अवकाशको अन्तिम घुम्तीमा ‘डासो रिजाल’

अथक राजनीतिक संघर्ष र जनबोलीको प्रेरणा रहेका भुटानी नेता टेकनाथ रिजाललाई कुनैबेला ‘नेल्सन मन्डेला’झैँ साधक मानिन्थ्यो। उनै रिजाल आज संघर्षको सिंगो इतिहास र दायित्व भुलेर अवकाश लिने क्षणमा आइपुगेका छन्।

काठमाडौँ– विगतमा भुटानी प्रजातन्त्र, मानव अधिकार र जनआवाजको पर्याय नामझैँ बनेका टेकनाथ रिजालले आफ्नो संघर्षको सम्पूर्ण सक्रिय जीवनबाट अवकाश लिँदै बूढ्यौली उमेर, अवस्था तथा आइपरेका विभिन्न परिबन्दमाझ एकान्तिक जीवन बिताउने अठोट गरेका छन्।

२०७९ चैतमा नक्कली भुटानी शरणार्थी निमाताहरुको प्रकरण बाहिरिएपछि जोडिएको बयान र उजुरीका आधारमा २०८० जेठ ४ गते पक्राउ परेका रिजाल त्यसयता न्यायिक निरूपण क्रममै छन्। पक्राउ परेर झण्डै आठ महिना पुर्पक्ष थुनामा रहेपछि धरौटी रकम बुझाउँदै थुनामुक्त भएका रिजाल न्यायिक निरूपण चाँडै टुंगिने र आफूले न्याय पाउने भरोसामा बस्दै आएका छन्। काठमाडौँमा एक आफन्तकहाँ शरणागत ७८ वर्षीय रिजालले न्यायिक प्रक्रिया पनि लम्बिँदै गएपछि र आफ्नो संघर्षको इतिहास तथा प्रतिष्ठामा सधैँ प्रश्न गरिरहने अवस्थाबाट मुक्त हुन सक्रिय जीवनबाट अवकाश लिने निधो गरेका हुन्।

भुटानमा मानव अधिकारको संवर्द्धन र विशेषतः नेपालीभाषी भुटानी (ल्होत्साम्पा) समुदायको भेषभुसा, भाषा–संस्कृति तथा इतिहासको जर्गेना हुनुपर्छ भन्ने अडानमा अभियन्ता बनेका रिजाल सन् १९८९ देखि लगातार १० वर्ष भुटानी जेलमा राजबन्दी हैसियतमा थुनिएका थिए। उनी जेल पर्ने क्रमसँगै भुटानले दक्षिणी भुटानमा रहेका १ लाखभन्दा बढी नेपाली भाषीलाई देश निकाला गर्ने र नेपालमा शरणार्थी हैसियतमा राख्ने प्रपञ्च थालेको थियो। जबरजस्ती देश निकाला विरुद्धमा अभियान चलाउने ५० भन्दा बढी भुटानीलाई त्यही बेलादेखि थुनामा राख्दै आएको थियो। तीमध्ये भुटानका चेम्बाङ, रबुना, साम्द्रुप जोंखखर आदि जेलमा ३२ जना राजबन्दी आजीवन कारावासमा छँदै छन्। रिजाल भने भुटानमा जेलनेल भोगाइपछि सन् २००३ यता नेपाल आएर झापा (बिर्तामोड) बसोबास गर्दै आएका थिए। 

सन् ९० को दशकयता नेपालमा बसोबास थालेका भुटानी शरणार्थीलाई अमेरिका, बेलायतलगायत पश्चिमा मुलुकमा पुर्नर्वासमा लैजाने योजना अघि बढ्नासाथ यसको विरोधमा उत्रनेमध्ये प्रमुख दुई नेता थिए— डा. भम्पा राई र टेकनाथ रिजाल। कुनै समय भुटानमा राजकीय परिषद्का सल्लाहकार, राज्यसभा सदस्य र दक्षिणी भुटानको लामिडाँडा क्षेत्रका निर्वाचित विधायक ‘डासो टेकनाथ रिजाल’ भुटानी शरणार्थीको पुर्नबसोबास योजना खारेज गर्न सफल भएनन् नै, शरणार्थीको स्वैच्छिक घरफिर्ती अभियान पनि सधैँ अधुरै रह्यो। 

स्वयं रिजालकै तीनजना छोरा पनि पुर्नबसोबासको पक्षधर बनेर अमेरिका/क्यानडा छिरेपछि आफैसँग मानसिक र नैतिक रूपमा लड्नुपर्ने अवस्थामा अवस्थामा पुगेका थिए। रिजालले आफूलाई भुटानी शासक र राज्य संयन्त्रबाट ‘माइन्ड कन्ट्रोल’ गर्ने यन्त्र जडान गरिएको तथा कुनै ध्यान/विचारमा एकत्रित हुनबाट विचलित गराइदिने मनोविज्ञान विकसित गराइएको दाबी गर्दै आएका छन्। उनले यसबारे ‘टर्चर किलिङ मि सफ्टली’ कृति पनि लेखेका छन्। भुटानी राज्यको अमानवीय व्यवहार, दासता र जेल जीवनमाथि रिजालले लेखेको ‘निर्वासन’ कृति पनि रहेको छ।
⁎⁎⁎  
नेता रिजालले गत साउनमा अमेरिकाको ओहायोमा विश्व भुटानी हिन्दू संगठनले आयोजना गरेको विश्व शान्ति महायज्ञका अवसरमा सन्देश पठाउँदै आफ्नो सक्रिय जीवन र संघर्षको इतिहासबाट अवकाश लिने निधो गरेका थिए। आफूलाई के–कस्तो परिबन्द र कुन प्रपञ्चमाझ नेपाली राजनीतिमा संलग्न केही सक्रिय पात्रहरूले नक्कली शरणार्थी निर्माताको चंगुलमा जोडेका रहेछन् भन्नेबारे रिजाल पुस्तक लेख्दै छन्। उनले आफ्नो ‘स्वैच्छिक अवकाश प्रतिज्ञा पत्र’मा भने भुटान देश र जनताका निम्ति देखेको सपना पूरा गर्न/गराउन नसकेकोमा सिंगो पुस्तासमक्ष क्षमा मागेका छन्।

“मैले तन, मन र बचनले मेरो युवा अवस्थादेखि नै हाम्रा प्यारा नेपालीभाषी समुदायमाथि अन्याय हुँदा त्यसविरुद्ध आवज उठाउन शुरू गरेको थिएँ। भुटान सरकारको माथिल्लो (राजकीय सल्लाहकार) पदमा पुगेर पनि आफ्नो ज्यानको प्रवाह नगरी संघर्ष गरिरहेँ। अनेकन् आरोप लगाइए। देशबाट विस्थापित भएँ। पुनः इन्टरपोलको सहयोगमा नेपालबाट गिरफ्तारीमा परेँ र, भुटान सुपुर्दगी गरिएँ। मैले कहिले पनि मेरा प्यारा दाजुभाइ दिदी बहिनीहरूलाई आँच आउने कार्य गरिन। म दस वर्षसम्म जेलमा रहेँ। मलाई शारीरिक र मानसिक रूपमा विक्षिप्त पारेर  निर्दोष भनी कागज गरी रिहा गरियो। तैपनि देशभित्र बस्न दिइएन। देशबाट निष्कासित भएँ र पुनः नेपालमै आएँ, संघर्ष गरी रहेँ,” रिजालले अवकाशको प्रतिज्ञा पत्रमा लेखेका छन्।

उनले अगाडी भनेका छन्, “हो मैले लुलो हुनु थिएन, मैले भुटान सरकारका तर्फबाट भएका र गरिएका अन्यायविरुद्ध लड्ने भनेर  खाएको  कसम भुल्नु थिएन। त्यही भएर तमाम दाजुभाइ दिदी बहिनीहरूले अनिश्चित भविष्यको विकल्पका रूपमा तेस्रो देश स्थानान्तरण रोज्दा मैले आफूले गरेको संकल्प तोड्न सकिन। त्योबेला म तपाईंहरुको साथमा उभिन सकिन। त्यसबखत मैले तपाईंहरुको मन दुखाएँ। त्यो मेरो संकल्पको बाध्यता थियो भनेर बुझिदिनु होला।”

null

नेता रिजालले आफू जीवनको उत्तरार्धमा पुगेको भन्दै भुटानमा  आफूमाथि  मानसिक यातना दिने क्रममा जुन उपकरण र विधि (माइन्ड कन्ट्रोल) प्रयोग भएको थियो, त्यसको असर अहिले आएर सहिनसक्नु भएको बताएका छन्। दिनदिनै शिथिल हुँदै गएको यथास्थितिमाझ आफूले चाहँदा चाहँदै पनि भुटानी समाजका लागि देखेका सपना शारीरिक एवं मानसिक दुवै रूपले सम्हाल्न नसकिरहेको उनले स्वीकारेका छन्। 

“तैपनि मेरा दायित्व र संकल्पबाट विमुख भएको भने होइन। अब मैले यति मात्र भन्नु छ– यहाँहरूको प्रगतिले इतिहास रचोस्, तपाईंहरू माझबाटै असल नेतृत्व समाजले पावस, पूर्वी नेपालका शिविरहरूमा आज पनि आफ्नै सन्तान छन् तिनका लागि बोलिदिने नेतृत्व समाजले जन्माओस्। भुटानका कारागारमा अझै पनि नेपालीभाषी अनि सार्छोप दाजुभाइहरू राजनैतिक बन्दीका रूपमा  तड्पिरहेका छन्। तिनीहरूका लागि पनि न्यायको आवाज उठिरहोस्। मैले मेरो जीवनकालमै देश र जनताका नाममा गरेको संकल्प पुरा गर्न सकिन, त्यस सवालमा मबाट कथंकदाचित गल्ति भएर यहाँहरूको चित्त दुखाउन पुगेको भए हृदयबाटै क्षमाप्रार्थी छु,” रिजालको स्वीकारोक्ति छ।
⁎⁎⁎   
नेता रिजालले संघर्षको आफ्नो पहिचानबाट अवकाश लिए पनि अझै भुटानमा ल्होत्साम्पामाथि भइरहेको अत्याचार र दक्षिणी भुटानको गेलेफुलगायत स्थानमा नेपालीभाषीको चल–अचल सम्पत्ति लुटपाट–कब्जामाथि सरोकार राख्दै ‘हिसाबकिताब’ खुलाउन चाहेका छन्। भुटानको चिराङ जिल्ला (जौंखाक) अन्तर्गत लामिडाँडा गाउँ बस्ने रिजालको पैतृक तथा आफ्नो सम्पत्तिबारे अभिलेखमा राख्नकै निम्ति भए पनि सम्बद्ध सांसद, मण्डल, कारवारी आदिबाट प्रमाणित गराएर तयार पारिएको विवरणसमेत उनले सार्वजनिक गर्न चाहेका छन्। 

यो विवरणमा धनपति घिमिरे (पूर्वब्लक मण्डल, लामिडाँडा), तारानिधि बराल (पूर्वकारवारी, लामिडाँडा) सहित पूर्वसांसदहरू बुद्धमणि बराल (लामिडाँडा), दण्डपाणि खनाल (लामिडाँडा), पूर्णप्रसाद बस्नेत (चिराङ), आरबी मगर (चिराङ), आरबी गुरुङ (चिराङ), लोकनाथ बस्नेत (चिराङ), हरिप्रसाद अधिकारी (गेलेफु) समेत साक्षी–प्रमाण बनेका छन्। यस्तै, उनका दाजुहरू नन्दलाल रिजाल र चन्द्रलाल रिजालले समेत टेकनाथको सम्पत्ति प्रमाणित गरिदिएका छन्।

“इतिहास जित्नेहरूको मात्रै हुन्छ कि हार्नेहरूको पनि हुन्छ?,” आफ्नो श्रीसम्पत्ति र बाबु–बाजेदेखिको भोगचलन विरासत देखाउँदै रिजाल भन्छन्, “कुनै दिन म यो जगतमा नरहे पनि मेरो खुनपसिना र पुर्खाको नासोमा जोडिएको यो सम्पत्तिको अभिलेखसमेत म आफ्नो सक्रिय जीवनको बिसौनीसँगै सार्वजनिक गर्न चाहन्छु।” 

null

रिजालले उपलब्ध गराएको दक्षिणी भूटानस्थित उनको सम्पत्ति अभिलेख:

  • दर्ता भएको ठाम नं. २७० को सम्पूर्ण जमिन। (ठाडे खेत, डाँडा खेत, सुन्तले खेत, चोक्टीबारी, वरपीपलबारी, बाँसबारी, सिरुबारी डाँडा इत्यादि।) ठाडे खेतका सिरानमा एउटा तीनतले घर, व्यक्तिगत बिजुलीको जेनरेटर।  घरनजिकै एउटा दुईतले भान्सा घर, ढिकी कटेरो, गाई–ग्वाली र एउटा सानो मन्दिर।
  • यसै जमिनका समीपमा नरपति घिमिरेबाट एउटा सुन्तला बगानसहितको जमिन र घर। 
  • मानेडाँडाको गोम्देन डाँडामा गोविन्द अधिकारीबाट खरिद गरिएको पाँच ऐकर सुख्खा वारी।
  • लामिडाँडाका पूर्वसांसद धनबहादुर तामाङबाट धनेशे गाउँको सिरानेमा खरिद गरिएको पाँच ऐकर फल्ती अलैँचीबारी।
  • डम्फू शहर नजिकका गुरागाईं कारवारीसँग किनेको पाँच डिसिमल जमिन।
  • गणपति सुवेदीबाट धूपिडाँडा नजिक बाघसिंगेमा किनेको पाँच ऐकर जमिन। 
  • डासो टी. वांग्दीबाट गेलेफू शहर, फरेस्ट चेकपोस्ट नजिक खरिद गरिएको १० डिसिमल जमिन।
  • गेलेफूका पूर्वसांसद डासो डीबी सुवेदीकी श्रीमती डम्बरकुमारीबाट गेलेफू सेतीखरे नजिक किनेको एक ऐकर जमिन (फलफूल बगान), सानो पक्का घर निर्माण।
  • गेलेफूका पूर्वसांसद हरि अधिकारीसित सूर्यलाखा गाउँ नजिकमा लिएको एक ऐकर अलैँचीबारी।
  • लामिडाँडा बजारमा दुईवटा दुईतले घर।
  • लामिडाँडा बजारमा सिंगबहादुर तामाङबाट खरिद गरिएको एउटा शहरी प्लट जमिन।
  • गेलेफू शहरभित्र प्लट नम्बर बी–१० मा एउटा तीनतले ठूलो पक्की भवन।
  • डम्फू शहरभित्र निर्माण गरिएको एउटा भिडियो हल।
  • चिराङ जिल्लाअन्तर्गत कत्ले काली गाउँमा तीन एकर सुन्तला बगान।