Tuesday, May 21, 2024

-->

पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ

खाँणलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले उकालोलाई बताए।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

उनलाई केही बेरअघि निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले उकालोलाई बताए। पक्राउ गर्ने टोलीमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीसमेत सहभागी थिए। खाँणसँगै उनी गृहमन्त्री हुँदाका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेको प्रहरीले जनाएकाे छ।  

तस्वीर : बीपी अनमोल

यसअघि,नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका बनाउने प्रयासमा लागेको आरोप लागेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए। खाँण गृहमन्त्री हुँदा पाण्डे सचिव थिए। यही प्रकरणमा जोडिएका एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन्।

यो पनि: बहालवाला सचिव पक्राउदेखि पूर्वमन्त्रीलाई पूर्जी काटिएको नक्कली शरणार्थी प्रकरण के हो?

प्रहरीले मंगलबार पनि यस प्रकरणमा जोडिएका थप दुई जनालाई काठमाडौँबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी थिए। दुवैले यो प्रकरणमा बिचौलियाको भूमिका खेलेको आरोप छ। 

अहिलेसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ। यसअघि सन्दीप रायमाझी, सानु भण्डारी, केशव दुलाल, टंक गुरुङ, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा र सागर राई पक्राउ परेका छन्।

गत चैत १२ गते नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न तीन प्रमुख योजनाकार पक्राउ परेपछि यो प्रकरणको अनुसन्धानमा गृह मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहेका सचिवदेखि राजनीतिक व्यक्ति पनि मुछिएका छन्।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै २०७६ जेठ ३० मा तत्कालीन सरकारले तीन सदस्यीय कार्यदल गठन गरेको थियो। पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले अध्ययनपछि कात्तिक १ गते तत्कालीन गृहसचिव (हाल अख्तियारका प्रमुख आयुक्त) प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको थियो।

यो पनि: कार्यदलका पदाधिकारीको बयान– ‘गृहको प्रतिवेदनमा हामीले लेखेको पाना नै गायब छ’

कार्यदलले गृहमा बुझाएको प्रतिवेदन र सदस्यसँग रहेको प्रतिलिपिमा केही बुँदाहरू फरक पाइएको छ। प्रतिवेदनलाई तोडमरोड गरेर नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै लाखौँ रकम ठगिएपछि प्रहरीले अहिले संगठित अपराधको मुद्दाअन्तर्गत अनुसन्धान गरिरहेको छ। प्रहरीले कार्यदलका संयोजक पन्थी र सदस्य गणेश केसीसँग पनि बयान लिएको थियो। 

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर) को कार्यालय र झापा दमकको बेल्डागीस्थित शरणार्थी समन्वय इकाई (आरसीयू)ले छुट भनी प्रमाणीकरण गरेका ४२९ जनालाई पनि अनुसन्धान गरेर मात्रै निर्णय गरियोस् भनेर आफूहरूले प्रतिवेदनमा सुझाव दिएको बयान केसीले प्रहरीसमक्ष दिएका थिए।

यो पनि: नक्कली शरणार्थी प्रकरणको लहरो तान्ने त्यो उजुरी, अनुसन्धानको ‘राडार’मा पूर्वगृहमन्त्रीहरू पनि

“४२९ जनाबाहेक थप एक जनालाई पनि परिचयपत्र दिन आवश्यक छैन भनेर हामीले प्रतिवेदनमा लेखेका थियौँ। अहिले भनिएको प्रतिवेदनमा हामीले लेखेको त्यो पाना नै गायब छ,” केसीले यसअघि उकालोसँग भनेका थिए, “हाम्रो प्रतिवेदनमा अरू कसैको नाम थप्न सक्ने कुनै ठाउँ नै दिएको छैन।”

कार्यदलका संयोजक पन्थी र सदस्य केसी दुवैले आफूहरू यो प्रकरणमा कतै नजोडिएको बयान प्रहरीलाई दिएका छन्। पक्राउ परेका अन्य केहीले बयानमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणदेखि उनकी पत्नी मञ्जु खाँण पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणालगायतको नाम मुछेको प्रहरी स्रोतले बताएको छ।


सम्बन्धित सामग्री