भुटानी शरणार्थी समस्या सुल्झाउन गृह मन्त्रालयद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै मोटो रकम लिएर नेपाली नागरिकलाई ‘भुटानी शरणार्थी’मा सूचीकृत गरिएको थियो।
काठमाडौँ– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले बुधबार नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ। पाण्डे गृहसचिव रहेका बेला नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ असुलेको घटनामा संलग्न देखिएको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव पाण्डेलाई बुधबार काठमाडौँको जडिबुटीबाट पक्राउ गरेको हो। उनलाई पक्रन प्रहरीले बुधबार नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो।
पाण्डे २०७८ साउन २७ देखि २०७९ असोज २ सम्म गृह मन्त्रालयको सचिव थिए। प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी दानबहादुर कार्कीले पाण्डेलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए।
प्रहरीले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। २०७९ चैत दोस्रो साता नक्कली शरणार्थी बनाउने गिरोहका सदस्य भन्दै प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टक गुरुङ र सन्देश शर्मा पोखरेललाई पक्राउ गरेको थियो।
उनीहरुकै बयानका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले तत्कालीन गृहमन्त्रीका सल्लाहकार राई र उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुले दिएको बयानकै आधारमा प्रहरीले थप व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको छ। बुधबार नै प्रहरीले पूर्वउर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको छ। रायमाझी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन्। रायमाझी अहिले अर्घाखाँचीमा रहेको र उनी सांसदसमेत रहेकाले पक्राउ गर्नुअघि संसद् सचिवालयसँग समन्वय गर्नुपर्ने भएकाले त्यही तयारी भइरहेको प्रहरीका एक वरिष्ठ अधिकृतले बताए।
रायमाझीसँगै उनका छोरा सन्दीप र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पनि प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएको छ। यो प्रकरणको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृत भन्छन्, “अनुसन्धानका क्रममा यो प्रकरणमा तानिने व्यक्तिहरु थपिँदै जान सक्छन्। पक्राउ परेकाहरुको बयान, प्राप्त तथ्य र प्रमाणका आधारमा थप व्यक्ति पनि अनुसन्धानको दायरामा छन्।”
यो हो नक्कली शरणार्थी प्रकरण
२०७६ जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि भन्दै मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो। भूटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन भन्दै कार्यदलले विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्यो।
कार्यदलमा विज्ञ सदस्यका रूपमा गणेशबहादुर केसी र सदस्य–सचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने पनि सहभागी थिए। कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक भएको छैन। यो प्रकरण त्यही प्रतिवेदनबाट शुरु हुन्छ।
कार्यदलले तयार पारेर मन्त्रालयमा बुझाएको त्यो प्रतिवेदनमा गृह मन्त्रालयको तत्कालीन प्रशासनिक नेतृत्व र मन्त्रीको सचिवालयसँगको मिलेमतोमा मानव तस्करको एउटा गिरोहले नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ रकम उठाएको तथ्य खोज पत्रकारिता केन्द्रले उजागर गरेको थियो। २०७९ चैत १३ गते प्रकाशित देवेन्द्र भट्टराईले लेखेको केन्द्रको रिपोर्टमा प्रतिवेदनमा आफूखुशी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भूटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको उल्लेख छ।
रिपोर्टले उजागर गरेअनुसार प्रतिवेदनमा पछि दुइटा अनुसूची थपेर ८७५ नेपाली नागरिकको नाम समेटिएको थियो। सरकारी संयन्त्रसँग निकट सम्पर्कमा रहेको गिरोहले प्रतिवेदनमा भुटानी शरणार्थीका रुपमा नाम समावेश गरेर नेपाली नागरिकबाट जनही १० लाख देखि ५० लाख रुपैयाँसम्म उठाएको थियो। र, रकम उठाइसकेपछि नक्कली शरणार्थी परिचय–पत्र वितरण पनि गरिएको थियो।
मानव तस्करीको लहरो
भुटानबाट लखेटिएपछि नेपालको पूर्वी भेगमा आएर आश्रय लिएका नेपालीभाषी शरणार्थीलाई आफ्नै देशमा फर्काउन नसकिएपछि अन्तर्राष्ट्रिय समुदायले उनीहरुलाई तेस्रो देशमा स्थानान्तरणको प्रक्रिया शुरु गरेका थिए। त्यसक्रममा धेरै भुटानी शरणार्थी अमेरिका, यूरोप, अष्ट्रेलियालगायत मुलुकमा पुगिसकेका छन्। भुटानी शरणार्थी समस्याको स्थायी समाधान खोज्ने यो प्रयास जारी रहेकै बेला मानवतस्करको गिरोह नक्कली शरणार्थी बनाएर लाभ लिने खेलमा जुट्यो।
यो प्रकरणका केही कुरा खुल्न थालेकै बेला काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाली नागरिकलाई नक्कली शरणार्थीको परिचय–पत्र दिलाउन सक्रिय गिरोहका मुख्य नाइके भनिएका पथरी, मोरङ घर भएका केशव दुलाललगायतलाई पक्राउ गरेपछि धेरै कुरा पटाक्षेप हुँदै गए। दुलाल कांग्रेस नेता सुजाता कोइरालाको निकट थिए।
प्रहरीको अनुसन्धान अघि बढ्दै गएसँगै यसमा लहरो तानिन थाल्यो। तत्कालीन मन्त्रीका सल्लाहकार र सचिवालयका सदस्यदेखि नेपाल सरकारका बहालवाला सचिव र पूर्वमन्त्री यो लहरोमा तानिइसकेका छन्। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार त्यो लहरो यहीँ नरोकिने देखिन्छ।
“मानव तस्करी यति संगीन विषय हो जसको लहरोलाई पन्छाउन सहज छैन,” एक प्रहरी अधिकृतले भने, “अन्तर्राष्ट्रिय समुदायले यसलाई निकै संवेदनशील मान्ने भएकाले अब यसमा तानिनेहरु कानूनी दायरामा नआई सुख छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
