Sunday, April 28, 2024

-->

८ वर्षकै छँदा ‘ड्रग्स’मा फसेका रोनी जसलाई लागुऔषधको लतबाट निस्किन १२ वर्ष लाग्यो

६३ दिनको बसाइपछि विगतप्रति पछुतो मान्दै घर फर्किएका उनी ड्राइभिङ लाइसेन्स लिएर कामका लागि कुवेत जाँदै छन्। सुधारगृहबाट फर्किएपछि कुनै किसिमको लागुऔषध नलिएको उनी बताउँछन्।

८ वर्षकै छँदा ‘ड्रग्स’मा फसेका रोनी जसलाई लागुऔषधको लतबाट निस्किन १२ वर्ष लाग्यो

काठमाडौँ– “रातको साढे एघार बजेको हुनुपर्छ। म पूरै झ्याप् थिएँ। सुतेकै अवस्थामा च्याप्प समातेर कसैले तान्दै कतै लगिरहेको महसुस भयो। एकछिन त आँखै खुलेन। पछि आँगनमा पुर्‍याउँदा भने थाहा पाएँ, दुई जनाले दुवै पाखुरा समातेर लगिरहेका रहेछन्। सिधै गाडीमा हुलेर लगे। केही बेरपछि कुनै घरको एउटा बन्द कोठामा पुर्‍याएर थुनिदिए।”

रोनी (परिवर्तित नाम) त्यो रात जिन्दगीको कुनै कालखण्डमा गएर पनि सम्झिन चाहँदैनन्। तथापि आफ्नो लागि त्यस रातको अनुभव जति दर्दनाक थियो त्यति नै महत्वपूर्ण औषधि पनि साबित भएको उनी आफैँ स्वीकार्छन्। त्यस रात उनलाई सिरहाको गोलबजारस्थित सुधारगृह (मकवानपुर रिकभरी ग्रुप) मा लगिएको थियो, जुन कुरा उनले त्यहाँ पुगेपछि मात्र थाहा पाएका थिए।

“ती दुई जनाले मेरो हात यसरी समातेका थिए कि छुटाउनै गाह्रो भयो। उनीहरू दुवै ज्याङ्गा थिए। दाइ, मलाई पिसाब आएको छ भन्दा पनि छाडेनन्। मैले जसरी पनि उनीहरूको हातबाट फुत्किन त्यस्तो नाटक गरेको थिएँ। छोडेको भए समात्नै नसक्ने गरी भाग्थेँ,” रोनी भन्छन्, “उनीहरूले बाटोमै कतै पिसाब गर्न दिउँला भन्दै गाडीमा बसाए। अलि पर पुगेपछि एउटा चुरोट सल्काएर दिए। नाकबाट धुवाँ ननिकाली खा भने। मैले खाइनँ। त्यसपछि उनीहरूले मलाई दुई झापड हाने। अनि मैले बुङबुङ धुवाँ उडाउँदै चुरोट तान्न थालेँ।” 

त्यसरी सुधारगृहमा लगिने रात नसामा डुबेका रोनीलाई साँझ साथीहरूले घरसम्म पुर्‍याइदिएका थिए। दिउँसो मोटरसाइकल किन्ने कुरामा घरबाट झगडा गरेर निस्केका थिए उनी। गाडीमा बस्ने बेला आमा र मामालाई देखेपछि त्यो योजना उनीहरूकै हो भन्ने राोनीलाई लागेको थियो। “मलाई सुधारगृह पठाउने योजना पहिल्यै थाहा पाएको भए त म घरै जाँदैनथेँ होला। तर मलाई त्यसबारे केही जानकारी नै थिएन, र त सजिलै जालमा फँसे,” उनी भन्छन्।

लागुऔषधको लत
रोनी लागुऔषधको लतमा यसरी लागेका थिए कि कतिखेर उज्यालो हुन्छ र कुनबेला साँझ पर्छ भन्ने पनि उनी पत्तो पाउँदैनथे। लागुऔषध सेवनका लागि प्रत्येक दुई दिनमा उनी घरबाट पैसा माग्थे। उनको ग्रुपमा अरू केटाहरू पनि भएकाले सबैले पालैपालो लागुऔषध किन्नुपर्थ्यो। उनको पालो हरेक दुई दिनमा आउँथ्यो।

रोनीले पहिलो पटक गाँजा तानेको ८ वर्षको उमेरमा हो। सिरहा बन्दीपुरस्थित लामा टोलमा उनको घर छ। त्यही टोलको फूलबारी नामक ठाउँमा ८ वर्षदेखि ३५-३६ वर्षसम्मका युवा जम्मा भएर लागुऔषध सेवन गर्छन्। रोनीले पहिलो पटक त्यहीँ बसेर गाँजा तानेका थिए। पछि उनी लागुऔषधको चपेटामा यसरी फसे कि उनलाई त्यसबाहेक अरू केहीमा ध्यानै जान छाड्यो। बिस्तारै रोनीको डोज बढ्न थालेको थियो। उनी ट्याबलेटतिर मोडिएका थिए। कुनै कुनै दिन त राति अबेरसम्म खाइदिन्थे र बिहान आमा उठ्नुअघि  सुतिदिन्थे।

“कहिलेकाहीँ त भोक लागेपछि भात खान र राति सुत्न मात्र घर जान्थेँ। उठ्नेबित्तिकै सिधै फूलबारी पस्थेँ,” रोनी भन्छन्, “दिनभरि गाँजा तानेको तान्यै गर्थें। नपाएको दिन लोकल रक्सी पिउँथेँ। त्यो पनि नपाएको दिन पारि (भारत) गएर भ्याट र कोरेक्स खान्थेँ। ‘डोज’ पुगेपछि फिर्ता आउँथेँ।”

लागुऔषधको लत बसेपछि उनी स्कूलमा समेत सेवन गरेर जान थाले। विद्यालयमा मध्यान्तरको विश्राम हुँदा उनी सिधै फूलबारी पुग्थे। डोज बढी भएको दिन स्कुल नै फर्किंदैनथे। कति दिन बिहानैदेखि खान थाल्दा स्कुल नै जाँदैनथे। “पछि त म स्कुल जानै छोडिदिएँ। जम्मा ८ कक्षासम्म मात्र पढेँ। त्यतिखेर त मलाई त्यति ग्लानि महसुस भएको थिएन। तर पछि हुन थाल्यो,” रोनी भन्छन्, “अहिले सबैभन्दा पछुतो केही कुरामा छ भने त्यो पढाइ छाडेकोमा नै लाग्छ।”

लागुऔषधको लतमा हुँदा नै उनले टिप्पर चलाउन थाले। त्यतिखेर उनी १६-१७ वर्षका मात्र थिए। बुवा वैदेशिक रोजगारीमा कतारमा थिए। केही काम गर्न घरबाट निरन्तर दबाब आएपछि उनले टिप्पर सिक्न थालेका थिए। करिब दुई महिनाको सिकाइपछि उनले सिरहाकै एक जना साहुको टिप्पर चलाउन थाले, त्यो पनि चालक अनुमतिपत्रबिना। “तालिम लिएपछि म टिपरचालक भएको थिएँ। ब्याक, युटर्न गर्न र साइड काट्न थालेको देख्दा साहुले मलाई टिप्परको जिम्मा दिएका थिए,” रोनी भन्छन्, “मासिक ८ हजार रुपैयाँ पनि आउन थालेको थियो। मेरो काम गिट्टी र बालुवा ओसारपसार गर्नु थियो। तर मैले लागुऔषध सेवन गर्न भने छाडेको थिइनँ।”

दिनभर चुरोटमा गाँजा भरेर खाए पनि राति घरअगाडि टिप्पर पार्क गरेर उनी फूलबारी पस्थे। त्यहाँ पाइने लागुऔषध राति अबेरसम्म सेवन गरेर घर फर्कन्थे। कहिलेकाँही राति अबेर भए पनि डोज नपुग्दा उनी टिप्पर लिएरै लागुऔषध खरिद गर्न निस्किन्थे।

“मसँग बाइक थिएन। एक रात यस्तै माल (लागुऔषध) सकिए पनि म झ्याप भइसकेको थिइनँ। मलाई अझै चाहिइरहेको थियो। समय हेर्दा २ बजेको थियो,” रोनी भन्छन्, “छ-सात जना केटालाई टिप्परमा हालेर पारि गएँ, चाहिने जति लिएर आएँ। अहिले सम्झिँदा मैले कति ठूलो जोखिम लिएँ होला जस्तो लाग्छ।”

घरमा उनी आमा, मामा र भाइसँग बस्थे। उनको आनीबानीका कारण आमा दिक्दार थिइन्। घरमा बाइक किनिदिनुगर्ने जिद्दि गर्थे र घरिघरी पैसा पनि माग्थे। पछि आमाले उनी लागुऔषधमा फसेको थाहा पाइन् । लगत्तै उनले श्रीमान‍्लाई खबर गरिदिइन्। उनका बुवाले कतारबाट फोन गरेर लागुऔषधको बारेमा सोधे। तर रोनीले आफू त्यसमा नफसेको बताए र बाइक किन्ने पैसा पठाउन आग्रह गरे।

“सायद मलाई सुधारगृह पठाउने कुरामा सबैको मिलोमतो नै हुनुपर्छ। किनभने त्यो दिन दिउँसो मैले घरमा झगडा गर्दा मामाले बाइक किनिदिन्छु नै भनेका थिए,” रोनी भन्छन्, “तर अचानक मलाई सुधारगृहतर्फ पठाइदिए।” उनले मागेको मोटरसाइकल ‘केटीएम आरसी’ थियो। यसको मूल्य पाँचदेखि ६ लाख रुपैयाँ पर्छ।

सुधारगृहमा बितेका ६३ दिन
सुधारगृहमा पुर्‍याइएको पहिलो रात रोनीलाई पोखरीको माछा जालमा परेजस्तै लाग्यो। त्यहाँ उनीजस्तै लागुऔषधको लतमा फसेकाहरू ११ जना थिए। त्यहाँ पुगेको एक सातासम्म नयाँलाई कुनै पनि निर्देशन दिँदा रहेनछन्। रोनीलाई पनि एक सातासम्म कसैले केही भनेनन्। एक सातामा त्यहाँको बानी बस्छ भनेर त्यत्तिकै छाडेको उनी बताउँछन्।

“तर मैले शुरूमा त्यहाँ एक दिन पनि बिताउन चाहेको थिइनँ। जानेबित्तिकै कोठाको चारैतिरका झ्यालढोका हेर्न थालेँ, कताबाट भाग्न सकिन्छ भनेर,” उनी भन्छन्, “तर त्यहाँ झ्यालनजिक जान त के, झ्यालतिर हेर्नेबित्तिकै पनि सजाय हुँदोरहेछ। गएको दुई दिनपछि मैले बुझेँ कि त्यहाँबाट भागेर निस्किनु असम्भवजस्तै रहेछ।”

सुधारगृहको वातावरण उनको लागि नौलो मात्र होइन, त्यसबारे अन्दाजसमेत गर्न नसक्ने अवस्थामा थिए उनी। उनलाई त्यहाँ जेलभन्दा पनि बढी पीडा हुँदोरहेछ भन्ने महसुस हुँदै थियो। दिनमा दुई छाक खाना (भात, दाल, आलु) र दुई पटक नास्ता (चिया–बिस्कुट) अनि २४ घण्टाका लागि जम्मा दुई वटा चुरोट, त्यसमा पनि एउटा चुरोट दुई जनाले मिलेर खान पाइने नियम रहेछ।

खाना नास्तामा ‘कम्प्रमाइज’ गर्न सकिए पनि दिनभर कसैसँग नबोली बस्नुपर्ने र जे गर्दा पनि सोधेर गर्नुपर्ने भएकाले ती दिनहरू असाध्यै पीडादायी भएको उनी सम्झन्छन्। “कसैसँग बोल्नसमेत छुट थिएन। सुपरभाइजरसँग नसोधी पानी पिउन, हिँडडुल गर्न त परको कुरा, थुक्न पनि मनाही थियो,” रोनी भन्छन्, “एक दिन म कसैलाई नसोधी ट्वाइलेट गएको थिएँ, पछि थाहा पाएर मलाई त्यस दिन हातले ट्वाइलेट सफा गर्न लगाए।”

सुधारगृहको सबैभन्दा ठूलो सजाय ‘होल थेरापी’ हुन्छ, जसमा गल्ती गर्ने एक्लैले भएजति सबै काम गर्नुपर्ने हुन्छ। हातले ट्वाइलेट सफा गर्ने, मिसमास बनाइएको चामल, ढुंगा र गहुँ केलाएर छुट्ट्याउने, नाला सफा गर्नेजस्ता शारीरिक कष्ट हुने कामहरू विशेष सजायमा गनिन्छन्।

रोनीले एक सातामै हार खाइसकेका थिए। उनी दिनरात रुन्थे मात्रै। आफू कस्तो ठाउँमा आइपुगेँजस्तो लाग्थ्यो उनलाई। पछि त्यहीँका अन्य युवाले ‘नरो, आफूले गरेको गल्ती सुधार्दै राम्ररी बसिस् भने चाँडै यहाँबाट निस्किन्छस्’ भनेपछि उनी शान्तसँग बस्न थालेका थिए। तर रोनीको संयममता धेरै दिनसम्म टिकेन। उनीलगायत सबै जनाले एक रात ढोका फुटाएर त्यहाँबाट भाग्ने योजना बनाए, जसको नेतृत्व एक जना युवकले गरेका थिए।

“छुट्टीको दिन थियो। त्यतिबेला दुई जना मात्रै गार्ड थिए। तीमध्ये एक जनालाई नाकबाट रगत आउने गरी मुक्का हानेपछि गेट तोडेर भाग्ने योजना थियो। तर अर्कोले तुरून्तै बाँकी गार्डहरूलाई फोन गरेर बोलाइहाल्यो,” रोनी भन्छन्, “त्यसपछि हाम्रा नाइके लगायतलाई गार्डहरूले यसरी भकुरे कि त्यसपछि कसैले भाग्ने सोचाइ पनि लिएनन्।”

त्यो घटनापछि त्यहाँ भनेको मानेर बस्नुबाहेकको विकल्प उनले देखेनन्। त्यसको केही दिनमै उनले पुन: राम्रो व्यवहार देखाउन थाले। सबैको मन जित्दै गए। फलस्वरूप त्यहाँ उनले ‘सिग्नल’ नामक पद पाए। त्यसको एक सातापछि उनी ‘इनहाउस केयर’को पदमा बढोत्तरी भए। त्यसको केही दिनमै इन्चार्जसम्म भए। त्यसपछि पाइने ‘रोल मोडल’ र ‘भोल्युन्टियर’ नामक पद पनि बाँकी थिए। तर त्यसअगाडि नै उनी त्यहाँबाट सुध्रिएर बाहिरिए।

६३ दिनको बसाइपछि विगतप्रति पश्चात्ताप मान्दै लागुऔषध सदाका लागि त्यागेर रोनी घर फर्किए। हाल कुवेत जान काठमाडौँ आएका उनीसँग अहिले ड्राइभिङ लाइसेन्स पनि छ। डेलिभरी ड्राइभरको रूपमा कुवेत जान लागेको उनले बताए। सुधार गृहबाट फर्किएपछि हालसम्म उनले कुनै किसिमको लागुऔषध लिएका छैनन्। कति पटक खाऊँ खाऊँ लागे पनि मनलाई नियन्त्रणमा राखेको उनी बताउँछन्।

“एक दिन साथीहरूको विशेष जोडपछि दुई ग्लास बियर खाएको थिए। कहिलेकाहीँ खान मन लागेमा त्यही बियर पिउँछु,” रोनी भन्छन्, “म त जसोतसो यस्तो लतबाट मुक्त भएँ, तर ती नाबालकहरू जो फूलबारीमा मजस्तै गरी लागुऔषधको लतमा परेका छन् ती कसरी मुक्त होलान् भन्ने कुराले बेलाबेला पिरोलिरहन्छ।”


सम्बन्धित सामग्री