Saturday, May 04, 2024

-->

सवारी दुर्घटनाबाट खोसिँदै छ युवाको जीवन र सपना

विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि संसारका १३ लाख मानिसको जीवन सवारी दुर्घटनामै सकिन्छ जसको ९३ प्रतिशत नेपालजस्तै देशका नागरिक हुन्। ज्यान गुमाउनेमध्ये २५ वर्षमुनिका पुरुषको संख्या ७३ प्रतिशत छ।

सवारी दुर्घटनाबाट खोसिँदै छ युवाको जीवन र सपना 
प्रतीकात्मक तस्वीर

काठमाडौँ– २२ वर्षका अमृत गिरी २०७३ साल वैशाख २१ गते मोटरसाइकलमा काठमाडौँबाट धनगढीतर्फ जाँदै थिए। पछाडिको सिटमा उनकी साथी शर्मिला तिमल्सिना थिइन्। गन्तव्यमा पुग्न झण्डै ६०० किलोमिटर दूरी बाँकी नै थियो। धादिङको कृष्णभीरमै उनीहरूको गति अवरुद्ध भयो।

विपरीत दिशाबाट तीव्र बेगमा आइरहेको ‘बोलेरो पिकअप’ एउटा यात्रुबसलाई उछिनेलगत्तै उनीहरू सवार मोटरसाइकलमा आएर बज्रिन पुग्यो। शर्मिला त्यही पिकअपको अगाडिपट्टिको भागमा बजारिएर ढलिन्, कहिल्यै नउठ्ने गरी। गाडीको ठोकाइबाट उछिट्टिएर आफ्नो पछिपछि आइरहेको कारको छतमा हुत्तिन पुगेका अमृतको शरीर क्षतविक्षत भयो। 

दुवैलाई भरतपुरको चितवन मेडिकल कलेज लगियो। अमृतलाई आईसीयूमा राखियो, शर्मिलाको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइयो। एक हप्ताको बसाइपछि मेडिकल कलेजकै सिफारिसमा अमृतलाई ग्रान्डी अस्पताल काठमाडौँ ल्याइयो। अस्पताल बसाइको डेढ महिनापछि मात्र उनको होस खुल्यो। 

टाउको, हात र खुट्टाको अपरेशन गरिएका अमृतलाई तीन महिनाको अस्पताल बसाइपछि घर लगियो। तर त्यसपछि उनको दैनिकी पहिलेजस्तो सहज रहेन। देब्रे खुट्टा पूरै लुलो भएको थियो। दुर्घटनाको चोटले छियाछिया भएको शरीरले अब पुरानो स्वरूप पाउन सकेन।

ऊर्जाशील युवा उमेरमा त्यो अवस्था व्यहोर्नुपर्दा शारीरिक पीडालाई माथ गर्ने मानसिक चोटले उनलाई अझ बढी शिथिल बनायो। त्यसमाथि सँगै यात्रा गरिरहेकी साथीलाई क्षणभरमै गुमाउनुपरेको थाहा पाउँदा उनी स्तब्ध हुन पुगे।  

अहिले आफ्नो दैनिकी जेनतेन चलाइरहेका अमृतका खुट्टाले राम्ररी भर गरेर टेक्न सक्दैनन्। उनले देखेको सुन्दर भविष्यलाई शरीरका कमजोर अंगप्रत्यंग र मांसपेशीहरूले झस्काइरहन्छन्। “त्यो बाइक घरमै थन्क्याएर राखेको छु। सम्झिँदा मन कटक्क हुन्छ,” उनी भन्छन्।

सार्वजनिक सवारीको सहज पहुँच, सडकको अवस्था र सवारीसम्बन्धी सचेतनाको कमीले गर्दा दिनहुँ अमृत र उनकी साथी शर्मिलाजस्ता कलिलो उमेरका धेरै युवा दुर्घटनामा पर्ने गरेको तथ्यांकले देखाउँछ।

Made with Flourish

भर्खरै बितेको तिहारका पाँच दिनमा मात्र देशभर ६७० वटा दुर्घटना भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ जसमा ५३ जनाको मृत्यु भएको छ। पछिल्ला वर्षहरूमा सवारी दुर्घटनामा अंगभंग हुने र मृत्यु हुनेमा देशको कुल जनसंख्याको एक चौथाई हिस्सा ओगट्ने कामकाजी अथवा उत्पादनशील उमेरका युवकयुवतीको संख्या बढ्दो छ।  

ट्राफिक प्रहरी महाशाखाका अनुसार साबिकमा जस्तै तिहारका पाँच दिनमा पनि सार्वजनिक सवारीको दाँजोमा निजी सवारी साधन बढी दुर्घटनामा परेको पाइएको छ। यस अवधिमा कार/जिप र मोटरसाइकल गरेर जम्मा १९९ वटा दुर्घटना भएका छन् जसमा ६१ जिप/कार र १३८ मोटरसाइकल थिए। 

प्रदेशगत ट्राफिक प्रहरी कार्यालयहरूका तथ्यांकअनुसार यसबीच कोशी प्रदेशमा ११९ वटा दुर्घटना भएकोमा ९ जनाको मृत्यु भएको छ, १५ जना गम्भीर घाइते भएका छन्। यस्तै, मधेश प्रदेशमा १७९ वटा दुर्घटना भएकोमा १२ जनाको मृत्यु भएको छ। बागमती प्रदेशमा भएका ५६ वटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने गण्डकी प्रदेशमा आठ वटा दुर्घटना हुँदा आठ जनाले नै ज्यान गुमाएका छन्।

यसैगरी लुम्बिनी प्रदेशमा ४० वटा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। कर्णाली प्रदेशमा तिहारको अवधिभर ३२ वटा सवारी दुर्घटना भए पनि मानवीय क्षति भने टरेको छ। त्यस्तै, १० वटा सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक छ। 

दशैँयताका २० दिनमा काठमाडौँ उपत्यकामा मात्रै २६६ वटा सवारी दुर्घटना भएको छ। कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा भएका ती दुर्घटनामा सात जनाको मृत्यु र ३३० जना घाइते भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न सवारी साधनका १०८ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

चाडबाडको अवधिमा सबैभन्दा धेरै सवारी दुर्घटना काठमाडौँ जिल्लामा भएको पाइएको छ। यसबीच काठमाडौँमा १३३,  भक्तपुरमा ८४ र ललितपुरमा ४९ वटा दुर्घटना भएको तथ्यांक प्रहरीसँग छ।  

अधिकांश दुर्घटना तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। “सार्वजनिक भन्दा निजी सवारी साधन धेरै दुर्घटनामा परेका छन्,” उनले उकालोसँग भने, “अघिल्लो वर्षको तुलनामा भने यसपालि दुर्घटना कम भएको छ।” ट्राफिक प्रहरीले गति नियन्त्रण गरी दुर्घटनामा कमी ल्याउन सचेत गराइरहेको उनको भनाइ छ।

Made with Flourish

प्रदेशहरूमा भएका दुर्घटनाको दशैँताकाको तथ्यांकले चाडपर्व शुरू भएयता सबैभन्दा बढी सवारी दुर्घटना लुम्बिनी प्रदेशमा भएको देखाएको छ। लुम्बिनी प्रदेश प्रहरीका अनुसार दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा ७६ वटा दुर्घटना भएका छन्। तिनमा २२ पुरुष र पाँच महिला गरी २७ जनाको मृत्यु भएको छ, ४२ जना घाइते भएका छन्।

प्रहरीको तथ्यांकअनुसार पछिल्लो आर्थिक वर्षमा १० हजार भन्दा बढी दुर्घटना भएको छ जसमा १८७ जनाले ज्यान गुमाएका छन्। 

युवा मृत्यु संसारकै साझा पीडा
नेपालमा मात्र नभई विश्वभर नै सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमा जीवनको थालनी उमेर समूहको जनसंख्या अत्यधिक रहेको अध्ययनहरूले देखाएका छन्। 

संसारमा पाँचदेखि २९ वर्ष बीचका बालबालिका र वयस्क युवाको मृत्युको प्रमुख कारण सवारी दुर्घटना नै हुने गरेको तथ्यांक छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष संसारका १३ लाख मानिसको जीवन सवारी दुर्घटनामै समाप्त हुन्छ। दुर्घटनामा परेर बाँचेका दुईदेखि पाँच करोड मानिस घाइतेका रूपमा बर्सेनि थपिँदै जान्छन्। यो संख्याको आधा भन्दा बढी पैदल यात्री तथा साइकल र मोटरसाइकल चालकहरू हुने गरेका छन्। 

दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये २५ वर्षमुनिका पुरुष युवाको संख्या ७३ प्रतिशत रहेको पनि विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। सवारी दुर्घटनाको सबैभन्दा महँगो मूल्य नेपालजस्तै विकासशील अर्थतन्त्र भएका देशहरूले चुकाइरहेका छन्। संसारभर दुर्घटनामा ज्यान गुमाउने मानिसमध्ये ९३ प्रतिशत न्यून तथा मध्यम आय भएको देशका नागरिक हुन्। 

नेपालमा पनि सबैभन्दा बढी १५ देखि २९ वर्षसम्मका उत्पादनशील उमेरका युवाको जीवन र सपना सवारी दुर्घटनाले खोसिरहेको बताउने सडक तथा सवारी विज्ञ भगवती सेढाईं भन्छिन्, “यो उमेर समूहका युवायुवतीले सवारी दुर्घटनाको जोखिम र यसबाट जोगिने उपायबारे पर्याप्त ज्ञान नपाउँदा उनीहरू नै बढी मात्रामा दुर्घटनाको शिकार भइरहेका छन्।” 

विद्यालयमा यस्ता विषयवस्तुबारे प्रयोगात्मक शिक्षणको व्यवस्था गर्न सरकार उत्तरदायी हुने हो भने युवा जनशक्तिको क्षति कम गर्न सकिने सेढाईंको सुझाव छ। ग्रामिण क्षेत्रमा सडक सञ्जालको विस्तार र शहरमा यातायातका साधनको संख्या वृद्धि हुँदै जाँदा दुर्घटना र यसको क्षति पनि बढेकाले सरकारले रोकथामको कदम चालिहाल्नुपर्ने उनी बताउँछिन्। 

Made with Flourish

सवारीचालक अनुमतिपत्र दिने प्रक्रियामै समस्या भएको सेढाईंको टिप्पणी छ। सडकमा सवारी चलाउन अभ्यस्त नभई चालक अनुमतिपत्र दिने प्रणालीको कारण पनि नेपालमा सवारी दुर्घटना बढेको उनी बताउँछिन्। बालबालिका उमेरदेखि नै विद्यालयहरूबाटै सडक सुरक्षाका विषयमा प्रयोगात्मक सिकाइ अनिवार्य गराउनुपर्ने उनको मत छ।

नेपालमा दर्ता भएका सवारी साधनमध्ये मोटरसाइकलको मात्रा ८२ प्रतिशत छ जसको प्रयोगकर्ता अधिकांश युवा नै हुन्छन्। तीमध्ये कतिपयले मादक पदार्थ (मदिरा) को सट्टा कडा नशायुक्त लागुपदार्थ सेवन गर्ने गरेकाले पनि युवा उमेरका सशक्त जनशक्ति दुर्घटनामा पर्ने क्रम झनै बढेको प्रहरी अधिकारीहरू बताउँछन्।

मादक पदार्थ सेवन गर्दा सहजै थाहा हुने र तत्काल परीक्षण गर्न मिल्ने भएकाले प्रहरीलाई छल्नका लागि पनि कतिले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाएको हुनसक्ने प्रहरीको अनुमान छ।

‘नीतिगत उल्झनले रोकथाम अड्कायो’
सवारी दुर्घटना न्यूनीकरण गर्न नीतिगत रूपमा धेरै काम गर्न बाँकी रहेको यातायात व्यवस्था विभागको भनाइ छ। नीतिगत व्यवस्थापन नहुँदा विभिन्न व्यावहारिक उल्झनका कारण बनिसकेका मापदण्ड कार्यान्वयनमा पनि समस्या भएको विभागका प्रवक्ता इश्वरीदत्त पनेरु बताउँछन्।

“यसका धेरै पाटाहरूमध्ये नीतिगत सुधार मुख्य हो, त्यसमा सवारीचालक अनुमतिपत्र दिने प्रक्रियामा पनि समस्या छ। १६ वर्षमा दुईपांग्रे सवारीचालक अनुमतिपत्र दिने कुरालाई पनि पुनर्विचार गर्नुपर्छ,” उनी भन्छन्। त्यसबाहेक रुट परमिटमा कडाइ, नियमनमा प्रदेश र स्थानीय तहको सक्रिय सहभागिता र सवारी जाँच प्रणालीजस्ता स–साना पक्षलाई सुधार्दै लैजाने हो भने मात्रै पनि दुर्घटनामा कमी ल्याउन सकिने प्रवक्ता पनेरु बताउँछन्।

“अन्य मुलुकमा व्यवसायी र निजी गरेर दुई प्रकारको सवारीचालक अनुमतिपत्र दिइन्छ। हाम्रोमा सबैले एकै प्रकारको अनुमतिपत्रबाट सवारी चलाउने व्यवस्था छ। यसले पनि कतै समस्या निम्त्याएको हो कि भन्ने लाग्छ,” उनी भन्छन्।

सार्वजनिक सवारीमा सरकारको सहभागिता नहुँदा सार्वजनिक यातायात निजी व्यवसाय बनेको र यसबाट यात्रुहरूको सहज पहुँचमा कमी आएकाले आफ्नो सुविधाका लागि निजी सवारीसाधन किन्नेको संख्यासँगै दुर्घटना पनि बढेको हुनसक्ने विभागका प्रवक्ता पनेरुको अनुमान छ। नीतिगत सुधारका निम्ति पटकपटक छलफल भइरहेको र सार्वजनिक सवारीमा सरकारको पनि स्वामित्व हुने गरी विभागले काम गरिरहेको उनले बताए।


सम्बन्धित सामग्री