Friday, April 26, 2024

-->

वर्षाले प्रभावित नेपाल–यूएईबीचको खेल मंगलबार हुने, यूएईले १०६–९ को स्थितिमै खेल्न शुरू गर्ने

वर्षका कारण प्रभावित भएको एसीसी प्रिमियर कपअन्तर्गत नेपाल–यूएईबीचको खेल मंगलबार हुने भएको छ। खेल सोमबारकै (१०६–९/२७.३ ओभर) स्थितिमै शुरू हुने बताइएको छ।

वर्षाले प्रभावित नेपाल–यूएईबीचको खेल मंगलबार हुने यूएईले १०६–९ को स्थितिमै खेल्न शुरू गर्ने
तस्वीर : क्यान

काठमाडौँ– एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल मंगलबार सोमबारकै स्थिति (१०६/९- २७.३ ओभर) देखि हुने भएको छ। नेपाल–यूएईबीचको खेल मंगलबार बिहान ९ बजेबाट शुरू हुने छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार वर्षा बाधक बनेपछि खेल २७.२ ओभरमा पुगेर रोकिएको थियो। टस हारेर पहिला ब्याटिङ थालेको यूएईले वर्षा शुरू हुनुभन्दा अगाडि ९ विकेट गुमाएर १०७ रन बनाएको थियो।

यूएईका कार्तिक मायाप्पन ६ बल खेल्दै १ रन बनाएर अविजित छन्। यता, जुनैद सिद्दिकी क्रिजमा प्रवेश गर्न नै बाँकी छ। २७.३ ओभरमा पुगेपश्चात बिहान ११: ५१ बजेदेखि कीर्तिपुरमा ठूलो वर्षा शुरू भएको थियो।

दिउँसो ३ बजेसम्म वर्षा रोकिएर २० ओभरसम्ममा घटाएर खेल गराउन सम्भाव थियो। तर, मैदानको पानी सोर्न सुपर सापरलाई १ घण्टाभन्दा बढी समय लाग्ने स्थिति थियो। यता, आउट फिल्डमा पानी जम्दा मैदान हिलो भएको छ। साढे ३ बजेसम्म पनि वर्षा नरोकिएपछि यूएईका खेलाडीहरू 'डग आउट'बाट झोला बोकेर हिँडेका थिए।

एसीसीको नियमअनुसार मंगलबार रिजर्भ डेको खेल पनि वर्षाले अवरुद्ध भएमा ओभर घटाइने छ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ। सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा उपाधि विजेताको टुंगो लाग्नेछ। आईसीसीको एकदिवसीय वरीयतामा नेपाल १४औँ र युएई १९औँ स्थानमा छन्। यस्तो अवस्थामा नेपाल उपाधि विजेता बन्ने छ।


सम्बन्धित सामग्री