Monday, April 29, 2024

-->

भिजिट भिसा अनुमतिका लागि राखिएका नयाँ प्रावधानमा मौलिक हक मिचिने बुँदा

नयाँ प्रावधानमा ‘भिजिट भिसा’मा विदेश जानेहरूले यसअघि जस्तो शैक्षिक प्रमाणपत्र तथा अन्य प्रमाण पेश गर्नुपर्ने छैन। तर त्यसमा राखिएका केही प्रावधान व्यक्तिको मौलिक हक विरुद्धका छन्।

भिजिट भिसा अनुमतिका लागि राखिएका नयाँ प्रावधानमा मौलिक हक मिचिने बुँदा

काठमाडौँ– भिजिट भिसामा विदेश जाँदा यसअघिका प्रावधानका कारण नक्कली कागजपत्र तयार गरेर जाने प्रवृत्ति बढेको भन्दै मंगलबारदेखि सरकारले नयाँ प्रावधान ल्याएको छ। २०७८ फागुन २६ गते गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट ल्याइएको १७ बुँदे प्रावधानलाई खारेज गरेर नयाँ प्रावधान ल्याइएको हो। 

भिजिट भिसामा रहेका प्रावधानले मानवतस्करी मौलाएको र त्यसकै आधारमा विदेश पठाउने गिरोहले सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुल गरेको विषयमा उकालोमा समाचार प्रकाशित भएको थियो। 

नयाँ प्रावधानमा भिजिट भिसामा विदेश जानेहरूले यसअघि जस्तो शैक्षिक प्रमाणपत्र तथा अन्य प्रमाण पेश गर्नुपर्ने छैन। तर त्यसमा राखिएका केही प्रावधान संविधानद्वारा संरक्षित व्यक्तिको मौलिक हकसँग जोडिएका छन्। खासगरी भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग बस्ने भएमा एकाघरका तीन पुस्ता भित्रका नाता खुल्ने नागरिकता वा अन्य कुनै प्रमाणपत्र चाहिने उल्लेख छ। 

अधिवक्ता दिनेश त्रिपाठी कसैले भ्रमण अवधिको खर्च ‘स्पोन्सर’ गरेको छ भने पनि नागरिकलाई विदेश यात्राको अनुमति दिनुपर्ने बताउँछन्। “नातैको मात्र हुनुपर्ने भन्ने छैन। साथीभाइ अथवा अन्य कोही कसैले पनि स्पोन्सर गरेको हुनसक्छ,” उनी भन्छन्, “बस्ने व्यवस्था गरिदिने व्यक्ति आफ्नै नाताभित्रको हुनुपर्छ भन्ने कुरा मिल्दैन। यो अव्यवहारिक छ। नाता नभएको व्यक्तिका पनि साथीभाइहरू हुन सक्छन्।” 

नयाँ नियम अनुसार यात्रामा अनुमति पाउन कम्तीमा ६ महिना बैध अवधि भएको राहदानी हुनुपर्नेछ। त्यस्तै, सम्बन्धित देशको प्रवेशाज्ञा वा ‘अनअराइभल भिसा’ प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ। 

त्यसबाहेक भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट/क्रेडिट कार्ड) पनि हुनुपर्ने छ । संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने र स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्ति स्वयंमा रहने प्रावधान पनि नयाँ व्यवस्थामा उल्लेख छ । 

सरकारले भिजिट भिसाको नाममा दलाल तथा एजेन्टहरूलाई अनावश्यक रकम नदिन पनि अनुरोध गरेको छ। विदेशमा रहेका आफन्तलाई भेट्ने वा पर्यटकको रूपमा विदेश घुम्ने उद्देश्य लिई नेपालबाट विदेश प्रस्थान गर्नेहरू ठगिएको भन्दै अनधिकृत रूपमा बिचौलियाहरूलाई पैसा नदिन सरकारले आग्रह गरेको हो।

‘भिजिट भिसा’ वा पर्यटक भिसामा विदेश जाँदा आफन्त भेट्ने र घुम्नेलगायत भिसाको उद्देश्य अनुसारका काम मात्र गर्न र भिसाको अवधिभित्रै स्वदेश फर्कनसमेत सरकारले अनुरोध गरेको छ। भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकाले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा बिचौलियाहरूले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन विभागले सबैलाई सचेत गराएको छ ।


सम्बन्धित सामग्री