Sunday, April 28, 2024

-->

चलचित्र चर्चा
पास्ट लाइभ्स : केही पाउन के गुमाउँदै छन् आप्रवासी?

मुगलान पसेका युवायुवतीमध्ये कतिका प्रेमीप्रेमिका स्वदेशमा बसेर उनीहरूलाई सम्झिरहेका होलान्। कोरियाली–क्यानडेली चलचित्र 'पास्ट लाइभ्स'ले वर्तमान नेपाली परिवेशको त्यस्तै एउटा पाटोलाई बेसरी छुन्छ।

पास्ट लाइभ्स  केही पाउन के गुमाउँदै छन् आप्रवासी

पास्ट लाइभ्सको केन्द्रमा महिलापात्र नोरा र पुरुषपात्र हे सङ छन्। तर फिल्ममा बढी नोराको कथा भेटिन्छ। उनी बाल्यकालमा आफ्ना अभिभावकसँगै कोरियाबाट क्यानडा पुग्छिन् हे सङलाई छोडेर, जोसँग विवाह गर्ने उनको बाल्यकालीन इच्छा थियो।

नेपाली उखान छ, ‘देशअनुसारको भेष’। फिल्ममा मुख्यपात्रलाई देश सुहाउँदो नाम चाहिएको छ। त्यसकारण उनको नाम फेर्ने कुरा चल्छ। उनी स्वयंलाई आफ्नी बहिनीको नाम औधी मन पर्छ। 

"तिमीले आफ्नी बहिनीको नाम किन लियौ," उनकी आमाले सोध्छिन्।

"मलाई अरू कुनै अंग्रेजी नाम मन परेन," फिल्मकी मुख्यपात्रको जवाफ हुन्छ। बाल्यकालमा अरूका चिज आफ्नो भइदेओस् भन्ने लोभ गहिरोसँग लाग्छ। उनीमा पनि त्यही मनोभाव देखिन्छ। पछि बुवाले ‘नोरा’ नाम जुराइदिन्छन्। उनी त्यसैमा चित्त बुझाउँछिन्। त्यसपछि कोरियाकी ना योङ क्यानडा–अमेरिकामा ‘नोरा’ले परिचित हुन पुग्छिन्।

१२ वर्षीया ना योङलाई कक्षामा सँगै पढ्ने हे सङसँग विवाह गर्ने मन छ। उनलाई त्यो केटा हिम्मतिलो लाग्छ। 

आमाले सोध्छिन्, "तिमीलाई स्कुलमा को मन पर्छ?"

उनको उत्तर हुन्छ, "हे सङ।"

"किन?"

"ऊ हिम्मतिलो छ।"

"म ऊसँग विवाह गर्न चाहन्छु।"

"साँचै ! उसले तिमीसँग विवाह गर्ला?"

"उसले मलाई मनपराउँछ त्यसैले नाइँ भन्ने छैन।"

हे सङ दृढ छ, ना योङ पनि त्यस्तै रहलिन् त? यसका लागि फिल्म हेर्नै पर्छ।

ना योङका अभिभावकको आर्थिक अवस्था राम्रो छ। उनका बुवा फिल्म डाइरेक्टर हुन्, आमा राम्रो कलाकार। तर किन बिदेसिँदै छन् त उनीहरू?

"जीवनमा केही पाउन केही चिज पछाडि छोड्नै पर्छ," ना योङकी आमाको उत्तर हुन्छ। उनीहरू के पाउन प्रवासी बन्दैछन्, स्पष्ट खुल्दैन तर केही संकेत भने गर्छ। आफ्ना सन्तानको भविष्य खोज्दै मुगलानका आप्रवासी बन्ने धेरै नेपाली छन्, जो राजनीतिप्रति विरक्त र सन्तानको भविष्यप्रति चिन्तित हुँदै केही पाउनका खातिर केही गुमाइरहेका छन्। कति नाम चलेका, पेसा व्यवसायमा जमेका व्यक्ति, कलाकार, खेलाडी इत्यादि देश छाडेर बिदेसिएका उदाहरण हामीमाझ प्रशस्त छँदैछन्।

फिल्मको शुरूआतचाहिँ न्युयोर्कस्थित एउटा 'बार'मा बसिरहेका तीन जनाबारे नेपथ्यमा दुई जनाले गरिरहेको अड्कलबाजीबाट हुन्छ। तीन जनामध्ये केटाकेटी एशियाली हुन्छन् भने एक जना स्वेत अमेरिकी। बिस्तारै क्यामेरा युवतीमा केन्द्रित हुन्छ र फिल्म २४ वर्ष पछाडि पुग्छ जहाँ दुई बालपात्र खुट्किला चढ्दै छन्, ना योङ र हे सङ। ना योङ रुँदै छिन्। हे सङ सोध्छन्– “ना योङ, तिमी किन रोइरहेकी? परीक्षामा सेकेन्ड भएँ भनेर हो? कि म फस्ट भएँ भनेर हो?”

अन्तिम प्रश्नमा ना योङले 'अँ' को स्वीकारोक्ति जनाउँछिन्। दुवै एकअर्काका प्रतिस्पर्धी पनि हुन् र उत्तिकै आत्मीय पनि।

फिल्ममा बालबालिकालाई दिइने राम्रो सम्झनाको पनि कुरा उठ्छ। यसले हामीप्रति प्रश्न उब्जाउँछ- कतै हामीले आफ्ना बालबालिकालाई उनीहरूको बाल्यकाल स्मरण गराउने राम्रा सम्झना छाड्न चुकेका त छैनौँ?

ना योङलाई कक्षामा साथीहरू सोध्छन्, "तिमी किन विदेश जाँदै छौ?" 

उनको उत्तर हुन्छ– "कोरियाली साहित्यमा कसैले पनि नोबेल पुरस्कार जित्दैन, त्यसैले।" उनको यो सपना १२ वर्षपछि पुलिट्जर पुरस्कारमा झर्छ, अर्को १२ वर्षपछि पुरस्कार जित्ने आकांक्षा नै मर्छ। 

फिल्ममा अर्को समयचक्र शुरू हुन्छ, १२ वर्षपछिको। हे सङ कोरियाली सेनामा सेवा गर्छ, जुन त्यहाँका नागरिकको लागि अनिवार्य गरिएको हुन्छ। यता, ना योङबाट नोरा बनेकी उनकी साथी ‘प्लेराइट’ बन्छिन्। 

मानिसलाई जहाँ पुगे पनि आफ्नो जन्मस्थलको सुवासले छोड्दैन, बाल्यकालका साथीहरू मस्तिस्कबाट विलिन हुँदैनन्। उनीहरू कहाँ छन्, के गर्दै छन् चासो रहिरहन्छ। त्यस्तै चासो नोरालाई पनि छ। उनलाई याद आउँछ बाल्यकालको ‘क्रस’ हे सङको। ऊ पनि त्यहीबेला उनैलाई खोजिरहेको हुन्छ। तर नाम फेरिएकाले सामाजिक सञ्जालमा भेट्टाउनै सक्दैन। सञ्जालको प्रयोग बढ्दै गएर स्काइपमा भिडियो कलको चलन चल्दै गर्दा पुनः उनीहरूबीच सम्पर्क स्थापित हुन्छ। कुराकानीका बीचमा केटाले सोध्छ– "म तिमीलाई ना योङ भन्न सक्छु?"

"अचेल त मेरी आमा पनि ना योङ भन्नु हुन्न।" 

उनका परिवारले समेत उनको वास्तविक नाम बिर्सिइसकेका छन्। देश फेरिएसँगै कति कुरा फेरिन्छन्। तर देशको सुगन्ध, खानपानको स्वाद, संस्कार, संस्कृतिको केही अंश जहाँ पुगे पनि साथमै रहन्छ। सिओलकी रुन्चे बालिका क्यानडा हुँदै अमेरिका पुगेपछि उनको नाम र रहनसहन फेरिए पनि बाल्यकालको स्मृति मेटिएको छैन। 

हे सङ सोध्छन्– "तिमी अहिले पनि रुन्छौँ?"

नोराको उत्तर हुन्छ – "शुरू शुरूमा धेरै रुन्थेँ। तर यहाँ मेरो रुवाइले कसैलाई फरक नै पार्दो रहेनछ।"

रुनु पनि कसैलाई आकर्षित गर्ने उपाय रहेछ। आफूलाई कसैले वास्ता नगर्दा मान्छे पिन्चे भइदिँदो रहेछ। 

एकले अर्कालाई भेट्ने चाहनासामु बाध्यता बाधक भइदिन्छ। नोरा सिओल जान सक्दिनन्, हे सङ न्यूयोर्क पुग्न सक्दैनन्। र उनीहरू वार्तालापलाई विराम लगाउने निष्कर्षमा पुग्छन्। 

नोरा भन्छिन्, "न्युयोर्क आउनका लागि मैले धेरै मिहिनेत गरेकी छु। सपना पूरा गर्न यहाँ आएकी हुँ। सम्पूर्ण समय कामलाई दिन चाहन्छु। तर मेरो समय सिओल जाने हवाई टिकट हेर्दैमा बर्बाद हुन्छ।"

हे सङ भन्छन्, "तिमीलाई खोज्न १२ वर्ष लाग्यो।"

नोराको जवाफ, "यो पटक यति धेरै समय लाग्ने छैन।"

समय बित्छ, फेरि १२ वर्ष। कथा अर्कैतर्फ मोडिन्छ। 

अमेरिकी संस्कृतिमा घुलमिल भएकी नोरालाई कोरियाली परम्परादेखि विरक्त लाग्छ। नोराले कोरियाली खेल र खानाको गर्वसाथ तारिफ गर्छिन्। तर हे सङ कोरियामा बुवाआमासँग बस्छ भन्दा उनलाई हीनताबोध हुन्छ। उनी अमेरिकामा बसे पनि आफूलाई कोरियाली नै रहेको पाउँछिन्, तर हे सङभन्दा फरक अर्थात् मोडर्न कोरियाली।

बाल्यावस्थाबाट युवास्थामा पुग्दासम्मका दुई व्यक्तिबीचको कथा हो, पास्ट लाइभ्स। फिल्मले  मित्रता, माया र बाध्यतालाई अर्थ्याएको छ।

बाल्यकालका दुई साथीको सामाजिक सञ्जालमार्फत सम्पर्क, सम्पर्कविच्छेद, पुनर्मिलन र पुनर्विछोडको उचारचढावमार्फत फिल्मले आप्रवासन पछाडिको यथार्थलाई सतहमा उतारेको छ।

दुई पात्र अगाडि बढ्दै गर्दा विगतमा फर्किन्छन्। उनीहरूको दैनन्दिनीबारे पनि कथा प्रस्तुत भइरहन्छ, ट्राइम ट्राभल फिल्ममा जस्तै।

फिल्मले उमेर चढ्दा कमजोर बन्दै जाने महत्त्वाकांक्षी सपना, आप्रवासीले सपना पूरा गर्न आफ्ना चाहना त्याग्नुपर्ने बाध्यता र ग्रीनकार्डका लागि गरिने वैवाहिक सम्बन्धलाई केलाउँछ। केही पाउनका खातिर बिदेसिएकाहरूले के गुमाइरहेका छन् त? कोरियाली–क्यानडेली फिल्म निर्देशक कोलिनले पास्ट लाइभ्समार्फत दर्शकलाई यो सोच्न बाध्य बनाएकी छन्, जो फिल्मको स्क्रिप्ट राइटरसमेत हुन्।

फिल्ममा आप्रवासीलाई ग्रीनकार्डका खातिर ग्रीनकार्डबाहकसँग नै विवाह गर्नुपर्ने विवशता एकातिर छ। अर्कोतिर अमेरिकी युवकलाई विदेशी युवतीसँग विवाह गर्दा सम्बन्ध सुमधुर भइरहने हो कि होइन भन्ने चिन्ताले सताउँछ। राम्रो श्रीमान् साबित भएँ कि भइनँ र उनको परिवारको 'ड्रिमम्यान' रहेँ कि रहिनँ भन्ने आशंकाले पैदा गर्ने पुरुष मनोदशा पनि पर्दामा प्रष्टसँग उत्रिएको छ। 

एशियाली अभिभावकले काल्पनिक हिरोसँग छोरीको विवाह गरिदिने सपना देखिरहेका हुन्छन् जसको संस्कार र संस्कृति देश र भेष सुहाउँदो होस् भन्ने उनीहरूको चाहना हुन्छ। थुप्रै नेपालीहरू अहिले सपरिवार विदेशमा छन्। तर उनीहरूको चाहना छोराछोरीको विवाह नेपालमै वा नेपाली मूलका केटी/केटासँग होस् भन्ने छ। 

फिल्ममा अमेरिकी युवक फरक संस्कृतिमा हुर्केकी युवतीसँग विवाह गर्दाका तनाव बेसाएर बाँच्न विवश छन्। सम्बन्ध लामो समयसम्म टिक्छ कि टिक्दैन, साथ छोडेर आफ्नै देश र संस्कृतिको केटासँग भाग्ने पो हो कि भन्ने आशंकामा जेलिएका आर्थरमार्फत फिल्म निर्देशकबाट त्यहाँको वयस्क पुरुष मनोविज्ञान अभिव्यक्त भएको छ। अनेक कुरा खेलाइरहने अर्थर वैवाहिक सम्बन्ध अटुट रहन्छ भन्नेमा विश्वस्त हुन सकिरहेका छैनन्। 

केही पाउने अभिलाषा बोकेर प्रवास गएकाहरूले के गुमाउँदै छन्? फिल्म हेरिसकेपछि दर्शकले गर्ने प्रश्न हो यो। कोरिया छोड्ने नोराको सपना होइन। तर उनी बाबुआमासँगै क्यानडा पुग्छिन्। त्यहाँ पुग्दा उनले आफ्नो बाल्यकाल गुमाउँछिन्, बाल्यावस्थाका साथी गुमाउँछिन्, उनी फेरि केही पाउने प्रयासमा अमेरिका पुग्छिन्। त्यही उपक्रममा आफ्नो बाल्यकालको प्रेमी गुमाउँछिन्।

नेपालबाट पनि युवायुवती दिनैकजसो वैदेशिक रोजगारीमा गइरहेका छन्। उज्ज्वल भविष्यको सपना देखेर उच्च शिक्षा हासिल गर्न बिदेसिने पनि प्रशस्तै छन्। उनीहरू आफ्नो आर्थिक  क्षमताले भ्याएसम्मका कलेज छानेर अध्ययन गर्न विदेशका विभिन्न शहरमा पुग्छन्। यसप्रकार यतिबेला दशौँ हजार नेपाली युवायुवतीको विगत नेपालमा हुन्छ भविष्य विदेशमा। 

सपना र उद्देश्य पूरा गर्ने चाहनामा बिदेसिएका ती युवायुवतीले आफूलाई मन परेका सबै चिज साथै लान सक्दैनन्। बोकेको भारी गह्रुंगो हुने सामान्य नियम त्यतिबेला उल्टिन्छ र बोक्न नसकेकै कारण छाडी जानुपरेका यादहरूले उनीहरूको मन भारी हुन पुग्छ। आँखामा छचल्किएको आँसु लुकाउँदै त्रिभुवन विमानस्थलबाट बाइबाईको हात हल्लाउन बाध्य भइरहेका त्यस्ता आम युवायुवतीको मर्म यो फिल्मले सचित्र बोलेको छ। 

जीवनयापनसँगै आफ्ना आकांक्षा पूरा गर्ने दौडमा जहाँ पुगे पनि संघर्षले भने कसैलाई एक्लै छाडेको हुँदैन, पाइलापाइलामा सँगै हुन्छ। भागदौडको दबाबले जहाँ पुगिएको हुन्छ त्यहीँको जीवनमा बिस्तारै अभ्यस्त भएको थाहै पाइन्न। यसरी मुगलान पसेका युवायुवतीमध्ये कतिका प्रेमीप्रेमिका स्वदेशमा बसेर उनीहरूलाई सम्झिरहेका होलान्। कतिको बाल्यकालका प्रिय संगीको मीठो याद धूमिल बन्दै गइरहेको होला। कोरियाली–क्यानडेली चलचित्र 'पास्ट लाइभ्स'ले वर्तमान नेपाली परिवेशको त्यस्तै एउटा पाटोलाई बेसरी छुन्छ। 


सम्बन्धित सामग्री