आमनिर्वाचन र ‘सोसल टेक्टोनिक’ अध्ययन

प्रजातन्त्र, लोकतन्त्र, नैतिकता र सामाजिक मर्यादाभित्र बसेका नेताहरूले मात्रै यो परिवर्तन व्यवस्थापन गर्न सक्छन्। निरकुंश र सर्वसत्तावादीले यस्तो सिर्जनशील तथा प्रगतिशील सामाजिक चेतना बुझेका हुँदैनन्।

कन्टिनेन्टल ड्रिफ्ट सिद्धान्तअनुसार सामान्यतः बाहिर शान्त देखिए पनि पृथ्वीको सतहभित्रका ठूलाठूला चट्टान (प्लेट) हरू निरन्तर चलायमान हुन्छन् र यताउति सर्छन्। त्यही हलचलकै कारण भूकम्प, जमिनी हलचल, ज्वालामुखी विस्फोट र सुनामीजस्ता परिघटना हूने गर्छन्, जसले पृथ्वीको सतहका धेरै स्थलगत भूबनोट–भूआकृति र प्राकृतिक संरचनाको रूपरेखा नै बदलिन्छ। करोडौँ वर्षयता पृथ्वीको तलपटल (लिथोस्फेयर एन्ड एस्थेनोस्फेयर) चलायमान छ। यो एक निरन्तर र गतिशील प्रक्रिया हो, किनकि पृथ्वीको भित्री (कोर) क्षेत्र निकै तातो छ। सो ताप शक्तिको प्रसारण थर्मोडाइनामिक्स प्रोसेसका कारण हमेसा सतहतिर भइरहेको हुन्छ।

यही ताप शक्तिको (थर्मल) फैलावट, अवशोषण र सञ्चितिजस्ता कारणबाट यी प्लेटहरूको हिँडाई, तैराइ, गति, टकरावपनाको क्षमता र दिशा निर्धारण हुन्छ। अर्थात् पृथ्वीभित्रको सञ्चित शक्ति सन्तुलन नमिल्दा (असन्तुलन हुँदा) यस्तो प्लेट टकराब उत्पन्न भएको देखिन्छ। उक्त टकराब ज्यादै शक्तिशाली भए भूबनोटमा उग्र परिवर्तन ल्याउँछन्। जस्तो, पचास मिलियन वर्षअघि भारतीय प्लेट र यूरेसियन प्लेटको शक्तिशाली टकरावले हिमालय पर्वत सिर्जना भएको तथ्य यही हो। वैज्ञानिकहरूका अनुसार पृथ्वीमुनि सात वटा मुख्य प्लेट र १२ वटा सहायक प्लेट तथा अन्य ससाना प्लेट त सयभन्दा बढी छन्, जो निरन्तर यताउति गरिरहन्छन्।

जसरी पृथ्वीभित्रका यी प्लेटहरूको मूभमेन्ट र भौगर्भिक परिवर्तनबारे जिओलोजिस्टहरूले अध्ययन गर्छन्, उसरी नै समाजभित्र पनि भइरहने हलचलको अध्ययन सोसल इन्जिनियर, पोलिटिसियन, समाजशास्त्री र इतिहासकारहरूले गर्न सक्छन्। आवधिक निर्वाचन वा आम निर्वाचनमा यसरी समाजमा हुने हलचलको धेरै स्वरूप र ढाँचामा अध्ययन गर्ने मौका मिल्छ पनि। समाजभित्र पसेर अध्ययन गर्न मिल्ने एक अवसर हो पनि हो यो।

प्रख्यात समाजशास्त्री टी पार्सन्स (सन् १९०२) का अनुसार यो हलचल सामाजिक संरचनाहरूको अन्तरक्रिया, गति, स्थिरता र सन्तुलनले निर्धारण गर्छ। सोसल इनर्जी इम्ब्यालेन्सका कारण यी सोसल प्लेटहरू आपसमा ठोकिन्छन् र समाजको आर्थिक, सामाजिक र सांस्कृतिक संरचना, बनोट–रूपरेखा र अर्थ प्रणालीमा निरन्तर रूपान्तरण तथा परिवर्तन ल्याउँछन्। यसले इतिहासका खण्ड र चिराहरू हेर्न सघाउँछ।

सोसल स्ट्रक्चरल डाइनामिक्स पनि हो सोसल टेक्टोनिक्स, जून समाजको उत्पादन शक्तिको विकास, उत्पादन सम्बन्ध र पुँजी सञ्चिति तथा आय वितरण, सामाजिक सम्बन्ध, वर्ग संर्घषको स्थिति, सांस्कृतिक मूल्य, परम्परा-विश्वास र सामाजिक संस्थाहरूको प्रबलीकरणलगायत धेरै तत्त्वहरूमा निर्भर रहन्छ। निरन्तर भइरहने ऐतिहासिक सामाजिक प्रक्रिया हो यस्तो हलचल। इतिहास निर्माण–विनिर्माणको युगीन सिलसिला पनि हो यो। 

सोसल प्लेटहरूको संरचना र बनोट
प्रथमतः यस्ता सामाजिक प्लेट (सोसल तह, तप्का, स्ट्रकचर वा स्ट्राटा) कसरी बन्छन्? तिनीहरूको अस्तित्व र हलचल कस्तो हुन्छ? यिनीहरू कसरी टकराउन पुग्छन्, जसले हाम्रो समाजमा बाहिर र भित्र (रूप र सार) मा के कस्तो परिवर्तन ल्याउँछ भन्नेमा परिचर्चा गरौँ। 

प्रख्यात लेखक वाइएन हरारीको सेपियन्स (२०१४) अनुसार ढुङ्गे युगबाट सभ्यता अगाडि बढ्दै जाँदा करिब दश हजार वर्षअघि जब मानिस कृषि उत्पादन पेसामा लागे, तब एक सङ्गठित र सहकारी समाज, भूगोल र शासन क्षेत्र हुँदै तिनले राज्य पनि बनाए। कोही एकै ठाउँमा बसे भने कोही त सयौँ वर्षसम्म बसाइसराइ गर्नेहरू पनि भए। जे भए पनि एक स्थानमा बसेपछि सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू बन्दै गए। तर उत्पादन सम्बन्धको विकाससँगै धर्म, परिवार, जातपात, वर्ण व्यवस्था र राज्य संरचना तथा विकसित राज्य प्रणाली बन्यो। अनि जनताहरू शासक र शासितका रूपमा पनि विभाजित देखिँदै गए। 

यसरी समाजशास्त्रीय दृष्टिबाट हेर्दा धेरै सोसल भेरियबल्स (चरमान) का आधारमा समाजमा वर्ग, तह, समूह र तप्काहरूबाट नै सोसल स्ट्रकचर (सामाजिक संरचना)हरू निर्माण हुँदै गए भन्न सकिन्छ। आर्थिक चरमध्ये उत्पादन र धन (आय) वितरणका आधारमा हेर्दा कामदार वर्ग (मजदुर, किसान र मेहनती वर्ग) र सामन्त वा पुँजीपति वर्ग बन्यो, जसबाट वर्गीय संरचना बन्यो। सामाजिक–सांस्कृतिक चरमा हेर्दा यस्ता सयौँ तह र तप्काहरूको संरचनाहरू वर्णन गर्न सकिन्छ। जस्तै: जातीय रूपमा उचनिच, उपल्लो-तल्लो र दलित वा उत्पीडित सामाजिक संरचनाका रूपमा देखिन्छ।

रहनसहन, भाषा, लिपी र लवजबाट हेर्दा धेरै रैथाने, आदिवासी र अनेकन् भाषिक समूहमा बाँड्न सकियो नै। धर्म र पन्थका दृष्टिले कृश्चियन, हिन्दू वा मुसलमानजस्तै भन्न सकियो। खासगरी मार्क्सले भनेजस्तो ऐतिहासिक उत्पादन सम्बन्ध र ऐतिहासिक अर्थराजनीतिक दृष्टिले हेर्दा शोषित र शोषक वर्ग (इकोनोमक क्लास) मा विभाजित गरी सामाजिक अन्याय, असमानता र विभेदको अवस्थाबाट सोसल डाइनामिक्सलाई व्याख्या गर्न भने निकै सजिलो पार्छ। यसरी नै सबाल्र्टनीटी अबधारणाबाट हेर्दा राज्यशक्तिमा पहुँच भएका पावरफूल र पावरलेस–पिँधका वर्गान्तर बन्ने गर्छन्।

सत्ता र शक्ति केन्द्रीयकरणबाट हेर्दा पावर एलिट (अभिजात/स्थापित) र कमन (आम/सीमान्तकृत) वर्गजन्य संरचनाहरू बन्छन्। पेसागत रूपमा हेर्दा विद्यार्थी, वकिल, डाक्टर, शिक्षक, शिल्पकारजस्ता धेरै तह वर्ग बन्छन्। यति बेला आएको पुस्तान्तरणको बहसबाट हेर्दा बूमर, जेनएक्स, जेनवाई, जेनजी र जेन अल्फा भनी पुस्ता वर्गान्तरको नयाँ संरचना पनि भन्न सकियो नै। जेनेरेसन स्ट्राटाले पुस्ताहरू बीचको चेतना र सिर्जनात्मक चिन्तनलाई केन्द्रमा राखी अध्ययन गर्छ। 

यसरी वर्गीकरण गरिएका यी सबै समूहहरू बाउन्ड्रीसहित एक निश्चित स्वरूपीय संरचना (फर्म) मा रहने भए। अर्थात्, त्यहाँ सोसल परत (फेब्रिक एन्ड लेअर) बन्न गयो, जहाँ यी तह, तप्का, ब्लक, वर्ग, समूह वा यस्तै प्रदायकको संरचित रूपरेखामा नै सङ्गठित र समूहकृत (ग्रूपिङ) रूपले अस्तित्वमा रहने देखिए। बीचमा चाहिँ विभाजन रेखा (फल्ट लाइन) बन्ने भए र हमेसा यिनका बीच अन्तर समूह सामाजिक प्रतिस्पर्धा, संघर्ष, स्वार्थ र द्वन्द्व र टकराब लिएर प्रकट हुने चरित्रमा देखिन सक्ने भए।

यस्तो समूहगत संरचनालाई नै सोसल प्लेट भन्न सकिन्छ। यी सोसल प्लेटहरूबीच सामान्य हलचलदेखि शक्तिशाली टकराबहरू सिर्जित भएको हुन्छ, जसलाई राजनीतिक शक्तिको प्रयोगबाट सन्तुलनमा ल्याउने र स्थिरता प्रदान गर्ने कार्यहरू भएका हुन्छन्। जति जति समाजमा अन्याय, अत्याचार, विभेद, सिमान्तकरण, वर्गीय असमानता, थिचोमिचो, कुशासन र निरङ्कुशता लादिन्छ, उति उति सामाजिक घातक शक्ति (सोसल काइनेटिक इनर्जी) पैदा हुन्छ, जसबाट सामाजिक हलचलहरू बढ्दै जान्छन्। समाजभित्र भइरहने यस्ता टेक्टोनिक हलचलहरूको अवस्था र गतिशीलता जान्ने बुझ्ने, प्रक्षेपण गर्ने र यिनको क्षति रोकथाम गर्ने कार्य नै राजनीतिज्ञहरूको हो।

खासमा यस्ता हलचलहरू आउँदा केही संकेतहरू, ससाना धक्का र पूर्वचेतावनी आएका पनि हुन्छन्। नेपालमा युवा पुस्ताले जेनजी आन्दोलन अघि पनि समाजलाई पूर्व चेतावनी दिएको थियो। तर हाम्रा नेताहरूले चेतावनीलाई वास्ता गरेनन्। अनि एक्कासि २०८२ भदौमा आएको शक्तिशाली जेनजी सुनामीले यिनलाई बगायो। यस्तो हलचल अबको निर्वाचनमा पनि देखिँदै छ। युवा उम्मेदवारको पछिपछि भइरहेको ठुलो भीड र उच्च जनमतले यो संकेत देखाइरहेको छ। आवधिक निर्वाचनको जनमत पनि समाजमा हलचल ल्याउने वैधानिक निर्धारक औजार हुन्, जसले यथास्थितिवादमाथि हान्ने प्रहार र झड्कालाई बढावा गर्छ। यस्तो सोसल टेक्टोनिकबारे थप जान्न आम निर्वाचनको यही घडीमा  जनता र समाजका बीचमा पस्दा हुन्छ। 

टकराब घटाउने आवधिक निर्वाचन र सामाजिक करार 
जेजे रुसो र अर्थशास्त्री अमर्त्य सेनका अनुसार आधुनिक राज्यको गठन र सञ्चालन सोसल कन्ट्रयाक्ट सिद्धान्तको ढाँचाभित्र अधिकतम नागरिकहरूका लागि लिबर्टी, फ्रिविल र सामाजिक न्याय प्रत्याभूतिको सुनिश्चितताको आधारमा हुने गरेको मानिन्छ। राज्यले सरकार, सेना, प्रहरी र शासन प्रणाली बनाउन र चलाउन पाउँछ र जनतालाई सुरक्षा, रोजगारी, शिक्षा लगायत आधारभूत सेवा पनि प्रदान गर्नुपर्छ। त्यसका लागि जनताले राज्यले थोपर्ने आर्थिक बोझ, कर, शुल्क र जरिवानाहरू तिर्छन्। यी सबै कार्यहरू नेसन–स्टेट डायलेक्टिक बमोजिम सोसल कन्ट्रयाक्टको ढाँचामा सम्पादन गरिन्छ। अर्थात्, जनताउपर शासन गर्न यहाँ राज्य निर्वाचित, नैतिक, जनकल्याणकारी र उदारवादी–लोकतन्त्रवादी हुनुपर्छ भन्ने हो। यो बेला समाज सापेक्षिक सन्तुलनमा रहन्छ। अनिर्वाचित, निरङ्कुश र सर्वसत्तावादी शासकसँग जनताहरूले सामाजिक करार नै गर्न सक्दैनन्।

नागरिकहरूका आवश्यकता र समस्या (सोसल निड) धेरै हुन्छन्। यी आवाजहरू समयसापेक्ष पनि हुन्छन्, जो राज्यले दायित्वबोध गरी समाधान गर्नुपर्ने देखिन्छ। धेरै तह, तप्का र वर्ग (सोसल स्ट्राटा–प्लेट्स) को आआफ्नै आवश्यकता र माग भइरहेको हुन्छ। सामान्य भाषामा भन्दा सबै तहको राजनीतिक अधिकार सुनिश्चिततासहित शोषण, दमन, असमानता र अन्यायको अन्त्य भएको समाज नै सबैले अपेक्षा गर्छन्। यो सामाजिक आदर्श स्थापना गर्ने काम नीतिगत र कार्यक्रमगत तवरले राज्यले सम्बोधन गर्नुपर्छ। अन्यथा भए यसबिरुद्ध आन्दोलन, संघर्ष र विद्रोहहरू उठ्छन्। यो नै सामाजिक टकराब, द्वन्द्व र प्रतिरोध हो। कहिलेकाहीँ त यो साम्प्रदायिक हिंसा, सिभिल वार, भयानक गृहयुद्ध र नरसंहारजस्ता विनाशक घटनातिर पनि मोडिन जान्छ। यसैले राज्यका शासकहरूले नागरिकसँग कहिल्यै पनि टकराब लिन हुँदैन। जनतासँग निरन्तर संवाद र सहकार्यबाट स्थापित निर्वाचित राजकीय प्रशासन नै कल्याणकारी राज्य प्रणालीको अनिवार्य सर्त मानिन्छ।

आमचुनाव: राजनीतिक र सामाजिक अन्तर्द्वन्द्व अध्ययन गरौँ 
जुनसुकै समाजमा निरन्तर वर्गीय चेतना वा सामुदायिक चेतना पैदा भइरहेको हुन्छ, जसमा उक्त समाज सुखी र समृद्ध (स्टेट अफ विङ विथ क्वालिटी कन्डिसन) छ या छैन भनेर समाजले हरहमेसा परीक्षण पनि गरिरहेको हुन्छ। यसरी आएको स्वचेतना समाजभित्रै इम्पीरिकल प्रयोग हुँदै थेसिस–एन्टिथेसिस–सिन्थेसिस विचार चक्रमा निरन्तर विकसित पनि भइरहन्छ। यही विकसित चेतनामाथि समाजले अपनत्व लिन्छ। यस्तो चेतनालाई कार्ल मार्क्सले क्लास कन्ससनेस भनेका छन् भने फ्रेन्च समाजशास्त्री इमाइली दुर्खिमले रुल अफ सोसल मेथड (१९८२) मा कलेक्टीभ कन्ससनेस भनेर परिभाषित गरेका छन्।

यो चेतना शिक्षा, विज्ञान, प्रविधिका साथै सोसल डाइलेक्टिक्सले उन्नतिकृत गरेको हुन्छ। समाजमा नयाँ नयाँ बहस, खोज र चिन्तनको विकास हुँदै जाँदा समाज निरन्तर पुरानो प्रणालीबाट नयाँ प्रणालीमा फड्केर जान खोज्छ, जसलाई समाजको संरचनागत परिवर्तन वा सामाजिक रूपान्तरण भन्ने गरिन्छ। यस्तो बेला समाजको स्थापित र परम्परावादी बिचारसमेत विनिर्माण भइरहन्छ। जस्तै, औपनिवेशिक राजनीति राष्ट्रिय मुक्ति आन्दोलनतिर जान्छ, सामन्तवादी विचार पुँजीवादी विचारले प्रतिस्थापन गर्छन् भने यी विचार अझै विकसित भई जनवाद र समाजवादतिर पनि गइरहेका हुन्छन्।

एकात्मक र केन्द्रीय अधिनायकवादी संरचनाहरू विखण्डित भई बहुलता, स्थानीयता, क्षेत्रीयता र सङ्घात्मकताजस्ता ढाँचामा जान्छन्। यहीँनिर नयाँ शासकीय प्रणालीको जरुरत पनि पर्छ जसले समाजमा पुरानो, थोत्रो र काम नलाग्ने अंग र प्रणालीहरू विस्थापन गरी नयाँ अर्डर, नयाँ मटेरियल सम्बन्ध, नयाँ पावर रिलेसन र नयाँ स्ट्रक्चर अफ सोसल एलिमेन्ट बनाउन माग गर्छ। यो सोसल इनर्जी निर्सृतिकरणको नियमित श्रृखंला हो। यसो भएन भने सामाजिक शक्तिको उग्र संचितीकरण अर्थात् तीव्र सोसल टेक्टोनिक हलचलले अझ भयंकर शक्ति उत्सर्जन गर्छ र पुरानो समाज सम्पर्णुतः विनाश गरी सिद्ध्याउने क्रान्तिसमेत निम्ताउने अवस्था पैदा हुन्छ।

सोसल कन्साइन्स अर्थात् सामाजिक हितकारिता, सामूहिक अस्तित्व र समूहकृत (प्लेट इन्ट्रेस्ट) स्वार्थ रक्षाको कारण समाज रूपान्तरणको अनिवार्य ऐतिहासिक आवश्यकतालाई यतिखेरै सामाजिक परिवर्तनको रूपमा सिर्जित गर्छ। अर्थात् सामाजिक टेक्टोनिक्सहरू समाज विनिर्माण (डिकन्स्ट्रक्सन) को प्रक्रिया पनि बन्छन्। यी प्रक्रिया नै क्रान्ति र विद्रोह हुन्छन्।

यति बेला सोसल करारअन्तर्गत आवधिक निर्वाचन र नयाँ नेताको छनौट, नयाँ संविधान र कानुनहरूको तर्जुमालगायत उन्नत विधिगत सम्बन्धहरू बनाइन्छन् र ती सामाजिक सम्बन्धहरू नवीकरण पनि गरिन्छन्। यस्ता उन्नत सम्बन्धले विद्रोह निरूपण गर्छन् र समाजमा सन्तुलित अवस्था ल्याउँछन्। तब मात्र समाज स्थायित्व र समृद्धितर्फ हिँड्छ। यिनै कुराको हेक्का राजनीतिज्ञहरूले गर्ने हो र नयाँ व्यवस्थापन एवं नयाँ नेतृत्वमार्फत बिग्रेको समाजलाई विकसित समाजतिर लैजाने हो। प्रजातन्त्र, लोकतन्त्र, नैतिकता र सामाजिक मर्यादाभित्र बसेका नेताहरूले मात्रै यो परिवर्तन व्यवस्थापन गर्न सक्छन्। निरकुंश र सर्वसत्तावादीले यस्तो सिर्जनशील तथा प्रगतिशील सामाजिक चेतना बुझेका हुँदैनन्। र त यिनलाई सामाजिक आन्दोलनको मर्म थाहा हुँदैन।

भरखरै, २०८२ मा नेपालमा भएको जेनजी पुस्ताको राजनीतिक विद्रोहको शक्तिबाट पैदा भएको सोसल टेक्टोनिक झड्काले यहाँ व्यापक सामाजिक हलचल पैदा गर्‍यो। यसले पुरानो, थोत्रो र भ्रष्ट आचरणको राज्यसत्ताका कतिपय दिर्घरोगी-सामाजिक विचार र संरचनाहरू (माल–स्ट्रचकर) विस्थापन गरी सोसल कन्साइन्सको अवधारणा बमोजिम नयाँ, प्रगतिशील, कल्याणकारी, न्यायिक र जनमुखी स्वस्थ शासकीय प्रारूपलाई स्थापना गर्न खोजेको छ भन्न सकिन्छ।

यसर्थ, सबै राजनीतिकर्मीहरूलाई यो जेनजी गतिशीलता, उत्पन्न जेनजी तप्काको शक्ति र सोसल टेक्टोनिक्सलाई अझै मिहिन रूपले अध्ययन गर्न आउँदो निर्वाचनका गतिविधिले सहयोग गर्ला। किनकि निर्वाचनका समयमा यी गतिशीलता र अन्तर्विरोधहरू बाहिर प्रस्ट देखा पर्छन्। तसर्थ, यो विशिष्ट परिस्थितिको चुनावलाई हाम्रो समाज विनिर्माणको युगीन परिघटनाका रूपमा बुझ्न पनि सकिन्छ। अतः नेपालको समग्र सोसल टेक्टोनिक थप गहिरो गरी बुझ्न निर्वाचन गतिविधिमा सक्रिय रहँदै समाजको अध्ययन पनि गरौँ। वर्षौँदेखि समाजमा दबिएर रहेका मुद्दाहरू उठाऔँ। साथै समाजभित्रका अन्याय, अत्याचार, उत्पीडन, कुशासन, विभेद, सिमान्तीकरण र सामाजिक न्याय र यिनलाई सम्बोधन गर्ने राजनीतिक प्रणाली, पात्र र प्रवृत्तिहरूको रूपरेखा, विचार चेतना, दर्शन, गति, दिशा र छनौट बारे पनि उक्त समाज र त्यहाँका जनताबीच मन्थन गरौँ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)