अख्तियारले ५ करोडभन्दा धेरै गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित बागमती नगरपालिकाका मेयर थापाले यो मुद्दा प्रभावित गर्न कसरी फर्जी मुद्दा दायर गराइरहेका छन्?
काठमाडौँ– भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर भएपछि निलम्बित सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरूद्ध सर्लाही जिल्ला अदालतमा निलम्बित अवस्थामै गएको वैशाख २४ गते दुईवटा मुद्दा दायर भए। त्यसको तीन दिनपछि थापाविरूद्ध अर्को पनि मुद्दा दर्ता भयो। यी तीन वटै मुद्दा आर्थिक लेनदेनसम्बन्धी थिए।
थापाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गएको चैत २७ गते गैरकानूनी रूपमा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्यसको एक महिनापछि उनै थापाले ‘रकम सापटी लिएर नतिरेको’ दाबी गर्दै सर्लाही जिल्ला अदालतमा तीन वटा मुद्दा दायर भए। वैशाख २४ गते चेतबहादुर खड्का र सुमन थापा तथा २७ गते हरिराम काफ्लेले मुद्दा दायर गरेका थिए।
उनीहरूले कुल ४ करोड ५० हजार रुपैयाँ थापाले नतिरेको दाबी गरेका छन्। यो रकम गैरकानूनी आर्जन गरेको भनेर अख्तियारले मुद्दामा किटान गरेको भन्दा १ करोड ३३ लाख ३ हजार कम हो।
सुमन थापाले दायर गरेको मुद्दामा पटकपटक गरी आफूसँग सापटी लिएको १ करोड २० लाख रूपैयाँ फिर्ता नगरेको आरोप लगाएका छन्। २०७४ साउन १३ देखि प्रत्येक महिना उक्त रकमको व्याज तिरे पनि २०८० भदौदेखि तिर्न छोडेको, आफूसँग भएको तमसुक छल गरेर लगेको, भेट्न जाँदा भेट नदिने गरेको उनले फिरादपत्रमा उल्लेख गरेका छन्।
फिरादपत्रको प्रतिउत्तरमा निलम्बित मेयर थापाले आफूले रकम लिएको स्वीकार गरेका छन्। उनले जतिसक्दो चाँडो ऋण बुझाउन प्रयत्नरत रहेको पनि उल्लेख गरेका छन्।
त्यसैगरी, चेतबहादुरले दर्ता गराएको फिरादपत्रमा २०७५ असार १३ गते आफूसँग एकमुष्ट ८० लाख रूपैयाँ लिएको तर फिर्ता नगरेको आरोप लगाएका छन्। थापा रकम नतिर्ने मनस्थितिमा रहेको र धाकधम्कीको भाषा बोलिरहेको पनि उनले उल्लेख गरेका छन्।
“२०८० असारबाट नियमित रूपमा व्याज दिनछोडी लिखतसमेत विश्वासमा पारी लिखत बुझेको भरपाई गरी लगी कब्जामा राखी फिर्ता गर्न इन्कार गरेको,” चेतबहादुरले भनेका छन्, “मैले विपक्षीलाई दिएको रकम ८० लाख नतिर्ने मनस्थिति बनाई 'जहाँ गई जे गर्छस् गर्' भनी ठाडो जवाफ लगाएको हुँदा विपक्षीले मउपर अन्याय गरेकोले मुलुकी देवानीसंहिता बमोजिम विपक्षीबाट मैले पाउनुपर्ने रकम भराइ पाउँ।”
फिरादपत्रको प्रतिउत्तरमा थापाले आफूले रकम लिएको स्वीकार गरेका छन्। उनले चेतबहादुरलाई पनि जतिसक्दो चाँडो ऋण बुझाउन प्रयत्नरत रहेको बताएका छन्।
हरिराम काफ्लेले दायर गरेको मुद्दाको प्रकृति भने अलिक फरक छ। उनले आफू र भरत थापाको संयुक्त नाममा रहेको जग्गा एकलौटी हुनेगरी खरिद गरे पनि एकलौटी नामसारी नगरेको र २ करोड ५० हजार फिर्ता माग्दा पनि नदिएको उल्लेख गरेका छन्।
यो फिरादपत्रको जवाफमा पनि थापाले लेनदेन स्वीकार गरेका छन्। तर अघिल्लो मुद्दामा जस्तो सिधै नभएर केही आफ्ना शर्त पनि उल्लेख गरेका छन्।
उनले जवाफमा लेखेका छन्, “वादीलाई मैले भेटघाट नदिने, जग्गा रजिष्ट्रेसन गरि नदिएको, तपाईंले मलाई जग्गा खरिद गरेबापत रकम पनि फिर्ता गर्दिनँ भनेको अवस्था होइन। मेरो घरसल्लाह बमोजिम उक्त जग्गामा घर बनाई हाम्रो बसोबास गर्न उपयुक्त हुने हुँदा ०-१-० ज.वि क्षेत्रफल हुनेसम्मको जग्गा हामीलाई नै दिई बाँकी जग्गा मात्र अहिले बिक्री गरौँ भन्ने परिवारको सल्लाह भएबमोजिम मैले विपक्षी वादीलाई ०-१-० जग्गासम्मको रकम म तपाईंलाई फिर्ता गरिदिन्छु बाँकी ०-१५-११-८ ज.वि. जग्गा तपाईंको एकलौटी हुनेगरी रजिष्ट्रेसन गरिलिनुसम्म भनेको थिएँ।”
को हुन् मुद्दा हाल्नेहरू?
तीन वटै मुद्दाका वादीहरू थापासँग निकट सम्बन्ध रहेका व्यक्ति हुन्। गौतम भनिने चेतबहादुर खड्का थापाको सानिमाका छोरा हुन्। अर्का वादी सुमन थापा माओवादीको बरहथवा नगर समिति अध्यक्ष हुन्। भरत थापा माओवादीबाटै दोस्रोपटक बागमतीको मेयरमा निर्वाचित भएका हुन्। हरिराम काफ्ले थापाको व्यापारिक साझेदार र छिमेकी हुन्।
सुमन र चेतबहादुर वैशाख २४ गते मुद्दा दायर गर्न सर्लाही जिल्ला अदालत जाँदा उनीहरूलाई भरत थापाका भाइ रामकुमारले नै लगेर छोडिदिएको स्थानीय हरिकृष्ण पौडेल बताउँछन्। “म अदालतबाहिर थिएँ। यिनीहरू सबै जना एकैपटक अदालत प्रवेश गर्दा मलाई अलिक शंका लाग्यो। यिनीहरू गइसकेपछि भित्र गएर त्यहाँको कर्मचारीलाई सोधेँ,” पौडेलले उकालोसँग भने, “अदालतको कर्मचारीले नाम बाहिर नभन्ने शर्तमा उनीहरू लेनदेनको मुद्दा हाल्न आएको बताए।”
पौडेलका अनुसार सुमन, चेतबहादुर र हरिरामको निलम्बित मेयर थापासँग घनिष्ठ सम्बन्ध छ।
सुमन थापाले मेयर थापाविरूद्ध मुद्दा हालेको आफूलाई पत्यार नलागेको बागमती नगरपालिका एक माओवादी नेता बताउँछन्। “मुद्दा हालेकै हो त? मलाई त पत्यार लागेन। यिनीहरू निकै मिल्नेहरू हुन्,” ती नेता भन्छन्, “मुद्दा हाले पनि केही मिलाउनलाई होला। नभए भरतविरूद्ध जाने चान्स नै छैन।”
यी तीन जनाले थापाले भनेअनुसार मुद्दा दायर गरेको हुनसक्ने अर्का एक स्थानीय बताउँछन्। ती स्थानीयका अनुसार अख्तियारमा उजुर परेयता थापा पालिकामा निकै सक्रिय थिए।
“अहिले पनि उनले ३० करोडवाला मुद्दामा ब्याक डेटमा कागजात तयार गरिरहेको सुनिरहेको छु। ५ करोडवालामा आफ्नै मान्छेलाई नक्कली साहु खडा गरेको पनि यहाँ धेरैलाई थाहा छ,” उनी भन्छन्, “तर कोही खुलेर बोल्न चाहँदैनन्। यो नक्कली मुद्दामा तीन जना मात्रै होइन, चार जना छन्। चारै जनाको रकम जोड्दा अख्तियारले आरोप लगाएको रकमकै हाराहारी हुन्छ।”
निलम्बित मेयर भरत थापालाई नजिकबाट चिन्नेहरु अख्तियारले दायर गरेको मुद्दा प्रभावित गर्नकै लागि योजनाबद्ध रुपमा यी मुद्दा हाल्न लगाइएको दाबी गर्छन्। “स्रोत नखुलेको अकुत सम्पति आर्जन गरेको भनेर अख्तियारले मुद्दा दायर गरिसकेपछि त्यो सम्पत्ति ऋणबाट जोरजाम गरिएको हो भनेर देखाउन खोजिएको छ, यो सरासर योजनाबद्ध प्रयास हो,” सर्लाहीका एक माओवादी नेताले भने।
तीन जनाले नै थापाविरूद्ध कहिल्यै फेसबुक स्टेटस लेखेको देखिँदैन। बरू फेसबुक टाइमलाइनमा मेयर थापाकै गुणगान गाएको देखिन्छ। अख्तियारले थापाविरूद्ध मुद्दा दायर गरेयता उनीहरूले भिडियो, स्टेटस् र थापाको पक्षमा लेखिएका समाचारहरू शेयर गरेको देखिन्छ।
सर्लाहीका एक अधिवक्ताका अनुसार तीनै जनाले एकै ठाउँबाट फिरादपत्र र प्रतिउत्तर पत्र तयार पारेका थिए। “भाषा सबै एउटै खालको छ। शैली पनि उही छ। त्यतिकै बुझिन्छ नि यो सबै मिलेमतोमा नक्कली मुद्दा दर्ता गराएको हो,” उनी भन्छन्, “प्रमाणै पेश गर्दा त जहाँबाट पनि नक्कली प्रमाण पेश गर्न सकिन्छ।”
थापाविरुद्ध मुद्दा दायर गरेका हरिराम काफ्लेले भने आफूले सक्कली मुद्दा नै हालेको दाबी गरे। तर कति मूल्यको लेनदेन भएको हो भनेर सोध्दा लिनुपर्ने रकम यकिन नै नभएको बताए। “यो तपाईंलाई समाचारका लागि चाहिएको होला। अब कति थियो भनेर त कागज नै हेर्नुपर्ला,” काफ्लेले भने, “म त नगरपालिका र मेयर भरत थापाजीको कामहरूमा नराम्ररी फसेँ।”
सुमन थापाले पनि आफ्नो मुद्दा नक्कली नभएको दाबी गरे। थापा आफ्नो करिबी भए पनि पैसा सापट लिएर समयमा नबुझाउँदा मुद्दामामिलामा जान बाध्य भएको उनको दाबी छ। “हामी मिल्ने मात्रै होइन, धेरै नै मिल्ने हौँ। आज दिन्छु, भोलि दिन्छु भन्दाभन्दै पैसा दिइरहेको थिएन। म खेतीकिसानी गर्ने मान्छे भएकोले मलाई नि गाह्रो भइरहेको थियो,” सुमन भन्छन्, “भन्दाभन्दा पनि नदिएपछि अन्तिम विकल्पमा जानुपर्यो। अब भन्नेले त नक्कली, फर्जी के-के भन्छन भन्छन् नि!”
‘मुद्दा दिएर पनि तपाईंले मेयरको पक्षमा फेसबुकमा किन सामग्रीहरू पोष्ट गर्नुहुन्छ?’ भन्ने प्रश्नमा उनले भने, “अब ठग भए पनि त्यो अर्को पाटो भयो। तर उसले गरेको राम्रो कामलाई त राम्रो नै भनिदिनुपर्यो नि!”
चेतबहादुर पनि आफू पीडित भएरै मुद्दा दायर गरेको बताउँछन्। थापा ठूलीआमाको छोरा भए पनि आफ्नो पैसा नदिएपछि बाध्य भएर मुद्दा दायर गरेको उनको भनाइ छ। “हामीबीच कारोबार थियो। उहाँले पैसा लिएको हो। यो मुद्दामा फैसला आइसकेको छ। अब उहाँले मलाई पैसा तिर्नुपर्ने छ,” खड्का भन्छन्, “अब यो नक्कली हो कि सक्कली थाहा भएन मलाई। अहिलेको जमानमा बाउछोराबीच त मुद्दा हालाहाल पर्छ। हाम्रो हुँदा के अनौठो भयो र!”
डेढ महिनामै फैसला
सर्लाही जिल्ला अदालतमा थापाविरुद्ध हालिएका तीनमध्ये दुईवटा मुद्दाको फैसला आइसकेको छ। चेतबहादुरले वैशाख २४ गते र हरिरामले २७ गते दायर गरेका मुद्दामा जिल्ला अदालतले असार १८ गते नै फैसला सुनाइसकेको छ।
यी दुवै मुद्दाको सुनवाइ र फैसला एकै दिन न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले गरेको हो। निलम्बित मेयर थापाले वादीको दाबीबमोजिम रकम दिनुपर्ने अदालतको ठहर छ।
सुमन थापाले वैशाख २४ गते दायर गरेको अर्को मुद्दा विचाराधीन छ। यो मुद्दामा असार २ र २० गतेको पेसीमा बयान लिइएको थियो। त्यसयता चार पटक पेसी चढे पनि एक पटक वादी र तीन पटक प्रतिवादीले सुनुवाइ स्थगित गराए। ती चार वटै पेसी न्यायाधीश सूर्यबहादुर थापाको इजलासमा परेका थिए। अर्को पेसी भदौ ३० गतेका लागि तोकिएको छ। थापाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा पनि विचाराधीन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
