Thursday, September 12, 2024

-->

जो जलेको ज्यानमा शीतलता छर्छन्, गलेको मनमा मनोबल भर्छन्

जलन पीडितको आत्मबल उकास्न बलियो खम्बा बनेर उभिएका अभियन्ता हुन् उज्ज्वलविक्रम थापा। पोलिएकाको घाउमा मलहमपट्टीसँगै तिनलाई जीवनभर शीतलता दिने उनको सपना जलन कोष स्थापनासँग जोडिएको छ।

जो जलेको ज्यानमा शीतलता छर्छन् गलेको मनमा मनोबल भर्छन्
अभियन्ता उज्ज्वलविक्रम थापा। तस्वीर : कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– “सात लाख २५ हजार जना जलेकामध्ये ६० जना तेजाब प्रहारबाट जलेकाको समस्या मात्रै फुकाएर सम्पूर्ण जलनपीडितको पीडा सम्बोधन भएको छैन,” जलन पीडितलाई सहजसँग उपचार दिलाउने अभियानमा समर्पित भएर लागेका अथक अभियन्ता उज्ज्वलविक्रम थापाले भने।

उनका अनुसार रास्वपाकी सांसद बिन्दबासिनी कंसारमाथि तेजाब आक्रमण भएयताका ११ वर्षमा पुगनपुग १०० जना तेजाबको जलनमा परेका छन्। संगीता मगर र सीमा बस्नेतलाई नौ वर्षअघि बसन्तपुरमा आक्रमण भएपछि तेजाब आक्रमणसम्बन्धी खबर चर्चामा आएको हो। अहिलेसम्म जम्माजम्मी २०/२५ वटा त्यस्ता घटना सार्वजनिक जानकारीमा आए। यसै अवधिमा विभिन्न कारणले जलेका करिब सात लाख २४ हजार पीडित छन्। यद्यपि  तेजाबबाहेक अन्य कारणले जलेका अधिकांश बिरामीको समस्या अहिलेसम्म सम्बोधन भएको छैन।

देशमा तेजाब बिक्रीसम्बन्धी कानूनलाई कडा बनाउन र जलन पीडितलाई निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग राख्दै आएका अभियन्ता थापाले विगत नौ वर्षदेखि यसका लागि निरन्तर वकालत गरिरहेका छन्। 

मानवीय सेवाको शुरूआत  
२०२५ सालमा काठमाडौँको कमलपोखरीमा जन्मिएका थापा सानैदेखि सहयोगी स्वभावका थिए। यसको श्रेय उनी बुवा मोहनविक्रम थापालाई दिन्छन्। “बुवाले गाउँ (सिन्धुली) बाट आउने मान्छेका लागि भनेर हाम्रो पुरानो घर पूरै खाली राख्नुभएको थियो। पढ्न, उपचार गराउन या अन्य कारणले काठमाडौँ आउनेहरूलाई निःशुल्क खाना र बासको सुविधा थियोे,” उनले भने, “अन्जान सहरमा समस्या नहोस् भनेर बुवाले यसरी अरूलाई सहयोग गर्नुहुन्थ्यो। उहाँले नै मलाई आपत्मा परेकालाई सहयोग गर्नू भनेर सिकाउनुभएको हो।” 

सानो छँदा उनी बुवाको पैसा सुटुक्क निकालेर कमलपोखरीको रातोपाटी अगाडि बसेकालाई दिने गर्थे। “एक दिन बुवालाई चिन्ने एक जना मान्छेले कुरा लगाइदिएछन्। बुवाले मलाई रंगेहात समातेर पिट्नुुभयो,” थापाले आफ्ना पुराना दिन सम्झिँदै भने।

काठमाडौँको सानो सहरमा हुर्केका थापा ठूलो भएर पैसा कमाउँछु र त्यसमै रमाउँछु भन्ने भावना सानै छँदादेखि आफूमा नभएको बताउँछन्। “मेरा धेरै ठूला लक्ष्यहरू थिएनन्। धेरै पैसा कमाएर सम्पत्ति जम्मा गर्छु भन्ने कहिल्यै लागेन। मेरो आमाबुवा दुवै शिक्षित हुनुहुन्थ्यो,” उनी भन्छन्, “उहाँहरूले शिक्षालाई धेरै महत्व दिनुभयो। त्यसैले जावलाखेलस्थित सेन्ट जेभियर्समा प्राथमिक तहको शिक्षा पूरा गरेर भारतको शेरवुड कलेजबाट १२ कक्षा उत्तीर्ण गरेँ।” 

बुवाको आदेशमा सानैदेखि उनी घरमा आएका बिरामीलाई लिएर आफै अस्पताल पुग्थे। भारतमा बसेर पढ्दै गरेका थापा छुट्टीमा घर फर्कंदा बिरामीलाई अस्पताल पुर्‍याउने र उपचार गराउने गर्थे। १२ पास गरेपछि इन्जिनियरिङमा उच्च शिक्षा हासिल गर्न उनी फिलिपिन्स गए। 

बीस वर्षको उमेरमा थापाले ‘मदर टेरेसाज कालीघाट होम फर द डाइङ डेस्टिट्युट्स’ भनेर चिनिने बिरामीको धर्मशालामा स्वयंसेवकको रूपमा काम गरे’ जुन अहिले ‘कालीघाट होम फर द डाइङ’ को नामले परिचित छ। “कालीघाट होममा बिरामीहरूलाई निकै पीडामा देखेँ। केही दिनसम्म जिन्दगीको वास्तविकता आँखाअघि देख्दा साह्रै गाह्रो भयो। तर शारीरिक पीडालाई पन्छाएर हेर्न थालेपछि मानवताको सुन्दरता मात्र देखेँ,” उनी भन्छन्।

काठमाडौँमा विभिन्न व्यवसाय गरेका थापा आफूलाई सधँै कुनै सामाजिक सेवामा संलग्न राख्थे। ४६ वर्ष पुगेपछि उनले आफ्नो व्यवसाय छाडेर सामाजिक काममा पूर्ण ध्यान दिने निर्णय गरे। “हृदयले चाहेको कार्य गरौँ भनेर लागेँ। बच्चाहरू आफ्नो लागि राम्रो काम गरिरहेका भएर आर्थिक जिम्मेवारी पनि थिए,” उनले भने, “त्योबेला फेन्सी टोयोटा गाडी चलाएको म अहिले महिन्द्रा बोलेरो चलाउँछु। आवश्यक पर्दा त्यसले एम्बुलेन्सको काम गर्छ।” 

जलन पीडितमाझ चुलिएको लोकप्रियता
आफ्नो गाउँबाट आएर उपचार लिइरहेका बिरामी भेट्न थापा एक दिन वीर अस्पताल गएका थिए। त्यसबेला उनले अलि पर एक शय्यामा एउटा बिरामीलाई झुलले ढाकेर राखिएको देखे। छेउमा बिरामीकी आमा कुरिरहेकी थिइन्। त्यो दृश्यले उनको मनमा कौतुहलता जाग्यो। उनले बिरामीको अवस्थाबारे त्यहाँ कुर्न बसेकी आमासँग सोधे। आगोले पोलेर उपचारको लागि अस्पताल आएको थाहा पाएपछि उनले झुल थोरै उचालेर छेउबाट हेरे। बिरामीको जलेको शरीर भयावह थियो। 

“वीर अस्पतालमा पहिलो पटक जलेको बिरामी देख्दा सबैभन्दा बढी पीडा जिउँदै जलेकालाई हुँदो रहेछ भन्ने स्मरण भयो,” उनले भने।

बिरामीको आमासँग कुरा गर्दा उपचारका लागि घरबाट ल्याएको सबै पैसा खर्च भएको थाहा भयो। उनलाई त्यसदिन खाना खर्च दिएर थापा बिदा भए। आफ्नो बिरामी भेट्न दैनिकजसो अस्पताल पुग्दा उनी जलेको बिरामी कुरिरहेकी आमालाई आफूसँग भएजति पैसा दिएर फर्किन्थे। अन्तिम दिन पैसासँगै आफ्नो घरको फोन नम्बर दिएर सहयोग चाहिएमा सम्पर्क गर्नुहोला भनेर निस्किए। 

त्यसपछि जब फोन आउँथ्यो तब उनी मद्दत गर्न पुग्थे। केही समयको निरन्तर उपचारपछि उनीहरू गाउँ फर्किए। गाउँमा पनि अरू कोही जल्नेबित्तिकै सम्पर्क गर्नू भनेर आफ्नो फोन नम्बर दिए। यसरी बिस्तारै एकबाट अर्को जिल्लामा भएका जलन पीडितहरूमाझ थापाको नम्बर फैलिन समय लागेन। 

तेजाब आक्रमण र जलन हिंसाविरुद्ध कानून निर्माणको स‌घर्ष
२०७१ सालको घटना हो। त्यस पटक पनि एक बिरामी भेट्न उनी वीर अस्पताल गएका थिए। अस्पतालको आकस्मिक कक्षबाट निकै ठूलो आवाज आयो। आवाजलाई पछ्याउँदै उनी त्यहीँ पुगे। काठमाडौँमा बसेर पढिरहेकी १६ वर्षीया संगीता मगरलाई तेजाब आक्रमणले जलन भएको थियो। त्यसैकोे उपचारका निमित्त अस्पताल ल्याइएको थाहा भयो। तेजाबले जलेको उनको अनुहार देख्दा डर र रिसले निशब्द भएको उनलाई सम्झना छ।  

“संगीताको अनुहारमा मैले राम्ररी हेर्न पनि सकिनँ। आफ्ना छोरीहरूको अनुहार आँखाअगाडि आएपछि म झल्याँस्स भएँ। भोलि आफ्नै छोरीहरू पनि त्यस्तोमा पर्न सक्छन् भन्ने दिमागमा आयो,” उनले भने, “त्यसपछि त झन् एकदमै असहाय र रित्तोपन महसुस भयो।” 

त्यतिबेला कक्षा १० मा पढ्दै एसएलसीको तयारी गरिरहेकी थिइन् संगीता। अस्पतालमै जाँच दिन अनुमति माग्दै उनले तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र गृहमन्त्री वामदेव गौतमलाई चिठी लेखिन्। संगीतालाई निःशुल्क उपचार र नोबेल एकेडेमीमा माध्यमिक शिक्षा उपलब्ध गराउन थापाले सरकारसँग अपिल गरे। आफ्ना दुवै आग्रह सरकारले स्वीकारेसँगै उनी तेजाब आक्रमण र जलन हिंसा विरुद्धको लडाइँमा अघि बढे। त्यही सिलसिलामा जहाँ पायो त्यहीँ तेजाब बिक्रीवितरण र प्रहार गर्नेलाई कडा सजाय र पीडितलाई आजीवन निःशुल्क उपचार दिने गरी कानून बनाउन सरकारसँग आग्रह गर्न थाले।

त्यसै बेला आफूलाई भएको हिंसाविरुद्घ लड्न संगीता सर्वोच्च अदालतसम्म पुगिन्। थापा र उनको निरन्तर प्रयासले २०७४ सालमा सर्वोच्च अदालतले पीडितहरूलाई हेरचाहका साथै क्षतिपूर्ति प्रदान गर्न र तेजाबको बिक्रीलाई नियमन गर्न सरकारको नाममा आदेश जारी गर्‍यो। त्यसबमोजिम नै सोही वर्ष आएको नयाँ दण्ड संहिताले कुनै व्यक्तिलाई तेजाब प्रहार गर्नेलाई पाँचदेखि ८ वर्षसम्मको जेल सजाय तोकेको छ। 

२०७४ भदौमा रौतहट जिल्लामा सम्झना र सुस्मिता दासलाई छिमेकीले तेजाब प्रहार गरेका थिए। सम्झना करिब ५० प्रतिशत जलेकी थिइन्। उनको छाला सबै पग्लिइसकेको थियो। सुस्मिताको चोट भने गम्भीर थिएन। जीवन र मृत्युसँगको लडाइँमा १२ दिनपछि सम्झनाको दर्दनाक मृत्यु भयो। थापा भन्छन्, “त्यस दिन मैले तेजाब आक्रमण र जलन हिंसा जस्ता अपराध नरोकिएसम्म आराम गर्दिनँ भनेर सम्झनाको आत्मासँग वाचा गरेँ।”

फेरि २०७५ जेठमा काठमाडौँकी जेनी खड्कामाथि आफ्नै पति विष्णु भुजेलले झगडापछि तेजाब प्रहार गरे। उनलाई कीर्तिपुर अस्पतालमा लगियो। खड्कामाथिको अपराध मिडियाको हेडलाइन बन्यो। खड्कालाई सहयोग पुर्‍याउन थापा त्यही अस्पतालमा पुगे। 

जलन पीडितलाई सहयोग गर्न वर्षौंसम्म आफ्नो जीवन समर्पण गरेका थापालाई २०७७ सालमा समाज सेवा पदक प्रदान गरिएको थियो। तर तेजाब बिक्री नियन्त्रण र पीडितलाई निःशुल्क उपचार गर्ने विधेयक पारित नभएसम्म उनले पुरस्कार लिएनन्। 

त्यही साल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले एक अध्यादेशमा हस्ताक्षर गरिन् जसमा तेजाब आक्रमणका दोषीहरूलाई अन्य जघन्य अपराधहरूसँग बराबरीमा ल्याएर कडा सजाय दिने प्रावधान राखियो। कसैले तेजाब आक्रमणको प्रयास गरेमा पाँच वर्षसम्म कैद हुने र तेजाबले अर्को व्यक्तिलाई शारीरिक हानि पुर्‍याउँछ भने चोटपटकको आधारमा आक्रमणकारीले २० वर्षसम्म जेल सजाय भोग्नुपर्ने व्यवस्था पनि कानूनमा समेटियो। 

त्यस्तै, एक वर्षभित्र पीडितको मृत्यु भएमा २५ वर्ष वा आजीवन काराबासको सजाय हुने व्यवस्था राखियो। कानूनको अन्तिम भागमा प्रत्येक तेजाब पीडितलाई निजी वा सार्वजनिक जुनसुकै अस्पतालमा प्राथमिक उपचारको हक हुने उल्लेख गरियो।

तर थापा अझै पनि यो कानूनसँग असहमत थिए। पीडितलाई भएको क्षतिको मात्रा भन्दा अपराधीको इरादामा सजाय तोक्नुपर्ने उनको जोड थियो। “प्रहार गरिएको तेजाबले क्षति कम गरेमा त्यो पीडितको भाग्य हो। तर भाग्यले पनि अपराधीलाई साथ दिन्छ। तेजाब प्रहार जस्तो जघन्य अपराध गरेर अरूलाई हानि पुर्‍याउने नियतका आधारमा सजाय दिनुपर्छ,” उनले भने। 

सन् २०२० मा जनकपुरकी आरती साहमाथि तेजाब प्रहार भयो। पूर्ण नग्न भएर अस्पताल पुर्‍याइएकी उनको हकमा कानूनी व्यवस्थाअनुसार निजी वा सार्वजनिक जुनसुकै अस्पतालमा पनि प्राथमिक उपचारको हक हुने नियम लागू भएन। बरु उनलाई उपचार शुरू गर्नुभन्दा पहिले पैसा जम्मा गर्न भनियो। यो खबर तुरुन्त थापाको कानमा पर्‍यो।   

उनले भने, “तत्काल प्राथमिक उपचार दिनुपर्ने अवस्थामा पैसा पहिले जम्मा गर्नुपर्ने सुन्दा त म निकै अचम्म परेको थिएँ।” 

२०७७ सालमा बनेको तेजाब आक्रमण र जलन हिंसा विरुद्धको ऐनले अपराधीलाई कडा सजाय दिने व्यवस्था गरेको छ। उक्त कानूनअनुसार तेजाब आक्रमणबाट हत्या गर्दा आजीवन काराबास, आँखा, कान, मुख र छाती जस्ता महत्वपूर्ण अंगहरूमा क्षति पुर्‍याउँदा २० वर्ष,  हातखुट्टा र परिधीय अंगहरूमा भए १५ वर्ष र आक्रमण गर्ने इरादा पाइएमा कम्तीमा १० वर्षको कैद सजाय हुने व्यवस्था ऐनमा छ।

जलेकालाई रोजगारीको अवसर 
तेजाब आक्रमण र जलन हिंसाको सिकार भएकालाई अझै पनि सामाजिक कलंकले पछ्याइरहन्छ। जलेकाहरूमा हौसला बढाउँदै जीवनमा उद्देश्य प्रदान गर्न थापा उनीहरूलाई रोजगारीको अवसर उपलब्ध गराउन पनि सफल भए। 

उनीहरूलाई रोजगारी दिनुमा थापाको अर्को उद्देश्य पनि थियो। उनी जलेकाहरूलाई समाजको सामु निकालेर उनीहरूको घाउ सामान्य बनाउन चाहन्थे। उनले जलन भएकालाई काम लगाइदिन सरकारी निकायहरूसँग समन्वय गरे। प्रत्येक तेजाब आक्रमण र जलेर बाँचेकाहरूलाई ‘फ्रन्ट डेस्क’मा मात्र काम गर्न लगाइयोस् भनेर थापाले सम्झौता नै गरे।

“फ्रन्ट डेस्कमा काम गर्दा दैनिक ३०० जना भन्दा बढीले उनीहरूलाई हेरे भने पनि बिस्तारै सामाजिक कलंक केही हदसम्म कम हुन्छ भन्ने हो। उनीहरूको अनुहारमा भएको दाग जन्मजात वा रोग होइन, अरूबाट भोग्नुपरेको अपराधको दाग हो भनेर सबैलाई थाहा हुन जरूरी छ,”उनले भने। 

सरकार र मिडियाप्रति असन्तुष्टि
जलनपीडित बिरामीका लागि सरकारले गरेको कामप्रति थापा अझै पनि सन्तुष्ट छैनन्। “तेजाब बेचबिखन विरुद्धको कानून बन्नु, आक्रमणकारीलाई कडा सजाय दिनु र पीडितलाई निःशुल्क उपचार गराउनु पक्कै पनि राम्रो हो। तर अन्य कारणले जलेका अझ बढी छन्,” उनले भने, “उनीहरूको पीडा र संघर्षलाई पनि सम्बोधन गरेर स्वास्थ्य सुविधा ल्याउन उत्तिकै जरूरी छ। सरकारले तेजाब आक्रमणमा परेका ६० जनाको पीडा मात्रै सम्बोधन गरेर जलेका लाखौँलाई बेवास्ता गर्दै जिम्मेवारीबाट भाग्न पाउँदैन।”

कतिपय सञ्चारमाध्यमले जलनसम्बन्धी विषयलाई छानेर प्रकाशित गरेकोमा उनी उत्तिकै निराश छन्। “अपराध समाचार बन्छ, पीडा बन्दैन। कोहीमाथि तेजाब आक्रमण भएको लेख्न सबैलाई मन लाग्छ। उच्च दर्शकदर हुन्छ,” उनले भने, “तर जलनको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ। उनीहरूको पीडा, दुःख र संघर्षको विषयमा लेख्न मन कसैलाई लाग्दैन।”

थापाको मागः जलन कोष
जलनमा परेका बिरामीहरूको सेवा र सहयोगमा वर्षौंदेखि समर्पित भएर लागिरहेका अभियन्ता थापा अहिले चार अस्पताल (कीर्तिपुर, सुष्मा कोइराला, कान्ति बाल र त्रिभुवन विश्वविद्यालय शिक्षण) सँग नजिक रहेर काम गरिरहेका छन्। सहज स्वास्थ्य सेवा फाउन्डेसन लगायतका संघसंस्थाको सहकार्यमा उनले जलनका बिरामीलाई आर्थिक सहयोग पनि पुर्‍याइरहेका छन्। जलनका बिरामीको तर्फबाट सरकारी तथा गैरसरकारी संस्थामा लबिइङ गरिरहेका उनी अहिले जलन कोष स्थापना गर्न सरकारसँग माग गरिरहेका छन्।

“मान्छे जिउँदै जल्नु अकल्पनीय पीडादायी अवस्था हो। तर यसैको उपचारलाई अन्य रोगमा जस्तो कोष दिइँदैन,” उनले भने, “जलन कोष स्थापना भयो भने आर्थिक अवस्था कमजोर भएर जलनको उपचार गराउन नसक्ने बिरामीले सजिलै उपचार र पुनर्जीवन पाउँछन्।”

उनका अनुसार युवाले पदयात्राका सुन्दर तस्वीरहरू पोस्ट गरेर ‘स्वर्ग मिथक हो, नेपाल वास्तविक हो’ भनेर क्याप्सन लेख्छन्। तर नेपाल टाढाबाट हेर्दा मात्र सुन्दर छ। नजिकैबाट हेर्दा धेरै अप्रिय चिजहरू देखिन्छन्। त्यसलाई सुधार गर्न निकै कम मानिस लागिपर्छन्। वास्तविक नेपाल देख्ने, पीडितप्रति समानुभूति देखाउने र सत्तामा रहेकाहरूलाई जवाफदेही बनाउने काम सबैभन्दा बढी महत्वपूर्ण रहेको थापा ठान्छन्। 

“आजका पीडितहरूप्रति सरकारका पदाधिकारीहरूले लाज नमान्दासम्म म काम गरिरहने छु,” उनी भन्छन्, “जलन पीडितलाई आधारभूत मानवअधिकार दिलाउनु सरकारको दायित्व हो। तर सरकार नराम्ररी असफल भएको छ। त्यसैले हामीले उठाएका आवाजहरूसँगै आम जनताको बलियो गठबन्धन (मेलमिलाप) हुनुपर्छ।”


सम्बन्धित सामग्री