Friday, April 26, 2024

-->

प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापले देश गम्भीर संकटोन्मुख : राप्रपा

वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको राप्रपाको ठहर छ।

प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापले देश गम्भीर संकटोन्मुख  राप्रपा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएको छ।

सोमबारबाट काठमाडौँको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरू भएको पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएका हुन्।

उनले मुलुकका तीन प्रमुख अंगहरूबीचको सन्तुलन ध्वस्त भएको जिकिर गरे। “मुलुकका तीन प्रमुख अंगहरूका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ,” उनले भने, “कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरूको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था होइन।”

वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको निष्कर्ष राप्रपाको छ। “नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक स्थलमा परिणत भएको छ। सत्ता पक्ष र प्रमुख राजनीतिक दलका क्रियाकलापका कारण हुने नोक्सानीको मूल्य केवल राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन, सिंगो देशले चुकाउनु पर्छ,” उनले भने।

अध्यक्ष लिङ्देनले आफूलाई अग्रगमनका संवाहक, लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको उल्लेख गरे। अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त बनेको उनको भनाइ छ।

उनले देशमा बाह्य चलखेल तीव्र रूपमा बढेको, भ्रष्टाचारको चंगुलमा देश फसेको, लोकतन्त्रको आवरणमा नवसामन्तवाद र सर्वसत्तावाद हाबी भएको बताए। विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत भएको प्रमाणित भएको दाबी उनको छ।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल विदेशीको इसारामा चल्दा सरकार छोडेर प्रतिपक्षमा बस्नुपरेको बताएका छन्। “यसपटक पहिलो पटक नेपालका राजनीतिक दलले आफ्नै बलमा सरकार निर्माण गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्नु सकारात्मक हो, तर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री स्वयं पुरानै अवस्थामा फर्किएर गोलचक्करमा परेपछि हामीले तत्काल सहकार्य छोडेका थियौँ,” उनले भने।


सम्बन्धित सामग्री