Wednesday, May 08, 2024

-->

उपराष्ट्रपतिको निर्वाचनमा कस–कसले हालेनन् मत

उपराष्ट्रपतिको निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।

उपराष्ट्रपतिको निर्वाचनमा कस–कसले हालेनन् मत

काठमाडौँ– मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो।

निर्वाचनमा संघीय संसद्का ३३२ सांसद र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्य मतदाता छन्। मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

संघ (राष्ट्रियसभा र प्रतिनिधिसभा) तर्फका जम्मा ३३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त भएको र टेकबहादुर गुरुङ निलम्बनमा परेकाले दुई पद रिक्त छ।

शुक्रबारको मतदानमा संघतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद मतदान नगरी तटस्थ बसे।

यसैगरी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको तथा सांसदहरू चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित भएनन्। साथै सहनाज रहमानको निधन भएको थियो भने लक्ष्मी महतो कोइरीको मुद्दाका कारण मतदानमा अनुपस्थित भए।

प्रदेशसभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बसे भने जसपाका एक सदस्य अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ। शुक्रबार बिहान १० बजेदेखि शुरू भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको छ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार छन्।

उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।


सम्बन्धित सामग्री