Sunday, May 12, 2024

-->

सिंहदरबार वैद्यखानाका कर्मचारीले पाएनन् फागुनदेखिको तलब

तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न, बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ।

सिंहदरबार वैद्यखानाका कर्मचारीले पाएनन् फागुनदेखिको तलब

काठमाडौँ– आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने ३०० वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्। आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारी तलबविहीन भएका हुन्।

तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न, बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ। निमित्त कार्यकारी निर्देशक रामदेव यादव एक महिनादेखि कार्यकक्षमा नबस्दा कार्यालयमा अन्य समस्यासमेत आउन थालेको कर्मचारीहरू बताउँछन्।

कार्यकारी निर्देशक यादव वैशाख ३ गतेदेखि नै बिहान एकपटक विद्युतीय हाजिर गरेर हिँड्ने गरेको गुनासो अधिकांश कर्मचारीको छ। समितिका प्रशासन शाखा प्रमुख रुन्धाता कोइराला विद्युतीय हाजिर ‘फेस रिडर’ को लिंकसमेत निमित्त कार्यकारी निर्देशक यादवले आफ्नै कार्यकक्षमा थुनेर हिँडेको बताउँछन्।

“कर्मचारीको बिदालगायत अभिलेख पनि निमित्त कार्यकारी निर्देशककै कार्यकक्षमा छ। शनिबारदेखि कार्यालयमा कार्यरत माली सानीमाया लामाको अनिवार्य अवकाश भयो। टिप्पणी तयार छ,” उनले भनिन्, “कसैलाई स्वीकृत गराउन पाएको छैन। यस्ता नियमित काम र समस्या कार्यालयमा धेरै छन्। समस्या समाधानतिर निमित्त कार्यकारी निर्देशकको ध्यान गएको छैन।” समितिले क्षमताअनुसार औषधि उत्पादन गर्न नसक्दा समस्या हुन थालेको उनले सुनाइन्।

सर्वोच्च अदालतले वैशाख ३ गते समितिका वरिष्ठ कर्मचारी ऋषिराज रेग्मीले दायर गरेको मुद्दामा निमित्त दिने भए कार्यालयकै वरिष्ठलाई दिनुपर्छ भनी फैसला गरेको थियो। फैसलाको पूर्णपाठ भने आएको छैन। यही फैसलापछि निमित्त कार्यकारी निर्देशक यादव बिहान हाजिर गरेर हिँड्न थालेका हुन्। सर्वोच्चले फैसला गरेपछि रेग्मीले निवेदन लेखी त्यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि गराएका छन्।

मन्त्रालयका सचिवद्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाईंले वैद्यखानाका विषयमा बेवास्ता गर्दा संस्थामा धेरै समस्या आउन थालेको बताइएको छ। लामो समयदेखि समितिका कर्मचारीले पनि गठन आदेशबमोजिम ११औँ तहको कार्यकारी निर्देशक नियुक्ति गर्न माग गर्दै आएका छन्। निमित्त दिने भए समितिकै वरिष्ठ कर्मचारीलाई दिनुपर्ने अधिकांश कर्मचारीको माग छ।

समिति गठन आदेशमा आयुर्वेद समूहको ११औँ तहका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउने व्यवस्था भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०औँ तहका कर्मचारीलाई निमित्त बनाएर पठाउन थालेपछि लामो समयदेखि वैद्यखानामा विवाद हुँदै आएको छ। समितिका निमित्त कार्यकारी निर्देशक डा. यादव कारखानामा कर्मचारीले काम नगरेका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकेको बताउँछन्।

फागुनदेखि कर्मचारीलाई तलब खुवाउन नसकेको भने उनले स्वीकार गरे। “सिलाजित र च्यवनप्राश बनाएर १० लाख पैसा जम्मा भएकाले केही दिनमा तलब खुवाउने तयारीमा छ, मन्त्रालयले पनि कारखानाले आफैँ कमाएर खानुपर्छ भनेको छ, समितिका कर्मचारीले भने काम गर्न मन नै लगाएका छैनन्”, निमित्त कार्यकारी निर्देशक यादवले भने।

विसं २०७९ असोज १४ गते निमित्त कार्यालय प्रमुख भएर आएदेखि नै उनी विवादमा छन्। असोजअघि पनि समितिका कर्मचारीले तीन महिनाको तलब एकैपटक पाएका थिए। त्यसबेला डा. श्यामबाबु यादव निमित्त कार्यालय प्रमुख भएर आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कर्मचारीले त्यसबेला तलब पाएका थिए। श्यामबाबुपछि मन्त्रालयले आयुर्वेद विभागका महानिर्देशकलाई नै समितिका कार्यकारी निर्देशकको जिम्मेवारीसमेत दिएको थियो। दुई हप्तामै मन्त्रालयले फेरि डा. रामबाबुलाई नियुक्त गरेको हो।

निर्वाचन आचारसंहिता लागिरहेका बेला नियुक्त भई निमित्त कार्यालय प्रमुख भएर आएको भन्दै समितिका अधिकांश कर्मचारीले उनलाई स्वीकारेका छैनन्। निर्वाचन आयोगले मन्त्रालयलाई आचारसंहिता जारी भएका बेला भएको नियुक्ति खारेज गर्न आदेश दिए पनि कार्यान्वयन भएको छैन। निर्वाचन आचारसंहिता विपरीत यादवलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै निर्वाचन आयोगले तत्कालीन मन्त्री भवानीप्रसाद खापुङलाई पाँच हजार जरिबाना गरेको थियो।


सम्बन्धित सामग्री