इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सम्झिएँ– करिब २५ वर्षपछि भारत आइएछ।
यो साढे दुई दशकमा भारतले ठूलो फड्को मारिसकेको छ। यहाँको सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक क्षेत्रमा आकाश–जमिनको बदलाब आइसकेको छ। यतिबेलाको भारत महाशक्ति बन्ने होडमा छ। भौतिक संरचना निर्माणमा भारतको लगानी सानो छैन। प्रविधिको विकासमा पनि हात लम्काइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत असारमा अमेरिका पुगेर प्रविधि व्यवसायीहरूसँग भेटघाट गर्दै भारतमा लगानी बढाउन आग्रहसमेत गरे।
भारतको सामाजिक संरचनाबारे पनि म अवगत छु। यहाँ हुने सामाजिक अन्यायका विषय संसारभरका संचारमाध्यममा पढ्न पाइन्छ। जातीय र लैंगिक हिंसाले भारतीय समाजलाई थिलथिलो बनाएको छ। धार्मिक अतिवाद डरलाग्दो छ। भारतमा हिन्दू र मुस्लिम समुदायबीचको सम्बन्ध कहिल्यै सुमधुर भएन। भारतीय जनता पार्टी (बीजेपी) शासनमा आएपछि त्यो खाडल झनै बढेको छ। एकातिर तीव्र गतिमा व्यापार/व्यवसाय/प्रविधिमा विकास भइरहेको छ, अर्कातिर सामाजिक असमानता डरलाग्दोगरी बढिरहेको छ।
सामाजिक विभेद न्यूनीकरण र आर्थिक उन्नतिले हातेमालो नगरे समाजमा दरार बढ्दै जाने रहेछ। खासगरी सत्ताधारी आफैँले सामाजिक, धार्मिक वा अन्य पहिचानलाई राजनीतिक अस्त्रको रूपमा प्रयोग गर्न थाल्यो भने खतरा झनै बढ्ने रहेछ।
विशाल र भव्य इन्दिरा गान्धी विमानस्थलबाट बाहिरिँदा दिउँसोको ३ बजेको थियो। मंसिरको महिना दिल्लीमा चिसो बढिसकेछ। हाम्रो गाडी बिस्तारै दौडिरहेको थियो। सडक फराकिलो र चिल्लो थियो। छेउछाउमा गगनचुम्बी भवन, व्यापारिक कम्प्लेक्स र अन्य अत्याधुनिक भौतिक संरचना देखिन्थे। मैले सोचेँ– काम त गरेछन्।
एयरपोर्टबाट निस्केको १० मिनेट पनि भएको थिएन, एकहुल गाइगोरू बाटो नै छेकेर सडकबीच उभिएको देखेँ। मैले ड्राइभरलाई हाँस्दै सोधेँ– “इस शहर में टुरिस्टों का स्वागत भी गाय–बैल करते हैं क्या?”
ड्राइभर मुस्कुरायो मात्र, केही बोलेन।
भन्न मन लागेको थियो– गाइगोरूलाई अथाहा प्रेम गर्ने बीजेपीको सरकार हुँदा पनि गाइगोरूका दुःख सकिएनछन्।
तर चुप बसेँ।
दिल्लीको सडकमा दौडिरहेको हाम्रो गाडी ट्राफिक लाइटमा रोकिन्छ। स्कुले उमेरकी सानी नानी गाडीको सिसा ढकढक्याउँछे र पैसा माग्छे। म २५ वर्षअगाडि आउँदा दिल्लीमा यस्ता सडक बालबालिका धेरै देखिन्थे, अहिले पनि उस्तै रहेछ। तर भौतिक संरचना विकासमा दिल्ली फेरिएको छ। त्यसबेला साँघुरा सडक, पुराना शैलीका घर र पसल देखिन्थे। सानो भूभागमा खुम्चिएको दिल्लीको चित्र मस्तिष्कमा अर्कै थियो। अहिले फराकिला र चिल्ला सडक, पश्चिमा शैलीको ‘स्काइलाइन’ आयातन फैलाइरहेको शहरीकरणले दिल्ली बदलिएको रहेछ।
तर दिल्लीको अर्को नफेरिएको पाटो पनि छ। सडक फेरिए, सडकमा माग्ने बालबालिका फेरिए, धेरैको आर्थिक अवस्था फेरिएको रहेनछ। ‘कैलाश सत्यार्थी चिल्ड्रेन्स फाउन्डेशन’ले सन् २०२१ मा प्रकाशन गरेको एक रिपोर्टअनुसार दिल्लीमा मात्र ६० हजारभन्दा बढी सडक बालबालिका छन्। तीमध्ये ७१ प्रतिशत ६ देखि १४ वर्ष, १६ प्रतिशत ३ देखि ५ वर्ष र १२ प्रतिशत १५ देखि १८ वर्ष उमेर समूहका छन्।
लगभग ४० मिनेट दिल्लीको सडक चाहार्दै हामी आग्रातिर लाग्यौँ।
चार लेनको राजमार्गमा हाम्रो गाडी बेस्सरी दौडिरहेको छ। आशा छ– आग्रा पुग्दा मध्यरात नहोस्।
राजमार्ग छेउछेउ गाडी रोकेर फोटो खिच्ने र भिडियो बनाउनेको भिडभाड छ। यस्ता भिडभाड नेपालका सडकमा पनि देखिन्छन्। नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि अहिले अलि कम भएको हो कि! भारतले पनि सुरक्षाको कारण देखाउँदै सन् २०२० मा नै टिकटकलगायत १०० भन्दा बढी चिनियाँ एप बन्द गरेको हो।
सडक छेउमा अनेक दृष्य देखिन्छन्। गाडी छेउ लगाएर कोहीकोही पारिवारिक भोजन गरिरहेका छन्। सोच्छु– पिकनिक त हैन होला। ठाउँठाउँमा खुला शौच गरिरहेका पनि देखिन्छन्। बस्ती छेउपुग्दा गाई, भैँसी, बाख्रा, कुकुरका कारण बेलाबेला गाडी रोक्नुपर्छ। ड्राइभर दिक्क मान्छ। मलाई पनि झर्को लाग्छ।
राजमार्गको ‘रेस्ट एरिया’ मा पुरानो शैलीका ढाबा देखिन्छन्। ढाबाको खाना र कुल्लडको चियाले भारतको रेल यात्रा स्मरण गराइदियो, ‘टाइम ट्राभल’ गरेर वर्षौँअगाडि फर्किएजस्तो भयो! हाम्रो गाडी एउटा ढावाअगाडि गएर रोकिन्छ। ओहो, कस्तो भिडभाड! बस्ने ठाउँ पनि छैन। सबै जना हतारमा देखिन्छन्। भ्याइनभ्याइ छ। हल्लाखल्ला चर्को छ। हुन त यो इन्डियन ढावाको क्लासिक पक्ष हो।
म ढावाको एक छेउमा बस्छु र सोच्छु– भोलि त ताजमहल पुग्नुछ।
सन् १९७२ मा पहिलो पटक ताजमहल पुगेको थिएँ। मेरो स्मृतिमा ती दिन धमिलो भएर बसेका छन् तर मेटिएका छैनन्। यसको विशालता र सुन्दरताले कसलाई पो मन्त्रमुग्ध नबनाउला र!
नेपालको खास पहिचान सगरमाथासँग जोडिएजस्तै भारतको पहिचान ताज महलसँग जोडिएको छ।
अर्को दिन बिहान हामी ताजमहल पुग्यौँ। पर्यटकहरूको बाक्लो आवतजावत थियो। हाम्रो गाइडले ताजमहलसँग जोडिएका एकपछि अर्को ऐतिहासिक घटना, कालिगढ र कलाको रोचक व्याख्या गरिरहेको थियो। शाहजहाँ र मुमताजको ‘चिहान’मा रखभाल र जानकारका लागि खटिएका कर्मचारीले भित्तामा कुँदिएको मध्येको एक रत्नमा बत्ती बालेर पर्यटकलाई आकर्षित गरिरहेका थिए।
ताजमहलभित्र आफ्नो नामको प्रतिध्वनी सुन्न चाहनेहरू पनि पालो कुरेर बसेको देखिन्थे। आफ्नो नाम महलभित्र गुञ्जाउन ५० रूपैयाँ तिनुपर्ने रहेछ। यसो सोचेँ– ताजमहलभित्र आठौँ आश्चर्य खडा गरेछन्।
गाइडले मेरो कानमै आएर फुसफुसायो– “हरकहीँ भ्रष्टाचार कर्ते हेँ।”
एक हप्ताको भारत बसाइमा हामी ताजमहल, आग्रा फोर्ट, जयपुरको हवामहल र जन्तरमन्तर, बिकानेरको जुनागढ फोर्ट, र जैसेलमेर पुग्यौँ। आग्रा फोर्टलाई ‘रेड फोर्ट’ भनेर समेत चिनिन्छ। यो क्षेत्रमा सन् १६३८ सम्म मुगल वंशका शासकहरूको मुख्य बसोबास थियो। मुगल वंशमा यसको अत्यधिक महत्त्वका कारण सन् १९८३ मा युनेस्कोले विश्व सम्पदा सूचीमा राखिदियो। तजमहलबाट अढाई किलोमिटर पर रहेको यो फोर्टलाई पनि शाह जहानले ‘रिनभेट’ गरेका थिए।
मुगलले भारतलाई गज्जबको सम्पदा छाडेर गएका छन्। तर ताजमहलबाहेक अन्य सम्पदाको खास जतन भएको देखिँदैन। पहिला बेलायेतीले यी सम्पदामाथि निर्मम ढंगले लुटे। अहिले सरकारले यसको संरक्षणमा ध्यान दिए हुने।
यहाँ पुग्ने पर्यटकले पनि सोच्नुपर्छ– एतिहासिक चिजबिजको संरक्षण हामी आफैँले गर्ने हो र भावी पुस्तालाई देखाउने हो।
नेपालको अवस्था पनि उस्तै हो। ऐतिहासिक स्तम्भ र सम्पदाको उचित सम्मान कति पनि भएको देख्दिनँ। ऐतिहासिक सम्पदाको महत्वबारे सबै पक्षमा सचेतना नआए इतिहासका भौतिक संरचनाहरू क्रमिक रूपले नासिँदै जान्छ।
केही देशले यसको महत्त्व बुझिसकेका छन् र संरक्षणमा हरसम्भव प्रयास गरेका छन्।
एक बेलायती पर्यटकलाई केही महिनाअगाडि इटालीको दुई हजार वर्ष पुरानो कोलोसिएममा आफू र आफ्नो प्रेमीको नाम कुँदेको आरोप लाग्यो। ब्रिस्टोल बस्ने ती २७ वर्षिया इभान दिमित्रोभले कोलोसिएममा ‘इभान+हेली २३’ कोर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटनाले खुब चर्चा पाएको थियो। त्यसपछि पुलिसले पनि चासोका साथ घटनाको अनुसन्धान बढायो।
इटालीका प्रहरीले पाँच दिनसम्म खोजेपछि अन्तत इभानलाई इंल्यान्डमा फेला पारे। ब्रिस्टोल बस्ने इभानले रोमका मेयर रोबर्तो गुअलतियरीलाई पत्र लेखेर आफूले गल्ती गरेको भन्दै माफी पनि मागे। उनले पत्रमा भनेका थिए, “सम्पूर्ण मानवताको सम्पदामा भएको क्षतिका लागि म यस पत्रमार्फत इटालियन र सारा संसारसँग हृदयदेखि नै क्षमायाचना गर्न चाहन्छु।”
अहिले उनी नाम लेखेकै आरोपमा १६ हजार डलर जरिबाना र पाँच वर्ष कैदको सजाय सामना गरिरहेका छन्।
हाम्रा सम्पदालाई नियालौँ त– ती कोरिएका छन्, भत्काइएका छन्, असरल्ल छाडिएका छन्। काठमाडौँमा युगौँ पुराना सम्पदाको बेहालत देख्छु। भारतको अवस्था पनि भिन्न रहेनछ। सम्पदा कसरी जोगाउने भनेर राज्यले विशेष ख्याल गर्नुपर्छ। त्यसका लागि कहिलेकाहीँ निर्मम पनि हुनुपर्छ।