Wednesday, May 22, 2024

-->

नयाँ स्टक एक्सचेन्जले एक महिनाभित्र अनुमति पाउँदै, कम्पनीहरूले दुईतिरै कारोबार गर्न पाउने

आवेदन दिएका तीनमध्ये एक कम्पनीले स्टक एक्सचेन्ज सञ्चालन अनुमति पाउनेछ। अहिले नेप्सेमा सूचीकृत शेयर कारोबार कम्पनी तथा ब्रोकरहरूले हालको नेप्से र नयाँ एक्सचेन्ज दुबैमा कारोबार गर्न सक्नेछन्।

नयाँ स्टक एक्सचेन्जले एक महिनाभित्र अनुमति पाउँदै कम्पनीहरूले दुईतिरै कारोबार गर्न पाउने

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज छनोट प्रक्रिया अघि बढाएको छ। नयाँ एक्सचेन्ज सञ्चालनका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ। यीमध्ये एक कम्पनीले मात्र स्टक एक्सचेन्ज सञ्चालनको अनुमति पाउने छ। 

आवेदन दिएका कम्पनीको मूल्यांकन गरी छनोट गर्न कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेर जिम्मेवारी दिइएको छ। धितोपत्र बोर्डका अनुसार मूल्यांकन समितिलाई समयसीमा भने तोकिएको छैन। एक महिनाभित्र लाइसेन्सको टुंगो लाग्न सक्ने बोर्डको अनुमान छ। 

धितोपत्र बजार सञ्चालनसम्बन्धी विनियमावली अनुसार स्टक एक्सचेन्जले अनुमति-पत्र प्राप्त गरेको ६ महिनाभित्र धितोपत्र बजार सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्नेछ। उक्त समयभित्र पनि आवश्यक पूर्वाधार तयार गर्न नसकी थप समय माग गरेमा बोर्डले बढीमा ६ महिनाको समयावधि थप गरिदिन सक्ने उल्लेख छ। 

धितोपत्र बजार सञ्चालनको अनुमति दिइसकेपछि पनि नयाँ स्टक सञ्चालनमा आउन भने कम्तीमा एक वर्ष लाग्ने देखिन्छ। यसबीचमा बोर्डले दुई स्टक एक्सचेन्ज हुँदा कम्पनीहरूको सूचीकृत, कारोबार र मूल्य, धितोपत्र दलाल (ब्रोकर कम्पनी) को कार्यक्षेत्र, हालको नेप्सेको सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को संरचना लगायतका विषयबारे पनि कार्यविधि बनाएर व्यवस्थित गर्नुपर्ने हुन्छ।

नेपालमा हाल धितोपत्र विनिमय बजारका रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मात्र सञ्चालनमा छ। बजारमा थप एउटा स्टक एक्सचेन्ज आउने निश्चित भएपछि अब हाल सञ्चालनमा रहेको नेप्से के हुन्छ, त्यहाँ सूचीकृत भएका कम्पनीहरू नयाँ स्टकमा पनि सूचीकृत भएर कारोबार गर्न पाउछन् या पाउदैनन् जस्ता प्रश्नहरू उब्जिएका छन्। 

हाल नेप्सेमा कूल बजार पूँजीकरण २७ खर्ब रूपैयाँभन्दा बढी छ। त्यसमा करिब २५० कम्पनी सूचीकृत छन्। धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालका अनुसार अहिले सञ्चालनमा रहेको नेप्सेमा सूचीकृत कम्पनी अब आउने नयाँ स्टक एक्सचेन्जमा पनि सूचीकृत हुन पाउँछन् अर्थात् एउटै कम्पनी दुईवटै एक्सचेन्जमा सूचीकृत भएर कारोबार गर्न सक्छन्।

“कम्पनीहरूलाई एउटामा मात्र सूचीकृत हुने र दुईवटैमा सूचीकृत भएर कारोबार गर्ने दुवै विकल्प खुला छ,” हमालले भने। पारदर्शिताका साथ राम्रो सेवा दिन सक्ने स्टक एक्सचेन्जतर्फ नै कम्पनीहरू आकर्षित हुन सक्ने उनी बताउँछन्। यी व्यवस्थाहरू पनि कार्यविधिमै उल्लेख गरिने हमाल बताउँछन्।

ब्रोकरहरू पनि दुवैमा दर्ता हुन सक्ने
धितोपत्र खरिदबिक्रीका लागि प्राथमिक र दोस्रो बजार हुन्छन्। शेयर खरिद गर्न चाहने व्यक्ति कुनै कम्पनीले सर्वसाधारणका लागि जारी साधरण शेयर (आईपीओ) किन्न आवेदन दिएर प्राथमिक बजारमा प्रवेश गर्न सक्छन्। तर दोस्रो बजारमा शेयर कारोबारका लागि धितोपत्र दलाल (ब्रोकर कम्पनी) मार्फत् जानुपर्छ। हाल सञ्चालनमा रहेको नेप्सेको मातहतमा ५० वटा ब्रोकर कम्पनीहरू छन्।  

धितोपत्र बोर्डले गत असोजमा नयाँ ब्रोकरका लागि आवेदन खुलाएकोमा ४५ कम्पनीले निवेदन दिएका थिए। त्यसमध्ये २९ कम्पनीले ब्रोकरको लाइसेन्स प्राप्त गर्नुपूर्वको आशयपत्र पाइसकेका छन्। 

अब बोर्डले तिनीहरूको स्थलगत निरीक्षण तथा जाँचबुझ गर्नेछ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र (लाइसेन्स) प्रदान गर्नेछ। नयाँ स्टक आएपछि ब्रोकरहरू पनि छुट्टाछुट्टै हुन्छन् अथवा दुवैमा दर्ता भएर काम गर्न सक्छन् भन्ने प्रश्न पनि उब्जिएको छ।

बोर्डका अध्यक्ष हमाल ब्रोकरहरूले पनि दुवै स्टक एक्सचेन्जमा दर्ता भएर कारोबार गर्न सक्ने बताउँछन्। “एउटामा मात्र कारोबार गर्छु भने पनि पाइन्छ र दुवैमा दर्ता गरेर काम गर्न पनि पाइन्छ्, त्यसका  लागि ब्रोकरहरू कारोबार गर्न चाहेको एक्सचेन्जमा छुट्टाछुट्टै दर्ता चाहिँ हुनुपर्छ,” उनले भने।

डिम्याट र राफसाप प्रणाली
अहिले नेप्सेको सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले लगानीकर्ताहरूको शेयर डिम्याट गर्ने र कारोबार राफसाफ गर्ने काम गर्दै आएको छ। डिम्याट भनेको भौतिक रूपमा अथवा कागजमा जारी भएका शेयर प्रमाणपत्रहरूलाई अभौतिक गर्ने प्रक्रिया हो। 

शेयरको डिम्याट गर्नका लागि सीडीएसबाट सदस्यता लिएको निक्षेप सदस्यमार्फत् खाता खोली भौतिक रूपमा रहेका शेयर प्रमाणपत्रहरूलाई अभौतिकीकरण गर्न सकिन्छ।

डिम्याट खाता धितोपत्र बोर्डबाट निक्षेप सदस्यको कार्य गर्न अनुमतिपत्र प्राप्त निक्षेप सदस्यता लिएका बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनी मार्फत् खोल्न सकिन्छ। यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ। हाल यस्ता निक्षेप सदस्य ८३ वटा छन्। 

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार आवेदन दिएका तीन कम्पनीमध्ये लाइसेन्स पाउने कम्पनीले शेयर डिम्याट र राफसाफ गर्नका निमित्त आफै सहायक कम्पनी ल्याउन सक्नेछन्। नयाँ स्टक एक्सचेन्जले नेप्सेकै सहायक कम्पनी सीडीएससीको प्रणालीमार्फत् प्रवाह हुने सेवा खरिद गर्न पनि सक्छ। 

“नयाँ स्टकले नयाँ प्रविधि ल्याउन चाहे बाह्य मुलुकका एक्सचेन्जमा सफल भइसकेका प्रविधि ल्याउनुपर्छ, यहाँ विकास गर्ने होइन,” श्रेष्ठ भन्छन्, “उनीहरूले अहिले नेप्सेले चलाइरहेको सीडीएससीकै प्रविधि पनि प्रयोग गर्न सक्छन्।”

धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ मा धितोपत्र बजारको लागि कारोबार प्रणाली र सोसँग सम्बन्धित अन्य प्रविधि खरिद वा जडान गर्दा त्यस्तो कारोबार प्रणाली तथा प्रविधि नेपालबाहेक अन्य मुलुकमा न्यूनतम १० वर्षदेखि सञ्चालनमा रहेको र कम्तीमा तीन वटा स्टक एक्सचेन्चले प्रयोग गरेको हुनुपर्ने उल्लेख छ। 

तर, यो नियम प्रारम्भ हुँदा सञ्चालनमा रहेको धितोपत्र बजारले भने त्यस्तो कारोबार प्रणाली तथा प्रविधि लागू गर्न बोर्डले तोकेबमोजिमको समयावधि पाउँछ। 

स्टक एक्सचेन्जले धितोपत्र कारोबारको लागि आवश्यक कारोबार प्रणाली तथा प्रविधिका सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त धितोपत्र बजारसँग यसबारे सहकार्य गर्न र प्राविधिक सहयोग लिन सक्ने पनि नियमावलीमा उल्लेख छ।

एउटै कम्पनी दुई एक्सचेन्जमा सूचीकृत हुँदा फरक/फरक मूल्यमा शेयर कारोबार हुन सक्ने जोखिम कत्तिको हुन्छ भन्ने प्रश्नमा, बोर्डका प्रवक्ता श्रेष्ठ समान्यतया एउटा कम्पनीको शेयर कारोबारको बजार मूल्य दुवै स्टकमा एउटै हुने बताउँछन्।

“दुईवटा एक्सचेन्जमा मूल्य फरक हुनेबित्तिकै एउटाबाट किन्ने र अर्कोबाट बेच्ने भइहाल्छ, व्यापार हुने बखत केही पैसामा मात्र त्यसरी मूल्य तलमाथि हुन सक्छ,” श्रेष्ठ भन्छन्। त्यस्तो फरक एउटा एक्सचेन्जबाट किनेर अर्को एक्सचेन्जमार्फत् बेच्दा अतिरिक्त मूल्य फाइदा हुने स्तरमा नजाने उनको दाबी छ। यी विषयहरूलाई समेत विनियमावली मार्फत् व्यवस्थित गरिने श्रेष्ठ बताउछन्।  

धितोपत्र बोर्डका अनुसार लगानीकर्ताहरूले अहिलेकै डिम्याट खाताबाट दुवैतिर लगानी गर्न सक्छन्। यद्यपि यसबारे आवश्यक नियमनका सबै व्यवस्था कार्यविधिमा उल्लेख हुने बोर्डका अध्यक्ष हमाल बताउछन्। “हामी अहिले कार्यविधि बनाउने क्रममा छौँ। लाइसेन्स जारी गर्ने प्रक्रिया सँगसँगै कार्यविधि पनि बन्दै जान्छ, त्यसका लागि हामीसँग संसारका सबै स्थापित मोडलहरू छन्,” हमालले भने।


सम्बन्धित सामग्री