Thursday, June 06, 2024

-->

वर्षा भएसँगै घट्दै काठमाडौँको वायु प्रदूषण

वर्षासँगै वन डढेलो तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण आएकाले वायु प्रदूषण न्यूनीकरण भएको डढेलोविद् सुन्दर शर्माको भनाइ छ।

वर्षा भएसँगै घट्दै काठमाडौँको वायु प्रदूषण

काठमाडौँ– काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आइतबार विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ। यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित शहरको रूपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर आइतबार भने ५० औँ नम्बरमा पुगेको हो। 

‘एयर क्वालिटी इन्डेक्स’को आइतबारको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) ५६ रहेको छ। गत वैशाख २० गते भने १६२ पुगेको थियो। केही दिनयता भएको वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएको तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण भएकाले वायु प्रदूषण पनि कम भएको हो। 

डढेलोविद् सुन्दर शर्माले  डढेलो नियन्त्रण भएमा वायु प्रदूषण पनि कम हुने बताए। “अहिले वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएकाले वायु प्रदूषण न्यूनीकरण भएको छ,” उनले भने। 

विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्यूआई ५० राम्रो अर्थात् हरियो संकेतले चिनिन्छ। “५१ देखि १०० सम्मको एक्यूआइलाई होसियार रहौँ अथवा पहेँलो संकेतले चिनिन्छ। यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ,” उहाँले भन्नुभयो, “१५१ देखि २०० सम्मको एक्यूआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वस्थको रूपमा लिइन्छ र ३०१ देखि चार सयसम्मलाई खतरनाक र  ४०१ देखि ४५० लाई धरै खतरा मानिएको छ ।” 

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिइन्छ।

 यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्न रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरिने कार्ययोजनामा उल्लेख छ।


सम्बन्धित सामग्री