Sunday, May 05, 2024

-->

शिक्षक–विद्यार्थी मिलेर कोदो काटिदिएको समाचारले सहयोगीहरूलाई यसरी जोड्यो

बालज्योति स्कुलमा कतैबाट आएको सहयोग कसलाई आवश्यक छ भनेर विद्यार्थीहरू स्वयंले मूल्यांकन गरी वितरण गर्छन्। प्रयोगात्मक शिक्षण, विद्यार्थीकेन्द्रित सिकाइलगायत कारण विद्यार्थीले विद्यालय छाड्दैनन्।

शिक्षक–विद्यार्थी मिलेर कोदो काटिदिएको समाचारले सहयोगीहरूलाई यसरी जोड्यो
आशा विकलाई सहयोग हस्तान्तरण गर्दै वडाध्यक्ष मीनबहादुर खत्री (बायाँ)। तस्वीरहरू: किसन पाण्डे/उकालो

प्युठान– झिमरुक गाउँपालिका–३, प्युठानस्थित कुटेडाँडामा रहेको बालज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक शंकरबहादुर बस्नेतले शिक्षक र विद्यार्थी परिचालन गरी कक्षा ४ मा पढ्ने छात्रा आशाकुमारी विकको बारीमा पाकेको कोदो काट्न सघाए। उक्त समाचार उकालोमा गत मंसिर १५ गते प्रकाशित भएको थियो। उक्त समाचार सार्वजनिक भएपछि ती छात्रा, विद्यालय र पढाइमा आर्थिक चुनौती झेलिरहेका अन्य विद्यार्थीको दुःखमा साथ दिन धेरै सहयोगीहरू जोडिएका छन्।

पारिवारिक कारण आफू एक्लैले कोदो काट्नुपर्ने भएपछि आशाले प्रधानाध्यापकसँग चार दिन बिदा मागेकी थिइन्। उनका बुवा कामका लागि भारतको पंजाबमा छन्। आमा (सानीआमा) दाउरा काट्न जाँदा भिरबाट लडेर गम्भीर घाइते भइन् जो हाल भारतमै उपचाररत् छिन्। ७९ वर्षकी हजुरआमा स्याहार्दै बसेकी आशाले बारीमा पाकेको कोदो काट्न कक्षाबाट बिदा मागे पनि प्रधानाध्यापक बस्नेतले शिक्षक र विद्यार्थीहरूको समूह पठाएर त्यो काम गरिदिए।

आशा विक (बायाँ) साथीहरूसँग।


आशाको बारीमा कोदो काट्न विद्यालयका ४ देखि ६ कक्षासम्मका विद्यार्थी र शिक्षकहरू गएका थिए। कोदो काटिरहँदा विद्यालयकी शिक्षक रविना विकले सम्झनाका लागि भनेर फोटो खिचिन्। सामाजिक सञ्जालमा राख्दा अभिभावक वा अन्य कसैले ‘विद्यार्थीलाई बारीमा काम गराउन किन लगेको’ भनेर प्रश्न गर्लान् कि भन्ने डर उनलाई लागेको थियो। तर उनले खिचेका फोटोहरू हेरेपछि प्रधानाध्यापक बस्नेतले ‘मानवीय भावनाले गरेको काम हो, सार्वजनिक गर्दा के होला र, राखिदिऊँ’ भनेर फेसबुकमा राखेका थिए।

तिनै फोटोका आधारमा प्रधानाध्यापक बस्नेतलाई सम्पर्क गरी थप सूचना लिएर उकालोले समाचार प्रकाशित गरेको थियो। राति प्रकाशित भएको समाचार आफूले मंसिर १६ गते बिहान मात्र पढ्न पाएको र सामाजिक सञ्जालमा शेयर पनि गरेको उनी बताउँछन्। समाचार प्रकाशित भएदेखि नै सामाजिक सञ्जालमा भटाभट शेयर हुन थालेको थियो।

“समाचारले साह्रै प्रभाव पारेको रहेछ। मन खुशीले गद्गद् हुन थाल्यो,” प्रधानाध्यापक बस्नेतले भने, “जीवनमा पहिलोपटक एकैचोटी यति धेरै व्यक्तिले फेसबुकमा मेसेज र फ्रेन्ड रिक्वेस्ट आए। फेसबुकमा २५ सय जति साथी थिए, दुई दिनमै पाँच हजारको सीमा पुग्यो।” उनलाई यति धेरै ‘मेसेज’ आएकी कतिपयको त अहिले पनि जवाफ फर्काउन सकेका छैनन्।

आशाकी हजुरआमा।


उक्त समाचार पढेर पहिलोपटक ओखरकोटबाट प्रदीप जीसीले आशाका लागि कपडा र हजुरआमालाई केही पैसा तथा ओढ्ने सल दिए। विद्यालयका अन्य विद्यार्थीलाई पनि पोसाक, कापीकलम सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यही दिन भरत महर्जनले काठमाडौँबाट आशाको परिवारको सबै ऋण तिरिदिने प्रतिबद्धता जनाए। तेस्रो दिन किरण बस्नेतले अमेरिकाबाट म्यासेज पठाएर सहयोग गर्ने जानकारी गराए। सबैतिरबाट सहयोगको कुरा आउँदा खुशी लागेको प्रधानाध्यापक बस्नेतले बताए।

आशालाई गोकर्णेश्वर नगरपालिका, काठमाडौँका श्यामबहादुर खड्का (७२)ले पहिलोपटक ५ हजार रुपैयाँ सहयोग पठाएका थिए। झिमरुक–५ खहरेकी विद्या एम्सीले ४ हजार रुपैयाँ दिइन्। हाल अमेरिका बस्ने किरण बस्नेत र सिरु बस्नेतले दुई विद्यार्थी आशा र सुमन विकलाई मासिक ५ हजार रुपैयाँका दरले १० कक्षासम्म पढुञ्जेलका लागि सहायता गर्ने प्रतिबद्धता जनाए।

त्यसबाहेक १३ जना विद्यार्थीले प्रतिविद्यार्थी ३ हजार रुपैयाँका दरले सहयोग पाएका छन्। यसरी सहयोग पाउने विद्यार्थीहरू शिक्षक र विद्यार्थीको सामूहिक छलफलबाट छानिएका हुन्। सहयोग पाउने विद्यार्थीमा सुमन विक, अमृत टमटा, बबिता जिसी, भावना विक, सुशील विक, प्रतीक्षा कार्की, सुप्रिया विक, रेजिना केसी, सोनिया जिसी, लक्ष्मी विक, सम्झना जिसी, सञ्जिता विक र शारदा विक छन्। लत्ताकपडा र कापीकलमका लागि भनेर प्रतिविद्यार्थी थप ३ हजार रुपैयाँ उनीहरूलाई हस्तान्तरण गरिएको छ।

आशा र सहयोग पाएका अन्य विद्यार्थीहरू।


किरण बस्नेत र सिरु बस्नेतले  अमेरिकाबाट ५५ हजार ४७१ रुपैयाँ पठाएका छन्। बाँकी रकमबाट अन्य विद्यार्थीलाई शैक्षिक सामग्री दिइएको विद्यालयले जनाएको छ। उनीहरूले विद्यालयको लागि पनि उल्लेख्य रकम सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानाध्यापक बस्नेतले बताए।  त्यस्तै, प्युठानकै बडाचौर घर भएकी मनीषा केसी गिरीले विद्यार्थीको कापीकलमका लागि १ हजार रुपैयाँ पठाएकी छन्।

आशालगायत विद्यार्थीहरूलाई प्राप्त सहयोग विद्यालयले हालै एक कार्यक्रमका बीच वितरण गरेको थियो। आफूले पाएको सहयोग रकमबाट नुनतेल, चामल लगायतका सामानको उधारो भुक्तानी गरेको आशाले बताइन्। उनलाई केही समयअघि विद्यालयले नै पोसाक, झोला र कापीकलम उपलब्ध गराएको थियो। 


कतैबाट आएको सहयोग सामग्री कसलाई आवश्यक छ भन्ने विद्यार्थीहरू स्वयंले परस्पर मूल्यांकन गरी प्राथमिकताअनुसार वितरण गर्ने अभ्यास बालज्योति आधारभूत विद्यालयमा छ। यसका लागि सामूहिक निर्णयबाट विद्यार्थीले नै वितरण गर्ने गरेको शिक्षक हिरा केसीले बताइन्। विद्यार्थीहरूलाई उनीहरूको क्षमताले भ्याएसम्म नैतिक आचरण, मानवीय गुणलगायत व्यवहारिक ज्ञानहरू सिकाइएको उनी बताउँछिन्। 

समाचार पढेका शुभचिन्तकहरूले पठाएको सहयोगबाट शिक्षक, विद्यार्थी र अभिभावक सबैको मनोबल बढेको अभिभावक खिमबहादुर विकले बताए। ओझेलमा परेको विद्यालयलाई माथि उकास्न आइरहेको सहयोगले विद्यार्थीको भविष्य उत्कृष्ट हुने आशा लागेको विद्यालय व्यवस्थापन समितिका सदस्य अहिन्द्र विकले बताए।

प्रधानाध्यापक बस्नेतको अभिभावकत्व
निरन्तर उतारचढाव भोगिरहेको यस विद्यालयमा २०७३ फागुन १८ गतेदेखि बस्नेतले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका हुन्। त्यसयता उनी विद्यार्थीका सुखदुःखको साथी र विद्यालयका सारथि बन्दै आएका छन्। उनको कार्यकुशलता, व्यावहारिकता र सरलताले जो कोहीलाई पनि आकर्षित गर्ने यहाँका अभिभावकहरू बताउँछन्। 

प्रधानाध्यापक बस्नेत भन्छन्, “विद्यार्थी किन विद्यालयमा निराश छन्, किन पढाइमा अरुचि प्रकट गर्छन् भन्नेजस्ता बिषयहरू परिवारसँग सम्बन्धित हुने भएकाले परिवारको पनि अध्ययन जरुरी छ। त्यसैले शिक्षक असल अभिभावक बन्न सक्नुपर्छ। हामीले त्यो प्रयत्नलाई अभ्यासमा उतारेका छौँ।” 

प्रधानाध्यापक बस्नेत।


कतिपय विद्यार्थीका अभिभावक मानसिक रूपमा कमजोर रहेको र कतिपयको बुवाआमा नै नभएको उनी बताउँछन्। फाटेका चप्पल लगाएर, खुट्टामा घाउ बनाएर स्कुल आउँछन्। हिँउदको जाडोमा पातलो कमिज मात्रै छ, लेख्ने पेन्सिल छैन, कापी छैन। “यस्तो अवस्थामा कसरी ती विद्यार्थीले पढ्छन्? कसरी शिक्षकलाई पढाउन मन लाग्छ?” उनी भन्छन्, “एक–दुई जना होइन, धेरैजसो बालबालिकाको यस्तो अवस्था देख्दा शिक्षण पेशा नै छाडेर यिनीहरूको हकहितमा केही गरौँ भन्ने लाग्छ।”

एउटा शिक्षक असल भयो भने विद्यार्थीलाई अनेकौँ सम्भावनाहरू देखाउन सकिन्छ र शिक्षित जनशक्ति योग्य र दक्षसँगै इमानदार पनि हुन्छ जसले बालबालिकाको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ भन्ने मान्यता उनी राख्छन्। “शिक्षा जीवन र समाजसँग नजोडिँदा शिक्षित व्यक्तिमा सहयोगी भावना घटेर गएको छ। मानिसहरू कोरा र यान्त्रिक बनेका छन्। व्यावहारिक जीवनका सबै समस्याहरू अरूले समाधान गरिदिनुपर्छ भने यस्तो शिक्षा पद्धतिलाई राज्यले परिमार्जन गर्नुपर्छ,” प्रधानाध्यापक बस्नेतले भने।

०९ सालमा खुलेको विद्यालयको कथा
बालज्योति आधारभूत विद्यालय कुटेडाँडामा २००९ सालमै स्थापित भएको हो। त्यति बेला गाउँकै सत्तलसिंह जिसीलाई महिनाको ३ रुपैयाँ तलब दिएर पढाउन राखिएको थियो।

२०१७ सालमा त्यो विद्यालय बन्द भएर ओखरकोटमा अर्को विद्यालय सञ्चालनमा आयो। तर स–साना बालबालिकालाई विद्यालय जान टाढा भयो। त्यसको तीन दशकपछि २०४६ सालमा बालज्योति आधारभूत विद्यालय पुनः स्थापना गरियो। त्यतिबेला शिक्षक टोपबहादुर जीसीलाई १२ हजार रुपैयाँमा विद्यालय बनाउने ठेक्का दिइएको थियो।

त्यो ठेक्का रकमले विद्यालय बनाउन मुस्किल थियो। स्थानीयले तिहारमा देउसीभैलो खेलेर पैसा जम्मा गरी विद्यालय चलाउन सहयोग गर्थे। त्यसले पनि नपुग्दा अभिभावकहरूले यथासक्य चन्दा उठाउँथे। २०५० सालसम्म शिक्षक नारायण विक मासिक ३०० तलब लिएर पढाए।


२०५० सालमा सरकारले पहिलो पटक शिक्षक दरबन्दी दिएसँगै नरेन्द्र जीसी पढाउन आइपुगे। सोही दरबन्दी आएपछि नै कक्षा ३ सम्मको पढाइ चल्न थाल्यो। २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिले दिएको बजेटबाट भवन बनेसँगै कक्षा ६ सम्म सञ्चालन भयो। तर अर्को वर्ष कक्षा ६ मा पुगेका विद्यार्थीले पढ्ने ठाउँ नै पाएनन्।

कलिला उमेरका विद्यार्थीले दैनिक चारदेखि पाँच किलोमिटर पैदल ओहोरदोहोर गरेर कक्षा ६ मा पढ्नुपर्ने बाध्यता आइपर्‍यो। त्यसलाई अन्त्य गर्न विद्यालय व्यवस्थापन समितिले अभिभावकहरूसँग सल्लाह गरी कक्षा ६ थप गर्ने योजना बनायो। त्यसअनुसार १ लाख ५० हजार रुपैयाँ चन्दा उठाइयो। लगत्तै विद्यालयको आन्तरिक स्रोतबाट तलब खुवाउने गरी एक शिक्षक थपेर कक्षा चलाउन शुरू गरिएको कक्षा थप व्यवस्थापन समितिका अध्यक्ष जुमानसिंह विक बताउँछन्।

“गरिब र दलित समुदायका बालबालिकाले मुस्किलसँग ५–६ कक्षासम्म पढेर छोड्ने अवस्था छ। कम्तीमा ८ कक्षासम्म पढेपछि अलिकति भए पनि शिक्षाप्रतिको लगाव बढ्छ र भविष्य बनाउनुपर्छ भन्ने चेतना विकास हुन्छ कि भनेर यस विद्यालयमा ८ कक्षासम्म पढाउनतिर लागेका छौँ,” उनले भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर कामी।


कक्षा थप नगरी नहुने अवस्था भए पनि स्थानीय, प्रदेश र केन्द्र सरकारबाट सहयोग नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर कामीको गुनासो छ। विद्यालयमा अहिले राहत दरबन्दीका दुई, गाउँपालिकाको अनुदानबाट एक, स्थायी एक र विद्यालयको निजी स्रोतबाट एक गरी जम्मा पाँच शिक्षक कार्यरत छन्।

शिक्षक, कक्षाकोठा र अन्य भौतिक पूर्वाधारको अभावमा विद्यालयको स्तरोन्नति गर्ने योजना चुनौतीपूर्ण रहेको प्रधानाध्यापक बस्नेत बताउँछन्। उनले पद सम्हालेयताका चार वर्षदेखि यो विद्यालयको नतिजा झिमरुक गाउँपालिकामै उत्कृष्ट छ। यस वर्ष पनि विद्यालयले १ लाख ५० हजार रुपैयाँ राशिको उत्कृष्टता पुरस्कार पाउने आफूलाई शिक्षा शाखा प्रमुख मोहन बीसीले जानकारी दिएको बस्नेत बताउँछन्। शिक्षक असल भएपछि जुनसुकै हालतमा पनि उत्कृष्ट शिक्षा दिन सकिने प्रधानाध्यापक बस्नेतको दृढता छ।

“विद्यालय र अभिभावक दुवैले आर्थिक अभाव भोगिरहेका छौँ। तापनि कक्षा ८ सम्म पुर्‍याउनुपर्छ भनेर सबै लागिरहेका छौँ। शिक्षक अपुग हुँदा बहुकक्षा शिक्षण (एकै शिक्षकले एकभन्दा बढी कक्षालाई एकसाथ पढाउने विधि) अपनाएर भए पनि विद्यार्थीलाई आवश्यक ज्ञान र सीप दिइरहेका छौँ,” उनले भने।

यो पनि: जब ११ वर्षीया आशाले कोदो काट्न हेडसरसँग ४ दिन बिदा मागिन्...

अन्यत्रका विद्यार्थी विद्यालय जानै मान्दैनन्। गए पनि पढाइमा ध्यान दिँदैनन्। तर बालज्योतिका विद्यार्थीहरू घर बस्नै मान्दैनन् भनेर कैयौँ पटक उनलाई अभिभावकहरूले गुनासोसमेत गरेका छन्। प्रयोगात्मक शिक्षण, विद्यार्थीकेन्द्रित सिकाइ र व्यावहारिक शिक्षाका कारण विद्यार्थीहरू विद्यालयमा आकर्षित भएको बस्नेत बताउँछन्।

व्यावहारिक शिक्षाका लागि गाउँपालिकाले विद्यालयलाई ५० रोपनी जग्गा हकभोग गर्न दिएको छ। शिक्षकहरूले प्रत्येक विद्यार्थीलाई विभिन्न बालीका एक/एक वटा बिरुवा हस्तान्तरण गर्छन्। आफ्नो जिम्मामा रहेका बोटबिरुवा आफैँले रोप्ने, गोडमेल गर्ने, फलाउने र बाली स्याहार्नेसम्मका कामहरू गर्न विद्यार्थीलाई सिकाइन्छ। विद्यालयले आफ्नो भवन बनाउँदा पनि विद्यार्थीलाई श्रममा प्रत्यक्ष सहभागी गराएर निर्माणसम्बन्धी आधारभूत सीप सिकाएको थियो।

प्रधानाध्यापक बस्नेत भन्छन, “घरमा के खायौ, कुनै समस्या परेको छ कि, आमाबुवाबीच मेलमिलाप कस्तो छ इत्यादि प्रश्न सोधेर समस्यामा परेका विद्यार्थीको पढाइ प्रभावकारी बनाउने उपायबारे हामी अध्ययन गरिरहेका हुन्छौँ।”

विकास र प्रगति सुविधासम्पन्न विद्यालयले मात्रै गर्छन् भन्ने मान्यतालाई बालज्योतिले गलत साबित गरिदिएको बताउने झिमरुक गाउँपालिका–३ का वडाअध्यक्ष मीनबहादुर खत्री बताउँछन्। उनी भन्छन्, “शिक्षकको सही विचार, दृष्टिकोण, लगनशीलता र फरक सोचले मात्रै पनि विद्यार्थीको जीवनमा सार्थक परिवर्तन ल्याउन सकिने उदाहरण यो विद्यालयले दिएकोमा हामी सिंगो वडाबासीलाई गर्व छ।”

झिमरुक गाँउपालिका वडा नं. ३ मा एउटा मात्र माध्यमिक विद्यालय छ। दुई वटा प्रावि र एउटा आधारभुत विद्यालय छन्। समुदायमा आधारित बालविकास केन्द्र एउटा र विद्यालयमा आधारित बालविकास केन्द्रहरू चार वटा छन्।


सम्बन्धित सामग्री