ताप्लेजुङकै विभिन्न ठाउँ र छिमेकी जिल्लाबाट समेत आएका महिला, केटाकेटी, युवा, पाका सबैका हातमा धागो थियो, तर अनुहारमा डर। उनीहरूलाई आशंका थियो— प्रहरीले अघिल्लो वर्षजस्तै गोली पो चलाउने हो कि!
ताप्लेजुङ- मुक्कुमलुङ क्षेत्रमा प्रस्तावित केवलकार निर्माणको विरोधमा रहेका केही अभियन्ताले माघ १८ गते धागो टाँगेर सांकेतिक विरोध गर्ने कार्यक्रम तय गरे। त्यसका लागि उनीहरू काफ्ले पार्टीमा भेला भए। त्यहाँबाट केहीबेर हिँडेपछि ठूलोफेदी पुगिन्छ, त्यहाँबाट अगाडि बढेपछि हाक्पारे अर्थात् कान्छीथान पुगिन्छ। त्यहीँदेखि मुक्कुमलुङसम्म मुन्धुम गाउँदै धागो टाँग्दै जाने निर्धारित कार्यक्रम थियो। यो लिम्बूहरूको परम्परा नै हो।
तर धागो टाँग्ने कार्यक्रम भएको सूचना पाएदेखि नै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो। केवलकार निर्माणस्थलको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र खटिएका थिए। केवलकारको आधार स्टेसनमा लस्करै प्रहरी उभिएका थिए। त्यहाँसम्म जान कसैलाई पनि दिइएको थिएन।
धागो टांग्न ताप्लेजुङकै विभिन्न ठाउँका मात्र नभएर छिमेकी जिल्लाबाट पनि आएका थिए। महिला, केटाकेटी, युवा, पाका सबैका हातमा धागो थियो। तर उनीहरूलाई आशंका थियो— प्रहरीले अघिल्लो वर्षजस्तै गोली पो चलाउने हो कि! यद्यपि, धागो टांग्न दृढ थिए।
आदिवासी लिम्बूहरूको मुन्धुमअनुसार, काँचो धागो जीवन (आयु) को प्रतीक मानिन्छ। युमा माङ लिम्बू याक्थुङ समुदायले मान्ने मुख्य माङ अर्थात्, देवी हुन्। उनले लिम्बूहरूको पूर्वज सावा येत्हाङहरूलाई गाँउगाँउमा गएर जाडो र गर्मीबाट बच्न, लाज ढाक्न, धागो कात्न र तान बुन्न सिकाएकी हुन्। त्यसैले तानको प्रतीकको रूपमा धागोलाई मान्ने चलन छ।
सोही मान्यताअनुसार, स्थानीय लिम्बू हाक्पारे (कान्छीथान) देखि मुक्कुमलुङसम्म मुन्धुम गाउँदै धागो टाँग्न निस्किएका हुन्। तर प्रहरीले उक्त टोलीलाई केवलकारको टप स्टेसन र बटम स्टेसनमा नजान र तस्वीर नलिन उर्दी जारी गरेको थियो।
ठूलोफेदीबाट माथि हिँडेपछि बाटोमा होटेलहरू थिएनन्। त्यहाँ जानेले कि सानोफेदी भनिने काफ्लेपार्टीमा कि ठूलो फेदीमा खाना खानु पर्छ। काफ्लेपाटीदेखि ठूलोफेदीसम्म करिब ४० वटा होटेल रहेको स्थानीय व्यावसायी बताउँछन्।
श्री माता भट्टराई होटेलका सञ्चालक निर्मल भट्टराईलाई केवलकार निर्माणपछि व्यवसाय घट्ने चिन्ता छ। केवलकार बनेपछि हिँड्दै जाने मानिस कम हुने र केवलकार कम्पनीले नै होटेलहरू बनाउने भएकाले स्थानीयको व्यापार घट्ने उनको भनाइ छ। “केवलकार चढ्ने र उत्रिने ठाउँमा उनीहरूले नै होटेल बनाउँछन्। धेरै मानिस तलबाटै चढ्ने, अनि तलै झर्ने भएपछि हाम्रोजस्तो बीचमा भएका होटेलको के काम?” उनले भने।
त्यहाँबाट अगाडि लागेपछि केही भरिया र पाथीभरा पुग्न हिँडेका भक्तजन बाटोभरि भेटिन्थे। केही फर्किंदै थिए। पाथीभरा विकास समतिका अनुसार, यहाँ सिजनमा ५०० सम्म भरिया काम गर्छन्। ती भरियाहरूले भक्तजनका भारी मात्र होइन, हिँड्न नसक्नेलाई बोकेरै पनि मन्दिर पुर्याएर फर्काउँछन्।
यही बाटामा केवलकारको पोल र तारका लागि बग्रेल्ती रूख काटिएका छन्। लोठ सल्ला, चिमल, गुराँसका बोटहरू ढलेर सुक्दै गएको देखिन्थ्यो। कतिपय काटिएका रुखका मुढा नजिकैका होटेलमा देखिन्थे। “बोटविरुवा काटेपछि वन्यजन्तु बस्न छाडेका छन्। पहिले जुन रमणीय दृष्य हेर्दै हिँड्न पाइन्थ्यो, त्यो नै हराउँदै गएको छ,” कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र लिम्बूले भने।
यस ठाउँमा चिसोले गर्दा बिरुवा ढिलो बढ्छन्। जसका कारण पहिलेजस्तो हरियाली हुन वर्षौं लाग्ने उनको भनाइ छ।
कलाकारको प्रतीकात्मक विरोधमा पनि दमन
प्रहरीको कडा सुरक्षाबीच आन्दोलनकारीहरू मुन्धुम गाउँदै, धागो टांग्दै मुक्कुमलुङसम्मै पुगे। सशस्त्र प्रहरी उनीहरूका अघिपछि लागेका थिए। सशस्त्रले टप स्टेसनतिर जान रोकेको थियो।
त्यसको दुई दिनअघि माघ १६ गते नै फाल्गुनन्द चोकको भित्ता चित्रले रंगिएका थिए। माघ १७ गते बिहान मोरङबाट आएका राम खत्री ती चित्र नियाल्दै थिए। विभिन्न ठाउँबाट आएका कलाकारले केवलकार निर्माणको विरोधमा चित्र बनाएका थिए। तर दुई दिनपछि त्यहाँका भित्तेचित्र नगरप्रहरीले मेटाइदियो।
कलाकारहरू सुवास थेवे, सुवास तामाङ, सारा कोइँच सुनुवार, मेख लिम्बू, किरण सिगू, सुवोध सिम्बू, सोनाम चाम्लिङलगायतले चित्र बनाएका थिए। चित्रमार्फत केवलकार निर्माण गर्न कसरी स्थानीयमाथि दमन भइरहेको छ भन्ने देखाइएको थियो। “कसरी यहाँका वनस्पति मासिँदैछन्, लिम्बूहरूको आस्थामाथि कसरी प्रहार भइरहेको छ भन्ने हामीले चित्रमा देखाएका हौँ,” कलाकार सुवास तामाङले भने।
भित्तामा नारासमेत लेखिएको थियो– ‘जंगल मास्न पाइँदैन’, ‘मुन्धुमी स्थल मास्न पाइँदैन’, ‘मुक्कुमलुङ हाम्रो चोत्लुङ हो’ आदि। “हामीले शान्तिपूर्ण विरोध गरेका थियौँ। कसैलाई असर पुर्याउने काम गरेका होइनौँ। कलामार्फत गरेको विरोध मेयरले दबाउन खोजे। सांकेतिक विरोध दबाउनु खेदजनक छ”, स्थानीय सरोज लिम्बूले भने।
सरकारले यसरी आन्दोलन दबाउनुभन्दा पनि स्थानीयले किन विरोध गरेका छन् भनेर बुझ्ने कोशिश गर्नुपर्ने सरोज बताउँछन्। सरकारले जबरजस्ती गरिरहे आन्दोलन अझै सशक्त बनाउँदै जाने उनको भनाइ छ।
फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले नगरप्रहरीले उक्त भित्तेचित्र मेटाएको स्वीकार गरे। नगरपालिकाभित्र भित्तामा अनुमति नलिई चित्र बनाइएका कारण मेटाइएको उनको दाबी छ। “अनुमति नलिई सामाजिक सद्भाव भड्काउने नारा लेखिएको थियो। नगरपालिकाभित्र जेसुकै लेख्न दिँदा अर्को ठाउँमा पनि लेख्लान्। त्यसले राम्रो गर्दैन,” उनले भने।
केवलकार निर्माणको शुरूदेखि नै विरोध
केवलकार निर्माणको विवाद शुरूदेखि नै चलिरहेको छ। यो क्षेत्र पहिले कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्थ्यो। कञ्चनजंघा संरक्षित क्षेत्रको जग्गा फुङलिङ नगरपालिकाले यती समूहलाई प्रयोग गर्न दिएको भन्दै सर्वोच्चमा रिटसमेत परेको थियो।
तर सरकारले २०७५ सालमा उक्त जग्गा संरक्षित क्षेत्रबाट हटाएर पाथीभरा विकास क्षेत्र समिति मातहत ल्याउने निर्णय गर्यो। त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार थियो।
विरोधका बाबजुद पनि सरकारले निजी कम्पनीलाई केवलकार बनाउन अनुमति दिएपछि स्थानीयले २०७७ सालदेखि संघर्ष समिति बनाएर विरोध थालेको संघर्ष समिति संयोजक श्री लिङ्खिमले बताए। उनले भने, “हामीले शुरूदेखि नै केवलकार निर्माणको विरोध जनाएका हौँ। सरकारले जबरजस्ती निजी कम्पनीलाई सुरक्षा दिएर केवलकार बनाउन लागिरहेको छ। तर हामी बनाउन दिँदैनौँँ।”
स्थानीयको विरोधकै कारण लामो समय केवलकार निर्माणको काम शुरू हुन सकेको थिएन। तर व्यवसायी चन्द्र ढकालको पाथीभरा दर्शन केबलकार प्रालिले केवलकार निर्माणको काम थालेपछि आन्दोलनकारी र निर्माण पक्षबीच पटकपटक झडप भयो।
पाथीभरा मन्दिरसम्म २.७४ किलोमिटर लामो केवलकार निर्माण हुन थालिसकेको छ। निर्माण कम्पनीले रुख कटान शुरू गर्ने भएपछि स्थानीयले फुङलिङ नगरपालिका–११, बलुडाँडामा जम्मा भएर विरोध जनाएका थिए। निर्माण कम्पनीलाई रोक्न उनीहरू रात बिहान ड्युटी बस्थे। विरोधका बाबजुद सशस्त्र र नेपाल प्रहरीको सहयोगमा करिब १२ हजार रुख काटिए।
फुङलिङका नगरप्रमुख मादेन जसरी पनि केवलकार निर्माण गर्नुपर्ने पक्षमा छन्। विकासका लागि केही विनाश हुने भएकाले चिन्ता लिने विषय नभएको मादेन बताउँछन्। उनी भन्छन्, “ती बूढा भएका रुख काटिएको हो, त्यसमाथि गुराँस खासै थिएन। केवलकारको बाटोको लागि अलिकति काटिएको हो। सरकारकै अनुमतिले त काटेको हो, यसमा लफडा गर्नुपर्ने कुरै छैन।”
पटक-पटक झडप, टुंगिएन विवाद
२०८१ कात्तिक २३ गते केवलकार निर्माणका लागि शिलान्यास गर्दा पनि झडप भएको थियो। तल्लोफेदीस्थित काफ्लेपाटीमा केवलकारको तल्लो स्टेसनको शिलान्यास गर्ने कार्यक्रम थियो। शिलान्यासका लागि एमालेका जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरप्रमुख मादेनलगायतको उपस्थिति थियो।
केवलकार निर्माणको विपक्षमा रहेका अभियन्ता विरोधमा उत्रिएपछि झडप भएको थियो। उक्त झडपमा घाइते भएका चन्द्र मादेनले भने, “हामी त्यहाँ पुगेर प्रहरीसँग छलफल गर्दै थियौँ। शान्तिपूर्ण विरोध गर्ने जानकारी गराएका थियौँ। तर निर्माण पक्षका मानिस एकाएक आएर हामीमाथि ढुंगामुढा र खुकुरी प्रहार गर्न थाले।”
प्रहरीले झडपमा एउटा पक्षलाई मात्रै निशाना बनाएको उनी बताउँछन्। झडपमा उनको हात भाँचियो। “प्रहरी र केही सिभिल ड्रेसका केटाहरूले मलाई घेरेर ‘ठोक यसलाई’ भन्दै लट्ठीले हान्न थाले। मेरो हात कति बेला भाँचियो, मलाई थाहा नै भएन। पछि बेहोस भएँछु,”
चन्द्रको हातमा स्टिल प्लेट हालियो र टाउकोमा पाँच टाँका लगाइयो। त्यसबेला उनीसँगै थुप्रै आन्दोलनकारी घाइते भए।
केवलकार निर्माणको शिलान्यास भइसकेपछि पनि निर्माण पक्ष र विरोधी पक्षबीच दुईपटक ठूलो झडप भइसकेको छ। २०८१ माघ १२ गते बलुडाँडामा आन्दोलनकारीसँग झडप हुँदा प्रहरीले गोलीसमेत चलाएको थियो। यामबहादुर लिम्बू, सगुन लावती, रोजन लिम्बूलाई गोली लागेको थियो। उक्त घटनामा ६० जना घाइते भएका थिए। १७ वर्षका सगुन लावतीको छातीमै गोली लागेको थियो। कसैको कुम भाँचिएको थियो, कसैको खुट्टा।
केवलकार निर्माणको नाममा स्थानीय पहिचान मास्ने काम हुन थालेपछि आफू यो आन्दोलनमा जोडिएको घाइते लावती बताउँछन्। उनी भन्छन्, “मुक्कुमलुङ हाम्रो आस्थाको केन्द्र हो। जब हाम्रो धार्मिक र सांस्कृतिक स्थलमाथि अतिक्रमण हुन थाल्यो, केबलकार निर्माणको नाममा प्रकृति र आस्थाको धरोहर मासिने अवस्था आयो, तब मेरो मनले मानेन र आन्दोलनमा आएँ।”
२०८१ फागुन १० मा पनि फुङलिङ बजारमा केवलकार खारेजीका लागि र्याली निकालिएको थियो। त्यसबेला प्रहरीले लाठीचार्ज गरेको थियो। झडप बढ्दै गएपछि कफ्र्यूसमेत लगाइएको थियो।
पेलेरै लैजाने दाउमा सरकार
स्थानीयको विरोधका बाबजुद केवलकार निर्माणको काम धमाधम भइरहेको छ। हिमालय कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ। कम्पनीका सञ्चालक इन्द्र केदेमले निर्माणको ५० प्रतिशत काम सकिन लागेको बताए।
केवलकारको बटम स्टेसनको काम सकाउन लागेको र अब टप स्टेसन तथा बीचमा तारको काम बाँकी रहेको केदेमले बताए। आगामी दशैँसम्ममा केवलकार सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ। “काम सकिएपछि धमाधम केवलकार चल्छ। केही हुँदैन। अवरोध आयो भने हामी पनि भिड्छौँ। राज्यले पनि काम गर्नलाई सहयोग गरिरहेको छ,” उनले भने।
सरकारको सहयोगमा निर्माण भएकाले सीमित मान्छेहरूको विरोधसँग नडराउने नगरप्रमुख मादेनले बताए। “विरोध गर्दै गर्छन्, राज्यले सुरक्षा दिएर शुरू भएको काम हुन्छ,” उनले भने, “यसको विरोध गर्नेले हाम्रो मुन्धुमी स्थल मासिन्छ भन्छन्। तर उनीहरूको मुन्धुमी स्थल त भत्किने होइन नि, झन् संरक्षण हुन्छ।”
स्थानीयभन्दा बाहिरका मानिसले केवलकारको विरोध गरेको मादेनको दाबी छ। संरचना बनिसकेपछि विरोधको स्रोत बिस्तारै हराउँदै जाने पनि उनले बताए। केवलकार बनेपछि बुढाबुढी, केटाकेटी र तराइबासीका लागि सहज हुने र अहिलेभन्दा धेरै पर्यटक भित्र्याउन मद्दत गर्ने उनको तर्क छ।
तर केवलकार खारेजी समूह निर्माण सम्पन्न हुन नदिने पक्षमा छन्। सरकारले पेलेरै लैजाने नीति लिए आफूहरू पनि पछि नहट्ने आन्दोलनकारी विशाल लिम्बू बताउँछन्। “स्थानीयको भावना विपरीत व्यावसायीको पक्षमा किन राज्यको शक्ति खर्चिएको हो?” उनी भन्छन्, “हाम्रो आस्था जोगाउनुपर्छ, यो मास्नु हुँदैन भन्दा हामीमाथि गोली ठोक्ने कस्तो सरकार हो?”
ताप्लेजुङमा आगामी निर्वाचनको मुख्य अजेन्डा केवलकार निर्माणको विषय पनि भएको छ। केवलकार खारेजी समूह चुनावकै बेला पनि आन्दोलनरत छन्। तर उनीहरूको आवाजलाई जेन–जी आन्दोलन पछि बनेको सरकारले पनि नसुनेकोे मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिम बताउँछन्। निर्वाचन पछि आउने सरकारले स्थानीयको मागलाई सम्बोधन गर्नेमा उनीहरू आशावादी देखिन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
