Tuesday, April 30, 2024

-->

कोरिया जान तम्तयार युवा भन्छन्– ‘कम खर्चमा गएर राम्रो कमाइ गर्न सकिने देश रहेछ’

आफू र आफ्नो परिवारको भविष्य बनाउने सपना लिएर कोरिया जान ‘बायोमेट्रिक’को लाइनमा उभिएका अधिकांश २५ वर्षमुनिका युवा छन्। कमाइ राम्रो हुनुका साथै सुरक्षित देशका रूपमा कोरिया रोजेको उनीहरूले बताए।

कोरिया जान तम्तयार युवा भन्छन्– ‘कम खर्चमा गएर राम्रो कमाइ गर्न सकिने देश रहेछ’
'बायोमेट्रिक'का लागि लामबद्ध युवा। तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– बिहान ६ नबज्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लामो लाइन देखिन्थ्यो। आफ्नो पालो छिटो आउँछ भनेर मानिसहरू सबेरैदेखि लाइन बस्न पुगिसकेका थिए। कोरिया जानेहरूको ‘बायोमेट्रिक’को लागि भनेर तीन दिन छुट्ट्याइएको थियो– पुस १७, १८ र १९ गते।

कोही घरमा फोन गर्दै आफ्नो पालो आएर ‘सबै मेडिकल चेक पूरा भयो’ भन्दै खुशीका साथ सुनाउँदै थिए। कोही भने कार्यालयमा ढिला आउने जानकारी गराइरहेका थिए। काठमाडौँबाहिर घर हुनेहरू अस्पतालको परीक्षण सकिनेबित्तिकै घर फर्किनुपर्छ भन्दै एकअर्कासँग कुरा गरिरहेका थिए। बायोमेट्रिकका लागि आएकाहरू हातमा कागजपत्र बोकेर धैर्यपूर्वक पालो कुरिरहेका देखिन्थे।

लाइनमा उभिएकाहरूसँग कुरा गर्दा उनीहरूले कोरिया जानु रहर नभई बध्यता भएको बताए। तिनैमध्येका ३२ वर्षीय भैरवबहादुर बोहोरा बायोमेट्रिककै लागि झापादेखि आएका थिए। उनी घरमा सुत्केरी श्रीमतीलाई छाडेर रात्रिबसमा टेकु अस्पताल आएका हुन्। रातभरको अनिँदोपन लिएर लगातार दुई–तीन घण्टा लाइनमा उभिनुपर्दा उनी निकै थकित देखिन्थे। आठ बजेबाट शुरू हुने बायोमेट्रिकका लागि उनी बिहान ६ बजेदेखि नै आएर लाइनमा बसेका थिए। 

१० बजेसम्म पनि बोहोराको पालो आएको थिएन। देशमा रोजगारीको अभावले कोरिया जानुपरेको उनले बताए। “परिवारमा जनसंख्या थपिएको छ, तर काम केही छैन”, उनले भने, “धेरै कोसिस गर्दा पनि जागिर नपाएपछि बिदेसिनुको विकल्प भएन। अरू देश जानभन्दा सस्तो भएकाले कोरिया जान लागेको हुँ।” 

३१ वर्षीया प्रतीक्षा मास्की दाङबाट दुई दिनअगाडि काठमाडौँ आएकी हुन्। विवाहित मास्कीका दुई साना छोरीहरू छन्। श्रीमान‍्को पनि रोजगारी छैन। कुरा गर्दै जाँदा उनका आँखा निकै रसाए। आँशुले टिलपिल आँखा लिएर उनले काखका छोरीहरूलाई छाडेर कोरिया जानु आफ्नो बाध्यता भएको बताइन्। मास्कीले भनिन्, “देशभित्र रोजगारी नपाएपछि बालबच्चाको भविष्यको लागि भए पनि बिदेसिने निर्णय गरेको हुँ। कोरिया जान धेरै लगानी नचाहिने रहेछ। त्यही भएर जाने आँट आयो।”

लाइनमा उभिएकी २८ वर्षीया सीता बुढामगर पनि घरमा सानो छोरी छाडेर कपिलवस्तुदेखि बायोमेट्रिकको लागि काठमाडौँ आएकी थिइन्। आफ्ना दाइको सल्लाहअनुसार भाषा सिकेर कोरिया जान लागेको उनले बताइन्। “नेपालमै पढ्यो भने पनि पढेअनुसारको काम र पैसा पाइँदैन। मेरो सानो बच्चा पनि छ। उसको र परिवारको भविष्यको लागि जान लागेकी हुँ,” उनले भनिन्, “सुरक्षाको हिसाबले कोरिया निकै नै ठीक छ। त्यसमाथि काम गरेर खानेको लागि राम्रो ठाउँ मानिने हुँदा कोरिया रोजेकी हुँ।” 

रोजगारीको गन्तव्य कोरिया रोज्नेमा २५ वर्ष मुनिका युवाहरूको संख्या उल्लेख्य देखिन्छ। दोलखाकी २३ वर्षीया रुविना तामाङका अनुसार उनको घरको आर्थिक अवस्था निकै नै कमजोर छ। अन्य देश पठाउन उनका आमाबुवासँग पैसा छैन। उनले पनि कम लागतमा जान पाइने र सुरक्षित मुलुक भएर कोरिया जान लागेको बताइन्। तामाङले भनिन्, “मेरो परिवारले युरोप पठाउन सक्दैन। कम पैसा लाग्ने र केटी मान्छेको लागि सबैभन्दा सुरक्षित देश कोरिया नै भएकाले त्यहीँ जान लागेको।” 

सिन्धुपाल्चोकका २१ वर्षीय झिमलाल तामाङले कक्षा १२ सम्म गाउँमै पढे। यहाँ रोजगारी नपाएपछि बिदेसिन लागेको उनले बताए। “आफ्नो देश छोडेर जान त मन थिएन। तर रोजगारी छैन। आठ वर्षअघि भूकम्पले लडाएको घर अझै उठाउन सकेको छैन। विदेश जानुको विकल्प भएन,” उनले भने।

१९ वर्षीय गोपाल शाही हुम्लाबाट आएका हुन्। परिवारका कान्छा छोरा उनले दिदीसँगै काठमाडौँमा बसेर १२ कक्षा पास गरे। दिदी भने यहीँ स्नातक पढ्दै छिन्। तर अब पढ्नका लागि घरबाट पैसा पठाउन सक्ने अवस्था रहेन। घरखर्च र दिदीको पढाइखर्च दुवै जुटाउन आफू कोरिया जाने तयारीमा रहेको उनले बताए। 

“कोरिया थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने देश रहेछ। दिदी स्नातक पहिलो वर्षमा पढ्दै हुनुहुन्छ। उहाँलाई बाँकी तीन वर्ष पढाउन पैसा छैन। घरको कमजोर आर्थिक अवस्था पनि कमजोर छ। त्यही कारण कोरिया जान लागेको हो”, उनले भने, “तीन लाखमा कोरिया जान पाइने रहेछ। अझ खानबस्न बाहेक महिनाको एक लाख तलब हुन्छ रे।” 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार तीन दिनमा कोरिया जान चाहने करिब ९०० जनाले ‘बायोमेट्रिक’ गराए। 


सम्बन्धित सामग्री