैंकले जग्गा लिलाम गर्ने हो भन्ने त्रासमा छु,” रोहितले भने, “अमेरिका जाने चक्करमा सबै कुरा गुमाउने अवस्थामा पुगेको छु। आफन्तसँग सम्बन्ध बिग्रियो। पैसा गुम्यो। भविष्य पनि डामाडोल भयो।”

रोहितका अनुसार सागरले मोरङको पथरी शनिश्चरेका मात्र २५ जनाभन्दा बढी युवाबाट रकम असुलेका छन्। पहिलो चरणमा ५ लाखदेखि १५ लाखसम्म पैसा असुलेको र पछिल्लो समय केही व्यक्तिको आशिंक पैसा भने फिर्ता गरेको आफूले थाहा पाएको रोहितको भनाइ छ। उनका अनुसार सागरले केहीको १ लाखदेखि ४ लाख रुपैयाँसम्म फिर्ता गरेका छन्।

सागरले प्रायः आर्थिक अवस्था कमजोर भएकाहरूलाई प्रलोभनमा पारेर पैसा उठाएका छन्। यसरी पैसा दिनेहरू अधिकांश २० देखि ३५ वर्ष उमेर समूहका युवा रहेको आफूले थाहा पाएको पनि रोहित बताउँछन्।

केशव दुलाल र सागरको सम्बन्ध
भुटानी शरणार्थीलाई पुनर्वासमार्फत तेस्रो मुलुक लगिने भएपछि शनिश्चरे (तत्कालीन गाविस वडा नं.१) मा रहेको शिविरमा पनि प्रक्रिया शुरू भएको थियो। सागर शनिश्चरे–१ कै बासिन्दा हुन्। पथरी शनिश्चरे नगरपालिका भएपछि वडा नं. १० कायम भयो। सागर नेपाली कांग्रेसबाट उम्मेदवार भइ त्यहीँको वडाध्यक्ष भए।

यो प्रकरणका मुख्य दोषी मानिएका केशव दुलाल पनि त्यही वडाका बासिन्दा हुन्। शिविरनजिकै घर भएका उनीहरू शरणार्थीबारे जानकार थिए। राजनीतिक पहुँच भएका दुलालले नै सागरलाई प्रयोग गरेर स्थानीयहरूसँग पैसा उठाउन लगाएका थिए।

दुलाल २०५७ सालमा नेवि संघ मोरङको सचिव भएका थिए। त्यसपछि उनी नेवि संघको केन्द्रीय समितिमा मनोनित भएपछि सुजाता कोइरालासँग नजिकिए। २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा सुजाता परराष्ट्र मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्री बनेकी थिइन्। सुजाताले दुलाललाई मन्त्रीको सचिवालयमा नियुक्त गरेपछि उनको राजनीतिक पहुँच विस्तार भएको थियो।

२०७४ सालअघि सागर राजनीतिक रूपमा खासै सक्रिय थिएनन्। दुलालले नै वडाध्यक्षको उम्मेदवार बनाउने प्रलोभन देखाएर उनलाई कांग्रेस बनाएका थिए। त्यसपछि यी दुईबीच थप निकट सम्बन्ध बनेको थियो।

दुलालकै योजनाअन्तर्गत शनिश्चरेका युवाहरूसँग सागरले पैसा उठाएको रोहित बताउँछन्। यो प्रकरणमा सबैभन्दा पहिला पक्राउ पर्ने तीनमध्ये दुलाल पनि एक जना हुन्। अहिले दुलाल र सागरसहित १४ जना प्रहरी हिरासतमा छन्।


उकालोसँगको सहकार्यमा तयार पारिएको आलेख।


सम्बन्धित सामग्री