Saturday, April 27, 2024

-->

माल्दिभ्समा रोजगारी गर्ने नेपालीले पाउँदैनन् डलर, ‘ब्ल्याक’मा साटेर पठाउँछन् नेपाल

माल्दिभ्सबाट नेपाल पैसा पठाउन ‘ब्लाक’मा डलर साट्नु पर्ने बाध्यता छ। जसकारण त्यहाँ रहेका करिब आठ हजार नेपाली कामदारले पारिश्रमिकको १० प्रतिशतभन्दा बढी रकम डलर सटहीमा गुमाउने गरेका छन्।

माल्दिभ्समा रोजगारी गर्ने नेपालीले पाउँदैनन् डलर ‘ब्ल्याक’मा साटेर पठाउँछन् नेपाल

काठमाडौँ– डलरमा पारिश्रमिक पाउने सम्झौता गरेर रोजगारीका लागि माल्दिभ्स पुगेका नेपालीले त्यहाँको राष्ट्रिय मुद्रा रुफियामा तलब बुझ्न बाध्य हुँदा नेपाल पैसा पठाउन समस्या भोगिरहेका छन्। उनीहरूले यता पैसा पठाउन अनौपचारिक बजार (ब्लाक मार्केट)मा महँगोमा डलर खरिद गर्ने गरेका छन्।

डलर संचितिको अभावको कारण त्यहाँका बैंकहरूले नेपाली कामदारलाई सटही सुविधा दिएका छैनन्। ब्लाक मार्केटमा साटिएको डलर बैंकहरूले राहदानीलगायत कुनै पनि कागजपत्रबिना सहजै लिएर नेपाल पठाइदिने गरेको राजधानी मालेमा रहेका टंक पौडेलले बताए। उनका अनुसार अनौपचारिक बजारमा साटेको डलर बैंक र मनी ट्रान्सफरबाट नेपाल पठाइन्छ।

“माल्दिभ्सकै मुद्रामा भुक्तानी पाएपछि रकम नेपाल पठाउन पहिला डलर किन्नुपर्ने बाध्यता छ,” पौडेलले टेलिफोनमा भने, “डलरमा नै भुक्तानी पाउनेहरू पनि छन्, उनीहरूलाई समस्या भएन। अन्यले भने डलर अभावको समस्या भोग्नु परेको छ। कामदारले ब्लाकमा किनेको डलरलाई बैंकहरूले संचिति बढाउने अवसरका रूपमा लिएका छन्।”

१ डलर बराबर औपचारिक विनियम दर १५.४० माल्दिभ्स रुफिया छ। नेपालीहरू अनौपचारिक बजारमा १ डलरका लागि कम्तीमा २ रुफिया (माल्दिभ्सको मुद्रा) बढी तिर्न बाध्य भएको पौडेलको भनाइ छ। माल्दिभ्सको १ रुफिया बराबर नेपालको ८ रूपैयाँ ५८ पैसा छ।

राजधानी मालेमा भन्सारसम्बन्धी एउटा कार्यालयमा काम गर्ने मनोज खतिवडा कामका लागि माल्दिभ्स जाने नेपाली महिलाको संख्या धेरै रहेको बताउँछन्। उनीहरू घरेलु कामदार भएको र कतिपयले रेस्टुरेन्टमा पनि काम गर्ने उनी बताउँछन्।

खतिवडाका अनुसार, यस्ता कामदारले न्युनतम ४०० डलर पारिश्रमिक पाउँछन्। तर डलरको साटो औपचारिक विनियम दरअनुसार ६ हजार १६० रुफिया दिइन्छ। अनौपचारिक बजारमा त्यति रुफियाको डलर किन्नुपर्दा करिब ३५० डलर मात्र पाउँछन्। 

यसरी ४०० डलर तलब तोकिए पनि रुफियामा भुक्तानी दिँदा घाटा हुने गरेको छ। रुफियामा पारिश्रमिक पाउनेले तोकिएभन्दा १२ प्रतिशतसम्म घाटा सहने गरेका छन्। माल्दिभ्समा डलरको अभाव भएका कारण बैंकहरूले अनौपचारिक बजारबाट लिइएको डलर सजिलै लिने त्यहाँका नेपालीको भनाइ छ।

खतिवडाका अनुसार माल्दिभ्समा ४ हजार डलरभन्दा बढी पारिश्रमिक पाउने नेपाली पनि छन्। उनीहरूले मासिक ६५ हजार नेपाली रूपैयाँसम्म घाटा बेहोर्नुपर्ने उनी बताउँछन्।

माल्दिभ्समा भौतिक निर्माण क्षेत्रमा करिब १६ वर्षदेखि काम गरिरहेका इन्जिनियर कृष्ण चालिसे डलर सटहीको समस्या नयाँ नभएको बताउँछन्। कोरोनाको समयमा औपचारिक सटही दरभन्दा २० देखि ३० प्रतिशतसम्म महँगोमा डलर किनेको उनको भनाइ छ। 

“डलरमै भुक्तानी पाउनेका लागि त समस्या भएन, तर अरूका लागि असहज नै छ। नेपालमा हामीले यस विषयमा सरोकारवालाहरूलाई औपचारिक रूपमा जानकारी गराएका छौँ,” चालिसेले भने, “यहाँ नेपालीहरूको यकिन तथ्यांक छैन, प्रयास गर्दा पनि संगठित हुन सकिएको छैन। धेरैले सटहीकै समस्या भोगेका छन्।”

माल्दिभ्समा नेपालको दूतावास वा कन्सुलर कार्यालय छैन। श्रीलंकास्थित नेपालको राजदूतावासले माल्दिभ्समा पनि समन्वय गर्ने गरेको छ। श्रीलंकास्थित नेपाली दूतावासका माल्दिभ्स डेस्क प्रमुख विश्वास भट्ट कोरोना महामारीपछि आफूले तथ्यांक संकलन गर्दा त्यहाँ चार हजार ६०० नेपाली रहेको पाइएको बताउँछन्।

अहिले करिब पाँच हजार नेपाली रहेको भट्टको अनुमान छ। तर विशेष सीप भएका चिकित्सकलगायत सिधै रोजगारदाताको माध्यमबाट पुगेकाहरूको तथ्यांक आफूहरूसँग नभएको उनले बताए।

राजधानी मालेमा काम गर्ने वरिष्ठ सर्जन डा. कौशल तिवारी भने अनौपचारिक माध्यमबाट गएका समेत माल्दिभ्समा करिब आठ हजार नेपाली रहेको अनुमान गर्छन्। “यसमा चिकित्सक, मेडिकल स्टाफ, इन्जिनिर, होटेल स्टाफ, रेस्टुरेन्ट तथा क्याफे तथा घरका कामदार पनि छन्,” डा. तिवारी भन्छन्, “नेपाली डाक्टर मात्र ४०० हाराहारी छौँ।”

उनी पनि अनौपचारिक बजारबाट डलर किन्नुपर्दा महँगो हुने गरेको बताउँछन्। यस्ता समस्यामा सहजीकरण गरिदिने नेपालको कूटनीतिक निकाय नभएको उनले गुनासो गरे। 

नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल त्यहाँको समस्या राष्ट्र बैंकको जानकारीमा रहको बताउँछन्। “औपचारिक माध्यमबाट रोजगारीमा गएकाहरूले पैसा पठाउन खासै समस्या छैन। कुनै समस्या भए राष्ट्र बैंकले सहजीकरण गरिदिने हो। तर अनौपचारिक माध्यमबाट रोजगारीमा गएकालाई समस्या छ,” पौडेलले भने, “त्यहाँका नेपालीका लागि मात्र नभएर अन्य देशका कामदारलाई पनि डलर साट्न नपाएर समस्या छ। हामीले सरकारीस्तरमै समाधान खोजिरहेका छौँ।”

नेपाल राष्ट्र बैंकका गभर्नरले माल्दिभ्सका केन्द्रीय बैंकका गर्भनरसँग यस विषयमा संवाद गरेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए। यस्ता समस्याका कारण हुन्डीबाट रकम आउँदा देशलाई नै घाटा हुने हुँदा औपचारिक माध्यमलाई प्रोत्साहन गर्न पनि समस्या समाधानको पहल भइरहेको उनी बताउँछन्। 

श्रीलंकास्थित नेपाली राजदूतावासका माल्दिभ्स डेस्क प्रमुख भट्टले त्यहाँ डलरको समस्या भइरहको आफूहरूको जानकारीमा रहको बताए। “त्यहाँ काम गर्न जाने विदेशी नागरिकका लागि माल्दिभ्स सरकारले ‘इम्प्लोइमेन्ट अप्रुभल’ (रोजगारी स्विकृति)को पत्र दिने गरेको छ, त्यसमा काम गर्नेको विवरणसहित सेवा शर्तहरू पनि उल्लेख हुन्छ,” उनले भने, “पहिला त्यसमा तलब सुविधाहरू डलरमा उल्लेख हुन्थ्यो, अब रुफियामा पनि उल्लेख हुने गरेको छ।”

भट्टले माल्दिभ्सको विदेश मन्त्रालयमार्फत समस्या समाधानको पहल गरिरहेको बताए।

माल्दिभ्सको विदेशी मुद्रा संचिति अहिले ८८१.१ मिलियन अमेरिकी डलर छ। पछिल्लो समय सन् २०१६ डिसेम्बरमा त्यहाँ सबैभन्दा कम ४५६.५ मिलियन अमेरिकी डलर विदेशी मुद्रा संचिति थियो। सबभन्दा बढी २०२१ सेप्टेम्बरमा ९७८.७ मिलियन अमेरिकी डलर पुगेको थियो। माल्दिभ्सले हरेक महिना वस्तु आयातका लागि औषत १५५ मिलियन डलर खर्च गर्ने गर्छ।

विश्व बैंकको एक प्रतिवेदन अनुसार माल्दिभ्सले वार्षिक रूपमा २८ सय ८७ मिलियन डलरको वस्तु आयात गर्दा १८५ मिलियन डलरको मात्र निर्यात गर्छ। माल्दिभ्सको वार्षिक रूपमा वैदेशिक व्यापार घाटा २७२९ डलर रहकोले अमेरिकी डलर प्राप्तिको लागि त्यहाँ दबाब छ।

नेपालीहरूले भोग्ने समस्या माल्दिभ्समा काम गर्ने भारतीयको लागि भने छैन। स्टेट बैंक अफ इन्डिया (एसबीआई)को शाखा माल्दिभ्समा भएकोले त्यसले भारतीयहरूका लागि रुफियालाई सिधै भारतीय मुद्रा सटही सुविधा दिएको माल्दिभ्स डेस्क प्रमुख भट्टले बताए।

इन्जिनियर चालिसे एसबीआई बैंक नेपालमा पनि भएकोले त्यसको सहकार्यमा माल्दिभ्समा रहेको एसबीआई बैंकमार्फत समस्या समाधान गर्न सकिने बताउँछन्। “करिब चार वर्षअगाडि हामीले नेपालको एसबीआई बैंकमा समाधानका लागि पहल गर्दा त्यहाँका अधिकारीहरू सकारात्मक देखिएका थिए,” चालिसले भने, “त्यसपछि फलोअप गर्नुपर्ने र औपचारिक निर्णयहरू गराउनु पर्नेमा पहल पुगेन। एसबीआई माल्दिभ्सले यहाँ रुफिया जम्मा गरेर एसबीआई नेपालमा नेपाली रूपैयाँ भुक्तानी दिनसके समस्या समाधान हुने थियो।”

एउटा कन्सुलेट कार्यालय नेपालले माल्दिभ्समा राख्नुपर्ने चालिसेको आग्रह छ। त्यसो हुँदा नेपालीले राम्रो पारिश्रमिक पाउने माल्दिभ्समा रहेका कामदारका समस्या समाधान हुने उनको भनाइ छ।


सम्बन्धित सामग्री