Sunday, May 05, 2024

-->

आशाको बारीमा कोदो काटिदिएर तरंग ल्याएका ‘शंकर सर’ जो आफ्नै संघर्षले बने पालिकाकै नमूना प्रअ

कुखुरा फार्मको कामले दिनभर थाकेको ज्यानलाई आराम दिनुको सट्टा रात्रिभोजका 'क्याटरिङ'हरूमा खटिएर शंकरले प्रतिभोज ७० भारु पाउँथे। त्यसरी जोडेको पैसा पढाइमा लगानी गर्ने सपनालाई उनले कहिल्यै मर्न दिएनन्।

आशाको बारीमा कोदो काटिदिएर तरंग ल्याएका ‘शंकर सर’ जो आफ्नै संघर्षले बने पालिकाकै नमूना प्रअ
बालज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक शंकर बस्नेत। तस्वीरहरू: किसन पाण्डे/उकालो

झिमरुक (प्युठान)– २०५१ सालमा एसएलसी पास गरेका शंकर बस्नेतले आफूलाई आईए पढाउन आमाबुवासँग अनुरोध गरे। बुवाको फौजी पेन्सन आउने हुँदा परिवारको आर्थिक अवस्था राम्रै थियो। तर घरबाट टाढा रहेको क्याम्पस पढ्न डेरा गरेर बस्नुपर्ने र त्यसले पढाइ खर्च बढाउने कारण देखाउँदै आमाबुवाबाट उनको आग्रह स्वीकृत भएन। 

हालको झिमरुक गाँउपालिका–८ मा पर्ने साबिकको तुसारा गाविस–१ मा उनको बसोबास थियो। त्यसबेला आईए पढ्न जिल्लामा एउटै स्वर्गद्वारी क्याम्पस थियो। पुण्यखोलामा रहेको उक्त क्याम्पस पुग्न उनले घरबाट १५ किलोमिटर हिँड्नुपर्थ्यो। अपायक भएकै कारण एसएलसीमा द्वितीय श्रेणीको उच्च अंक ल्याएर पास गरेको प्रमाणपत्रले मात्र उनलाई क्याम्पस प्रवेश गराउन सकेन।

त्यसपछि भारतमा काम गरिरहेका माइँला दाइले घर आएर उनलाई पनि काम गर्न उतै लगे। पढ्न नपाएका शंकरलाई पंजाबको मान्सा भन्ने ठाउँमा दाइले घरेलु काममा लगाइदिए। त्यहाँ उनले कुचो लगाउने, भाँडा माझ्नेदेखि गाईको गोबर सोहोर्नेसम्मका काम गरेबापत मासिक ४०० भारु पारिश्रमिक पाउने भनियो। तर काम मन नपरेर एक हप्तामै त्यो ठाउँ छाडिदिए। अलि समय यताउता भौँतारिएपछि आफैँले एउटा कुखुरा फार्म पहिल्याएर महिनाको १३ सय भारु सुख्खा (खाना–खाजा बाहेक) तलबमा काम थाले। 

त्यसरी जोहो गरेको पैसाले जुनसुकै हालतमा पनि आफ्नो पढाइलाई निरन्तरता दिन उनी चाहन्थे। दिनभर काममा थाकेको ज्यानलाई राति पनि आराम नदिई विभिन्न रात्रिभोजहरूमा वेटरको काम गर्न थाले। एउटा भोजको 'क्याटरिङ'बाट उनी ७० रुपैयाँ पाउँथे र थुप्रै भोज भ्याउँथे। त्यसरी आर्जन गरेको पैसा पढाइमा लगानी गर्ने सपनालाई उनले कहिल्यै मर्न दिएनन्।  

भारतकै चण्डीगढ विश्वविद्यालयमा ‘प्लस टु’ पढ्ने उनको इच्छा भने पूरा भएन। त्यसपछि नेपालमै आईए पढ्ने उद्देश्यका साथ चार महिनामै ३० हजार भारतीय रुपैयाँ जोगाएर स्वदेश फर्किए शंकर। एसएलसीपछि उनको एक वर्ष बितिसकेको थियो। २०५३ साउनमा आईए पढ्न स्वर्गद्धारी क्याम्पस भर्ना भए र उतै डेरा लिएर बस्न थाले। 

पैसाको खाँचो परिरहन्थ्यो। आम्दानीको बाटो नहुँदा उनी पुनः पटक–पटक काम गर्न भारत जाने–आउने गरिरहे। आईए पढुञ्जेल छ–सात पटक भारत गएर भोजहरूमा काम गर्दै खर्च जुटाएर फर्केका पलहरू उनले बिर्सेका छैनन्। आईए पास भइसकेपछि पनि समय–समयमा त्यसरी प्रवासिँदै उनले बीए पढ्ने रकम जुटाए। 


२०५४ सालमा भने एउटा पारिवारिक समस्याले बीए पढ्दापढ्दै भारत जान उनी बाध्य भए। चार दाजुभाइमध्ये जेठा पहिल्यै अलग भइसकेका थिए। माहिला दाइको परिवार पनि छुट्टियो। त्यतिबेला माहिला दाइ भारतमै थिए। यता भिन्न भएपछि बस्ने घर नभएर माहिली भाउजू गोठमा बसेकी थिइन्। त्यो दुःखमा भाउजूको साथका लागि दाइलाई घर पठाउन उनी भारत गएका थिए। 

तर घर फर्किएका दाइले मूल घर किने। त्यसपछि आमा भने जेठो छोरासँग बस्न गइन्। शंकरसहित दुई दाजुभाइले घर छोड्नुपर्ने भयो। पछि दाइलाई मनाएर घर आधा–आधा गरेर बस्ने समझदारी भई समस्या टर्‍यो। केही समय भारतमा काम गरेर पुनः स्वदेश फर्किएका शंकरले लक्ष्यअनुसार पढाइलाई नै निरन्तरता दिए। २०५८ सालमा विवाह गरेका उनले २०५९ मा अंग्रेजी बिषयमा बीए सिध्याए। सँगसँगै एकवर्षे बीएड पनि गर्न भ्याए। त्यसबीचमा पढाइ खर्च जुटाउन कैयौँ पटक भोजमा काम गर्न भारत गएको उनी बताउँछन्।  

एमए पढ्ने सपना, संघर्ष र चुनौती
बीए पास गरेलगत्तै शंकरलाई ‘मास्टर्स डिग्री’ गर्नु थियो। त्यसबेला माओवादीको सशस्त्र विद्रोह चलिरहेको थियो। आम नागरिकका दैनिक क्रियाकलापमाथि माओवादी र सरकारी सुरक्षाकर्मी दुवै पक्षले कडा निगरानी राख्थे। २०५९ वैशाख महिनामा आफ्नै दाइहरू र छरछिमेकीबाट ४० हजार भारतीय रुपैयाँ ऋण लिएर शंकर एमए पढ्न भारततर्फ लाग्दै थिए। प्युठानकै बिजुवार बजार पुग्दा नेपाली सेनाले खानतलासी लिएर त्यो पैसा कब्जामा लियो। 

“मलाई सैनिकहरूले धकेलेर लडाए, सँगै रहेका तीन जना दाइहरूलाई पनि थप्पड हाने। सेनाले माओवादी कार्यकर्ता ठानेर हामीलाई दुःख दिएको रहेछ,” उनले त्यो क्षण सम्झिए। एमए पढ्ने सपना पूरा गर्न ऋण गरेर जुटाएको पैसा सेनाले खोसेपछि शंकर साह्रै चिन्तित भए। जुनसुकै तर्क र जुक्ति लगाउँदा पनि सैनिकहरूले पैसा दिएनन्। त्यसपछि उनी याचना गर्दै उनीहरूको पछि–पछि लाग्न थाले। आफ्नो साथमा रहेका शैक्षिक प्रमाणपत्र र कागजातहरू सबै खुलस्तसँग देखाए। त्यसपछि बल्ल सेनाले पैसा फिर्ता दियो। 

त्यति ठूलो चुनौती खेपेर उनी भारतको चण्डीगढ विश्वविद्यालयमा त पुगे, तर त्रिभुवन विश्वविद्यालयको अंग्रेजी बिषयको समकक्षता त्यहाँ नभएको थाहा पाएर खिन्न हुनुपर्‍यो। त्यही कारण भर्ना हुन नपाएपछि फर्केर घरै आए। नेपालमै पढ्ने सोचले त्यही वर्ष प्युठानबाट काठमाडौँ हानिएका उनी त्रिभुवन विश्वविद्यालयमा एमए पढ्न भर्ना पनि भए। तर बस्न, खान र पढाइ खर्च पुर्‍याउन साह्रै गाह्रो भयो।

शंकर सुनाउँछन्, “खर्चको अभाव टार्न पढाउने स्कुलको खोजीमा जताततै भौतारिएँ। शिक्षक चाहिएका निजी स्कुलहरूमा गएँ। तर जता पनि आफ्नै नजिकका मान्छे राख्दा रहेछन् भन्ने लाग्यो। शैक्षिक योग्यताले गर्ने काम कहीँ नपाएपछि अन्तमा दक्षिणकालीको फर्पिङ जलविद्युत आयोजना नजिकै इँटा भट्टामा गएर इँटा बोक्ने काम गरेँ।”


काठमाडौँमा बस्ने र खाने खर्च जुटाउनकै लागि शारीरिक श्रममा व्यस्त हुनु परेपछि उनले नियमित कक्षा लिन सकेनन्। फुर्सदको समय मिलाउनुपर्दा कहिले रत्नराज्यलक्ष्मी क्याम्पस त कहिले त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुर गएर पढ्थे। त्यसो गर्दैै पहिलो वर्षका कक्षाहरू जेनतेन सिध्याए। तर दोस्रो वर्षको पढाइलाई निरन्तरता दिन नसकेपछि उनी घर फर्किन बाध्य भए। शंकरको ‘मास्टर्स डिग्री’ सपनामा विराम लाग्यो। 

अस्थायी रूपमा विराम लागे पनि लक्ष्यमा अविचलित रहेका शंकर आफ्नो अंशको जग्गा बेचेर खर्च लिई चाँडै काठमाडौँ फर्किने मानसिकता बनाएर घर पुगेका थिए। दाजुभाइसँगको सल्लाहमा आफ्नो नामको सात रोपनी जग्गा एक लाख १५ हजार रुपैयाँमा बेचेर त्यही पैसा लिई रोकिएको पढाइलाई निरन्तरता दिन उनी काठमाडौँ हिँडे।    

बाटोमै पर्ने कपिलवस्तु जिल्लामा रहेका एक आफन्तले भेट्न बोलाएकाले उनी त्यहाँ रोकिए। त्यही मौकामा ती आफन्तले सस्तोमा जग्गा पाइएको बताउँदै किन्न सुझाए। त्यो सल्लाहलाई नकार्न नसकेपछि शंकरले जग्गा बेचेर ल्याएको सबै पैसा कपिलवस्तुमा १७ कठ्ठा जग्गा किन्न खर्चिए। त्योसँगै उनको जीवनले अर्को मोड लियो। अन्ततः २०६१ असार ७ गते प्युठानको सम्पूर्ण श्रीसम्पत्ति र श्रीमतीसहित उनी बसाइँ सरेर कपिलवस्तुको तत्कालीन गुगौली गाविस–८ मा पर्ने मधवानगर झरे। 

काठमाडौँमा अधुरो रहेको एमए पढ्ने धोको ताजै थियो। त्यसलाई भारत गएर पूरा गर्ने योजनामा राममनोहर लोहिया अवध विश्वविद्यालय, अयोध्या पुगेका शंकर त्रिभुवन विश्वविद्यालयको समकक्षता पाएर त्यहाँ अंग्रेजी बिषयमा एमए पढ्न भर्ना भए। पहिलो वर्षको पढाइ सिध्याएर घर आएका बेला २०६२ असोज १४ गतेदेखि कपिलवस्तुको प्रकाश मावि सुन्दरीडाँडामा निजी स्रोतबाट नियुक्त भएर अंग्रेजी शिक्षकको रूपमा काम गर्न थाले।

त्यसबेला उनको मासिक तलब पाँच हजार रुपैयाँ थियो। नेपालमा पढाउँदै र बेला–बेला भारत गएर पढ्दै उनले २०६३ सालमा एमए पूरा गरे।

त्यही वर्ष आफन्तहरूको आग्रहमा उनी प्युठानको अमरसिंह मावि सौतामारेमा अंग्रेजी पढाउन आए। त्यसको दुई वर्षपछि गंगा मावि बहानेमा सरे। सरकारी दरबन्दीको शिक्षण पेशामा प्रवेश गर्न शिक्षा संकायको अध्ययन अनिवार्य गरिएकाले २०६७ सालमा उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमै एमएड पनि गरे। २०६७ सालमा गौमुखी मावि ठूलाबेशीमा राहत कोटाबाट नियुक्त भई सरकारी सेवा सुविधा सहितको शिक्षण पेशामा प्रवेश पाए।

चार वर्ष त्यसरी पढाएका उनले २०७१ सालमा शिक्षक सेवा आयोगको विज्ञापन खुल्दा मावि, निमावि र प्रावि गरी तीनै तहको परीक्षा दिए। त्यसमध्ये प्राविमा सफल भई त्यही वर्षको भदौ १५ गतेदेखि प्रावि तहको स्थायी शिक्षकका रूपमा नियुक्ति लिएर उनले भुमिकाथान प्रावि बाझाचौरमा पढाउन थाले। दुई वर्षपछि २०७३ फागुन १८ गते बालज्योति आधारभूत विद्यालयमा सरुवा भएका शंकर विद्यालय व्यवस्थापन समिति र अभिभावकको निर्णयअनुसार यहाँको प्रधानाध्यापकमा नियुक्त भए। त्यसयता उनी यहीँ कार्यरत छन्। 

यो पनि: जब ११ वर्षीया आशाले कोदो काट्न हेडसरसँग ४ दिन बिदा मागिन्...

२०७४ सालमा उनी कपिलवस्तुको सबै जग्गा १० लाखमा बेचेर विद्यालय नजिकै स्याथी बसोबास गर्ने गरी प्युठानकै झिमरुक फर्किए। आफू आउँदा विद्यालयको अवस्था एकदमै कमजोर भएको उनी बताउँछन्। “भवनहरू जीर्ण थिए। कक्षाकोठाका ढोका पनि नलाग्ने भएकाले भित्र गाईबस्तु पस्ने अवस्था थियो,” उनी सुनाउँछन्, “कालोपाटीमा खरी र चकले लखेर पढाउने चलन थियो। म आइसकेपछि ह्वाइट बोर्डमा मार्करले लेख्ने व्यवस्था गर्दा पनि ठूलै परिवर्तन मानेर विद्यार्थीहरू खुशी भए।” 


जिल्ला शिक्षा कार्यालय, अभिभावक र सहयोगीहरू सबैसँग हात जोडेर आर्थिक स्रोत जुटाई दुई वटा नयाँ भवन बनाउन सफल भएका शंकरले कक्षा कोठामा पनि कार्पेट बिछ्याएर विद्यार्थीहरूलाई सुविधापूर्वक बस्ने व्यवस्था मिलाए। सँगसँगै शिक्षण सिकाइ प्रक्रियामा पनि सुधार ल्याई यो विद्यालयलाई उनले गाउँपालिकामै उत्कृष्ट बनाए। बालज्योति आधारभूत विद्यालयमा अहिले १०३ जना विद्यार्थी छन्। उनीहरू अधिकांश दलित समुदायका बालबालिका हुन्। 

विद्यार्थी राजनीतिले कटाएको हन्डर
शंकर सानैदेखि गीत गाउन रुचि राख्थे। कोही धनी र कोही गरिब हुनुहुँदैन, सबैलाइ गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी सुनिश्चित हुनुपर्छ भन्ने उनलाई लाग्थ्यो। १४ वर्षका उनी ८ कक्षामा पढ्दै थिए। बहुदलीय व्यवस्था पुनर्स्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलन लगत्तैको समय थियोे। देशमा राजनीतिक गतिविधिहरू बढिरहेका थिए। गाउँगाउँमा राजनीतिक चेतना फैलिँदै थियो। 

प्युठान जिल्लाभर भूमिगत पार्टी नेकपा (मसाल) र उसको खुला संगठन राष्ट्रिय जनमोर्चाको मुख्य प्रभाव थियो। त्यसैको विद्यार्थी संगठन अखिल (छैटौँ) को कार्यक्रममा गीत गाउँदै हिँड्दा शंकरको विद्यार्थी जीवनमा राजनीतिक छाप बस्यो। घरमा आमा, दाइहरू राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थक थिए। तर ‘वस्तुवादी चिन्तन’मा विश्वास राख्ने शंकर कम्युनिष्ट आस्थामा लागे जसलाई उनको परिवारले रुचाएन। 

“यहाँसम्म कि तँ कम्युनिष्ट भइस्, तँलाई हामी पढाउन्नौँ भनेर आमा र दाइले भन्नुभो र त्यही कारण मलाई उहाँहरूले पढाउनुभएन, आफैँ काम गरेर कमाउँदै पढ्नुपर्‍यो,” उनले आफ्नो विवशता खोले। त्यसबेला आइपरेको दुःख स्वीकारेर पनि राजनीतिक आस्था नत्यागी बाकीँ जीवन जिउने दृढता आफूले लिएको उनी बताउँछन्।  

त्यही अडान र निरन्तर लगावका कारण उनी २०५४ सालमा अखिल (छैटौँ) को प्युठान जिल्ला अध्यक्ष भए। त्यसपछि उनी २०५९ सालसम्म सोही नेतृत्वमा रहिरहे। साथै उनी त्यो समय अखिल (छैटौँ)को केन्द्रीय सदस्यसमेत थिए। विद्यालय जीवनपछि दुःखसुख गरेर पढ्दै राजनीतिक यात्रामा सक्रिय रहे। २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि क्रमशः उठ्दै गएको आन्दोलनमा उनी काठमाडौँकेन्द्रित भएर क्रियाशील रहे। २०६३/६३ को जनआन्दोलनमा कपिलवस्तु जिल्लाको नेतृत्व पंक्तिमा उनी पनि थिए। 

शिक्षक जीवनमा माओवादीबाट कहर
विद्यालयको शिक्षक भएपछि आफूलाई माओवादी कार्यकर्ताहरूले साह्रै दुःख दिएको उनी सुनाउँछन्। त्यसबेला वर्षमा एक महिना बराबरको तलब माओवादीलाई चन्दा दिनुपर्ने बाध्यता थियो। कपिलवस्तुको प्रकाश मावि सुन्दरीडाँडामा कार्यरत छँदा त्यस्तो बाध्यात्मक चन्दा आफू र अरू शिक्षकले पनि नदिने अडान राखेकै कारण माओवादीका कार्यकर्ताहरूले आफूलाई अपहरण गरेर दिनभर यातना दिएको शंकर सम्झन्छन्।

“स्वेच्छाले दिए ठीकै हो, तर जबरजस्ती चन्दा उठाउन मिल्दैन, हामी दिँदैनौँ भनेपछि माओवादीहरूले मलाई विद्यालयबाटै लिएर गए,” उनले भने।  

एक दिन विद्यालयबाट साइकलमा फर्किंदा शंकर ‘माओवादी होशमा आऊ, गरिब जनता नसताऊ’ लेखेको स्टिकर टाँस्दै थिए। अचानक कम्ब्याट पोसाक लगाएको हतियारधारी फौज देखियो। उनले सोचे कि ती सरकारी सेना हुन् र माओवादीविरोधी नारा उनीहरूले रुचाउने छन्। तर उनको अनुमान उल्टो भएछ। तिनीहरू त गस्ती गरिरहेका माओवादी लडाकु पो रहेछन्। 

उनीहरूलाई चिनेपछि तर्सिएका शंकर साइकल कुदाएर गाउँतिर बत्तिए। माओवादीले उनलाई पछ्याउँदै गएका थिए। तर उनी घरमा साइकल लुकाएर छिमेकीकोमा गई लुकेछन्। घरमा श्रीमतीलाई ‘कोही मलाई सोध्दै आए भने थाहा छैन भन्नू है’ भनेका रहेछन्। तर माओवादीका इन्चार्जलाई आफूले चिनेको आधारमा केही हानि नगर्लान् भन्ने सोचेर शंकरकी श्रीमतीले उनी साथीको घर गएको बताइदिइछन्। त्यसपछि खोज्दै पुगेका माओवादी लडाकुले त्यसबेला पनि उनलाई लगेर यातना दिए। 

श्रीमती कमला र छोरा सुप्रिमका साथ प्रअ बस्नेत।


माओवादीको जबर्जस्ती चन्दा र जनतालाई दुःख दिने गतिविधिविरुद्ध अभियान चलाएकै कारण तेस्रो पटक शंकर घरबाटै अपहरणमा परे। उनले त्यस पटक झन् बढी तनाव भोग्नुपर्‍यो। “तेरो जग्गा कब्जा गरिदिन्छौँ भनेर माओवादीले यातना दिए, कन्चटमा बन्दुक राखेर गोली ठोकिदिन्छौँ पनि भने,” उनी सुनाउँछन्। 

तर उनी डराएनन्। बरु अपहरण गर्नेहरूलाई जवाफ दिए, “ठीक छ, तपाईंहरू मेरो जग्गा कब्जा गर्नुस्, त्यसपछि म एक सर्वहारा हुन्छु अनि हेर्नुहोला मधेशमा तपाईंहरूको राजनीति कस्तो हुन्छ।” त्यति भनेपछि ‘दुई दिनमा जग्गा कब्जा गर्न आउँछौँ’ भन्दै उनलाई त्यत्तिकै छाडेर विदा भएका माओवादी लडाकुहरू फर्केर आएनन्। “तत्कालीन अवस्थामा गुगौली गाविसका वासिन्दालाई माओवादीले दिएको त्रासदीका विरुद्ध उभिएका कारण त्यहाँका स्थानीयहरूले मलाई अहिले पनि सम्झिने गरेका छन्। मेरो त्यही जनसमर्थनको कारण राजनीतिक क्षति हुने ठानेर उनीहरू पन्छिएका हुन सक्छन्,” उनले भने। 

शंकरका बुवा जसले दोस्रो विश्वयुद्ध लडे
शंकरका बुवा गोरबहादुर भारतको खडकपुर रेलवे पुलिस फोर्समा थिए। दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट लड्न भर्ती गरिएका दुई लाख ५० हजार नेपालीहरूमा उनी पनि थिए। उनले बेलायत समर्थक बर्मेली सेनामा सामेल भएर दोस्रो विश्वयुद्ध लडे। युद्धमा सहभागी भएका नेपाली सिपाहीहरूलाई ‘ब्रिटिस वेलफेयर ट्रस्ट’ले पेन्सन दिन्थ्यो। २०५३ चैतमा बित्नुअघिसम्म उनका बुवाले ब्रिटिस वेलफेयर र रेलवे पुलिस दुवैतिरबाट पेन्सन पाउँथे, जुन आम्दानी महिनाको १२ देखि १५ हजार नेपाली रुपैयाँसम्म हुन्थ्यो। 

घरको आर्थिक मामिलामा आमा मुवादेवीको बढी हात हुन्थ्यो। त्यही कारण पढाइ खर्चका लागि शंकरले आमाको स्वीकृति खोजेका थिए, जुन सफल भएन। आमाले समाजसेवामा पुर्‍याएको योगदान भने अनुकरणीय रहेको शंकर सम्झन्छन्। भारतको कलकत्तामा हुँदा उनले सुत्केरी स्याहार्ने तालिम लिएकी थिइन्। स्वदेश फर्केपछि त्यही सीपका आधारमा स्वास्थ्य स्वयंसेविका सरह करिब सात हजार महिलालाई बच्चा जन्माउँदा उनले गरेको सहयोगको अहिलेसम्म गाउँमा सराहना भइरहन्छ। 

“कोही सुत्केरी हुने बेला भयो भने आमालाई लिन टाढा–टाढाबाट पनि मानिस आउँथे। आमाले गरेको सहयोगबाट खुशी भएर १०० रुपैयाँसम्म दिएर पठाउँथे,” शंकर भन्छन्। आमाको २०७५ वैशाखमा मृत्यु भएको उनले बताए। 

यो पनि: शिक्षक–विद्यार्थी मिलेर कोदो काटिदिएको समाचारले सहयोगीहरूलाई यसरी जोड्यो

आमाबुवा भारतमा बस्ने भएकाले शंकर पश्चिम बंगालमा जन्मिएका थिए। बुवाले सन् १९८४ मा जागिरबाट अवकाश पाएपछि सपरिवार नेपाल फर्किंदा उनी ५ वर्ष पूरा भएका थिए। नर्सरीदेखि यूकेजीसम्मको शिक्षा भारतमै अध्ययन गरेर आएकाले उनीसँग ३ कक्षामा भर्ना हुन पाउने योग्यता थियो। तर उनको उमेरमा १ कक्षाभन्दा माथि भर्ना हुन नपाइने तत्कालीन नियमका कारण शंकरले स्थानीय ज्ञानज्योति प्राविमा पुनः १ कक्षामै भर्ना हुनुपर्‍यो। 

प्रारम्भिक कक्षाहरू अंग्रेजी र हिन्दी भाषामा पढेका कारण उनलाई नेपाली विषय कठिन भयो र त्यसमा अनुत्तीर्ण भए। अरू विषयमा राम्रो अंक ल्याएर पनि लगातार तीन कक्षासम्म नेपालीमा अनुत्तीर्ण भइरहे। तर सिक्ने प्रयास जारी राखेकाले ४ कक्षामा उनी सबै विषयमा उत्तीर्णसँगै विद्यालय प्रथम भए। 

त्यतिबेलाको शिक्षा प्रणालीबारे अचम्म मान्दै उनी भन्छन्, “यता नेपालमा ४ कक्षामा पुगेपछि बल्ल अंग्रेजी वर्णमाला पढाइँदो रहेछ, म त भारतबाटै अंग्रेजी पढेर आएको थिएँ।” प्राथमिक तहपछिका दुई वर्ष सत्य मावि तुसारामा र अर्को तीन वर्ष स्थानीय बालशिक्षा माविमा पढेर २०५१ सालमा एसएसली पास गरेसँगै उनले अनिश्चय, अठोट, संघर्ष र सफलताको लामो यात्रामा आफूलाई होमेका थिए। 


सम्बन्धित सामग्री