Friday, April 26, 2024

-->

‘नेपालभाषाको पाठ्यक्रम भाषा सिकाउन होइन, काठमाडौँको मौलिकता बुझाउन लागू गरिएको हो’

काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले नेपालभाषाको पाठ्यक्रम भाषा पढाउन नभई काठमाडौँको मौलिकता बुझाउन लागू गरिएको बताएकी छन्।

‘नेपालभाषाको पाठ्यक्रम भाषा सिकाउन होइन काठमाडौँको मौलिकता बुझाउन लागू गरिएको हो’

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भाषा पढाउनेभन्दा पनि काठमाडौँको स्थानीय रहनसहन, तथ्यहरूबारे जानकारी दिन स्थानीय पाठ्यक्रमअन्तर्गत काठमाडौँका विद्यालयमा अध्यापन गराउन नेपालभाषामा पाठ्यक्रम बनाइएको बताएकी छन्।

आइतबार राष्ट्रिय सभागृहमा सम्पन्न दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी मनिष मानवले कार्यक्रममा गैर नेवार समुदायका बालबालिकालाई भाषा सिकाइमा समस्या भएको भन्दै नेपालभाषामा भइरहेको पठनपाठनको पाठ्यक्रम परिमार्जित गर्नुपर्ने हो कि भनेर जिज्ञासा राखेका थिए।

“नेपालभाषा नजानेका गैरनेवार साथीहरूले पनि पढिरहेका छन्। अहिले विद्यालयमा भइरहेको नेपालभाषाको पढाइ ‘हाइ लेभल’ को छ,” उनले सोधे, “कम्तिमा कक्षा १ देखि बेसिक हुँदै माथिल्लो कक्षामा पढाउने हो भने त्यो प्रभावकारी हुन्छ कि, त्यसले नेपालभाषा टिकाउन मद्दत गर्छ कि?”

मनिषको प्रश्नको जवाफ दिँदै उपप्रमुख डंगोलले विद्यालयमा स्थानीय पाठ्यक्रममार्फत भाषा नसिकाइएको, तर स्थानीय रहनसहन, संस्कृति सिकाउने माध्यमका रूपमा मात्रै नेपालभाषा प्रयोग गरिएको बताएकी हुन्।

“हामीले १ देखि ८ सम्मका विद्यार्थीलाई भाषा सिकाइरहेका छैनौँ, स्थानीय रहनसहन, तथ्यहरू र काठमाडौँको बारेमा जानकारी पाउने पाठ्यक्रम रहेको छ। जसको माध्यम नेपालभाषा हो,” उनले भनिन्, “स्थानीय पाठ्यक्रम तब प्रभावकारी हुन्छ, जब स्थानीय भाषामा नै लागू गर्छौं। त्यसैले स्थानीय पाठ्यक्रम स्थानीय भाषामा पढाइरहेका हौँ। हामीले भाषा पढाइरहेका छैनौँ।”

डंगालेका अनुसार नेपालभाषा सिकाउनका लागि पाठ्यक्रम ल्याइएको भए एकैपटक कक्षा १ देखि ८ सम्म लागू गर्न गाह्रो हुन्थ्यो।

“भर्टिकल पाठ्यक्रम भएको भए १ देखि ८ सम्म लागू गर्न सकिँदैनथ्यो। यो होरिजेन्टल करिकुलम हो,” उनले भनिन्, “गणित पढ्नुपर्‍यो भने १ देखि ८ सम्म एकैचोटि पढाउन सक्दैनौँ। पहिले १ पढेर मात्रै २ अनि ३ गर्दै पढ्नुपर्छ। तर यसमा त्यस्तो होइन। ८ कक्षाको विद्यार्थीले १ कक्षाको किताब पनि पढ्न सक्नुहुन्छ, १ कक्षाको विद्यार्थीले ८ कक्षाको किताब पनि पढ्न सक्नुहुन्छ। यसलाई होरिजेन्टल पाठ्यक्रम भनिन्छ।”

कार्यक्रममा अन्य सहभागीले सडकपेटी, पैदल यात्रामैत्री सडक, पार्किङ व्यवस्थापनबाट शहरी गतिशीलता, फोहोरको दिगो संकलन र व्यवस्थापन, विकास निर्माण, सेवा विस्तार र सरकारी कार्यालयबीच समन्वयलगायत विषयसँग सम्बन्धित प्रश्नहरू गरेका थिए।

नागरिकका प्रश्नमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले शहरी विकासका लागि धेरै निकाय भएकोले महानगर एक्लैको प्रयासले सोचेको जस्तो उपलब्धि नदेखिने जवाफ दिए।

“असरल्ल तार काट्ने र अनावश्यक झिकेर फालिने गरिएको छ। होर्डिङ बोर्ड हटाउने कामलाई तीव्र बनाइएको छ, सार्वजनिक यातायात प्रणाली र पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ,” उनले भने।

त्यस्तै, महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाले विश्वास, विचार र विकासको रणनीतिमा काम गरिरहेको बताए। “कार्यकाल शुरू भएको १ वर्ष हुन लागेको छ। अहिले नागरिकको विचार बुझ्ने काम गरिरहेका छौँ। यसरी प्राप्त विचारका आधारमा विकास गर्ने छौँ,” उनले भने।

शहरी सुरक्षा, मौलिकताको प्रवर्द्धन र विकास निर्माणसँगै स्वास्थ्य शिक्षा र रोजगारीलाई प्राथमिकता दिइएको प्रवक्ता मानन्धरको भनाइ छ। त्यस्तै, स्वतन्त्र अनुसन्धानकर्ता डा. सुरेन्द्र महतोले कार्यक्रममा सार्वजनिक सुनुवाइका विषयमा नागरिकका विचार र बहिर्गमन अभिमतको अनुसन्धानबाट प्राप्त प्रतिवेदनको निष्कर्ष प्रस्तुत गरेका थिए। 


सम्बन्धित सामग्री