Sunday, May 05, 2024

-->

जब ११ वर्षीया आशाले कोदो काट्न हेडसरसँग ४ दिन बिदा मागिन्...

आशालाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो।

जब ११ वर्षीया आशाले कोदो काट्न हेडसरसँग ४ दिन बिदा मागिन् 
आशाकुमारी विक (माथि), उनको बारीमा कोदो काट्दै गरेका विद्यार्थी र बालज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक शंकरबहादुर बस्नेत। तस्वीरहरू सौजन्य: कृष्णा जीसी

काठमाडौँ– मंसिर ११ गते पूर्णिमाको दिन। प्युठान जिल्लाको झिमरुक गाउँपालिका–३, कुटेडाँडामा रहेको बालज्योति आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी सबै गाउँमा लागेको ब्रह्माथान मेला हेर्न गएका थिए। मेलामा रमाइरहेका बालबालिकामध्ये कोही खेल्दै थिए, कोही मन पर्ने खानेकुरा किनेर खाइरहेका थिए। रमझमको त्यो माहोलमा कक्षा ४ मा पढ्ने आशाकुमारी विक पनि थिइन्। 

विद्यालयका प्रधानाध्यापक शंकरबहादुर बस्नेतले ११ वर्षकी आशाको अनुहारमा निराशाको बादल देखे। टोलाइरहेकी उनी न खुशी देखिन्थिन् न त साथीहरूले झैँ मेलामा पाकेका परिकारको स्वाद नै लिइरहेकी थिइन्। प्रधानाध्यापक बस्नेतले चासो दिएर सोधीखोजी गरे। तर अन्तर्मुखी स्वभावकी उनले खुलेर केही बोलिनन्। आशाको मलिन अनुहारको मौनताले कुनै न कुनै चिन्ता बोलिरहेझैँ उनलाई लाग्यो। 

विद्यालयमा पढ्ने १०३ बालबालिका सबैजसो नै मेलामा सहभागी थिए। दिनभरको रमाइलो मेला सकियो। घर फर्किने बेला आशाले आफूसँगै पढ्ने साथीहरूमार्फत हेडसरसँग राखिदिन एउटा अनुरोध गरिन्। त्यो अनुरोध थियो– उनलाई चार दिनका लागि चाहिएको बिदाको स्वीकृति। बिदा जरुरी पर्नाको कारण पनि आशाले साथीहरूसँग साझा गरिन्। 

खासमा उनलाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो। मनमा मडारिइरहेको कोदो जोगाउने चिन्ताबारे आफैँले बोल्ने आँट नआउँदा उनले साथीहरूको सहयोग लिएकी थिइन्। 


आशाले गरेको अनुरोध उनका साथीहरूको मुखबाट सुनेपछि विद्यालयका प्रधानाध्यापक बस्नेतको मन छोयो। “त्यो सुनेपछि नानीलाई साह्रै गाह्रो रहेछ भन्ने मैले थाहा पाएँ। घरमा खानाको जोहो गर्नेदेखि ८४ वर्षकी हजुरआमा स्याहार्नेसम्मको जिम्मेवारी उनकै थाप्लोमा रहेछ,” उनले उकालोसँग भने, “त्यो आइतबारको कुरा थियो। त्यसको छैटौँ दिन शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शिक्षक र विद्यार्थी सबै मिलेर उनको बारीको कोदो काटिदिने योजना मनमनै बनाएँ।” 

त्यसपछि उनले आशालाई स्कुल छाडेर एक्लै कोदो काट्नुको सट्टा दुई–चार दिन पर्खन भने। शुक्रबारको पर्खाइ हुँदै थियो। एक दिन बाँकी छँदा बिहीबार बिहान विद्यालयका एकदुई जना अन्य विद्यार्थीले आशाको कोदोबाली बाँदर आएर सिध्याउनै लागेको खबर ल्याए। “त्यो सुन्नासाथ अरू सरम्याडमसँग सल्लाह गरेर शिक्षक र विद्यार्थी सबै मिलेर हिजो (बिहीबार) इन्टरभलको समयमा कादो भित्र्याइदियौँ,” प्रधानाध्यापक बस्नेतले सन्तुष्ट भावमा सुनाए।  

शिक्षक र विद्यार्थीहरूलाई एकैसाथ कोदो काट्न धेरै औजार चाहिने भएकाले गाँउबाट हँसिया–करौँती जम्मा गरेर एकैछिनमा काटिएको उनले बताए। “आशाकी हजुरआमाको स्वास्थ्य एकदमै नाजुक रहेछ। बाँदरले आएर बाली खाइदिए पनि धपाउन नसक्ने उहाँको अवस्था र परिवारमा अरू कोही पनि नहुँदा उनलाई साहै्र दुःख भएको रहेछ। हामीले थाहा पाएर सामूहिक रूपमा मद्दत गर्‍यौँ,” प्रधानाध्यापक बस्नेतले भने।

आशामाथि अभिभारा आउनुको कारण 
आशाको परिवारमा उनका बुवा र कान्छीआमा छन्। दुई दिदी र दाइपछि जन्मेकी उनी चार वर्षकी हुँदा आमाले छाडेर अर्को बिहे गरिन्। त्यसपछि सुकुमारी विक कान्छीआमाको रूपमा भित्रिएकी थिइन्। दिदीको बिहे भइसक्यो। दाइ १६ वर्ष भएपछि गरिबीको कारण कामको खोजीमा भारत गए। 

बालज्योति आधारभूत विद्यालयमा विद्यार्थीहरूसँगै प्रधानाध्पायक बस्नेत।


आम्दानीको बाटो केही नभएपछि उनका बुवा पनि भारतको चण्डिगढमा मजदुरी गरिरहेका छन्। घरमा आशालाई कान्छीआमा र वृद्धावस्थाकी हजुरआमाले साथ दिइरहेका थिए।   

तिहार आउनै लागेको थियो। गत कात्तिक २३ गते कान्छीमाआ सुकुमारी दाउरा खोज्न जंगल गएकी थिइन्। दाउरा भाँच्दै गर्दा अचानक उनी भिरबाट लडिन् र निकै तल पुगेर बजारिइन्। दाहिने हात कुहिनाबाट फुत्कियो। शरीरमा अन्य भागमा पनि चोटपटक लाग्यो। लगत्तै उनले भारतमा काम गरिरहेका श्रीमान‍्लाई खबर गरिन्।  

लडेको दुई दिनपछि उपचारका लागि आफन्तले उनलाई प्युठानको बिजुवार अस्पताल पुर्‍याए। त्यहाँ उपचार नहुने भएपछि श्रीमान‍्ले उनलाई आफू रहेकै ठाउँमा बोलाए। त्यसपछि सुकुमारी उपचारको लागि भारतको चण्डिगढ गइन्। अहिले त्यहाँको पीजीआई अस्पतालमा उनको उपचार भइरहेको छ।

त्यही घटनापछि आशाको काँधमा परिवारको पूरै जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता आइलाग्यो। साँझबिहानको घरधन्दादेखि बारीमा पाक्दै गरेको कोदोबालीसँगै हजुरआमाको रेखदेख र आफ्नो पढाइ सँगसँगै लैजानुपर्दाको बोझले उनी साह्रै चिन्तित भइन्। त्यही चिन्ताको बादल प्रधानाध्यापक बस्नेतले मेलाको दिन उनको अनुहारमा देखेका थिए। 


“कान्छी आमाले खेतबारी हेरेई। म हात सञ्चो भएपछि आउँछु। ह्या आमालाई हेरेई भन्नुभयाथ्यो,” आशाकुमारीले उकालोसँगको टेलिफोन संवादमा भनिन्। तिहारको बेलामा नयाँ लुगा लगाएर देउसी–भैलो खेल्दै साथीहरूसँग रमाउने उनको इच्छा थियो। तर घरपरिवार र खेतबारी सम्हाल्दै बस्नुको विकल्प उनीसँग थिएन।  

तिहारपछि विद्यालय खुल्यो। कक्षामा पढिरहँदा पनि भित्र्याउने बेलाको बाली बाँदरले सखाप पार्ने चिन्ताले आशालाई सताउँथ्यो। वरपरका छिमेकीहरूले बारीमा लगाएको कोदो रेखदेख गरिरहँदा उनको बारीमा आएका बाँदर धपाउने कोही थिएन।

ऋणको पासोमा छ परिवार
प्रधानाध्यापक बस्नेतका अनुसार आर्थिक अवस्था निकै कमजोर हुँदा आशाका अभिभावकले घरपरिवार चलाउनकै लागि साहुलाई जग्गा बन्धकी दिएर ऋण लिएका छन्। त्यही कोदो भएको बारी मात्र उनीहरूसँग बाँकी छ। 

आशाका बुवाले घर बनाउन लघुवित्तबाट ऋण लिएका थिए। त्यसमा छानो लगाउने पैसा नभएपछि गाउँपालिकाले अनुदान दिएर टिनको छानो हालिदियो। लघुवित्तको ऋण तिर्ने उपाय नहुँदा उनको परिवार पिरोलिइरहेको पनि प्रधानाध्यापक बस्नेतले बताए।  


बालज्योति आधारभूत विद्यालयमा पढ्ने करिब ७० प्रतिशत बालबालिका दलित समुदायका छन्। उनीहरूको आर्थिक अवस्था नाजुक भएकाले कापीकलमसमेत विद्यालयले किनेर दिने गरेको छ। 

विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा दिन पहिलेदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्। त्यसअन्तर्गत वन क्षेत्रमा पर्ने करिब ५० रोपनी जग्गामा बोटविरुवा रोप्ने, गोडमेल गर्नेदेखि अन्य सामाजिक कार्यहरूमा विद्यार्थीलाई सहभागी गराइएको विद्यालयले जनाएको छ। 

त्यसबाहेक विद्यालय भवन बनाउँदा र अन्य सामाजिक सेवाका अवसरमा पनि शिक्षक र विद्यार्थीले सँगै योगदान गर्दै आएका छन्। विषयवस्तु अनुसार समय व्यवस्थापन गरेर प्रयोगात्मक शिक्षामा विद्यार्थीहरूलाई सरिक गराउने गरिएको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए।


सम्बन्धित सामग्री