Friday, April 26, 2024

-->

हिमाल आरोहणका बेला मौसम बाधक, आरोहीलाई बाटो बनाउनै चुनौती

यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि विदेशी पर्यटक नेपाल आइरहेका छन्। तर, हिमाली क्षेत्रमा भइरहेको अस्वाभाविक हिमपातले आरोहणमा चुनौती थपिएको छ।

हिमाल आरोहणका बेला मौसम बाधक आरोहीलाई बाटो बनाउनै चुनौती

काठमाडौँ– पुराना पर्यटन व्यवसायी आङछिरिङ शेर्पा (६९) सोलुखुम्बुको खुम्बुमा जन्मे। त्यहीँ उनको बाल्यकाल बित्यो। १० वर्षको उमेरदेखि बुवाको साथ लागेर सगरमाथाको आधार शिविरसम्म पुग्थे। किशोरावस्थामा सगरमाथा आरोही र खुम्बु क्षेत्रमा पुग्ने पदयात्रीको भारी बोक्न थाले। सन् १९७७ मा सगरमाथाको ८ हजार मिटर उचाइसम्म पुगे। 

शेर्पाको सम्झनामा अप्रिल (चैत–वैशाख) मा उच्च हिमाली क्षेत्रमा अहिले जसरी हिमपात हुँदैन्थ्यो। “हिउँदमा हिउँ पर्थ्यो, चैत वैशाखमा अहिलेजस्तो हिउँ परेको त सम्झना नै छैन,” शेर्पा भन्छन्, “अब हिमाल आरोहणको समय पनि सार्नुपर्ला जस्तो छ।” 

उनका अनुसार वसन्त ऋतु हिमाल आरोहणको सबभन्दा उपयुक्त समय हो। तर, अप्रत्यासित हिमपातजस्तै विभिन्न कारणले यो बिस्तारै सर्दै–सर्दै पछाडि गइरहेको छ। “अबको १०–१२ वर्षपछि हिमाल आरोहणको समय नै परिवर्तन गर्नुपर्ने देखियो,” उनी भन्छन्। 

हिमपहिरोले समस्या
यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि विदेशी पर्यटक नेपाल आइरहेका छन्। आरोही र पदयात्रामा जाने पर्यटकहरूका कारण खुम्बु क्षेत्रमा चहलपहल पनि बढेको छ। पर्यटन विभागका अनुसार चैत २० सम्म सगरमाथा आरोहणका लागि १२  वटा टोलीका १०० जनाले अनुमति प्राप्त गरिसकेका छन्। 

नेपाली शेर्पाहरू एक महिनादेखि यस वर्षको हिमाल आरोहणका लागि बाटो बनाउन सगरमाथा क्षेत्रमा खटिएका छन्। तर, उनीहरूले विगतका वर्षहरूमा भन्दा कठिन चुनौती सामना गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा बताउँछन्। 

बाटो बनाउने कामका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले जिम्मा पाएको छ। समितिका तर्फबाट आङसार्की शेर्पाको नेतृत्वमा आठ जना प्राविधिक शेर्पा र चार जना अन्य सहयोगीका साथ १२ जनाको टोली बाटो बनाउनलाई एक महिनादेखि सगरमाथाको आधार शिविरिमा संघर्ष गरिरहेको छ। संघर्ष यसकारण कि एक महिनामा पनि त्यो टोली ‘क्याम्प–१’ सम्म पुग्न सकेको छैन। 

“हाम्रो टिम अहिले क्याम्प–१ को नजिक पुगेको छ, उसलाई मौसमले लगातार चुनौती दिइरहेको छ,” छिरिङ भन्छन्, “हिउँ परेर पहिलेको भन्दा अप्ठेरो छ। हिमपहिरो दिनहुँ आइरहेको छ। त्यसले गर्दा अलिकति जोखिमपूर्ण पनि छ।”

अबको एक साताभित्रमा क्याम्प–१ सम्मको बाटो ‘क्लियर’ हुने आशा उनले व्यक्त गरे। “अलिकति अप्ठेरो बाटो क्याम्प–१ सम्म हो। त्यसपछि सायद त्यति धेरै समय नलाग्ला,” उनले भने।

आधार शिविरमा बाटो बनाउन खटिएका टोली नेता आङसार्की शेर्पाको भनाइ उद्धृत गर्दै छिरिङले बताएअनुसार सगरमाथाको आधार शिविरमा कम्म्मरसम्म अग्लो हिउँ परेको छ। त्यसले गर्दा हिँडडुल गर्नसमेत समस्या भएको छ। 

हिउँदको साटो वसन्तमा हिउँ पदा बाटो बनाउन र आरोहणमा समेत समस्या पैदा हुने पर्यटन व्यवसायी आङछिरिङ शेर्पा बताउँछन्। “अहिले परेको हिउँ कोमल हुन्छ। बाटो बनाउँदा डोरी टांग्न र हिँड्न पनि कठिन हुन्छ,” उनी भन्छन्। 

प्रि–मनसुनको एक महिनामा ३६ प्रतिशत वर्षा
यस वर्षको प्रि–मनसुन शुरू भएयताका ३४ दिनमा ३६ प्रतिशत वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुनको तीन महिनाको सरदर वर्षा २२६ मिलिमिटर रहेकोमा चैत २१ सम्म ३६ प्रतिशत ८१.६ मिलिमिटर वर्षा भएको छ। फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्रि–मनसुनको समय हो। 

यस वर्षको हिउँद सुख्खा भए पनि प्रि–मनसुनको पहिलो महिनामा पर्याप्त वर्षा भएको छ। दोलखा, ताप्लेजुङ, ओखलढुंगा, धरान, धनकुटा, पोखरा, लुम्ले, दाङ, भैरहवा, सुर्खेत, नेपालगञ्जलगायतका स्थानमा सरदरभन्दा धेरै वर्षा भएको छ। 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक डा. विनोद पोखरेल पश्चिमी वायुको प्रभाव र हिन्द महसागरमा लालिनाको अवस्थाको तटस्थताले नेपालमा पश्चिमी वायु सक्रिय रहेको र त्यसकै कारण वर्षा भइरहेको बताउँछन्। “यसलाई अस्वाभाविक भन्न मिल्दैन। यस्तो पहिला पनि भएको थियो,” पोखरेल भन्छन्, “कहिलेकाहीँ यस्तो अवस्था हुन्छ।”

यस वर्षको हिउँद सुख्खा रह्यो। हिउँदमा जम्मा १२.९ मिलिमिटर अर्थात २१ प्रतिशत मात्र वर्षा भएको थियो। हिउँदको सरदर वर्षा ६० मिलिमिटर हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा हावापानी मापन गर्न राखेका मौसमी स्टेशनमा वर्षाको रेर्कड नै भएको छैन। यसको अर्थ कतिपय ठाउँमा हिउँदमा वर्षा नै भएन।

यस वर्षको वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ३६ टोलीबाट २७० जनाले आरोहण अनुमति लिएका छन्। त्यसमा सगरमाथापछि अन्नपूर्ण–१ मा पाँच वटा टोलीबाट ५४ जनाले अनुमति प्राप्त गरेका छन्। मनास्लु हिमालका लागि चार टोलीबाट १५ जनाले आरोहण अनुमति प्राप्त गरेका छन्। 

सरकारले यो सिजनमा हिमाल आरोहणमा जाने आरोहीबाट रोयल्टीबापत १६ करोड ९१ लाख रुपैयाँ संकलन गरेको छ। “सरकारको ध्यान राजस्वमा मात्र देखिन्छ। राजस्वमा मात्र ध्यान नदिएर आरोहण तथा उच्च हिमाली क्षेत्रको मौसमको पूर्वसूचना दिने संयन्त्रमा पनि ध्यान दिन सके राम्रो हुन्थ्यो,” नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्षसमेत रहेका पर्यटन व्यवसायी आङकाजी शेर्पा भन्छन्।


सम्बन्धित सामग्री